- नेपालमा प्रकृतिको भुगोल अनुसार जे जस्तो विविधता छ, उस्तै संस्कृतिमा पनि अनेकन विविधता छ ।
अधिक गाउँ क्रमशः रित्तिदो छ । ढुंगा, माटो, खर, टिनले छाएर रातो माटो र सेतो कमेरोले लिपेर चिटिक्क पारिएका घर अहिले जिर्ण खण्डहर जस्ता देखिन्छन् । जम्बो परिवारका सदस्य हुने घरमा अचेल यदाकदा बुढाबुढी र बालबालिका मात्रै भेटिन्छन् । तर, एउटा मगर गाउँ जहाँ आजको समयमा पनि बसाई सराईंको कुनै समस्या छैन । द्वन्द्व, शिक्षाको अभाव, आर्थिक उपार्जन, वैदेशिक रोजगार लगायतका विविध विषयले गर्दा तत्कालीन समयमा जतिले गाउँ छोडे, उनीहरु यत्रतत्र गइसकेका छन् । हाल बसाईंसराईंको समस्याले उक्त गाउँलाई कत्ति छोएको छैन । घर पनि उही पुरानो डिजाइन, फर यत्ति हो, सोही डिजाइनको घर पहिले–पहिले खरले छाइएको हुन्थे, अहिले टिनले छाइएका छन् । गाउँको सडक केही वर्ष अगाडि कालोपत्रे भइसकेको छ, सडकको पहँुच भइसके पछि अन्य सेवा सुविधा घर आँगनमै पुगिसकेका छन्, आजभोलि गाउँ छोडेर जान प्रायः मान्दैनन् । स्याङ्जा हरिनास गाउँपालिका-४ चित्रे, जुन गाउँलाई चित्रेभञ्ज्याङका नामले समेत चिन्न सकिन्छ । हरिनासको चित्रे गाउँमा मगर समुदायको मात्रै बसोबास छ ।
कौराहा (कान–राहा) नाचका लागि प्रख्यात चित्रे
चित्रेको मुख्य विषेशता भनेको मगर समुदायको धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलनलाई जोगाएर राख्न सक्नु हो । यति मात्रै होइन, मौलिक पहिचान बोकेको महिलाले पहिरिने पोशाक छिटको गुन्यू, टिकिया, पहेँलो पटुकी र पहेँलै पोते, टाटन वा हातले बुनेको सेता लर्फू, घलेक, पुरुषले पहिरिने भाङ्ग्रा, कछाड, इस्टकोट लगायतका भेषभुषालाई यहाँका स्थानीयले संरक्षण गरेका छन् । समय परिर्वतन भएसँगै आजभोलि मौलिक पहिचान बोकेका पोशाकमा हराइरहेका छन् । भाषाको समेत चित्रेमा राम्रो संरक्षण र प्रवद्र्धन भइरहेको छ । बालकदेखि वृद्धवृद्धा सम्मले मगर भाषा बोल्छन् र बुझ्छन् । मगर समुदायको कौराहा (कान–राहा) नाचका लागि त यो गाउँ पहिलेदेखि नै परिचित छ । कौराहा नचाउने भनिसकेपछि टाढा–टाढाबाट समेत चित्रेमा पुग्ने गरेका छन् । यी बाहेक यहाँ सालैजो, झ्याउरे नाच प्रचलित छ ।
मगर गाउँमा लाखे
यो कुरा सुन्दा र आफ्नै आँखाले प्रत्यक्ष देख्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर सत्य के हो भने मगर गाउँ भनेर चिनिए पनि यहाँ वर्षौं अगाडिबाट नेवार समुदायमा प्रचलित लाखे नाच नाचिन्छ । पूर्खौदेखि चित्रेमा लाखे नचाउने प्रचलन रहेको पूर्व वडा सदस्य तथा चित्रेभञ्ज्याङ टोल विकास समिति संयोजक पहलसिंह रानामगर बताउँछन् । ‘हरिनासकै प्यार्सिङ भन्ने एउटा गाउँ छ, त्यहाँका नेवार समुदायले लाखे नचाएको देखेपछि हाम्रा पूर्खाले पनि यहाँ उक्त प्रचलन ल्याएका रहेछन्,’ उनले भने । रानाका अनुसार चित्रेमा नागपञ्चमीदेखि लाखे नचाउन सुरु गरिन्छ । विषेश गरेर तीजको भोलिपल्ट, पूर्ने (पूर्णिमा) को दिन, नात्ले (गाउँमा छुट्टी हुने दिन) मा लाखे नचाउने प्रचलन रहेको उनले बताए । पहलसिंह आफैं पनि सानै उमेरदेखि लाखे नाच्छन्, बाबुबाजेकै पालाबाट उनले यो नाच सिके । लाखे नाचसँग उनको बाल्यकाल र युवा अवस्थाका याद जोडिएका छन् ।
अहिलेसम्म पनि यो परम्परालाई जोगाउन सक्नु महत्वपूर्ण कार्य हो जस्तो उनलाई लाग्छ । ‘तीजको भोलिपल्ट लाखे नचाउने भनेपछि हामीले त्यो बेला सर्प खोजेर हिँड्थ्यौं,’ उनले भने, ‘सर्पलाई मारेपछि छाला निकालेर, माला बनाएर मुकुण्डो लगाएर लाखे नचाइथ्यो पहिले–पहिले । यसरी नचाउँदा हामीले हँसाउने गथ्र्यौ,।’ पहिले जस्तो रमाइलो अहिले नभए पनि लाखे नचाउने परम्परा कायमै रहेको उनले बताए । पहिलेको जस्तो निरन्तरता दिन नसकेपनि वर्षमा २ पटक भने चित्रेमा लाखे नचाइन्छ । उनलाई याद छ, केही वर्ष अगाडिसम्म चित्रेमा लाखे नचाउन दिउँसोको १२,१ बजेबाट सुरु हुन्थ्यो र राति १२,१ बजेसम्म जारी रहन्थ्यो । ‘बर्खाको समयमा नाच्ने त्यो पनि राति, हिलो–माटोको त कुरै छोडौं, शरीरभरी जुकाले टोक्थ्यो,’ उनले हाँस्दै भने । चित्रे वरिपरी नेवार समुदाय भएपनि मगर समुदायले यो परम्परालाई जोगाएका छन् । पहलसिङका अनुसार यहाँको लाखे नाच हेर्न टाढा–टाढाबाट मानिस पुग्ने गर्थे । अहिले बाहिरी जिल्लाबाट कम मानिस अवलोकनका लागि पुगेपनि वरिपरीका गाउँबाट भने अहिले पनि चित्रे पुग्ने गरेका छन् । उनी भन्छन्, ‘लाखे नचाउँदा चित्रेभञ्ज्याङ वरिपरीका गाउँसहित तनहुँ, कास्की, नवलपरासी, लमजुङ, पाल्पा लगायतका जिल्लाबाट धेरै हेर्न आउँथे ।’
लाखे हेर्ने बाहिरबाट समेत भिड
नेपालका हरेक जातजाति, समुदायमा आ–आफ्नै धर्म, संस्कृति, रीतिरिवाज छन् । यहाँको समुदाय विविधतापूर्ण संस्कार र संस्कृतिले भरिपूर्ण छ । नेवार समुदाय आदिवासी जनजाति मध्येको एक हो, उनीहरुको आफ्नै संस्कार र संस्कृति छ, लाखे पनि त्यसमा पर्छ । लाखे नाचको विषयमा फरक–फरक लोकोत्ति छन् । तर, चित्रेमा भने नजिकैको गाउँमा रहेका नेवार समुदायको सिको गर्दै भित्रिएको मानिन्छ । यो गाउँमा करिब १ सय घर मगरको मात्रै छ, अन्य समुदायको बसोबास छैन । यहाँ नाखे नचाइँदा वरिपरीको गाउँमा रहेका नेवार समुदायको उपस्थिति रहने गरेको छ । चित्रेकै स्थानीय घमानसिङ राना मगर यहाँ लाखे नचाउने भन्ने जानकारी पाइसकेपछि टाढा–टाढाबाट समेत हेर्न आउने गरेको बताउँछन् । ‘आफ्नो गाउँमा लाखे नचाउन छोडेर हाम्रो गाउँमा आउँथे, यो प्रचलनमा उनीहरुको समेत सहभागी हुन्थे ।’ उनले भने, ‘तीजको पूर्णे (पूर्णिमा) को दिनमा लाखेको सांगे (अन्त्य) गथ्र्यौं ।’ ६० वर्षीय घमानसिङ आफैं पनि १५÷१६ वर्षको उमेरदेखि लाखे नाच्दै आइरहेका छन् । ढुंगेठाँटी, बांगेश्वरा, गिरेकोट जहाँ नेवार बस्ती छन्, त्यस्तो गाउँबाट समेत चित्रेमा लाखे नाच हेर्न आउने गरेको उनले बताए । उनका अनुसार पहिलेको जस्तो भयंकर तरिकाले रमाइलो गरेर गाउँमा लाखे नचाउन त सकिन्न, तर परम्परा जोगाउन र धान्ने कोसिस भने जारी राख्ने गरिएको छ ।
मगर र नेवारको लाखे नाचको ताल भिन्नता
पश्चिमा संस्कृतिले अहिलेका युवालाई तानिरहेको अवस्था छ । वैदेशिक रोजगारी, उचित शिक्षा तथा अवसरको खोजीमा सहर केन्द्रित हुनु, नयाँ पुस्ताले आफ्नै संस्कृति जोगाउन चासो नदिनु लगायतका कारण धेरै जस्तो हाम्रा पुराना संस्कार तथा संस्कृति लोप हुने अवस्थामा छन् । चित्रेकै धनबहादुर रानामगरले आफू सानै हुँदा बाबुबाजेले लाखे नाचेको देख्थे, यो नेपालमा द्वन्द्वकाल सुरु हुनु भन्दा अगाडिको कुरा हो । द्वन्द्वकालको सुरुआतसँगै चित्रेको मगर समुदायमा लाखे नाच्ने परम्परा बन्द जस्तै भयो । द्वन्द्व मथ्थर भइसकेपछि फेरी सुरु गरियो । ‘पहिले जस्तो बेस्सरी रमाइलो त हुँदैन, आजभोलि परम्परा धान्नकै लागि भए पनि कहिलेकाहीं नचाइन्छ,’ उनले भने । पहिलेको जमानामा अहिलेको जस्तो मनोरञ्जनका लागि अन्य माध्यम हुँदैनथ्यो । त्यसैले पनि मगर गाउँ चित्रेभञ्ज्याङमा लाखे नचाउँदा धेरै ठाउँबाट मानिस अवलोकनका लागि पुग्ने गर्थे । अहिले त्यस्तो धेरै अवलोकनका लागि नपुगे पनि लाखे नाचलाई निरन्तरता दिइएको उनले बताए । उनी आफ्नो बाबुबाजे सहित गाउँका अन्य स्थानीयलाई लाखे नाचेको देखेर हुर्किए । बालापनमा रमाइलो देखेका उनलाई हेर्दाहेर्दै लाखे नाच्ने इच्छा लाग्यो, सबैलाई हेरेर सिके । उनी आफैं अहिले लाखे नचाउँदा नाच्न अगाडि सर्छन् । गएको वर्ष समेत गाउँमा लाखे नचाइएको उनले बताए । मगर र नेवार समुदायको लाखे नाचको ताल फरक–फरक हुने गरेको उनी बताउँछन् । ‘समुदाय नै फरक भएर होला, हाम्रो गाउँको लाखे नाचको ताल नेवार समुदायको ताल भन्दा थोरै फरक हुन्छ । सायद आफैं सिक्दा फरक परेको होला,’ उनले भने ।
लाखे संरक्षणको चिन्ता र चासो
चित्रेमा बसाइसराईंको समस्या त छैन, तर धेरै युवा गाउँ भन्दा बाहिर भएकाले सदियौंदेखि चलिआएको परम्परा हराएर जाने पो हो कि भन्ने चिन्ता यहाँका स्थानीयलाई छ । फरक समुदायको भए पनि पूर्खाले गाउँमा लाखे नाच भित्राए, द्वन्द्वकालमा केही कम भए पनि फेरी यो नाच देखाउन सुरु गरियो । तर, पहिले जस्तो आकर्षण भने नभएको यहाँका पुराना पुस्तालाई लाग्न थालेको छ । हरिनास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य तीर्थ राना मगर पुरानो परम्परा क्रमशः हराउँदै गएको अनुभूति भएको बताउँछन् । उनी सम्झन्छन्, आफ्नै पालामा चित्रेमा तीजको भोलिपल्ट सारी लगाएर रात भरी नाचिन्थ्यो । ‘म सँगै हाम्रा साथीहरु आफैं पनि सारी पहिरिएर रातभरी नाचिन्थ्यो, उपस्थिति दर्शकलाई हँसाइन्थ्यो,’ ती दिनहरु सम्झिँदै उनले भने । मगर समुदायको नभएता पनि लाखे नाच्दा रमाइलो हुने भएकाले बाबुबाजेको पालादेखिको परम्परा धानि आएको उनी बताउँछन् ।
अहिले भने यो परम्परा हराउँदै गएकोमा उनलाई चिन्ता लाग्न थालेको छ । ‘पारिवारिक जिम्मेवारी, आर्थिक उपार्जन लगायत कारणले हाम्रो पुस्ता पनि त्यो समयमा वैदेशिक रोजगारीका लागि बाहिर जान थाल्यौं, अनि परम्परा नामको मात्रै रहँदै गयो,’ उनले भने, ‘अहिले त वार्षिक १,२ दिन मात्रै लाखे नचाइन्छ, संरक्षणमा नयाँ पुस्ताले चासो दिएनन् भने पुस्ताले हामीलाई हस्तान्तरण गरेको यो परम्परा लोप हुनेछ ।’ मगर समुदायमा कौराहा (कान–राहा), झ्याउरे, सालैजो लगायत परम्परा कायमै छन् । तर विविध कारणले लाखे नाच्ने परम्परा हराउँछ कि भन्ने उनलाई चिन्ता छ । आफ्नै समुदायको नाच नभए पनि सानैदेखि नाच्दै र नचाउँदै अनि हाँस्दै र हसाउँदै आएको लाखे नाचको उनलाई औधी माया लाग्छ । ‘अहिलेका पुस्ताले चासो नदिँदा केही वर्ष लाखे नचाइएको थिएन, धेरै कम भएको छ,’ उनले भने, ‘पहिले हाम्रो पालामा जस्तो रमाइलो पनि हुँदैन, युवा पुस्ताले यो चलनलाई निरन्तरता देलान् भन्ने पनि लाग्दैन ।’ उनलाई लाग्छ, आधुनिक प्रविधि विशेष गरी मोबाइल आएपछि संस्कार र संस्कृति लोप हुने अवस्थामा पुगेको हो । मोबाइलमा बढी ध्यान केन्द्रित हुन थालेपछि युवा पुस्ताले चित्रेमा रहेको यो प्रचलन मात्रै होइन, अन्य संस्कार समेत भुल्दै जान थालेको उनले गुनासो गरे । ‘नेवार समुदायको परम्परा भए पनि हाम्रो बाबुबाजेको पालादेखि चित्रेको मगर समुदायले समेत नाच्दै आएको लाखे नाचको संरक्षण गर्नु जरुरी छ,’ उनी भन्छन्, ‘हामीले अहिलेका पुस्तालाई हस्तान्तरण ग¥यौं, अब अहिलेका पुस्ताले यो परम्परा कायम राख्न सोच्ने समय आइसक्यो, पुस्तान्तरण कसरी गर्ने भन्ने बारेमा सोच्नु जरुरी छ ।’