डोरी समाएर बाँचिरहेका चन्द्रबहादुर – कथालिका

डोरी समाएर बाँचिरहेका चन्द्रबहादुर

  • चरम संघर्षबाट आफ्नो र परिवारको जीवन जोहो गर्दै थिए । भारत राजस्थानको लामो समयको मजबुरी पश्चात आफ्नै देशमा कृषि फर्म सञ्चालन गर्ने सोचले फर्किए । तर, नेपाल फर्केर फर्म सुरु नगर्दै दुर्घटना बेहोरे, र अशक्त जीवन बाँचिरहेछन् केवल डोरीको सहारामा । कोही यस्तै डोरी समाएर ‘आत्महत्या’को बाटो अँगाल्ने गरेकोमा उनी भने डोरीकै सहाराबाट उभिने र राहत महुशुस गरिरहेका छन् ।

कतिपय मानिसको जीवन यसै कठिन र जटिल चलिरहेको हुन्छ । त्यही माथि बज्रिन्छ प्रकृति, त्यही माथि आइपर्छ कहाली लाग्दा भवितव्य र दुर्घटना । र थपिन्छ पीडा माथि पीडाका खात । अनि बन्छ संघर्षशील जीवन एकाएक दयालाग्दो । अनि आउँछ बाँच्नकै लागि अनुनय विनय गर्नुपर्ने बिबशता र परिवन्द ।

हो, पर्वत फलेवास नगरपालिका ४ मुडिकुवाका चन्द्रबहादुर घर्ति ठीक यस्तै नियति भोगिरहेका छन् । ५५ वर्षिय घर्ति साधारण र संघर्षशील जीवन व्यतित गर्दा गर्दै जीवनकै कठीन मोडमा छन् ।

नेपाल फर्केर फर्म सुरु नगर्दै दुर्घटना बेहोरेका चन्द्रबहादुर

तीन वर्ष अघि सम्म निकै फुर्तिला थिए चन्द्रबहादुर । १४ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारतको राजस्थान पुगे ।चरम संघर्षबाट आफ्नो र परिवारको जीवन जोहो गर्दै थिए । भारत राजस्थानको लामो समयको मजबुरी पश्चात आफ्नै देशमा कृषि फर्म सञ्चालन गर्ने सोचले फर्किए । तर, नेपाल फर्केर फर्म सुरु नगर्दै दुर्घटना बेहोरे, र अशक्त जीवन बाँचिरहेछन् केवल डोरीको सहारामा । कोही यस्तै डोरी समाएर ‘आत्महत्या’को बाटो अँगाल्ने गरेकोमा उनी भने डोरीकै सहाराबाट उभिने र राहत महुशुस गरिरहेका छन् ।

मेहनत गर्नेहरु कहिल्यै असफल हुँदैनन् भन्ने आदर्शबाट प्रेरित उनले जानेका संघर्षलाई जीवनको मूल मन्त्र बनाए । जीवनका आवश्यकता र परिवारको जीविका जोहोका लागि होटेलमा मजदुरी मात्र गरेनन्, आफ्ना अगाडि आएका सबै काम गर्न पछि परेनन् ।

आफ्नै सपनाले पोलिरहेको, दुखाइरहेको छ
चन्द्रबहादुरका एक छोरा र एक छोरीका बाबू छन् । अब बाँकी जीवन संघर्ष गर्दै गाउँमै कृषि फर्म खोल्ने सपना देखेर गाउँ फर्किएका उनको सपना त्यतिखेर अधुरै रह्यो, जतिखेर उनी लडेर सख्त घाइते भए । आज भन्दा तीन वर्ष पहिले घाँस झार्न भनेर घर नजिकैको बडहरको रुखमा चढेका उनी घाँस काट्दा काट्दै रुखबाट अकस्मात् खस्न पुगे । तत्काल उपचारका लागि उनलाई पोखराको चरक अस्पतालमा पु¥याइयो तर उनको उपचारबाट पहिलेको जस्तो अवस्थामा सुधार आउन सकेन । लडेर ढाड भाँचिएको रिपोर्ट आयो । जसको उपचार सम्भव भएन ।

ढाड भाँचिएकाले उपचारमा सुधार नभए पछि परिवारले यतिकै घर फर्काए । यतिखेर उनको ढाड भन्दा मुनिको अंगले काम गर्न छाडेको छ । जसका कारण उनी हिँड्डुल गर्न सक्दैनन् । उठ्न र बस्न पनि अर्कैको सहारा लिन परेपछि यतिखेर उनी अर्कैको सहारामा बाँचेका छन् । अर्कैको सहारामा बाँच्नुपर्दा कृषि फार्म खोलेर देशमै सेवा गर्ने सपना बोकेर नेपाल फर्केका चन्द्रबहादुरलाई सबै भन्दा बढी आफ्नै सपनाले पोलिरहेको छ, दुखाइरहेको छ ।

राज्यले ब्यथा बुझिदिओस्, पीडा नदिओस्

चन्द्रबहादुरले जे जस्तो भवितव्यमा परेर शारीरिक अशक्तता बेहोरे, त्यसको शारीरिक दुखाइ त उनलाई छ नै, त्यो भन्दा बढी दुःख र पीडा राज्यको व्यवस्था, नीति नियम र खराब कार्यशैलीले दिएको उनी बताउँछन् ।

जनताको नाममा राजनीति गरेर पटक पटक सत्तामा पुगेकाहरुले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गरेको भए अपांगता बेहोर्नु पर्ने अवस्था नआउन सक्ने उनको भनाई छ । त्यसमाथि अपांगता भए पश्चात पनि नेपाल सरकारका तिनै तह अपाङ्गमैत्री हुन नसकेकै कारण अपाङ्गता भएकाहरुले पाउने सेवा र सुविधाबाट बञ्चित हुनुपरेको चन्द्रको गुनासो छ । आफू फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतको स्थानीय रहेको भए पनि अहिलेसम्म आफ्नै वार्ड मुडिकुवा र फलेवास नगरपालिकाले नहेरेको गुनासो गर्छन् । आर्थिक अवस्थाकै कारण बेलैमा राम्रो अस्पतालमा पुगेर उपचार गराउन नसकेका कारण आफू आजन्म अशक्त हुनपरेको चन्द्रको बुझाई छ । त्यतिमात्र होइन, पूरा नहुने सपना देखाउने र अब भोट माग्न आउने नेतालाई गतिलो जवाफ दिनुपर्ने उनी बताउँछन् ।

२०८०, ३ जेष्ठ बुधबार १३:२५
कथालिका नयाँ कथा
कथालिका