निलो फूलः लैंगिक विभेद र बाध्यताको कथा – कथालिका

निलो फूलः लैंगिक विभेद र बाध्यताको कथा

  • आफ्नो यौनिकताका विषयमा खुलेर आउँदा पनि परिवारले समाजको डर र आफूहरुको इज्जत जाने ठानेर बलजफ्ती विवाह गरिदिएका कारण उत्पन्न जीवनका जटिलताबारे धेरै कथा बोल्छन् ।

समाज र परिवारले छोराका रुपमा उनलाई लिए पनि तिलक फरक स्वभावका छन् । उनलाई महिला भन्दा पनि पुरुष प्रति लगाव हुन्छ । घरमा उनको परिवार तिलकलाई देखेर आजित हुन्छन् । विवाहका लागि लगातारको दबाबले तिलकलाई थप सकस पर्छ । विवाहलाई विभिन्न बहानामा टार्दै आएका उनले यहाँसम्म कि दुई पटक विवाहका लागि तयार भएको मण्डपबाट नै भागेका हुन्छन् ।

यतिसम्म गरिसके पछि पनि उनलाई सुख हुँदैन । त्यसपछि उनलाई आमाले आत्महत्या गर्ने धम्की दिंदै इमोसनल ब्ल्याकमेल गर्छिन् । अनि तिलकले बाध्य भएर आफ्नो भावनालाई दबाएर परिवार र समाजको डर तथा दबाबले बाध्यताबस् एक युवती संग विवाह गर्छन् । त्यसपछिको जविगन कथा कहानी कसरी अगाडि बढ्छ ? विवाहका कारण तिलक र उनको श्रीमतीले समाज तथा परिवारबाट के कस्तो समस्या भोग्छन् ?

यस विषयको अनगिन्ती रहस्यमय कथा बोल्छ निलहिरा समाजका संस्थापक सुनिलबाबु पन्तद्वारा निर्मित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्याका विषयमा केन्द्रित रहेर बनाइएको ४० मिनेटको वृत्तचित्र ‘निलो फूल’ ले ।

२१ वर्ष अगाडि भेटेको पात्र

सुनिलबाबु पन्तको आफ्नै लगानीमा बनेको यो वृत्तचित्र सत्य घटनामा आधारित वृत्त चित्र हो । वृत्त चित्रको निर्देशनमा भने पन्तलाई प्रद्युम्न मिश्रले साथ दिएका छन् । यो वृत्त चित्रका प्रमुख पात्रलाई उनले पोखरामा आजभन्दा २१ वर्ष अगाडि कुनै कार्यक्रममा आउँदा भेटेका थिए । अहिले त यो समुदायका व्यक्तिलाई समाजले राम्रो नजरले हेर्दैन, त्यो समयमा त झन् कस्तो हुन्थ्यो, कल्पना भन्दा बाहिरको कुरा थियो । त्यो समयमा लैंगिक तथा यौनिक अल्पसंख्यकको हकहित, अधिकार तथा उनीहरुको अस्तित्वको लडाईंका लागि भन्दै ‘ब्लू डाइमण्ड सोसाइटी’ भर्खर सञ्चालनमा आएको थियो ।

पन्तको बुझाईमा हुन त अहिले पनि समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको समुदायको विषयमा सकारात्मक भावना आउन अझै सकिरहेको छैन । उनीहरुलाई एकजुट गर्दै आफ्नो हकहित, अधिकार लगायतका विषयमा कार्यक्रम गर्दै देशका विभिन्न स्थान पुग्दा उनले यौनिक अल्पसंख्यकको धेरै समस्या प्रत्यक्ष देखेका छन्, भोगेका छन् । अहिलेसम्म सुनिलबाबुलाई धेरै कथाले छोएको छ, उनको मनमा किलासरी गडेर बसेको छ । तर, यो कथाले उनको मनमा यसरी स्थान बनायो कि २१ वर्ष पछि उनले यही विषयमा आधारित रहेर वृत्तचित्र नै बनाए ‘निलो फूल’ शीर्षक दिएर ।

हुन त यौनिक अल्पसंख्यक मध्ये एउटाको मात्रै यस्तो कथा होइन । फरक पहिचान भएका र समाजमा आफ्नो अस्तित्व खोजिरहेका धेरै यौनिक अल्पसंख्यकले अहिले पनि परिवार तथा समाजको दबाब र डरले गर्दा विवाह गर्न बाध्य हुने गरेको सुनिलको बुझाई छ । उनीहरु जस्ताको कथा सुनिलबाबुले नजिकबाट नियालेका छन् पनि । त्यसैले होला, उनलाई यो कथाको पात्रसंग भेट भएको २१ वर्ष पछि समेत वृत्तचित्र निर्माण गर्नुपर्छ भन्ने लाग्यो ।

‘हुन त एउटा मात्रै कथा होइन, अन्य लैंगिक तथा यौनिक अल्पसंख्यकको समस्या पनि उस्तै हो, समाजमा उनीहरुले उचित सम्मानका साथ जिउन पाइरहेको उदाहरण कमै छन्,’ सुनिलबाबुले भने । उनलाई लाग्छ, विभिन्न कार्यक्रम मार्फत् स्टेजमा बोलेर भन्दा केही मिनेटको वृत्तचित्र निर्माण गरेर समाजका सामुन्ने प्रदर्शन गर्न सहज भए समाजमा आफूहरु जस्तालाई बुझ्न सक्ने वातावरण बनाउने केही सजिलो हुन्छ । ‘निलो फूल वृत्तचित्र देशका विभिन्न सहरमा प्रदर्शन भइरहँदा वृत्तचित्र हेर्ने दर्शकले उनीहरुले पनि इज्जतका साथ जिउन पाउँछन् भन्ने बुझिरहेको भाव देखिरहेको छु,’ सुनिलबाबु भन्छन् ।

लैङ्गिक अल्पसंख्यकको कथा व्यथा

सुनिलले अधिकांश लैंगिक तथा यौनिक अल्पसंख्यकको भोगाईलाई यो वृत्तचित्र मार्फत् समाजमा देखाउने प्रयास गरेका छन् । ‘समय फेरियो, तर हामीलाई हेर्ने यो समाजको दृष्टिकोण अझै परिर्वतन भएको छैन,’ सुनिलबाबु भन्छन्, ‘प्रविधिले गर्दा केही सहज भएको छ तर, सोच परिर्वतन हुन अझै केही समय लाग्छ होला, कोसिस भने जारी राख्नेछु । एकदिन अवश्य हाम्रो विषयमा समाजको सोच परिर्वतन हुने छ ।’ सुनिलबाबुले के-सम्म देखेका छन् भने म यस्तो हो भनेर समाजमा खुलिसके पछि पनि सम्पन्न परिवारले बलजफ्ती विवाह गरिदिएका छन् ।

‘आफ्नो यौनिकताका विषयमा खुलेर आउँदा पनि परिवारले समाजको डर र आफूहरुको इज्जत जाने ठानेर बलजफ्ती विवाह गरिदिएका छन् सम्पन्न र शिक्षित भनिएका परिवारले पनि’ उनी भन्छन् । परिवारको इज्जत जाने डरले गर्दा विवाह गरिदिए पछिको उनीहरुको मानसिकताको विषयमा कसैले जानकारी लिन नचाहने उनको बुझाई छ । यो समस्या अझै समाधान भइसकेको छैन । आफ्नो इच्छा र चाहना सहित पहिचानका लागि विवाहको डरले गर्दा घर छोडेर भाग्ने धेरै रहेको उनले सुनाए । विवाहको डर, परिवार र समाजको डरले घर छोडेर भाग्न बाध्य हुने र आर्थिक अभावले गर्दा यौन पेसालाई अपनाउन बाध्य भएको सुनिलबाबु बताउँछन् ।

सुनिलबाबुलाई लाग्छ, यो कथाको पात्रलाई भेटेका कारण मात्रै होइन, कयौं अवस्थामा आफ्नो समस्या जस्तै भएकाले यो विषयमा वृत्तचित्र निर्माण गरे । उनको पनि आफ्नै भोगाई अन्य लैंगिक तथा यौनिक अल्पसंख्यकको भन्दा फरक छैन । उनको पहिचान र सोंचका विषयमा जानकारी भएर पनि विवाह गरेर जीवन अगाडि बढाउ भनेर दबाब दिने आफन्त तथा चिनेजानेका धेरै थिए । ‘सहर आएपछि शिक्षित भइसकेको र आफ्नो हकअधिकारका विषयमा जानकारी पाइसकेको थिएँ ।’

उनी भन्छन्, ‘सायद गाउँमै बसेर शिक्षालाई निरन्तरता दिन नसकेको भए मैले पनि आफ्नो इच्छा र चाहना विपरित परिवार र समाजको दवावले उनीहरुको अगाडि हिम्मत हारिसकेको हुन्थें, विवाह गरिसकेको हुन्थें होला ।’ उनलाई विवाह गरेर अगाडि बढ्ने दबाब आउँदा आफन्त र परिवारलाई कसैको जीवन बर्वाद गर्ने अधिकार आफ्नो नभएको र आफ्नो भावनालाई बुझिदिन आग्रह गर्थे । यो दबाब सुनिलबाबुले लामै समयसम्म भोगेका थिए । अहिले पनि धेरै आफ्नो समुदायका व्यक्तिले बाध्यताले विवाह गर्ने उदाहरण धेरै देखिएको उनी बताउँछन् ।

प्रदर्शनमा अवरोध

४० मिनेटको यो वृत्तचित्रलाई उनले काठमाडौंसहित पोखरा र हेटौंडा लगायतका सहरमा प्रदर्शन गरेका छन् । जति स्थानमा प्रदर्शन गरे, त्यहाँ धेरै सकारात्मक र थोरै नकारात्मक प्रतिक्रिया पाएका छन् । ‘केही नकारात्मक प्रतिक्रिया आउनुलाई म सुझावका रुपमा लिन्छु,’ उनी भन्छन् । अन्य स्थानमा यो वृत्तचित्र प्रदर्शन गर्दा कुनै समस्या भोग्नु परेन । तर, पोखरामा भने सुनिलबाबुले थोरै समस्या भोग्नुप¥यो । यो वृत्तचित्र पोखरामा गत चैत्र ३० गते प्रदर्शन गरिएको थियो । वृत्तचित्रले समाजमा विकृति, विसंगति फैलाउने भन्दै प्रदर्शन रोक्न एउटा संस्थाले हललाई पत्राचार गरेको थियो ।

‘वृत्तचित्र प्रदर्शन गर्ने जानकारी पाएपछि यसले विकृति फैलाउँछ, प्रदर्शन रोक्नुस् भन्दै एउटा संस्थाले हलवालालाई पत्राचार गर्नुभएछ,’ उनले भने, ‘हल सञ्चालक नडराउने र नआत्तिने कुरा भएन, उहाँहरु स्वभाविक रुपले आत्तिनुभयो, प्रदर्शन नै रद्ध गर्नुपर्ने हो कि भन्ने भइसकेको थियो, पछि भने कुरा बुझ्नुभयो ।’ अन्य स्थानबाट राम्रो प्रतिक्रिया पाएका उनले पोखरामा भने वृत्तचित्र प्रदर्शनका क्रममा नमिठो अनुभव गर्नुप(यो । तर उनलाई यो विषयमा कुनै गुनासो छैन ।

यो वृत्तचित्र पैसा कमाउने हिसाबमा निर्माण गरेका होइनन् । हलमा अन्य फिल्म जसरी प्रदर्शन नगर्ने र सामाजिक सञ्जालमा समेत अहिले नै नल्याउने उनको योजना छ । अहिलेलाई विभिन्न राजनीतिक व्यक्तित्वलाई वृत्तचित्र देखाएर आफूहरुको समस्याका विषयमा जानकारी दिने उनको रहर छ । उनलाई आफ्नो समुदायको समस्या तथा उनीहरुको भोगाईलाई विषयवस्तुका रुपमा प्रस्तुत गर्दै अझै बढी चलचित्र बनाउनु छ । ‘छोटो समयको वृत्तचित्र होस् या फिल्म, यसबाट समाजमा छिटो पुग्न सकिदो रहेछ, समाजमा प्रभाव पार्न सकिने रहेछ ।’

उनले भने, ‘हाम्रो समुदायका विषयमा समाजलाई हामीले वर्षौंदेखि बुझाउने कोसिस गरिरहेका थियौं, तर सकिरहेका थिएनौं, तर ४० मिनेटको वृत्तचित्रले बुझाउन सक्यो ।’ उनको योजना छ, कुनै विद्यालय वा क्याम्पसले विद्यार्थीका लागि प्रदर्शन गर्न खोज्यो भने उनीहरुमाझ प्रदर्शन गर्ने र सकियो भने अन्तर्राष्ट्रिय रुपमा अगाडि लैजाने । उनलाई थाहा छैन, यो योजना कति ठीक हो, कति बेठीक हो । तर, सुनिलबाबुलाई सकेसम्म आफूहरुले भोग्नुपरेका समस्याका विषयमा परिवार तथा समाजले थाहा पाएर आफूहरुको अस्तित्व स्वीकार गरेको हेर्ने मन छ । ‘यसका लागि यही वृत्तचित्र एउटा माध्यम बनोस् । यही मेरो चाहना छ,’ उनले भने ।

प्रश्नोत्तर गर्ने जिम्मा दर्शकलाई

धेरैलाई ‘निलो फूल’ वृत्तचित्र हेरिसकेपछि केही अधुरो र प्रश्नका जवाफ केही भेटिएन भन्ने लाग्न सक्छ । किनकि उनले यो वृत्तचित्रमा पात्रका धेरै कथा भनेका छैनन् । कथा यो वृत्तचित्र पुरा नभई सकिए जस्तो भान हुन पनि सक्छ । उनले कथालाई बीचैमा टुंग्याएका छन् । जसले गर्दा वृत्तचित्र हेर्ने दर्शकको मनमा अनेकन प्रश्न आउन सक्छ । तर, यस्ता अनेकन प्रश्नको जवाफ खोज्न सुनिलबाबु दर्शकलाई नै अनुरोध गर्छन् ।

‘फिल्म हेरिसकेपछि केही अधुरो लाग्न सक्छ, तर त्यो अधुरोपनका लागि सचेत नागरिक भएको नाताले दर्शक बोल्नुपर्छ, यसरी यो समस्याको समाधान गर्न सक्नुपर्छ भनिदिनुप¥यो,’ उनी भन्छन्, ‘जबरजस्ती विवाह गराइदिँदा लैंगिक तथा यौनिक अल्पसंख्यक मात्रै होइन, उनीहरुसंग जोडिएका आफन्त, परिवार लगायतको पनि जीवन बर्वाद हुन सक्छ, त्यसैले सचेत नागरिक भएपछि पोलिसी मेकर हुन सक्नुपर्छ ।’

२०८०, १५ बैशाख शुक्रबार ०५:३६
कथालिका नयाँ कथा
कथालिका