कीर्तिमानी हरि: दुवै खुट्टा गुमाए,गुमाएनन् आत्मविश्वास – कथालिका

कीर्तिमानी हरि: दुवै खुट्टा गुमाए,गुमाएनन् आत्मविश्वास

  • तालीवानको बमले दुवै खुट्टा गुमाए पछिको जीवन केही समय निकै तनावग्रस्त बित्यो । मदिराको लतदेखि आत्महत्या सम्मको सोचबाट गुम्दै गएको आत्मविश्वास फर्काउदा हरिबहादुरले सगरमाथा आरोहण गरेर दुर्लभ कीर्तिमान मात्रै रचेनन्, सिंगो नेपाल र नेपालीलाई उत्साह र प्रेरणाको सञ्चार गराए ।

रोल्पाका हरि बुढा मगर (४४) जीवनकै सर्वाधिक खुसी मुद्रामा छन् । उनी मात्र होइन, सिंगो नेपाल र नेपाली उनको सफलतामा उत्सव मनाइरहेको छ । शारीरिक रुपमा दुवै खुट्टा गुमाएका बुढाले विश्व समुदायलाई समेत चकित बनाउँदै विश्वकै सर्वोच्च शिखर सगरमाथा शानदार रुपमा आरोहण गरे । र आफ्नो नाममा नयाँ कीर्तिमान दर्ज गराए । जुन इतिहासको पानामा सुन्दर अक्षरले कहिल्यै नमेटिने गरी लेखिएको छ ।

जब तालीबानको बमले दुवै खुट्टा गुमाए

२०३६ सालमा रोल्पाको मिरुल जेवारी गाउँमा जन्मिएका बुढामगर गाउँकै स्कुलमा पढे । सामान्य परिवारमा हुर्किएका उनले एसएलसीसम्म अध्ययन गरेका छन् । २०५६ सालमा लिवाङको बालकल्याण उच्च माविमा प्रमाणपत्र तह पढ्दै गर्दा उनी बेलायती गोर्खा सैनिकमा भर्ती भए । तर, दुर्भाग्य भन्नुपर्छ, २०६७ सालमा पहिलो गोर्खा राइफलमा कार्यरत रहँदा गस्तीकै क्रममा तालिवान र अलकायदाले बम प्रहार गरे । उनले दुवै खुट्टा गुमाउनुप¥यो ।

त्यसबेलाको कहाली लाग्दो क्षणबारे बुढाले कथालिकासँग भने–‘अफगानिस्तानको हेल्मान्ड प्रान्तको युद्धमा मैले बहादुरी त देखाएँ तर झन्डै जीवन नै गुमेन ।’ त्यसपश्चात जीवन र जागिरे यात्रा केही कष्टप्रद भयो । जीवनमा सोचेका र सजाइएका सपनाहरु चकनाचुर भए जस्तो आभाष भइरह्यो । यही अनुक्रममा २०७१ सालमा जागिरबाट अवकाश भए । एकाएक शारीरिक रूपमा अशक्त हुँदाको पीडाको के हिसाब र ? तर पनि हरेस नखाएको उनी बताउँछन् । ‘त्यसपछि मैले दृढ अठोट गरेर केही न केही गर्ने सोचले विभिन्न सीप सिक्न थालें, त्यसले मलाई नयाँ उर्जा र आत्मबल दियो, त्यसकै निरन्तरताका कारण आज म सगरमाथा आरोहण गर्न सफल भए’, उनी भन्छन् ।

अनि जाग्यो हिमाल चढ्ने रहर

रोल्पाको जेवारी गाउँ, जहाँ जन्मिए बुढामगर । उनको गाउँबाट हिमालनजिकै देखिन्छ । सानै छँदादेखि नै उनमा हिमाल चढ्ने रहर पलाएको थियो । विश्वको अग्लो शिखर सगरमाथा पहिलोपटक चुम्ने तेन्जिङ नोर्गे र एडमन्ड हिलारीबारे स्कुलमा पढ्दै गर्दा त्यसले उत्सकुता जगाएको थियो । त्यो रहर विस्तारै अंकुरित हुँदै फुल्दै फक्रिदै अहिले आएर पूरा भएको छ ।

बेलायती सेनामा गएपछि सगरमाथा चढ्ने रहर अझ बढेर गयो । त्यसका लागि सोधीखोजी पनि गरे । तर, त्यसका लागि आवश्यक ठुलो बजेट र दुई महिना बढीको समयले उनी हच्किए । यद्यपि, सगरमाथा चढ्ने रहर सपना मरेको थिएन । सन् २०१० मा त अफगानिस्तानमा विद्रोही समूह तालिबानसँगको भिडन्तमा उनले दुवै खुट्टा गुमाए पछि जीवनले अनपेक्षित मोड लियो । पीडा भुलाउन मदिराको लतलाई सहारा बनाए । त्यसले उनलाई थप कमजोर बनाउँदै लग्यो । एउटा विन्दुमा पुगे पछि हरिबहादुर गुमेको आत्मविश्वास फर्काउने अठोटले साहसिक खेल र मर्दै गरेको हिमाल आरोहणको सपना ब्युँताएर अघि बढे ।

‘सुसाइड’को सोचबाट फर्किएका हरि

तालिबानसँगको भिडन्तमा दुवै खुट्टा गुमाए पछि हरिबहादुरलाई आफु बाचेकोमा तिब्र पीडाबोध भइरह्यो । उनी भन्छन्–‘त्यसबेला आफुलाई परिवार, समाज र सिंगो धर्तीको बोझ भएको अनुभूति भयो, जिन्दगी सकियो भन्ने लाग्यो, यसबाट क्षणिक रुपमा टाढिन भए पनि मदिरा पिउन थाले ।’ मदिरा पिउँदा पिउँदै एक किसिमको लतमा फसिसकेको बुढा बताउँछन् ।

‘मदिराको लतले एकदमै कमजोर भइसकेको थिएँ । मेरो हात काम्न थालेका थिए । त्यतिकैमा मरिन्छ जस्तो लाग्न थालेको थियो, सुुसाइडको सोच पनि बेला बेला मनमा आउथ्यो तर, श्रीमती, छोराछोरीको मायाले बाँच्न प्रेरित ग¥यो ।’

त्यसको दुई वर्षपछि आफ्नो गुमेको आत्मविश्वास फर्काउदै स्पोर्टस र एडभेन्चर मार्फत अघि बढाउन सुरु गरेको उनी बताउँछन् । यही क्रममा आफुलाई दरिलो रुपमा उभिने कृत्रिम खुट्टा खोजे । ’ एक अमेरिकी कम्पनीले हिँड्न र हिमाल चढ्न मिल्ने कृत्रिम खुट्टा सहयोग गरेको छ । प्राविधिक र वैज्ञानिक परीक्षण गरी बनाइएको खुट्टा नै उनलाई अर्को प्रेरणा बन्यो । निकै मेहनतपछि आफूलाई फिट हुने डिजाइनमा अमेरिकाबाट कृत्रिम खुट्टा पाए पछि लामो तयारी पश्चात सगरमाथा यात्रा सुरु गरे । र त्यो यात्रा सफलता, खुसी र कीर्तिमानीमा बदलिएकोमा बुढा मगर अहिले निकै प्रफुल्लित छन् ।

सगरमाथा आरोहणको संघर्ष र सकस

सगरमाथा सपना त धेरैको हुन्छ । तर, चढ्ने साहस, समय, सोच सबै कुरा सबैसँग कहाँ हुन्छ र ? र त सीमित व्यक्तिहरुको नाममा मात्र नयाँ नयाँ कीर्तिमान र सफलता दर्ज छ ।

सगरमाथा आरोहणका लागि पहिले ६ हजारभन्दा माथिको एउटा हिमाल चढेको हुनुपर्ने नियम छ । यही तयारीमा हरिबहादुर बेलायतको सबैभन्दा अग्लो हिमाल बेन नेभिस चढे । पश्चिम युरोपकै अग्लो हिमाल ब्लाङ्क चढे । अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो पनि चढे ।

अनि नेपालको मेरापिक हिमालको दुई पटक सफल आरोहण गरे । दुवै खुट्टाविहीन उनको यो आरोहणले रेकर्ड बनायो । गोर्खा सैनिककै दक्ष आरोही कृष्ण थापा मगरले त्यसबेला उनलाई आरोहणमा सहयोग पु¥याएका थिए । यसका लागि हरिले जर्मनीमा स्की, कायकिङ, रक क्लाइम्बिङ जस्ता एड्भेन्चर खेललाई निरन्तरता दिएर दुई वर्ष बढि नेपालकै गोसाइँकुण्डमा तालिम पनि लिएका थिए । आइस क्लाइम्बिङ तालिम फ्रान्समा लिएपछि उनको आत्मबल अझ बढेको थियो ।

त्यसपश्चात सन् २०१८ देखि सगरमाथा चढ्ने अभियान थालियो । तर, उनलाई कानूनी प्रबन्धले छेक्यो । पर्वतारोहण सम्बन्धी नियमावली,२०५९ मा भएको ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ व्यवस्थाले उनलाई रोक्यो । त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा हाले । सर्वोच्च अदाललते ‘अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने’ संविधानको व्यवस्था सम्झाउँदै हरिलाई सगरमाथाको बाटो खुला गरिदियो । अफसोच, उनको हिमाल आरोहण यात्रा कोरोना महामारीले छेक्यो । पैसाको जोहो पनि गर्न सकेनन् । पाँच वर्षको प्रयत्नपछि भने सगरमाथा पुग्ने बाटो उनका लागि खुलेको थियो ।

सर्वोच्च शिखरमा पुग्दाको त्यो खुसी

यसवर्ष सगरमाथा आधार शिविरमा १८ दिनको बसाइपछि मौसम पनि खुलेपछि हरिले आफ्नो आरोहण यात्रा सुरु गरेका थिए । सगरमाथा आरोहणबारे दर्जनौ पुस्तक पढेका, फिल्म, डकुमेन्ट्री हेरेका कुराले मनमा अनेकन किसिमको डर पैदा भइरहेको थियो ।

त्यसमाथि आरोहणकै क्रममा आँखै अघि देखिएका मृत्यु र अक्सिजन सकिँदा स्वयंम्ले व्यहोरको अत्यन्त कठीन अवस्थाले झस्कारहेको थियो । त्यसबखत यात्रा बिचमै रोकेर फर्किने सोच पटक पटक आएको बुढा सम्झिन्छन् । गोर्खाली छोरो चुचुरोमा पुग्नै लाग्दा बिचबाटो बाटै फर्किन हुन्ने भन्ने सोच र अठोटले शिखरमा पुग्न सफल भएको उनले बताए ।

 

जब कठीन संघर्षका साथ सगरमाथाको चुचुरोमा पुगे । अनि खुसीले चिच्याउँदै भनेको थिए, ‘हामी सफल भयौं, मेरो सुन्दर सपना पूरा भयो ।’ सगरमाथा शिखरमा ३६० डिग्री नै फन्को लगाउनेँ, हिमाल मज्जाले हेर्ने र फोटो खिच्नेँ सपना देखे पनि अत्यधिक चिसोका कारण मोबाइलको चार्ज सकिएको र गोप्रो क्यामेरा बिग्रिएकाले पुरा नहुँदा मनमा केही थकथकी बाँकी रहेको उनले सुनाए । क्यामेरामा कैद गर्न नपाए पनि चुचुरोमा करिब ७ मिनेट रोकिएर स्वर्णिम आनन्दको अनुभूति लिएर फर्किएको उनको भनाई थियो ।

पहिले परिवार मञ्जुर थिएनन्, अहिले खुसी छन्

परिवारका माइलो छोरा हरिको ११ वर्षकै उमेरमा बिहे भएको थियो । उनका एक छोरी र दुई छोरा छन् । उनका श्रीमती उर्मिला सुरुवातमा हरिले हिमाल चढ्ने कुराको पक्षमा थिइनन् । उनका बुवा पुरै बूढा मगर पनि सुरुमा शारीरिक रूपमा अशक्त छोरालाई देखेर भक्कानिन्थे । विस्तारै आत्मबल र अठोट देखेपछि उर्मिला सकारात्मक भएकी थिइन् । तर, अहिले साहसिक कर्म र त्यसले विश्वव्यापी रुपमा देखिएको सफलताले निकै खुसी छन् ।

‘शारीरिक रुपमा त्यसै कमजोर लाग्थ्यो, अझ हिमाल चढ्ने भने पछि त साह्रै डर लागेको थियो । फेरि पनि उहाँको सपना हो भनेर साथ दियौ’, उर्मिला भन्छिन्, ‘गोर्खाली नेपालीको नाम र शानलाई विश्वमाझ अझ गौरव गर्ने बनाउनु भयो, परिवार हामी त अहिले असाध्यै खुसी छौ ।’

बधाई र खुसीको पल्लाभारी

हरिबहादुरको सगरमाथा आरोहणबाट सिंगो नेपाल र नेपाली खुसी छन् । यसले उनको विश्व कीर्तिमानी त कायम भएको छ नै, यसका साथै अपाङ्गता भएका आम मानिसहरुका लागि ठुलो आत्मविश्वास र प्रेरणाको रुपमा काम गर्नेछ ।

उसो त हरिबहादुरको अबको सोच पनि यही छ कि आफु जीवन पर्यन्त अपाङ्गता भएकाहरुको सचेतना, हित र प्रेरणाका खातिर काम गर्ने भन्ने छ । यति भन्दै गर्दा सगरमाथामा पाइला टेकेर आएका हरि आफूलाई सकुशल त्यहाँ पु¥याएर फर्काउने २६ सदस्यीय टिम प्रति कृतज्ञ देखिएका थिए । सगरमाथाको सफल आराहण गरेको खबर फैलना साथ देश विदेशबाट हरिलाई बधाइ र शुभकामनाको ओइरो छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायतले बधाई दिइसकेका छन् । सामाजिक सञ्जालमा प्राप्त सबै शुभकामना सन्देश समय अभावले हेर्न नपाए पनि केही हेर्दा आफुलाई निकै खुसी मिलेको उनले सुनाए । शारीरिक आपाङ्गताका कारण बोझ भएको ठानेर आत्महत्याको सोचमा पुगेको र यस खबरले ठुलो उर्जा र प्रेरणा मिलेको धेरै सन्देश आइरहेको उनी बताउँछन् ।

अब फेरि हिमाल चढ्ने या अरु योजना के छ त ? कथालिकाको प्रश्नमा हरिबहादुर भन्छन्,–‘बल्ल एक स्वर्णिम महत्वकांक्षी सपना पुरा भएको छ, अब केही समय आराम गर्छु, अहिले नै कुनै ठोस भावी योजना तय गरेको छैन, निश्चय पनि यो सफलताबाट प्राप्त खुसी र उर्जालाई अपांगता भएका व्यक्तिहरु र सिंगो देशको लागि खर्चिनेछु ।’

२०८०, १० जेष्ठ बुधबार ०८:४३
कथालिका नयाँ कथा
कथालिका