के राजनीतिमा जालिन् त ‘सकम्बरी’ ? – कथालिका

के राजनीतिमा जालिन् त ‘सकम्बरी’ ?

  • जति उन्नत व्यवस्था, युगमा बाँचिरहे पनि हामी अझै बदलिनु पर्ने कुरामा बदलिएका छैनौ, सोच्नुपर्ने कुरामा सोचिरहेका छैनौ, अनि गर्नुपर्ने काम पनि गरेका छैनौ । केवल सतही बहस, गुनासो, आलोचना, प्रंशसा र आत्मरतिमा रमाइरहेका छौ ।

ऐना एक मात्र त्यस्तो साथी हो जसले मात्र यथार्थ सत्य देखाउँछ । अहिले हामी जुन समाजमा बाँचिरहेका छौ, यो समाजमा सत्य बोल्ने र सत्य देखाउने साथीको साँच्चिकै अभाव छ । त्यसैले त हामी गफ धेरै गर्छौ, कुरा धेरै काट्छौ तर, आफ्ने अनुहार ऐनामा हेर्न डराउँछ । ऐना केवल हामी आफ्नो अनुहारको सुन्दरताको लागि हेर्छौ । तर मनको सुन्दरता हेर्ने आँट कसको ?

पछिल्लो एक महिनादेखि समाजको एक प्रतिबिम्ब देखाउने गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ बारे तिब्र बहस भयो । सपुतले हाम्रो समाजको यथार्थ प्रतिबिम्ब हाम्रै समाजलाई देखाउने जुन आँट गरेका छन् त्यो निकै नै सह्रानीय छ, चिन्तन मनन गर्न योग्य छ । हामी जुनसुकै उन्नत व्यवस्था, युगमा बाँचिरहे पनि हामी अझै बदलिनु पर्ने कुरामा बदलिएका छैनौ, सोच्नुपर्ने कुरामा सोचेका छैनौ अनि गर्नुपर्ने काम पनि गरेका छैनौ । केवल सतही बहस, गुनासो र आलोचनामा रमाइरहेका छौ । यसको प्रभाब दैनिक अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिन लाग्ने हजारौको लाइन, विदाईका आँशु, भावबिह्वल परिवारको दृश्य काफी छ ।

विजय परियार

म त्यो समाजमा बाँचिरहेको छु जहाँ सानो भन्दा सानो कामका लागि पनि केही न केही चढाउनै, त्याग्नै पर्छ ।
सरकारी काममा हाकिमलाई भेटी
वैदेशिक रोजगारमा दलाललाई भेटी
बन्दैन काम कागज पुग्दैमा,
समय बित्छ एकछिन् एकछिन् भन्दैमा
छैन गणना मेहेनतको, नत फल परिश्रमको,
सजिलो मात्रै कुरा गर्छन्, गर्छन् खेती भ्रमको
सहारा बन्छु भनेर आउँछन्, इच्छा गर्छन् तनको
प्रतिकार गर्न खोज्यो, धाक देखाउछन् धनको ।

केही पाउन केही गुमाउनै पर्छ तर, के गुमायौ भन्नेले धेरै अर्थ राख्छ । अभावमा रहर अनि रहर पुरा गर्न छिरेकी सहर । सपुतले गीत र भिडियोमा देखाएका फूलमाया समाजका यथार्थ पात्र हुन् । हाम्रो समाजमा एउटा छोराले करोडौ कमाउँदा खासै चासो राखिदैन । तर, जब एउटी छोरीले सानै सामान जुटाइन् भने पनि अनेकौ प्रश्न तेर्साइन्छ । छोरीलाई लक्ष्मी भनेर पुजा गर्ने समाजले छोराले कतै गलत कार्यमा अनावश्यक खर्च त गरिरहेको छैन भनेर प्रायः चासो राख्दैन, प्रश्न गर्दैन । त्यही विषय र सवालहरुमा छोरीहरु प्रश्नको कठघरामा उभिरहेकी हुन्छिन् । सायद समाजको यही बिभेदले होला फूलमायालाई कसैले छोरी देखेन, दिदीबहिनी देखेन । रहर सपना र आवश्यकता पुरा गर्न हिँडेको एक यात्रीको बाध्यतामा साधन बनाउने नियत राखिन्छ । दैनिक आवश्यकता पुरा गर्न सहर छिरेकी उनलाई रहरको सहरले एक पछि अर्को गरेर लुटिरह्यो । रहरले लुट्नेहरुले बाध्यताले लुटिनेहरुलाई लुटिरहेका छन्, अझै कहिले सम्म लुटिरहनेछन् ।

  • जो अझै पनि आफ्नो लक्ष्य प्राप्तिको लागि तन, मन बेच्न बाध्य छन् । आफ्ना रहरहरुलाई त्याग गर्न बाध्य छन् अनि बाध्यतालाई नै रहर बनाइरहेका छन्। ती सबै फूलमायाहरुको आवाज बन्नलाई पनि सकम्बरी राजनीतिमा आउनै पर्छ । नारी अस्मिताको मोलमोलाई गर्ने विरुद्ध लड्नलाईं पनि सकम्बरी राजनीतिमा आउनै पर्छ ।

लक्ष्यको चुच्चोलाई स्पर्श गर्नका खातिर लुटिनेहरु मौन छन्, चुपचाप छन् । हाम्रो संयन्त्र पनि यस्तो छ कि लुटिनेहरु आफ्नो आवाज उठाउन सक्दैनन्, कारण लाचार छन् । आवाज उठाउनेहरु प्रति हाम्रो समाजको नजर अझै पनि बदलिएको छैन । अनि गलत नजर लगाउनेहरु प्रतिको कानुन र त्यसको कार्यान्वयन पनि उस्तै दया लाग्दो छ । कानुन छ तर कार्यान्वयन उदेक लाग्दो छ । यही यथार्थ कथाको समग्र रुप हो ‘सकम्बरी’ ।

विशेषगरी यौन हिंसामा न्याय पाए पनि हाम्रा सयौ चेलीहरु अझै पनि समाजमा अट्न सकेका छैनन् । सम्मानको त कुरै छोडौ, उल्टो परिवार नै तिरस्कृत भएर बाँच्नु परेको छ । शक्ति र सक्ताको आडमा कति आवाज दबाइन्छन् अनि कति आवाजहरु न्याय पाएर पनि झेल्नुपर्ने सामाजिक तिरस्कारका कारण दबिएका छन् । एकाध बाहेक न त लुट्ने कानुनको घेरामा छन् न त लुटिएका स-सम्मान स्थापित छन् । रहरका भारी बोकेर शहर छिर्ने अनि फोहोरका भारी बोकेर फर्किनेको कमी छैन यो शहरमा ।

गायक सपुतको गीतको म्युजिक भिडियो एउटा सिंगो चलचित्र हेरे जस्तो अनुभूति हुने बनाएका छन् । जुन भिडियोको अन्तिममा अरु भिडियो कथाहरुमा जस्तै उनले एउटा प्रश्न र कौतुहलता जागृत गर्ने प्रश्न छोडेका छन् । जवानीको खेलको दलदलमा फसेकी सकम्बरी अब राजनीतिमा जालिन् त ? यो प्रश्न वर्तमान समाजका लागि अपरिहार्य थियो र छ ।

फूलमायाको जस्तै मन र जीवनको इच्छा पुरा गरिदिन्छु भन्दै तनमा हमला गर्नेहरु हाम्रो समाजमा मात्र होइन विश्वमै छन् भन्ने कुरा त केही समय अघिको #MeToo अभियानले पनि देखाइसकेको छ । यो जञ्जालको शिकार जे जस्ता मान्छेहरु भए पनि शिकार गर्नेहरुको अवस्था र अस्तित्व कस्तो रह्यो ? त्यो पनि अभियानले देखाइसकेको छ । अनि #MeToo अभियानले सबै भन्दा बलियो कानुन भन्ने कुरा पनि प्रस्ट पारेको छ ।

प्रकाशले गीतलाई जुन मोडमा छोडेका छन्, त्यसको आधारमा भन्नुपर्दा सकम्बरी अब राजनीतिमा पक्कै आउनुपर्छ । सकम्बरी आफु सिंगारिनलाई जुन ऐना हेर्छिन्, त्यहाँ उनले ती हजारौ फूलमायाहरुलाई देख्नुपर्छ अनि ती फूलमायाहरुका लागी आवाज उठाउनुपर्छ, जो अझै पनि आफ्नो लक्ष्य प्राप्तिको लागि तन, मन बेच्न बाध्य छन् । आफ्ना रहरहरुलाई त्याग गर्न बाध्य छन् अनि बाध्यतालाई नै रहर बनाइरहेका छन्। ती सबै फूलमायाहरुको आवाज बन्नलाई पनि सकम्बरी राजनीतिमा आउनै पर्छ । नारी अस्मिताको मोलमोलाई गर्ने विरुद्ध लड्नलाईं पनि सकम्बरी राजनीतिमा आउनै पर्छ । कानमा झुम्काना देखी आखै खाने डायमण्ड पनि रसले भरिएको वैंशले होइन, होइन, कलाले भरिएको संघर्षले किन्न सकिन्छ भन्ने देखाउन पनि अघि आउनु पर्छ । त्यसमा पनि अरु तमाम फूलमायाहरुको समस्या, सकसबाट छुटकारा दिलाउने विकल्प र अवसर पनि हुने भएकाले राजनीतिमै आउनु पर्छ ।

समय परिस्थितिले फूलमायालाई सकम्बरी बनायो । स्वार्थी सहयोगीको संगतले फुलमायाले बाटो पनि बिराइन् । अभावका रातहरुलाई सपनाको बाटोसँग साटिन् । बाध्यताका प्यासहरु मनरुहाएर मेटाइन् । अभाव अनि संघर्षले थकित फूलमाया सकम्बरी बनेर थकान मेटिन् । बाटो बिराएरै सकम्बरी बनिन् । अब बेला आएको छ सही बाटो हिँड्ने ।

महिलालाई सधै साधन देख्ने यो समाजलाई नारी शक्तिको ऐना देखाउनलाई पनि सकम्बरी राजनीतिमा आउनैपर्छ । राजनीति लाजनीतिकै अवस्थामा पुगे पनि, जति सुकै फोहोरी खेल भए पनि ग्राउण्ड सफा गर्न खेलिने खेल हो । अब सयौ सकम्बरीहरु राजनीतिमा आउनुपर्छ अनि फोहोरी खेल खेल्ने सबैको पत्तासाफ गर्नूपर्छ । हाम्रो राजनीतिमा अर्को तरङ्ग आउनुपर्छ अब । अनि हरेक किसिमको विकृति अनि विसंगतिहरुलाई बढारेर लानुपर्छ ।गायक सपुतको ‘सकम्बरी’ गीतको भाग-२ मा ‘सकम्बरी’ राजनीतिमा आए पनि, नआए पनि साँच्चिकै नेपालको राजनीतिमा फूलमायाहरु जरुर आउनु पर्छ ।
सकम्बरी गीत र म्युजिक भिडियो लिंक: 

२०८०, २९ बैशाख शुक्रबार १५:१४
कथालिका नयाँ कथा
कथालिका