इन्जिनियरिङ पढाइ छाडेर मानव सेवा – कथालिका

इन्जिनियरिङ पढाइ छाडेर मानव सेवा

  • ‘हाम्रो सोचाई धर्मकर्म, सेवा गर्ने भनेको बुढापाका भए पछि मात्रै गर्ने हो भन्ने छ । पछि गएर बुझ्ने, बोध गर्ने विषय अहिले हामीले बुझिसकेका छौं भने सेवा किन नगर्ने भन्ने सोंचले सेवामा सक्रिय र समर्पित हुन प्रेरित ग¥यो,’ उनले भने ।

उमेर २३ वर्ष, नम्र बोली, परिपक्व व्यवहार, सामान्य जीवनशैली । उनलाई हेर्दा लाग्छ, आजको पुस्तामा उनी जन्मिए पनि अहिलेको पुस्तासंग कुनै नाता छैन । १२ कक्षा पास गरेपछि जसरी हुन्छ, विदेश गएर आफ्नो र परिवारको भविष्य बनाउने योजना बुन्ने पुस्ताका उनी अपवाद लाग्छन् । देशको राजनीतिक अस्थिरता, बेरोजगारी, योग्यता र क्षमता अनुसारको कमाई नहुनुले परिवारले कक्षा १२ पास गरेपछि सन्तानलाई सकेसम्म विदेश पठाउन जोड गर्छन् । सोही पुस्तालाई प्रतिनिधित्व गर्ने एक युवा हुन् सदीश पुन ।

बागलुङमा जन्मिएका सदीशको हालको दैनिकी पोखराको हेम्जामा रहेको मानव सेवा आश्रममा असहाय, अशक्त, शारीरिक रुपमा कमजोर र अनाथ व्यक्तिहरुको स्याहार गर्दै दिन बित्छ । उनले मानवसेवा आश्रममा काम गर्न सुरु गरेको भने बागलुङबाट हो । जति बेला उनले त्यहीँ विज्ञान संकायमा कक्षा १२ मा पढिरहेका थिए । एकदिन उनको साथीको दाइ आवद्ध संस्थाले कार्यक्रम आयोजना गरेकोले उनी पनि सहभागी भए । सहभागी भइदिउँ न त भन्ने सोँचले उनी कार्यक्रममा सहभागी भएका थिए तर त्यहाँको वातावरणले सदीशलाई एकाएक बिथोल्यो । उनी भावुक बने । एक कार्यक्रममा उनी सहितकाले कापी, कलम पाएका थिए । सो सामग्री कसैलाई सहयोग गरौं भन्ने उनीहरुको सल्लाह थियो । उनकै समुहका एकले यही नजिकै आश्रम स्थापना भएको जानकारी गराएपछि उनीहरु त्यहाँ पुगे । उक्त आश्रममा पुगेपछि जो दृश्य सदीशले देखे उनको मन निकै छोयो ।

संस्थाले सदीश लगायत उनको साथीलाई आउने इच्छा भएको खण्डमा भोलेन्टियरको आवश्यकता परेको र सहयोगका लागि आउन सक्ने जानकारी दियो । त्यसपछि सदीश निरन्तर बागलुङमा रहेको मानवसेवा आश्रममा जान थाले । उनले सो आश्रममा कहिले त्यहाँ रहेकालाई घुमाउन लैजान्थे, कहिले उनीहरुको नाचेको, रमाइलो गरेको हेर्दै आफैंलाई भाग्यमानी ठान्थे । मानवसेवा आश्रमले ज्ञान हस्तान्तरण कार्यक्रमको आयोजना गर्छ । यो कार्यक्रममा सहभागीले कार्यक्रम अवधीभर मोबाइल चलाउन पाउँदैनन् र ११ दिनको हुन्छ । सोही क्रममा सदीशले मानवसेवा आश्रमको विषयमा धेरै जानकारी लिने अवसर पाए । ‘हाम्रो सोचाई कस्तो छ भने, धर्मकर्म, सेवा गर्ने भनेको बुढापाका भएपछि मात्रै हो भन्ने हुन्छ,’ उनले भने, ‘पछि गएर बुझ्ने, बोध गर्ने विषय अहिले हामीले बुझिसकेका छौं भने सेवा किन नगर्ने भन्ने सोंच आयो ।’ हुन त सेवाको भावना सदीशको पहिलेबाटै थियो । मात्रै उनले यो भाव प्रकट गर्ने स्थान प्राप्त गर्न सकेका थिएनन् । मानव सेवा आश्रममा आवद्ध भएपछि आफ्नो भावना प्रकट गर्ने उचित स्थान प्राप्त गरे ।

जब इन्जिनियरिङ आफ्नो लागि होइन भन्ने लाग्यो
पोखराको मानवसेवा आश्रममा उनी त्यतिकै आइपुगेका होइनन् । विज्ञान संकायमा अध्ययनरत सदीशले चितवनको टेक्निकल कलेजमा नाम निकालिसकेका थिए इन्जिनियरिङ विषयमा । उनी आवद्ध आश्रमको एउटा शाखा चितवनमा छ । त्यसैले सोही क्षेत्रको आश्रममा रहेर काम गर्ने र पढाइलाई निरन्तरता दिने उद्देश्य लिएर सदीश चितवनतर्फ लागे । त्यसपछि कोरोना महामारीले गर्दा लकडाउन भयो । सोही क्रममा सदीशलाई लाग्यो, इन्जिनियरिङ आफ्नो लागि होइन । ‘लकडाउन भइसकेपछि सोच्ने फुर्सद मिल्यो, सोच्दै गर्दा मलाई महसुस भयो, इन्जिनियरिङ मेरो लागि होइन,’ उनले भने । आफ्नो मनले यो क्षेत्र आफ्नो लागि नभएको महसुस भइसकेपछि उनले पढाई बीचमै छोडिदिए । पढाई छोडेपछि परिवारलाई सम्झाउन उनलाई अफ्ठ्यारो भयो । ‘एकहिसाबले रुवाबासी भयो, बिचमा पढाई नछोड भन्नुभयो,’ उनी भन्छन्, ‘सम्झाउँदै जाँदा मान्नुभयो ।’

पढाइ छोडेपछि आफूलाई सावित गर्न उनले ५ वर्षको समय दिन आमाबाबासंग भनेका रहेछन् । अनि मात्रै सदीश पोखरा आएका हुन् । उनले हाल कास्कीमा रहेका मानवसेवा आश्रमको जिल्ला संयोजकको भूमिकामा रहेर काम गरिरहेका छन् । नेपाली समाजमा प्रायः डाक्टर, इन्जिनियर, पाइलट लगायत पेसालाई मात्रै ठूलो मानिन्छ । सदीशलाई त्यस्तो कहिलै लागेन । बरु पहिलेदेखि फरक क्षेत्रमा काम गर्ने रुचि थियो । उनको अभिभावकलाई भने सकेसम्म पूरा गरे हुन्थ्यो भन्ने लाग्थ्यो, र यो सदीशको नजरमा गलत सोचाई होइन । उनलाई लाग्छ, हरेक आमाबाबाले आफ्नो सन्तानले पढाई पुरा गरेर राम्रो भविष्य निर्माण गरोस् भन्ने सोंच राखेका हुन्छन् । ‘पछि तिम्रो जीवन हो, जे सोचेका छौ, राम्रै सोचेका हौला भन्नुभयो,’ उनी भन्छन्, ‘पछि मान्नु भयो, उहाँहरुको मनमा अझै होला, पढाइ बिचमै छोड्यो, पढेन भन्ने । तर,मेरो कामप्रति अहिले उहाँहरु पूर्ण विश्वस्त हुनुहुन्छ ।’

सानै उमेरमा परिपक्व र राम्रो काम गरेकोमा अहिले उनको परिवार मात्रै होइन, समाजले उनलाई स्यावासी दिन्छ । आदिवासी जनजातिको घरमा जन्मिसकेपछि नेपालकै कुरा गर्ने हो भने ब्रिटिस, सिंगापुर या भारतीय आर्मीमा भर्ती हुने चलनै हो । प्रायः युवाले यो क्षेत्रमा जाने कोसिस गरेकै हुन्छन् । उनले लाहुरे हुने तालिम लिए तर लाहुरे हुनैपर्ने बाध्यताले होइन, फिजिकल फिटनेसका लागि । घरबाट पढ्नुपर्छ भन्ने भए पनि लाहुरे हुनुपर्छ भन्ने दबाब थिएन, त्यसैले उनलाई सहज भयो । ‘लाहुरे भयो भने झन् दुःख हुन्छ, बेक्कारमा किन दुःख गर्नु, बरु पढेरै दुःख गर्छु भन्ने लाग्थ्यो,’ उनी भन्छन् । ११÷१२ कक्षा पास गरेपछि उनका धेरै साथी विदेश हानिए । उनीहरुले विदेश गएर टन्न कमाएका छन् । सदीशलाई लाग्छ, केहीको पिआर बनिसक्यो होला । उनलाई भने कहिल्यै विदेश जानुपर्छ भन्ने सोच आएन । परिवारबाट विदेश जानुपर्छ भन्ने दबाब आएन । ‘परिवारमा अन्य विदेश गएका छैनन्, त्यसैले, मलाई विदेश जानुपर्छ भन्ने दबाब आएन ।’

अरुको दुःखमा मन भक्कानिन्छ
विभिन्न क्षेत्रको आश्रममा काम गरेको ५ वर्ष पुग्यो । सदीशले यो क्षेत्रमा काम गर्दा धेरै भावुक हुने अवस्था आएका छन् । केही घटना चाहेर पनि उनको मनले बिर्सन सक्दैन । केही समय अगाडिको केस हो, पोखरा महानगर वडा नं २८ को । सदीशका अनुसार त्यहाँ एकजनाको उद्धारका लागि आश्रमलाई सूचना आएको थियो । उनीहरु जब पुगे, अवस्था दयनीय थियो, त्यहाँ एकजना महिला बस्थिन् । सदीशका अनुसार झुपडीको वरीपरी घाँस उम्रिएको थियो । ‘त्यस्तै ५०÷६० वर्षकी महिला थिइन्, हामी पुग्दा पानी–पानी भन्दै चिच्याइरहेकी थिइन्, पानी दिने कोही थिएनन्, त्यो एकदमै सिरियस् केस थियो,’ उनले भने, ‘उनको आफन्त होलान्, समाज थियो, राज्य छ, यति हुँदाहुँदै उनी त्यस्तो अवस्थामा आइपुग्नु दुखद् थियो ।’

खासमा उनले आमाबाबाको स्याहार गरेर बसेकी रहिछन् । आमाबाबाको निधनपछि उनलाई हेर्ने कोही नहुँदा त्यो अवस्था आएको थियो । दयनीय अवस्थामा भेटिएकी उनको उपचारका क्रममा केही दिनपछि निधन भयो । आश्रममा निधन भएकाको मुचुल्का उठाएर पोस्टमार्टम गरिन्छ । उक्त महिलाको सोही प्रक्रिया भइरहेको थियो । पछि उनको आफन्तले फोन गरेछन् । ‘उहाँको निधनपछि आफन्तको फोन आयो, त्यो बेला दसै तिहारको समय थियो,’ उनले भने, ‘फोनमा उहाँले उक्त महिलाको आफन्त भएको र शवको अन्तिम संस्कार नगरेसम्म चाडमा टीका लगाउन पाइँदैन, छिटो प्रक्रिया पुरा गरिदिनुप¥यो भन्ने कुरा गरे ।’ त्यो बेला सदीशलाई निकै रिस उठेको थियो । सदीशलाई लाग्छ, जिउँदो हुँदासम्म वास्ता नगर्ने आफन्त के काम ? यो सदीशको मनमा खिल बनेर बसिरहने घटना बनेको छ ।

यस्ता केस उनले थुप्रै देखेका छन् । थुप्रै पटक पोस्टमार्टम गरिरहेको कोठामा गएर सबै प्रक्रिया नियालेका छन् । सुरुमा उनलाई यो सबै प्रक्रिया भइरहँदा घीन लाग्थ्यो । अहिले त्यस्तो असहज लाग्दैन सदीशलाई । यति मात्रै होइन, उनले उद्धार गरेपछि उपचार गर्दागर्दै संसार छोडेकाको दाहसंस्कार गरेका छन् । सुरुमा उनले चितवनको आश्रममा काम गर्दा शव जलाएका थिए । सामान्य मान्छे न हुन्, सदीशलाई सुरु–सुरुमा घाटमा जान, शव जलाउन डर लाग्थ्यो । पहिलो पटक शव जलाउँदा उनको मनमा थुप्रै त्रास थिए । तर पछि आफन्त नभएका र असहायको शवलाई आफ्नो बनेर अन्तिम संस्कार गर्नु पुण्यको काम हो भन्ने लाग्न थाल्यो । ‘मृत्यु जीवनको अन्तिम सत्य हो, यसलाई कसैले जित्न सक्दैन ।’ उनले भने, ‘अहिले त सामान्य लाग्छ, आफन्त नभएकाको आफन्त बनेछु भन्ने लाग्छ ।’ धेरैको शव जलाइरहँदा सदीश कहिलेकाहीं सोच्न बाध्य हुन्छन्, आखिर जीवन के नै पो रहेछ र ? लोभलालच किन गरिन्छ भन्ने उनले अहिलेसम्म बुझ्न सकिरहेका हुँदैनन् । ‘भनिन्छ, जन्मनु भनेको भाग्यको कुरा हो, मर्नु भनेको समयको कुरा हो, तर मरिसकेपछि सबैको मन मष्तिस्कमा बसिरहनु भनेको सत्कर्म हो,’ सदीश भन्छन् ।

पढाइ छोड्दा दुःखी बा–आमा अहिले खुसी
कुनै बेला पढाई बिचैमा छोड्यो भन्दै गुनासो गरिरहने आमाबाबा आजभोलि खुसी छन् । उनलाई अझै याद छ, जब शव जलाएको फोटो उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए, उनको बाबालाई निकै खुसी लागेको रहेछ । ‘मैले सानै सोचेको छोरा, यत्ति ठूलो, परिपक्व र समाजका लागि केही उदाहरणीय काम गर्ने भइसकेछ भन्दै बाबाले फेसबुकमा फोटो राख्नुभयो,’ भावुक हुँदै सदीश भन्छन्, ‘त्यो बेला मलाई राम्रो काम गरिरहेको रहेछु भन्ने भएको थियो ।’ सदीशका आमाबाबाको इञ्जिनियर पढाउने सपना टुटाउदौ निकै दुःख लागेको बुबा ससबहादुर पुन बताउँछन् । पढाई बिचमै छोड्यो, छोरा जोगी भएर हिँड्यो भन्ने सुन्दा सुनाउँदा नमिठो अनुभव भएको उनको कथन छ । छोरालाई जबरजस्त भन्दा पनि उनको इच्छा अनुसार अघि बढुन् भनेर बाटो र विकल्प खुल्ला गरिदिएको पुनले बताए । इन्जिनियरिङ आफ्नो लागि होइन भन्दै पढाई छोडेका सदीशले अहिले फेरी पढाइलाई निरन्तरता दिएका छन् पोखरामै । कलेज बाहेक उनको अन्य समय हेम्जामा रहेको आश्रममा बित्छ । उनले आश्रममा काम रहेका व्यक्तिको सेवा गरेर अरु केही कमाउन नसकेपछि आत्मसन्तुष्टी पाएका छन्, त्यहाँ रहेकाको आर्शिवाद पाएका छन् ।

सदीशले काम गर्ने मानवसेवा आश्रमले सडकमा पुगेका, असहाय, अशक्त, आफन्त नभएकाको उद्धार गर्छ । सो क्रममा उनले कतिको कुटाई खाएका छन् भने कतिले सुन्न नसकिने शब्द प्रयोग गर्छन् । ‘शब्दको त कुरै नगरौं, मुक्का र ढुंगा खाएको छु के गर्नु ? उनीहरुको अपशब्द र मुक्का प्रहार सम्झिएर रिसाएर बस्नु भएन,’ उनले हाँस्दै भने, ‘उनीहरुको मानसिक अवस्था ठीक हुँदैन, डर हुन्छ होला, केही गर्छन् कि भन्ने, त्यही सोच्ने, अनि चित्त बुझाउने हो ।’ सदीशलाई लाग्छ, मानिस सडकमा तब आउँछ, जब आर्थिक रुपमा कमजोर हुन्छ र परिवारमा समस्या बढी हुन्छ । हुन त उनले उद्धार गर्न जाँदा केही आफ्नै मनखुसीले सडकमा आएको देखेका छन् । ‘अन्य कारण भनेको केहीले स्वतन्त्रताका नाममा स्वच्छन्दता खोज्छन्, त्यही कारण सायद सडक रोज्छन् ।’ हुन त मानव सेवा आश्रमले साहरा नभएका, सडकमा भौतारिरहेका अशक्तको उद्धारलाई प्राथमिकता दिन्छ ।

सो क्रममा सदीशले धेरै असहायको कथा र व्यथा नजिकबाट नियालिरहेका हुन्छन् । उनलाई लाग्छ, एउटा उमेरमा पुगेपछि हरेक व्यक्तिलाई आवश्यकता भन्दा बढी माया, प्रेम र साहराको खाँचो हुन्छ । त्यस्तो अवस्थामा परिवारले उनीहरुको पीडा नबुझिदिँदा घर छोडेर हिँडेको उनले थुप्रै देखेका छन् । ‘मान्छे, खान, लगाउनभन्दा माया र प्रेमको भोको हुन्छ, माया र प्रेम पाउन नसक्दा आमाबाबा घरबाट आफैं निस्किन बाध्य हुन्छन् ।’ उनले भने, ‘सकेसम्म उमेर पुगेका व्यक्तिको इच्छा, चाहना र आवश्यकतालाई प्रेमबाट पुरा गर्ने कोसिस गर्नुपर्छ भन्ने अहिलेको पुस्ताले बुझ्नुपर्छ ।’ हुन त सडकमा मागेर खानुलाई पेसाका रुपमा अँगाल्नेको संख्या धेरै भएको सदीशले अनुभव गरेका छन् । त्यस्ता व्यक्ति पटक–पटक उद्धार गरेर आश्रममा ल्याएपछि फेरी भागेर सडकमै पुगेको तितो अनुभव सदीशसंग धेरै छ । मानवसेवा आश्रमको एउटै अपेक्षा हुन्छ, सकेसम्म बिछोडिएका आफन्तको पुनर्मिलन । आफन्त भेटिएको अवस्थामा उनीहरुलाई घर पठाइन्छ ।

मानव सेवाले दिएको सन्तुष्टी
कहिलेकाहीं सबै कुरा भुलेर आफ्नै संसारमा रमाइलो गरौं भन्ने उनलाई नलाग्ने होइन । फेरी आश्रममा आश्रितको अनुहार हेर्छन्, अनि आफ्नो इच्छा र चाहना त्याग्छन् । ‘म जसको लागि भनेर खटिएको छु, उनीहरुको अनुहार हेरेपछि माया लाग्छ, अनि कसरी जानु बाहिर ?’ उनी भन्छन्, ‘त्यहाँ रहेकाको आँखामा खुसी र ओँठमा हाँसो देखेपछि आफ्नो खुसी र मनमा आएका भावलाई आफैं भुल्छु ।’ कहीं कतै बाध्यताबस् जानुप¥यो भने पनि सदीशले आश्रममा सबैको व्यवस्था मिलाएर जान्छन् । अबको भविष्य के हुन्छ, सदीश आफैंलाई थाहा छैन । आफैंलाई आफ्नो भविष्यको विषयमा चिन्ता नलाग्ने होइन । ‘यत्रो समय दिइसकेपछि आश्रमलाई छोड्न सकिन्न,’ सदीश भन्छन् । सदीशलाई उच्च कोटीको जीवन जिउने, आइफोन लिएर हिंड्ने लगायत इच्छा र चाहना हुँदैन । जीवन सकेसम्म सरल तरिकाले जिउन चाहन्छन् । त्यसैले उनको खर्च त्यति ठूलो छैन । अहिले आवश्यकताका कुरा उनलाई आमाबाबाले पुरा गरिदिन्छन् ।

अहिले पोखराको हेम्जा र विरौटामा रहेको मानवसेवा आश्रममा १ सय ७१ जना आश्रित छन् । उनको दैनिकी पढाई बाहेक यी २ वटा शाखामा रहेका व्यक्तिको हेरचाह गर्दै बित्छ । सदीशलाई लाग्छ, आफ्नो हरेक किसिमको नागरिकको हेरचाह गर्नु राज्यको दायित्व हो । झन् विभिन्न कारणले घर र आफन्तबाट टाढा हुन पुगेकाको विषयमा राज्य बढी जिम्मेवार हुनुपर्छ । कारण, उनीहरुसंग बाँच्ने आधार हुँदैन । आफ्नो स्याहार गर्न र आफ्नो विषयमा सोच्ने कतिपयको मानसिक अवस्थाले सकिरहेका हुँदैनन् । उनलाई लाग्छ, राज्य निरीह देखिएको छ । ‘झन्, असहाय, दुखी, अशक्त लगायतको हेरचाह गर्नु त राज्यको हो, दुखका साथ भन्नुपर्छ, राज्यले हेर्दैन,’ उनी भन्छन् । अब त्यस्ता व्यक्तिका लागि राज्यलाई घच्घच्याउनु सबैको दायित्व भएको सदीशको बुझाई छ । सदीशका लागि आत्मसन्तुष्टी महत्वपूर्ण कुरा हो । ‘जो व्यक्तिले एकदमै दु:ख पाएको छ र उसलाई उद्धार गरेपछि ऊ राम्रो भएको देख्यो भने त्यो जस्तो सन्तुष्टी अन्य कहीं मिल्दैन ।’ उनी भन्छन्, ‘उद्धार गरेर ल्याउँदाको अवस्था र ठीक भइसकेको अवस्थाको फरक हेर्ने हो भने त्यो हाम्रो लागि सबै भन्दा ठूलो सफलता र सन्तुष्टिको विषय हो ।’

 

२०७९, २६ चैत्र आईतवार ११:२२
कथालिका नयाँ कथा
कथालिका