घरबासले बदलेको घलेगाउँ – कथालिका

घरबासले बदलेको घलेगाउँ

  • घलेगाउँमा आफ्नै कानुन र आचारसंहिता छ । गाउँकै नियममा गाउँले बाँधिएका छन् । गाउँले सुखी र खुसी छन् ।

एकै रङले रंगिएका घरका छाना । दन्त लहर जस्तै मिलेका घर वस्ती । २ हजार ७० मिटरको उचाईको अवस्थित छ गाउँ । गाउँमा छ ढुंगा र माटाले बनेका परपम्परागत घर । सफा, चिरिचट्ट छ घर आँगन । पृष्ठभूमिमा सजाएर राखिएको जस्तै देखिने सुन्दर मनोरम हिमाल । गुरुङ संस्कृति, आत्मीय व्यवहार, आतिथ्यता र मीठो खानाका लागि उस्तै प्रख्यात छ गाउँ । घले गाउँ अर्थात् कोइम्ली ।

करिब ८ सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । घलेराजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले यो गाउँको नाम घले गाउँ रहन गएको स्थानीय बताउँछन् । घलेगाउँमा गुरुङ जातिका अन्तिम घलेराजा ‘क्याल्बोरोजा क्ले’ थिए ।

साविकको उत्तरकन्या गाविसमा पर्छ घलेगाउँ । नयाँ संघीय अभ्यासका क्रममा बागलुङपानी, मालिङ, उत्तरकन्या, भोजे, सिङ्दी, गिलुङ र भुजुङ गाविस मिलाएर क्होंलासोंथर गाउँपालिका बनाइएको छ । गुरुङ समुदायको आदिमभूमि क्होंलासोंथरको नाममा गाउँपालिकाको नामाकरण गरिएको छ ।यहाँका गाउँलेको मुख्य पेशा पर्यटन, कृषि, पशुपालन हो । गाउँमा खेतीपाती गरेको, गाईभैंसी दुहेको, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुन्ने स्थानीयको नियमित दैनिकी हो । गाउँलेमा सामूहिक भावना, मिलेर विकासका काम गर्ने चाहना घले गाउँको विशेषता हो ।

४२ घरमा होम-स्टे

२५ वर्षअघि घलेगाउँको दृश्य यस्तो थिएन । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही थिएन । कसैका घरमा चर्पी पनि थिएनन् । पातीघारीमा खुला रूपमा नै दिसापिसाब गर्ने घलेगाउँवासी सबैका घरमा अचेल शौचालय छ । बरु पातीघारीको पाती पर्यटकका शिरमा लगाएर पैसा कमाउने भएका छन् उनीहरू ।

२५ वर्षको पर्यटन यात्राले घलेगाउँको स्वरूप मात्र फेरिएन, गाउँलेको जीवनस्तर नै फेरियो । मिठोमसिनो खान, दुईरचार पैसा खेलाउन नपाएका गाउँले अहिले लखपति बनेका छन् । प्रतिव्यक्ति आय बढेको छ । वर्षमा छरसात लाख घरमै बसेर कमाउन थालेका छन् ।

समुद्री सतहदेखि दुई हजार १७० मिटर उचाइमा रहेको क्व्होलासोंथार गाउँपालिका–३ मा अवस्थित घलेगाउँमा १३० घर छन् ।अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर घरवास (होम-स्टे) चलाउन थालेका छन् । विक समुदायले सञ्चालन गरेका दुई वटासहित अहिले ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् ।

गाउँमा आफ्नै कानुन र आचारसंहिता

पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटक लक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको उन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् । घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै छन् ।

गाउँमै सहकारी खोलिएका छन् । दुई, चार लाख ऋण खोज्न साहुको घर धाउनु पर्दैन । प्रत्येक घरका नागरिकको गाउँले आफैँले बिमा गरेका छन् । सरकारी बिमाको झन्झट बेहोर्नु पर्दैन, बिरामी हुँदा चाहेको अस्पतालमा उपचार गर्छन् । पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेका अनुसार गाउँमा आफ्नै कानुन र आचारसंहिता छ । गाउँकै नियममा गाउँले बाँधिएका छन् । गाउँले सुखी र खुसी छन् ।

एक व्यक्तिको सोच र नेतृत्वले बदलेको गाउँ

यत्तिकै घलेगाउँ यहाँसम्म आइपुगेन । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाए । स्याङ्जाको सिरुबारीमा घरमा पाहुना राखेर पैसा कमाएको सुनेपछि उनी सिरुबारी पुगे । अनि घलेगाउँमा पनि पाहुना राख्ने योजना बुने । २५ वर्षअघिको कुरा सुनाउँदै घलेले भने, “सहरका पाहुना बोलाएर घरमा बसाउँछु र गाउँलेलाई पैसाको मुख देखाउँछु भन्ने सोच आयो । गर्दै जाँदा गाउँलाई चिनाइयो, गाउँलेलाई सुखी बनाइयो ।”

बिस्तारै गाउँमा पाहुना बोलाउन थालियो । बेँसीसहर, काठमाडौँ, पोखराका सरकारी कर्मचारी घलेगाउँ आउन थाले । खाना र बस्न दिएबापत केही पैसा छोडेर गए । २०५७ वैशाख २३ मा प्रथम महोत्सव भयो । त्यहीबेला घलेगाउँका १२ घरमा होमस्टे स्थापना भयो । गाउँको प्रचारप्रसार गर्न २०५८ वैशाखमा घलेगाउँ कला महोत्सव आयोजना भयो । प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित अर्गानिक खाना खुवाएर उनीहरूले आम्दानी गर्न थाले । घलेगाउँबारे देशविदेशमा प्रचार हुँदै गयो ।

दक्षिण एसियाको नमुना गाउँ र सुखी गाउँ घोषणा

पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०६४ फागुनमा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।

यहाँ होमस्टेका कोठा समान किसिमका छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्य लगायतका आधारभूत सुविधा छन् । मापदण्ड पुगेपछि घलेगाउँलाई २०७६ मङ्सिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होम-स्टेका रूपमा पुरस्कृत गर्‍यो । २०७३ माघ २२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि घलेगाउँ आउने पर्यटक अझ बढ्न थाले । २०७९ वैशाख २ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा घलेगाउँलाई सुखी गाउँ घोषणा गरियो ।

भेडीगोठ देखि हनी हन्टिङ सम्म

गाउँलेले भेडा पालेका छन्। दसैं–तिहारका बेला भेडाहरू एक महिना गाउँमै राखिन्छन्। मंसिर पहिलो साता खेत मलिलो बनाउन तिनलाई बेंसीमा झारिन्छ। फागुन अन्तिम सातादेखि तिनलाई फेरि गाउँको छेउछाउ पु¥याइन्छ। गर्मी बढ्दै जाँदा भेडी गोठलाई हिमालतिर सारिन्छ। जेठदेखि भदौसम्म लमजुङ हिमालको फेदीसम्म पु¥याइन्छ। अनि हिउँ पर्न थालेपछि बिस्तारैबिस्तारै बेंसीतिर झारिन्छ।

भीर मौरीको मह ओखती मानिन्छ। घलेगाउँ नजिकैको भीरमा माहुरी बस्छन्। त्यहाँ वर्षका दुईपटक कात्तिक÷मंसिर र चैत÷वैशाखमा मह शिकार गरिन्छ। शिकार गर्ने परम्परागत शैली छ। शिकार गर्नुअघि देवताको पूजा गरिन्छ। भीरमा शिकार गर्नु सजिलो हुँदैन। शिकारीहरू डोरी र बाँसको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन्। अनि मह काढ्छन्।

मोहित बनाउने मौलिक संस्कृति र प्रकृति

प्रकृति र संस्कृतिको संगम देख्न सकिन्छ घलेगाउँमा । गाउँबाट माछापुच्छे«, अन्नपूर्ण दोस्रो, बौद्ध, हिमालचुली, लमजुङ, डा. हर्क गुरुङ पिक र मनास्लु लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यले पनि पर्यटकलाई मोहित बनाउँछ । पुस–माघमा गाउँमा हिउँ पनि पर्छ ।

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन् । छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ ।स्थानीय नदी एवं खोलाबाट माछा, भेडीगोठका भेडा, च्यांग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै, मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिने पर्यटन समितिका कार्यालय सचिव दीर्घ घलेले बताए।

पूर्खाको सम्मानका लागि स्थानीयवासीले अन्तिम घले राजाको सालिकसहित पार्कको निर्माण गरेका छन् । गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ । जहाँ पुराना हात हतियार, भाँडाकुँडा, जाँतो, गोलो घर, स्मारकहरु अनि गुरुङ जातिको पुरातन सांस्कृतिक पोशाक हेर्न पाइन्छ । पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिरजस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।

घलेगाउँका वडाध्यक्ष आसवीर गुरुङका अनुसार परम्परागत संस्कृति घाँटु, सोरठी, सेर्गा लगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन् । पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ यस ठाउँकै मौलिकता बोकेको प्राचीन गीत हो ।

घलेगाउँमा सामुदायिक भेडीगोठ छ । सामुदायिक चिया बगान र प्राङ्गारिक खेतीले पर्यटक लोभिन्छन् । लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनासलु, गणेश हिमालको छहारीले घलेगाउँलाई रमणीय तुल्याएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किलोमिटरको यात्रा गर्नु पर्छ ।

बेँसीसहरबाट डेढ घण्टामा मोटरमा घलेगाउँ पुगिन्छ ।वर्षैभरि घलेगाउँ जान सकिन्छ । काठमाडौं–बेंसीशहर १७२ किमि, बसमा ५ घन्टा अथवा काठमाडौं-पोखरा २५ मिनेट हवाईयात्रा, पोखरा–वेशिसहर ११० किमि, बेंसीसहर-घलेगाउँ २४ किमि, पदयात्रा गर्दा बेंसीसहरबाट बागलुङपानी हुँदै घलेगाउँ पुग्न ६ घन्टा, खुदीबाट ६ घन्टा उकालो चढेर पनि घलेगाउँ पुगिन्छ ।

२०८२, १ बैशाख सोमबार ०७:५६
कथालिका नयाँ कथा
कथालिका