पीडाले नडगमगाएका पाइला – कथालिका

पीडाले नडगमगाएका पाइला

फाइल तस्वीरः गुगल

  • पुरुषले गरेको यौनजन्य हिसांको गल्तीको सजाय महिलाले भोग्नुपर्ने बिडम्बनापूर्ण अवस्था अहिले बिद्यमान छ ।अब पुरुषले गरेको गल्तीको सजाय पुरुषले पाउनुपर्छ भन्ने समग्र समाजले बुझ्नु, बुझाउनु पर्छ ।

नेपाली समाजमा ‘बलात्कृत’ हुनुको पीडा एउटा मात्र छैन । ‘बलात्कृत’ भइसके पछि समाजले महिला माथि नै औंला उठाएर थप पीडा दिन्छ । अहिले त यसमा अझ सशक्त रुपमा सामाजिक सञ्जाल पनि थपिएको छ । घटनाको वास्तविकता, पीडितको मानसिक अवस्था केही नबुझी तथानाम लाञ्छना लगाउनेको होड चल्छ । यहाँ सम्मकी त्यही लहड र भयमा परिवार र आफन्तले समेत पीडितको साथ छोडिदिन्छन् । जीवनका आरोह, अवरोहलाई पार गरेर उनीहरु अगाडि बढ्ने कोसिस गरिरहँदा नारी चरित्र माथि हमला गरिन्छ कि उनीहरु समाजको नजरमा जबरजस्त दोषी करार हुन्छन् । तर, केही किशोरी, युवती यस्ता छन्, जसले आफूमाथि भएको अप्रिय घटनाबाट पाठ सिक्दै नयाँ जीवन बाँच्ने कोसिस गर्छन् । परिवार र समाज दुर हुँदा पनि हिम्मत हार्दैनन् । बरु आफू माथि भएको हिंसा र दुव्र्यवहारका विरुद्ध दृढ भएर आवाज उठाउँछन् ।

कलिलै उमेरमा यौनजन्य हिंसा र दुव्र्यवहारको सिकार बनेर पनि त्यसलाई जीवनको एक पाठ सम्झेर आत्मनिर्भर र सुन्दर भविष्यका लागि अविचलित संघर्षरत रहेका केही प्रतिनिधि पात्रको दृढता र साहसको अकथित कथा यहाँ प्रस्तुत गरिएको छः–

घटना–१
वर्ष १७, नाम शिखा (परिवर्तित), कक्षा ११ । सामाजिक सञ्जालको लत र विश्वासमा पर्दा जीवनको कलकलाउँदो उमेरमै अनेकन हण्डर ठक्कर बेहोर्न बाध्य भइन् । सुन्दर भविष्य सोच्दा सोच्दै कहाली लाग्दो जीवन भोगिन् । विगत साढे दुई वर्षदेखि पोखराको कोपिला नेपालमा आश्रय लिइरहेकी छिन् ।

उनी कक्षा ११ मा पढ्थिन् । फेसवुक मार्फत् उनको चिनजान एक पुरुषसंग भयो । म्यासेन्जरमा बोलचाल हुन थाल्यो । फेसवुकमै बुटवल घुम्न जाने प्रस्ताव आयो । उनले नकार्न सकिनन् । घरमा परिवारसँग साथीको घरमा जाने भन्दै झुट बोलेर यात्रामा निस्किइन् । पहिलो पटक बुटवल जाने भनेर घरबाट हिँडेकी उनलाई ती पुरुषले अनेक आश्वासन, लालच र धम्की देखाएर पटक–पटक ‘करणी’ गरे । यतिमा पीडक रोकिएनन्, उनलाई फेरी आफूलाई भेट्न आउन भनेर बारबार आग्रह गर्न थाले । तर, युवती मानिनन् । तर आफूलाई भेट्न नआएमा यसअघिको सम्बन्ध, सम्पर्कको सबै कुरा लेखेर फेसवुकमा सार्वजनिक गर्ने धम्की दिन थाले । अन्ततः उनी फेरि पनि परिवारलाई छलेर भेट्न पुगिन् । यो पटक समेत मारिदिने धम्की दिंदै पीडकले पटक–पटक ‘बलात्कार’ गरेको उनी बताउँछिन् । त्यस लगत्तै उनको पेटमा गर्भ रह्यो । करणीबाट आफ्नो पेटमा गर्भ रहेको विषयमा पीडकलाई जानकारी गराइन् । विवाह गर्ने आश्वासन दिएको पुरुष त्यसबेला एक पटक भेट्न सम्म आएन । उल्टै आफूले केही गर्न नसक्ने र गर्भपतन गर्न भन्यो । त्यसको केही समय लगत्तै सामाजिक सञ्जाल र फोनमा समेत ब्लक गरिदियो । यी सबै घटना भएपछि पीडित युवती डिप्रेसनको अवस्थामा पुगे । उनी टोलाएर बस्थिन्, कसैसंग बोल्दैनथिन् । घरमा केरकार हुन थालेपछि उनले आफू गर्भवती भएको बाहेकका सबै कुरा घरमा भनिन् । परिवारले थाहा पाएपछि उनलाई उपचारका लागि अस्पताल लगियो । तर, हस्पिटलले प्रसव पीडा सुरु भएकाले अर्कै अस्पताल लैजान भन्दै रिफर गरिदियो । परिवारका सदस्य आश्चर्यचकित परे । सोही हस्पिटलमा उनले छोरी जन्माइन् । कोपिला नेपालमा आफू जस्तै पीडितको उद्धार हुने जानकारी पछि त्यही पुगिन् ।

कोपिला नेपालमा उनी पुग्दा छोरी जन्माएको बल्ल २ दिन भएको थियो । अहिले उनकी छोरी साढे २ वर्षकी भइन् । कोपिला नेपालमा आश्रय लिएर आमाछोरी त्यही बस्छन् । अतितलाई बिर्सिदै सोही संस्थाका काम गर्छिन्, आत्मनिर्भर हुने प्रयास गरिरहेकी छिन् । छोरीले ममी भनेर बोलाउँदा जुन आनन्द आउँछ, त्यो भाव शब्दमा बयान गर्न सक्दिनन् पीडित । अहिले उनको छोरीको जन्मदर्ता छैन । उनलाई थाहा छ–कानुनी रुपमा छोरीको जन्मदर्ता बनाउँदा झमेला बेहोर्नु पर्नेछ । लडेरै छोरीको नागरिकता आफ्नै नामबाट बनाइदिने उनको धोको छ । घटना हुँदा कक्षा ११ मा पढ्ने उनी बिबिएस प्रथम वर्षमा पढ्दै छिन् । यो घटना उनको जीवनमा नघट्दा सम्म फाइनान्स को–अर्डिनेटर बन्ने सपना थियो । त्यही सपनालाई पछ्याउन प्रेरित गर्दै छोरीलाई आफ्नो नाममा नागरिकता बनाइदिने शिखाको सपना छ ।

घटना–२
उमेर १५, नाम सपना (परिवर्तित), पढाईः कक्षा ८ । पढ्ने, रम्ने रमाउने उमेरमा उनी दर्दनाथ कथा बोकेर बाँच्न अभिसप्त छिन् ।

आफ्नै भिनाजुबाट पटक–पटक करणीको सिकार भएकी सपनाको किशोरवयमै सपना टुट्यो । पछि यो विषयमा जानकार भए पछि दिदी नै उनी माथि जाई लागिन् । दिदीले पुरै कुरा थाहा पाउँदा सम्म पीडित किशोरीको पेटमा चार महिनाको गर्भ हुर्किसकेको थियो । त्यो बेला आफूलाई भन्दा दिदीले श्रीमानलाई साथ दिइन् । ‘दिदीले झन् मेरो श्रीमान्लाई खोसिस् भनिन्,’ उनी विगत सम्झिन्छन् । उनको बच्चा भने पछि खेर गयो । सानै उमेर, आफन्तबाटै बलात्कृत हुनु र तिरस्कृत भएपछि उनलाई बाँच्न निकै गाह्रो भयो । यही मुद्दाको सिलसिलामा अदालत जाँदा बाबासंग सामान्य बोलचाल भएको थियो । आफ्नो जन्मदिने आमालाई भने कहिले देखेकी थिइनन् उनले । ६ महिनाको हुँदा विदेश गएको सुनेकी आमाले भने उनलाई फोनबाटै साथ, हौसला दिइरहिन् । घटना पश्चात् दिदी उनीसंग बोल्न छोडिन् । अहिले कोपिला नेपालमा छिन् । यहाँ आए पछि जीवन केही सहज भएको उनको भनाई छ । विद्यालय जान्छिन्, साथीसंग रमाउँछिन् । कहिलेकाहीं उनलाई घर जान मन लाग्दा भने निकै नमिठो अनुभूति हुने गरेको सुनाउँछिन् । मुद्दाको छिनोफानो भइसके पछि जाने हजुरआमा र हजुरबुबाले उनलाई बताएका छन् । कुनै बेला अहेब र कृषि पढ्ने सपना देखेकी उनी अब विगत बिर्सेर पढाईलाई निरन्तरता दिनेमा दृढ देखिएकी छिन् ।

घटना–३
उमेर १४, नाम सुरुची (परिवर्तित) । घरमा आर्थिक अवस्था कमजोर भएपछि कक्षा ४ पछि पढ्न छोडिन् । आमा–बाबाले एकअर्काको साथ छोडेर अरु नै रोजिसकेका थिए । पहिले बाबा र पछि आमा तिरको हजुरआमा–हजुरबुबासंग बसिन् । त्यही समयमा उनले होटलमा काम गर्न थालिन् । होटल सफा गर्ने, सञ्चालकको बच्चा स्याहार सम्भार गर्ने लगायत काम थियो उनको । होटलमा काम सुरु गरेको १ महिना दिन भएको थिएन, होटल सञ्चालकले उनलाई ‘बलात्कार’ गरे । यो घटनापछि उनलाई जन्मदिने आमाले साथ दिइन् । बाबा र दिदी भेनाले भने उल्टै गाली र ओक्रोश पोखे । उनी अदालतको ढोका धकधकाउन पुगिन् ।

त्यसबेला २,३ लाख पैसा लिएर बारम्बार केस फिर्ता लिन दबाब दिइरहे । यहाँसम्मकी उनकै बाबाले समेत केस फिर्ता लिन केही व्यक्ति लिएर अहिले आश्रय लिइरहेको कोपिला नेपाल पुगेको उनले सुनेकी छिन् । तर, उनको भेट भएको रहेनछ । होटल सञ्चालक, उनकी श्रीमती लगायतले पनि ५ लाखमा केस मिलाउन निरन्तर दबाब दिन्थे । यद्यपि, उनले हार मानिनन्, अनेकन दबाबका बाबजुद आफ्नो निर्णयमा टसको मस भइनन् ।

अहिले होटल सञ्चालक विरुद्ध अदालतमा केस चलिराखेको छ । त्यसैले, चाहेर पनि घर जान सक्दिनन् । कोपिला नेपाल आइसके पछि उनी घर गएकी छैनन् । कहिलेकाहीं पीडित किशोरीलाई बेजोडसंग घरको याद आउँछ, बरु साथीभाइको त्यति याद आउँदैन उनलाई, जति घरको यादले पोल्छ र मन भक्कानिन्छ । यादले पिरोल्दा घर जाने इच्छा पनि नहुने होइन, तर बाध्यता र परिस्थितिले घर जान नमिलेको कुरालाई उनले साहस र संयमताका साथ लिन्छिन् । केसको छिनोफानो भइसके पछि भने आफ्नै घरमा गएर पढ्ने उनको योजना छ । कोपिला नेपाल आएको अहिले ९ महिना भयो । यहाँ उनी गुडिया, हात्ती, जुत्ता, मोजा लगायत अन्य सामान बनाउन सक्छिन् । नमिठो दर्दनाक जीवन भोगाई बिर्सेर विद्यालय जान थालेको १ महिना मात्रै भएको छ । कक्षा ५ मा पढ्न थालेकी उनलाई नाच्न असाध्यै मन पर्छ । कलाकार बन्ने उनको सपना छ ।

घटना–४
उमेर १३ वर्ष, नाम सुविस्ता (परिवर्तित) । उमेर अनुसारको स्वभावसँग मग्न हुँदै रमाइरहेकी उनलाई के थाहा ? आफ्नै काकाको छोराले आफू माथि यस्तो व्यवहार गर्छन् भन्ने ? आफ्नै दाइले करणी गरेको विषय उनले कसैलाई भन्न सकिनन् । यो विषयमा अन्यलाई जानकारी दिएमा ज्यान मार्ने धम्की दिइएको उनी बताउँछिन् । उनकी आमाले पेट अस्वभाविक ठूलो भएकाले उपचारका लागि अस्पताल लिएर गए पछि मात्रै आफू ८ महिनाको गर्भवती भएको थाहा पाइन् । गर्भपतन गर्ने भनिए पनि ८ महिनाको गर्भ भएकाले नमिल्ने भयो । अनि १३ वर्षको उमेरमै शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि उनी घर गइनन्, सहरमा कोठा भाडामा लिएर बस्न थालिन् । आमाले पीडित किशोरीलाई भरपुर साथ दिइन् । एकदिन उनीहरु खाजा खान गएका थिए । संयोगबस् त्यहाँ उनीहरुको डिएसपीसंग भेट भयो । कुराकानीकै क्रममा उनकी आमाले डिएसपीलाई छोरीको विषयमा सबै बताइन् । अनि मात्रै उनीहरुले पीडकविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

‘पुरुषले गरेको गल्तीको सजाय पुरुषले नै पाउनुपर्छ’

बिना सिलवाल
संस्थापक, कार्यकारी अध्यक्ष
कोपिला नेपाल, पोखरा

हामीले २०७० सालबाट कोपिला नेपालमा पीडित महिलालाई राख्न सुरु गरेका हौं । हामी कहाँ आउने भनेको सबै जना सरकारी सिफारिसबाट आउने हुन् । वडा, गाउँपालिका, नगरपालिका, महानगरपालिका सहित प्रहरीको सिफारिसमा पीडित यहाँ आउँछन् । लामो समयसम्म कोपिला नेपालमा पुग्ने पीडितको मानसिक अवस्था नाजुक अवस्थामा हुन्छ । कोही नबोलेरै आँखामा आँसु लिएर बस्छन्, डराएको आत्तिएको र बोल्नै नसक्ने अवस्थाका केस यहाँ आइपुग्छन् । जीवनमा भएको भयानक घटनाबाट बिरक्त भएर आत्महत्या गर्न खोज्छन् । केहीले हात काटेका छन्, आफूले आफैंलाई पंखामा झुण्डाउने कोसिस गरेका छन् । कोपिला नेपालको सेभ होममा बस्ने एक जना किशोरीले त ३ पटकसम्म पंखामा झुण्डिएर आत्महत्या गर्न खोजेपछि त्यहाँको पंखा नै हटाइदिएका छौ ।

यहाँ आएका पीडित किशोरीले पढ्न चाहन्छन् भने हामीले शिक्षाका लागि पनि पहल गर्छौं । कोपिला नेपालबाट नै पीडित किशोरी र बालिका विद्यालय, क्याम्पस गइरहेका छन् । कोही रोजगार पनि गर्छन्, आत्मनिर्भर छन् । कोपिला नेपालमा आश्रय लिएर बसेका धेरैलाई संस्थाले नै शिक्षाका लागि पहल गरेको छ । दुई जनालाई भने पढाई निरन्तरता दिन आफ्नै अभिभावकले सहयोग गरेका छन् । परिवारले साथ दियो, आफन्त भेटघाट गर्न आइराख्यो भने पीडित ३ देखि ६ महिनासम्म पहिलेको अवस्थामा फर्किन्छन् । परिवारले सहयोग गरेन, मुद्दामा बढी दबाब आउँछ भने काउन्सिलिङ गरेर अब ठीक भयो भन्ने आशा गर्दा पुरानै पीडादायी अवस्थामा पुग्छन् । अर्को कुरा भनेको मुद्दा छिट्टै टुंगियो भने उनीहरु पहिलेकै अवस्था फर्र्किन्छन् । तर, मुद्दा लम्बियो भने पहिलेकै सामान्य अवस्थामा फर्किन समय लाग्छ ।

मुद्दाको फैसला हुने समय सम्म अधिकांश परिवारले पीडितलाई साथ र समर्थन गर्दैनन् । उदाहरणका लागि कोपिला नेपालमा १९ वर्ष नानी छिन् । उनको परिवारलाई छोरीको नागरिकता बनाइदिनुस्, नागरिकता भयो भने सिपमुलक तालिम खुलिरहेका हुन्छन्, तालिम पाएको खण्डमा आत्मनिर्भर बन्न सक्छिन् भन्छौं, तर उनको बुबा नागरिकता बनाइदिन तयार छैनन् । कुनै परिवार यस्ता छन्, जसले करणीबाट जन्मिएका बच्चालाई अपनाउन चाहन्नन् । बच्चा छोडेर आउने भए अपनाउँछौं, नत्र सकिन्न भन्छन् । तर नारी आमा हुन्, उनले आफ्नो बच्चालाई त्याग्न सक्दैनन् । समाजमा पैसा लिएर बलात्कारको घटना मिलाइएको उदाहरण हामीले देखेका छौं । त्यसमा परिवारले पीडितलाई सहयोग गरेको भएन नि, होइन र ? यसो भन्दैमा सबै परिवार उस्तै हुन्छन् भन्ने खोजेको होइन । केहीले सहयोग गरेका छन्, अधिकांशले भने साथ छोडिदिन्छन् ।

हिंसा सहेका महिला मुद्दा दर्ता गरिसकेपछि के नै हुन्छ र मुद्दामा कसले मलाई सहयोग गर्छ भन्ने जस्ता प्रश्नबाट घेरिएका हुन्छन् । जसोतसो मुद्दा दर्ता भए पछि पनि समस्या कम हुँदैन । सुरुमा यो मुद्दा फिर्ता लिनुपर्छ भन्दै विभिन्न प्रलोभन मार्फत् फकाउन खोज्छन्, नसकेको खण्डमा कतिपयले त ज्यान मार्ने धम्की दिन्छन् । कोपिला नेपालकै कतिपय कर्मचारीलाई हातपात गरिएको छ, ज्यान मार्ने धम्की दिन्छन् । तर, यसलाई हामीले उनीहरुले पनि आफूलाई बचाउने उपायको प्रयोग गरेका हुन् भन्ने बुझेर काम गरिरहेका हुन्छौं । हामीसंग अहिले ३ वटा सेफ होम छन् । त्यसमा एउटा १२ वर्ष माथि र २४ वर्ष मुनीको किशोरीका लागि हो । हाम्रो क्राइटएरिया भनेको हिंसा र दुव्र्यवहारमा परेका १२ देखि ६० वर्ष उमेर समुहका महिलालाई आश्रय दिने हो । तर, कहिलेकाही हामी मापदण्ड भन्दा बाहिर जान बाध्य हुन्छौं । अहिले हामीसंग ११ जना त बालबालिका मात्रै छन्, जुन हिंसा र दुव्र्यवहार सहेका आमासंग आएका हुन्, उनीहरुको उमेर भनेको १० वर्षभन्दा तल छ । हाम्रो सेफ होममा अहिले ५८ जना महिला आश्रित छन् ।

नेपालमा महिलामाथि विषेश गरेर दुई प्रकार हिंसा हुने गर्छ, घरायसी र यौनजन्य । पीडक प्रायः आफन्त र चिनेजानेका हुन्छन् । आफन्त यस्ता हुन्छन् कि उनीहरुको विषयमा भन्नै अफ्ठ्यारो हुन्छ । दाइ, हजुरबुबा, ठूलोबाबा, मामा लगायतका हुन्छन् । बालिकालाई ब्याड टच र गुड टचको विषयमा जानकारी हुँदैन, माया हो कि जस्तो लाग्छ । त्यसैले, बालक वा बालिका दुवैलाई ब्याड टच र गुड टचको विषयमा जानकारी गराउनु आवश्यकता हो । म के भन्छु भने तपाई आफ्नै खुसीले कसैसंग सम्बन्ध गाँस्नुहुन्छ भने त्यो व्यक्तिगत कुरा हो । तर, तपाईको इच्छा विपरित कसैले तपाईंसंग यौन सम्बन्ध राखेको छ, कसैले यौनजन्य दुव्र्यवहार गरेको छ र तपाईंलाई राम्रो लागेको छैन भने समाज, इज्जत भनेर नबसिदिनुस्, बाहिर ल्याउनुस् । जसले गर्दा यस्ता घटनालाई निरुत्साहित गर्न सहयोग पुग्छ । तपाईं जस्ता अन्य महिला हिंसामा पर्नबाट जोगिन सक्नुहुन्छ । यो लुकाउने होइन, सार्वजनिक गर्ने कुरा हो ।जो महिला यौनजन्य हिंसामा परेका छन्, उसको लवाइखवाई, उसको हिँडाइ, बोलाई लगायतका आधारमा महिला त्यस्तै हो भन्दै लाञ्छना लगाउने होइन । पुरुषले गरेको यौनजन्य हिसांको गल्तीको सजाय महिलाले भोग्नुपर्ने बिडम्बनापूर्ण अवस्था अहिले बिद्यमान छ ।अब पुरुषले गरेको गल्तीको सजाय पुरुषले पाउनुपर्छ भन्ने समग्र समाजले बुझ्नु, बुझाउनु पर्छ ।

‘गुड टच र ब्याड टचको विषयमा किशोरीलाई सँगै किशोर,युवालाई पनि पढाउनु पर्छ’

केशु भुजेल
अध्यक्ष
महिला मानव अधिकार रक्षक सञ्जाल

समाजमा बलात्कारका घटना अहिले बढिरहेका छन् । यसको कारण मलाई के लाग्छ भने नेपालमा बलात्कारको घटनामा पीडकलाई सजाय र दण्डको कानुन त्यति कडा छैन । सायद सजाय कडा भएको भए कही न कहीं डर हुने थियो । बलात्कार सम्बन्धी उजुरी परे पनि पीडितलाई झन् होस्टाइल गरिन्छ । होस्टाइल गरिदिँदा बलाकात्कारजन्य घटना, पीडक र हिंसाले प्रश्रय पाउँछन्, त्यसैले यस्ता घटना बढिरहेका छन् । पीडितलाई नै दोषी बनाइन्छ, उसलाई डिप्रेसनमा जाने अवस्थामा पु¥याइन्छ । बलात्कारका घटनाको दोषीलाई राज्यले कडा दण्ड सजायको व्यवस्था कानुनमै ल्याउनुपर्छ । नागरिक समाजको समेत यस्ता घटना नहोस् भन्नाका लागि भूमिका खेल्नुपर्छ । यस्ता घटना नलुकाउन प्रेरित गर्नुपर्छ । बलात्कारका विषयमा हामीले किशोरी बालिका लगायत महिलालाई शिक्षा, अभिप्रेरणा दिनु आवश्यक हुन्छ । नेपाली समाजको कुरा गर्ने हो भने गुड टच, ब्याड टचको विषयमा किशोरीलाई मात्रै जानकारी दिने चलन छ । अबको समयमा किशोर, युवालाई पनि यो विषयमा जानकारी दिनुपर्छ ।

२०७९, २१ फाल्गुन आईतवार ०७:०६
कथालिका नयाँ कथा
कथालिका