दुःख बिसाउने गाउँ – कथालिका

दुःख बिसाउने गाउँ

  • भौतिक बिलासिता, सुख, सुविधामा सम्पन्न भए पनि दुःखी भएर बाँच्ने यहाँ धेरै छन् । मानिसहरुको अरु र सिंगो संसार प्रति त गुनासो छँदैछ, त्यो गुनासो आफैंसंग पनि व्यापक मात्रामा छ । जीवनको असली खुसी, गहिरोबोध र उत्तर बराङ गाउँमा पुगेर पाएको धेरैले बताउँछन् ।

संघीय राजधानी पछिको ठुलो र सुन्दर सहर पोखरा । त्यही सहरबाट केही समयको अन्तरलामा पुगिन्छ गाउँ । वरिपरी हरियाली, वनपाखाको बीचमा चराको चिरबिर आवाज, सुन्दर, शान्त अनि कोलाहलमुक्त छ गाउँ । गाउँसम्म पुग्ने आधा भागको बाटो पिच छ भने पुग्नु भन्दा अगाडि मात्रै कच्ची छ । सवारी साधनको आवतजावत धेरै नभएकाले होला, कोलाहल भन्दा धेरै टाढा र शान्त लाग्छ । गाउँमा वरिपरी जता हेर्दा पनि हरियाली देखिन्छ । धेरैलाई जानकारी नभएको यो गाउँको अर्को सुन्दर पक्ष पनि छ कि यो गाउँलाई केही वर्ष यता योगी विकासानन्दले आफ्नो ध्यान साधना स्थल र बासस्थान बनाएका छन् ।

पोखरा महानगरपालिका भित्रका केही वडामा यस्ता पृथक बिशेषताका गाउँहरु पनि छन्, जसको बारेमा थोरैलाई थाहा छ । पोखरा महानगरपालिका २३ मा पर्ने एउटा सुन्दर गाउँ हो बराङ गाउँ । पोखराको मुख्य बजारबाट यो गाउँसम्म पुग्न धेरै समय लाग्दैन, जम्मा १५ किलोमिटरको दुरी छ । बराङमा ५ रोपनी जग्गालाई ध्यान साधना स्थल र आफ्नो बासस्थान बनाएका छन् विकासानन्दले, जहाँ उनले त्यहाँ पुगेर मन शान्ति दिलाउन र ध्यान गर्न इच्छुकलाई ध्यान साधना गर्न सिकाउँछन् । सार्थक जीवन जिउन सिकाउँछन् । हाँस्न बिर्सेका मानिसहरुलाई हाँस्न सिकाउँछन् ।

भौतिक बिलासिता, सुख, सुविधामा सम्पन्न भए पनि दुःखी भएर बाँच्ने यहाँ धेरै छन् । मानिसहरुको अरु र सिंगो संसार प्रति त गुनासो छँदैछ, त्यो गुनासो आफैंसंग पनि व्यापक मात्रामा छ । जीवनको असली खुसी, गहिरोबोध र उत्तर बराङ गाउँमा पुगेर पाएको धेरैले बताउँछन् ।

जहाँ वर्षौदेखिका पीडा ओकल्छन्, मन शान्ति गर्छन्
कथालिकाकर्मी सहित केही सञ्चारकर्मी यस गाउँमा पुग्दा धेरैले अचम्म मानिरहेको दृश्य देखियो । पोखराको सुन्दर सहर छोडेर गाउँमा योगी विकासानन्द बसिरहेको कुराले धेरैलाई आश्चर्यमा पा¥यो । योगी आश्रमको बनोट हेर्दा यस्तो लाग्थ्यो, त्यहाँ एक किसिमको शान्ति छ, आनन्दित वातावरण छ । आश्रम भित्रको वातावरण नजिकबाट नियालिरहँदा लाग्छ, यो निकै लय र सही प्रणालीमा चलिरहेको छ ।

आश्रममा योगी विकासानन्दको सानो कार्यक्रम थियो । कार्यक्रमको पूर्वसन्ध्यामा ध्यान गर्नुपर्ने थियो । ध्यानकै बीचमा मधुर संगीत बजिरहेको थियो । सबैले एकाग्रताका साथ ध्यान गर्न सक्छन् भन्ने होइन । त्यहाँ पनि त्यस्तै दृष्य देखियो । ध्यानकै क्रममा कोही आफ्नो मनका भावनालाई नियन्त्रण गर्न नसकेर आँसु झारिरहेका थिए भने कोही जोडजोडले चिच्याइरहेका थिए । मानौं, उनीहरुले वर्षौंदेखि गुम्सिएका दुःख, पीडा अनि आफ्ना मनका अनेकन भावनालाई ध्यानको माध्यमबाट प्रस्फुटन र मन शान्ति गरिरहेका छन् । कहिले नदेखेको र यो विषय नयाँ भएका केही व्यक्तिलाई यो असामान्य र अविश्वसनीय लाग्न सक्छ । तर, त्यो प्रत्यक्ष, सम्भव र सामान्य दृश्य थियो ।

‘हराएको हाँसो र खुसी भेटियो’
सोही ध्यान केन्द्रमा सहभागी भएकी थिइन् बन्दना अधिकारी । पोखराकै पस्र्याङ घर छ उनको । उमेरले बल्ल २३ वर्ष पुगेकी उनी ध्यान केन्द्रमा सहभागी हुन थालेको २ वर्ष पुग्यो । खासमा उनी बराङमा दुई वर्ष अगाडि घुम्ने मनसायले टहलिँदै पुगेकी थिइन् । घुम्दै हिँड्ने क्रममा उक्त आश्रम देखेकी थिइन् । त्यहाँ पुगेर ध्यान गर्ने उनको योजना थिएन । तर, आश्रम देखिसके पछि उनलाई त्यहाँ जान मन लाग्यो । मनलाई बुझाउन सकिरहेकी थिइनन् । त्यसपछि बन्दना दुई वर्ष अगाडि त्यहाँ पुगिन् । जानु भन्दा अगाडि उक्त स्थानका विषयमा थप जानकारी हासिल गर्नु उनको लागि महत्वपूर्ण थियो । आश्रममा हुने ध्यानका विषयमा सोधिरहँदा त्यो बेला तीन दिनको कक्षा हुने गरेको जानकारी पाइन् । ३ दिने कक्षामा सहभागी भएपछि उनले आफूमा धेरै परिवर्तन आएको र आफ्नो जीवनको खुसी भेटिएको अनुभव गरिन् । त्यसपछि अहिले पनि बन्दना निरन्तर त्यहाँ गइरहन्छिन् । आफू हाँस्नु र रमाउनुको कारण नै ध्यान रहेको उनको बुझाई छ ।

बन्दना मात्रै होइन, त्यहाँ पुगेपछि समिताले पनि आफ्नो जीवनका विषयमा धेरै बुझ्ने मौका पाएको अनुभव गरिन् । यो अनुभव समिताका लागि जीवनकै उत्कृष्ट अनुभव थियो । समिताको खास नाम सोम गुरुङ हो, तर उनी अहिले समिता बनेकी छिन् । धेरै वर्ष विदेश बसेकी उनी आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यसहित नेपाल आएकी थिइन् । उनलाई जीवनमा भौतिक रुपमा अपुग केही थिएन । फेरी पनि दुःखी थिइन् । आफैंसंग गुनासो थियो । म किन जन्मिएँ ? खुसी हुन किन सकिरहेकी छैन ? जीवनमा के गर्नुृ छ र ? यी र यस्ता प्रश्नले उनलाई पच्छ्याइरहन्थ्यो । ‘मलाई अपुग केही थिएन, धनसम्पति सबै थियो, तर आत्मसन्तुष्टी थिएन, आफैंसंग गुनासो र हिनताबोध थियो,’ उनी भन्छिन्, ‘औषधीको भरमा बाँचेको म, यहाँ आएपछि आफूले आफैंलाई बुझ्ने मौका पाएँ, म को हो भन्ने प्रंश्नको जवाफ पाएँ ।’ ९ महिना भयो समिता योगी विकासानन्दको ध्यान केन्द्रका कक्षामा सहभागी हुन थालेको । हुन त उनी फेरी विदेश जाँदै छिन् । तर, फर्किएपछि फेरी यही आउने उनको इच्छा छ ।

योगी विकासानन्दलाई लाग्छ, फरक–फरक देश सीमा रेखाले विभाजित हुँदा विश्वभरका मानिसले हामी एउटै परिवार हौं, मानिस हौं भन्ने बारेमा बुझ्ने मौका पाएनन्, मानिस केवल मानिस हुन्, अरु आधारमा विभाजित हुनु हुँदैन । एकअर्कालाई मानिस भएर जन्मिए पछिको नाताले पनि हरेक अवस्थामा सहयोग गर्नुपर्छ भन्ने उनको बुझाई छ । ‘संसारभरका सीमारेखा मेट्न त सक्दैनौं तर, विभाजन गरिएका सीमालाई दिलका आधारमा जोड्न सक्छौं कि भन्ने मेरो आशा हो,’ उनी भन्छन् । बराङमा रहेको उनको आश्रम अहिले ५ रोपनी जमिनमा फैलिएको छ । ध्यानको माध्यमबाट आफूसंग हाल विश्वभरका करिब ३२ सय सदस्य जोडिएको उनले बताए । यी सदस्यले विश्वभरी छरिएका आफ्नो सदस्यलाई जहाँ भए पनि सहयोग गर्ने उनको भनाई छ ।

आइएनजिओमा जागिर गर्ने, सोही जागिरको सिलसिलामा विभिन्न स्थानमा गएर कार्यक्रम आयोजना गरिरहनुपर्ने उनको जीवन रमाइलो थियो । महिनाको ५०÷६० हजार कमाई हुन्थ्यो । राम्रो जागिर र कमाई, बुझ्ने घरपरिवार । यति हुँदाहुँदै पनि रविना भित्रै मनदेखि कहिले खुसी हुन सकेकी थिइनन् । उनलाई लाग्थ्यो, हाँस्ने र रमाउने कुनै कारण छैन आफ्नो जीवनमा । जब आश्रममा पुगिन्, उनले जीवनको सार्थकता र महत्व के हो भन्ने बुझ्ने मौका पाइन् । उनलाई लाग्छ, योगी विकासानन्दको आश्रममा आएपछि उनले पुर्नजीवन पाएकी छिन्, हाँस्न सिकेकी छिन् । ‘मेरो जीवन केही हो भन्ने मलाई नै थाहा थिएन, यहाँ आएपछि बुझ्ने मौका पाएँ, खुसी छु, आफूलाई बुझ्न सक्ने भएको छु ।’ उनले भनिन्, ‘मेरो लागि महत्वपूर्ण विषय यही हो ।’ उक्त आश्रममा जान थालेको अहिले ४ वर्ष पुग्यो र यो अवधिबाट रविनाबाट उनी आत्मा रविना बनेकी छिन् ।

आनन्दित जीवन नै स्वर्गको मिठो अनुभव
धना पुनलाई लाग्छ, जीवनमा बाँच्दासम्म पाप गर्ने कि पुण्यको कर्म गर्ने भन्ने मानिसको आफ्नै हातमा हुन्छ । विश्व परिवार संघ कास्की केन्द्रका प्रमुख समेत रहेकी उनले पनि यहाँसम्म आइपुग्दा जीवनलाई नजिकबाट बुझ्ने मौका प्राप्त गरेकी छिन् । ‘हामीले भन्ने स्वर्ग र नर्क भन्ने कुरा हाम्रै मनले महसुस गर्ने विषय हो, मलाई लाग्छ, आनन्दित जीवन नै स्वर्गको मिठो अनुभव हो,’ उनी भन्छिन् । आफ्नै जीवनका बारेमा मनका उठेका विभिन्न प्रश्नको उत्तर पाएकी छिन् धनाले । सुनिल पौडेल ‘मनोक्रान्ति’ को समेत धनाको भन्दा फरक बुझाई छैन जीवनका बारेमा । भारतीय आर्मीको सर्टिफिकेट लिएर त्यागेका उनलाई लाग्छ, आफू बल्ल मान्छे बन्ने कोसिस गरिरहेको छु । १० वर्ष दुबइमा काम गरेर फर्किएका उनी योगी विकासानन्दको आश्रममा आएर जीवन बुझ्ने कक्षामा सहभागी भएको धेरै भइसकेको छ । ‘२ वर्ष डिप्रेसनमा गइसकेको थिए, यहाँ आएर ध्यान गर्न थालेपछि त्यो निको भएको मैले अनुभव गरें,’ उनी भन्छन् ।

गाउँमा होम-स्टे छ, छैनन् पाहुना
बराङ गाउँको अर्को विषेशता भनेको यहाँ होमस्टे हो । तर, होमस्टेबाट स्थानीयले फाइदा लिन सकिरहेका छैनन् । हाल गाउँको करिब १५÷१६ वटा घरमा होमस्टे भए पनि त्यति चर्चामा आउन सकेको छैन । योगी विकासानन्दद्वारा निर्माण गर्ने भनिएको विशाल हलको निर्माण सम्पन्न भएपछि बराङमा पर्यटकको आवागमन बढ्छ कि भन्ने गाउँका स्थानीय बासिन्दा एकनाथ पराजुली आशा व्यक्त गर्छन् । कोरोनाकालभन्दा पहिले गाउँमा होमस्टे सञ्चालनमा आएको भए पनि यदाकदा मात्रै पर्यटक पुग्ने गरेको उनको भनाई छ । ‘वैशाख १६ गते अनुसन्धानका लागि एउटा टोली गाउँमा आएका थिए,’ उनले भने, ‘जति आशा थियो, होम स्टेमा त्यति पाहुना हुँदैनन् ।’ आफूहरुको चुनौती र समस्याका विषयमा पोखरा महानगरपालिकामा जानकारी गराए पनि गाउँको समस्या समाधान हुन नसकेको उनको गुनासो छ । उनी भन्छन्, ‘समस्या र चुनौतिको त चाङ छ, तर अहिले गाउँमा राज्यको सोचे जस्तो पहुँच भएन कि जस्तो लाग्दैछ ।’

जंगलमा विशाल हल बनाउने योजना
योगी आश्रम १२ सय मिटर उचाईको डाँडामा छ । जहाँ ५ र ९ दिनको शिविर हुने गरेको छ, जहाँ ध्यान गरेर जीवन बुझ्न सहयोग मिल्ने सहभागीहरु बताउँछन् । आश्रममा आयोजना हुने शिविरमा सहभागिता जनाएर ध्यान गर्न चाहनेले प्रति व्यक्ति दैनिक १ हजार तिर्नुपर्ने हुन्छ । यसरी आश्रममा आयोजना हुने ध्यानको हरेक शिविरमा ५० देखि १ सय जनासम्म सहभागी हुने गरेको योगी विकासानन्दले बताए । हाल आश्रममा २८ जना स्वंयमसेवी छन् । योगी विकासानन्दका अनुसार अहिले आश्रम रहेको स्थान भन्दा १ किलोमिटर माथि जंगलमा करिब ४० रोपनी जग्गा खरिद गरिएको छ । यो जग्गामा ५ सय जना अटाउने र ध्यान गर्न मिल्ने विशाल हल निर्माण गर्ने योजना छ । उक्त जमिनमा निर्माण हुने हलका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको योगी विकासानन्दले बताए । आर्थिक सहयोग आफूहरुले नमाग्ने र ध्यान शिविरमा सहभागी भएका विभिन्न आन्तरिक तथा विदेशी नागरिकले स्वतस्फूर्त रुपमा सहयोग गर्ने उनको दाबी छ । केहीले जन्मदिन, वैवाहिक वर्षगाठ लगायतका दिनमा सहयोग गर्ने र सोही सहयोग मार्फत् आश्रम चलिरहेको उनले बताए ।

गाउँ बन्ने स्थानीयको आशा
पोखरा महानगरपालिका वडा नम्बर २३ मा पर्ने बराङमा योगी विकासानन्दले आश्रम निर्माण गरे पछि सिंगो गाउँमा नै भिन्न खालको परिवर्तन, जागरणको आभाष भइरहेको स्थानीय बताउँछन् । सबैभन्दा ठूलो कुरा यहाँका स्थानीय बासिन्दाले रोजगारी पाएका छन् । निर्माण हुँदै गरेको आश्रममा बाहिर ३ जना बाहेक अन्य स्थानीयले काम गरिरहेका छन् । श्रम गरे बापत् अहिले चलिरहेको रेट अनुसार आफूहरुले पारिश्रमिक पाइरहेको सोही गाउँका स्थानीय युवराज पराजुलीले बताए । आश्रम बनिसकेपछि गाउँमा पर्यटक आउने क्रम केही हदसम्म पुग्ने गरेको उनको भनाई छ । ‘विदेशीभन्दा नेपाली बढी आउँछन्, तर सोचे जस्तो छैन,’ उनले भने । कथालिकासँगको कुराकानीमा युवराजले पोखरा महानगरभित्रकै वडामा रहेको भएर पनि बराङ गाउँमा अपेक्षाकृत विकास हुन नसकेको गुनासो गरे । ‘यो गाउँ पोखरा महानगर भित्रै भएर पनि अपेक्षित विकास हुन सकेको छैन, योगी विकासानन्दको अभियानले यस गाउँको परिचयलाई व्यापक बनाइरहेको छ, अब पोखरा महानगरको पनि यथोचित ध्यान पुग्नेछ भन्ने अपेक्षा छ,’ उनले भने ।

२०८०, २१ बैशाख बिहीबार ०६:५२
कथालिका नयाँ कथा
कथालिका