परदेशी प्रिमियरः ‘हिरो’को भव्य स्वागत, फिल्मको प्रंशसा – कथालिका

परदेशी प्रिमियरः ‘हिरो’को भव्य स्वागत, फिल्मको प्रंशसा

  • प्रकाश सपुत जतिबेला परदेशी फिल्मको हिरो बने,त्यति नै बेला उनका दुई प्रिय बाल्यकालीन साथीहरु परदेशिएका थिए । अहिले परदेशी फिल्मको प्रिमियर गृह जिल्लामा हुँदा तिनै साथी देश फर्किएका छन् । उनीहरु परदेशी बनेर फर्किदा आफ्नै साथी अभिनित परदेशी-२ हेरेर खुसी र भावुक एकसाथ बने ।

हिउँदको टण्टलापुर घाम, त्यही चर्को घामका बाबजुद पनि स्वागतका खातिर धैर्यतापूर्ण दुई घण्टा लामो पर्खाइ । बागलुङ बजारको पुरानो जिविस चोकमा मान्छेहरुको उपस्थिति बाक्लिदै थियो । पञ्चेबाजाको समूह सडक छेउमा शितलता खोज्दै बाजागाजा बजाइरहेछन् । बिभिन्न महिला समूहहरु भिन्न भिन्न रङका साडीमा सुसज्जित छन् । अत्यन्त व्यस्त चोकमा गनिने यो बाटो कामले ओहोर दोहोर गर्नेहरु आज जिल्लामा कुन ठुलो मान्छे भिआइपी आउँदैछ ? भनेर चासोका साथ उभिरहेकाहरुलाई सोधिरहन्छन् । यसरी सोध्नेहरुलाई आयोजक र इतर मानिसहरु जवाफ दिइरहेका देखिन्छन्, प्रकाश सपुत र परदेशी टिम । मेला महोत्सव गीत गाइरहन आइरहने कलाकारका लागि किन यति भव्य स्वागत सम्मान ? प्रश्न र कौतुहलता थपिदो थियो ।

परदेशी टिमलाई बाजागाजा सहित भव्य स्वागत

घडिको सुइले दिउँसो ३ बजाए पछि माहोल थप तातियो । लामो प्रतिक्षाका बिच परदेशी २ फिल्मका नायकका रुपमा पहिलो पटक प्रकाश सपुतको आगमन भयो । एकातिर पञ्चेबाजा, अर्को तिर ठुलो हुटिङ सहित जन्मगाउँ धम्जाबाट झरेका र अन्य शुभेच्छुकहरुले माला र खादा ओढाएर स्वागत गरे । उनका साथै लोकप्रिय अभिनेत्री केकी अधिकारी, निर्देशक रायमाझीलाई पनि जिल्लाबासीले उस्तै सम्मानभाव सहित स्वागत गरे । धम्जा बागलुङ समाजको संयोजनमा उनीहरुलाई भव्य स्वागत, नाचगान सहित बागलुङ बजारको लोकतान्त्रिक चोक पु¥याइएको थियो ।

डेब्यु फिल्म तर स्थापित ब्राण्ड
कुनै समय यस्तो थियो, जुन समय अहिलेका चर्चित गायक प्रकाश सपुतले आफ्नै गृह जिल्ला बागलुङमा आयोजित ठुला मेला महोत्सवमा मञ्च पाउदैनथे । निकट चिने जानेका मान्छे मार्फत आयोजकलाई सोर्स फोर्स लाउँदा समेत अन्ततः किनारामा पर्थे । केही वर्ष यता तिनै सपुत बागलुङका लागि मात्र होइन, सिंगो देशकै सर्वाधिक व्यस्त र महँगा कलाकार बनेका छन् । देश विदेशमा उनको माग बढ्दो छ । तर, ठुलो पर्दाको चलचित्रमा उनको पहिलो डेब्यु हो । डेब्यु चलचित्र भए पनि परदेशी यस्तो चलचित्र हो, जुन चलचित्रसँग गोर्खा पल्टन र परदेशी–१ को सर्वाधिक सफलताको इतिहास जोडिएको छ ।

‘आज भन्दा चार वर्ष अघि गीत संगीतमा पनि अहिले जस्तो चर्चा कमाइसकेको थिएन, त्यो बेलामा ममा हिरो बन्ने सपना मात्रै थियो’, गृह जिल्ला पुगेका सपुतले भने, ‘गोर्खा पल्टन, परदेशी जस्तो सुपरहिट फिल्म बनाइसक्नुभएका लिजेण्डरी गायक निर्देशक नारायण रायमाझी सरले मलाई नायकका लागि योग्य देख्नुभयो, उहाँलाई धन्यवाद छ, तपाइँहरु प्नि ताली बजाएर धन्यवाद व्यक्त गरिदिनुस् ।’

उनले नायिका केकी अधिकारीसँगको किस्सा समेत सुनाए । १० वर्ष पहिले म यही ठाउँमा रेडियोमा काम गर्दा स्वर चलचित्रको ‘प्रोमोसनमा आउँदा पहिलो पटक प्रत्यक्ष नायिकाको रुपमा केकी जीलाई देखेको हो, आज उहाँसँगै मुख्य पात्रको रुपमा काम गरेर ठुलो पर्दामा जोडिन पाए, फिल्म नयाँ भएता पनि निकै सहजताका साथ आफ्ना अनुभम र आइडिया बाँडेर उत्कृष्ट परिणाम दिन सहयोग गर्नुभयो, उहाँ प्रति पनि म यस अवसरमा धन्यवाद व्यक्त गर्दछु ।’

जिल्लामा पहिलो ग्राण्ड प्रिमियर
असोज २६ देखि प्रदर्शनमा आउने चलचित्रको देशव्यापी प्रचार अभियान चलिरहेको छ । बिराटनगर, बुटवल, चितवन, पोखरामा सडक नाटकको टोली सहित प्रचार सकिसकेको छ । फिल्म टोली गण्डकी प्रदेशको राजधानी पोखरा पुगेको दौडानकै बिच नायक सपुतलाई गृहजिल्लामा स्वागतका निम्ति निम्तो आयो । बागलुङ बजार, जहाँ हुर्कि बढेको र पढेको ठाउँबाट निम्तो आएकाले सपुत उत्साहित थिए नै, निर्माता टोली समेत थप उत्साहित हुँदै उनकै गृहजिल्लामा ग्राण्ड प्रिमियर सो देखाउने प्रस्ताव गरे । सोही अनुसार बागलुङमा चलचित्र परदेशी–२ को ग्राण्ड प्रिमियर सो गरिएको छ । प्रिमियरमा निकै छोटो तयारीका बिच पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

‘हामीलाई प्रिमियरको अघिल्लो राति अबेर मात्रै जानकारी आयो, सम्भवतः उहाँहरुले केही आकस्मिकतामा यस्तो निर्णय गर्नुभएको होला,’ बिएसआर मुभिज बागलुङका प्रमुख साधन गिरीले भने, ‘टिकट सकिए पछि धेरैलाई सरी भनेर फर्काउन बाध्य भयौ, उहाँहरुलाई असोज २६ मा आउनुस् भनेका छौ ।’ २ सय जनाको क्षमता रहेको चलचित्र हलमा दर्शकको उपस्थिति बढे पछि कतिले भूइँमै बसेर पनि हेरेका थिए । कोभिड र त्यसपछि सुरु भएको आर्थिक मन्दीले सुनसान जस्तो भएको हलमा ग्राण्ड प्रिमियर भएपछि फरक माहोल भएको साधनले बताए ।

दमाली परदेशी, सपुत बने परदेशीको ‘हिरो’
परदेशी-२ को ग्राण्ड प्रिमियरमा धेरै संयोगहरु थिए । धम्जामा जन्मे हुर्केका र सँगै पढेका बाल्यकालीन दुई साथि सुरेश श्रेष्ठ र श्यामन्त थापा प्रिमियरमा मात्र होइन, उनको स्वागतको तारतम्यका लागि दिनभर तैनाथ थिए ।

प्रकाश सपुत जतिबेला परदेशी फिल्मको हिरो बने,त्यति नै बेला उनका दुई प्रिय बाल्यकालीन साथीहरु परदेशिएका थिए । अहिले परदेशी फिल्मको प्रिमियर गृह जिल्लामा हुँदा तिनै साथी देश फर्किएका छन् । उनीहरु परदेशी बनेर फर्किदा आफ्नै साथी अभिनित परदेशी-२ हेरेर खुसी र भावुक एकसाथ बने ।

सुरेशले सपुतमा सानैदेखि राम्रो कलाकार बन्ने सपना मात्र होइन, सम्भावना समेत देखेको बताए । तपाइँको सँगैको साथी हिरो बने, तपाइँहरु चाही के गर्दै हुनुहुन्छ नि ? पत्रकारको प्रश्नमा सुरेश र श्यामन्त एकछिन त सोचमग्न बने । निकै कम बोल्ने स्वभाबका श्यामन्तले भने, ‘हामी त परदेशी, परदेश गएर पनि केही वर्ष काम गरेर आएको, साथी यो ठाउँमा पुग्दा निकै खुसी छौ, फिल्मले हसायो पनि, रुवायो पनि ।’

बाल्यकालमा गाउँघरमा साथीभाइबिच विभिन्न नायकको अभिनय गरेर ‘हिरो’ बन्न अनेक गर्ने प्रकाश साँच्चिकै हिरो बनेकोमा बाल्यकालका साथीहरु पनि दंग छन् । उनका त्यसबेलाका अरु समाकालीन साथीसंगीहरु पनि एकाध बाहेक अहिले परदेशमै छन् ।

परदेशीले आमा र सन्तान दुबैलाई रुवायो

चलचित्र परदेशी–२ को प्रिमियर हेर्न आएका धम्जालीदेखि अरु धेरै दर्शकहरु हलबाट निस्किने बेला सम्म पनि आँखामा आँशु टलपल देखिन्थ्यो । कति त पत्रकारहरुले चलचित्रको प्रतिक्रिया लिँदै गर्दा गर्दै समेत परदेशी सन्तानलाई सम्झेर भावुक र निःशब्द देखिएका थिए ।
पहिलो पटक नायकका रुपमा उदाएका सपुतका आमा मिन विश्वकर्मा समेत छोराको फिल्म हेरे पछि पटक पटक आँखामा आँशु थाम्न नसकेको बताइन् । ‘छोरा हिरो भयो भन्ने कुराले त खुसी नै थिए तर फिल्मको कथावस्तु, बाबुको अभिनय र हाम्रो समाजको वास्तविकता सम्झेर धेरै पटक रोएर निस्किए,’ उनले भनिन्, ‘मेरा चार भाइ छोरा छन्, छोरी छैनन्, उनीहरु सबै अहिले पो हामीसँगै छन्, अब कहाँ सधैं सँगै रहलान् र ? परदेशी त बन्नु नै पर्ने होला । अनि साँच्चिकै हामीले पनि फिल्ममा जस्तै पीडा भोग्नु पर्ने होला भन्ने कुराले निकै दुखायो ।’

हरेक घर–घरको कथा परदेशी–२
चलचित्रले जुन कथावस्तु उठान गरेको छ, त्यो अहिलेको नेपालको हर घर घरको कथा व्यथा हो । १० पास गरे हलो र १२ पास गरे थलो छोड्ने प्रवृत्ति ह्वात्तै बढिरहेका बेला चलचित्रले उठान गरेको विषय र सन्देश नेपाली समाजका लागि महत्वपूर्ण हुने लक्ष्मी मावि धम्जाबाट चलचित्र हेर्न आएका प्रधानाध्यापक गोविन्द भण्डारीले बताए । ‘यो फिल्म आमाहरुले मात्र होइन, छोराछोरीहरुले पनि हेर्नुपर्छ, बाबुहरुले पनि हेर्नुपर्छ,’ प्रधानाध्यापक भण्डारीले भने, ‘जसरी पनि विदेश जानुपर्छ भन्ने छोराछोरी र जसरी पनि विदेश पठाउनु पर्छ भन्ने बाबुआमा सबैले हेर्नैपर्ने फिल्म रहेछ । यसलाई चलचित्रमा मिहिन ढंगले उतारिएको छ, यसमा मेरो विद्यार्थी हिरोको रुपमा पाउँदा खुसीले गदगद् समेत भएको छु ।’

प्रिमियर सो पछि बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठले नेपाल र नेपालीको यथार्थ कथावस्तुले चलचित्र उत्कृष्ट बनेको बताए । ‘हामीले यहाँबाट अमेरिका जाने भन्छौं,’ उनले भने, ‘तर यहाँबाट कल्पना गरे जस्तो अमेरिका छैन । अमेरिका मात्रै किन विश्वको अन्य कुनै पनि देश सजिलो छैन । नेपालीको यथार्थ पीडालाई देखाएकाले चलचित्र राम्रो बनेको छ ।’

निमावि तहमा सपुतलाई पढाएका जनप्रिय प्राविका प्रधानध्यापक गोपाल श्रीसले फिल्मको विषयवस्तु, प्रस्तुति र कलाकारको अभिनयले भावुक तुल्याएको बताए । ‘फिल्मले मन छोयो, भावुक बनायो ,आँशु झर्यो र राजनीतिबाट देशको कायापलट गर्छु भन्ने राजनीतिकर्मीलाई देशको यो दर्दनाक अबस्थाले गिज्याई रहेको अनुभूति भयो । नेताहरूले एक पल्ट हेर्नै पर्ने चलचित्र रहेछ, हेर्न अनुरोध छ,’ उनले भने ।

अब असोज २६ को पर्खाइ
चलचित्रमा एक युवाको अमेरिका सपना, त्यसक्रममा विदेशमा पाइने हण्डर ठक्कर, यता बुढ्यौली लाग्दै गरेका बाबाआमाले झेल्नुपर्ने दुःख र पीडाबारे गहिरो चित्रण छ । चलचित्रमा नायकका रुपमा प्रकाश सपुत, दिलिप रायमाझी, प्रशान्त तामाङ तथा नायिकाको रुपमा केकी अधिकारी, वर्षा सिवाकोटीको उत्कृष्ट अभिनय छ । चलचित्रमा नायक सपुतका साइलो भाइ समेत रहेका गायक देवेन्द्र बब्लुको हाँस्य भूमिकाले पनि धेरैको मत जितेको छ ।

लोकप्रिय कलाकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा रहेको चलचित्र परदेशी २ दसैँको छेको पारेर यही असोज २६ गतेबाट देशभर प्रदर्शन हुँदैछ । यो चलचित्रले कत्तिको मन जित्ला त ? त्यसका लागि भने अझ केही दिन जरुर प्रतिक्षा गर्नै पर्ने हुन्छ ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ । चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ ।

२०८०, १४ आश्विन आईतवार १०:५७
कथालिका नयाँ कथा
कथालिका