बाल विवाहबाट जोगिएर संसद बनेकी जेनजी रुबी – कथालिका

बाल विवाहबाट जोगिएर संसद बनेकी जेनजी रुबी

  • ३ महिना अघि मात्रै खुलेको हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सूचीमा सिफारिस गरेको थियो । यद्यपि, यो नयाँ पार्टी भएकाले राष्ट्रिय पार्टी बन्ने र त्यसमा आफू सांसद नै बन्ने कुरा सुखद संयोगको रुपमा आफ्नो जीवनमा आएकोमा रुवीकुमारी अहिले दंग छिन् ।

यसपटकको निर्वाचन धेरैका लागि ‘सप्राइज’ बन्यो । अनि उस्तै कैयनका लागि आश्चर्यचकितको विषय र बहस बनिरहेछ । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको निर्वाचन जेनजी (नवयुवा)का लागि पनि उत्तिकै ‘सप्राइज’ बनिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी २५ वर्षीया रुवीकुमारी ठाकुरका लागि पनि यो निर्वाचन ‘सप्राइज’ बनेर आएको उनी स्वयंम् बताउँछन् ।
श्रम संस्कृति पार्टीले रोजेको जेनजी सांसद

साधारण परिवारमा हुर्किएकी २५ वर्षीया रुवीकुमारी अहिले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावका कारण चर्चाको केन्द्रविन्दुमा छिन् । जीवनमा देशको सेवा गर्ने महत्वकांक्षी सपना त थियो, तर त्यो सपना यति छिट्टै यथार्थमा परिणत हुन्छ भन्ने आफूले पनि कल्पना नगरेको ठाकुर बताउँछिन् । ३ महिना अघि मात्रै खुलेको हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सूचीमार्फत उनलाई सांसदमा सिफारिस गरेपछि उनको चर्चा सुरु भएको थियो । यद्यपि, यो नयाँ पार्टी भएकाले राष्ट्रिय पार्टी बन्ने र त्यसमा आफू सांसद नै बन्ने कुरा सुखद संयोगको रुपमा आफ्नो जीवनमा आएकोमा रुवीकुमारी अहिले दंग छिन् ।

रुवीकुमारीको प्रेरणादायी संसदीय यात्रा

सामान्य परिवारबाट उठेर राष्ट्रिय संसदसम्म पुग्ने उनको यात्रा युवायुवतीका लागि प्रेरणादायी उदाहरण बनेको छ । रुवीका बाबु साउदी अरबमा वैदेशिक रोजगारीमा छन् भने घरमा आमा, दुई भाइ र चार बहिनी छन् । पारिवारिक जिम्मेवारी र संघर्षकाबिच उनले आफ्नो पढाइ निरन्तरता दिँदै अघि बढेकी थिइन् ।

धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ पूरा गरेपछि उनी करिब सात महिनाअघि मात्र धनुषाकै एक कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ तलबमा काम गरिरहेकी थिइन् । तर, अचानक आएर सांसद बन्ने अवसरले उनको जीवनलाई नयाँ दिशा दिएको् छ । साधारण परिवारबाट राष्ट्रिय संसदसम्मको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, संघर्ष, सपना र अवसरले मिलेर बनेको प्रेरणादायी कथा भएको श्रम संस्कृति पार्टीका नेताहरु बताउँछन् ।

बालविवाह छलेकी रबीकुमारीको संसद यात्रा

धनुषाकी रुबी कुमारीलाई श्रम संस्कृति पार्टीले यतिकै रोजेको भने होइन । जसरी रुबीकुमारीले दर्जनौ पुरानो र केही नयाँ पार्टी हुँदा हुँदै श्रम संस्कृतिलाई रोजिन्, त्यसरी नै श्रम संस्कृतिले पनि उनको संघर्ष, साहस, क्षमता र जेनजी आन्दोलन र पुस्ताको भावनालाई समेत मध्यनजर गर्दै समानुपातिक सांसद बनायो ।

तिनै रुबीकुमारी हुन्, जसलाई सानैमा बिहेका प्रस्ताव आएको थियो । उनलाई त विहेको कुनै रहर थिएन । तर, उनका आफन्त र छरछिमेक आमाबुबालाई छोरीको विहे गरिदिन प्रस्ताव सहित दबाब दिइरहन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन् । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा प्रत्यक्ष देखेकोले त्यसबेला विहेको प्रस्ताव अस्वीकार गर्दै आएको उनी बताउँछिन् । कैयन दिदीहरु चर्को दाइजो प्रथाको सिकार भएको देखेर प्रताडित बनेका उनले आफ्ना आमा बुबालाई समेत पहिले देशको सेवा अनि मात्र विहे गर्नेमा कन्भिन्स गर्दै आइन्, कतिपय दबाब र अवस्थामा झोँक्किदै प्रतिवाद पनि गरिन् ।

धेरै पटकको अस्वीकार र प्रतिवाद पछि रुबी बाल विवाहबाट जोगिइन् । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया उनै रुबी अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् ।

खाडीमा बुबाः अब पहिलो काम बुबालाई स्वदेश फिर्ता

मधेसमा धेरै खालका समस्या र बेथिति व्याप्त छ । जातिय, वर्गिय, लैंगिक उत्पीडनहरु छन् । उनका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ भने छोराहरुलाई मजदुरीका लागि विदेश पठाउने प्रचलन र बाध्यता छ ।
रुबीका बुवा पनि १० वर्षदेखि मजदुरीका लागि साउदी अरबमा छन् । अब पहिलो काम आफ्नै बुबालाई घर फर्काउने चाहना रहेको रुबी बताउँछिन् ।

‘आफ्नै घरदेशमा रोजगार, स्वरोजगारको सहज अवस्था र अवसर भए कसलाई पो विदेशिन मन लाग्छ होला र ?’, रुबी भन्छिन्, ‘अब संसदमा पनि यी र यस्ता समुदायका जनताका बाध्यता, दुर्भाग्यका कथा व्यथाहरु संसदमा राख्छु, सके सम्म राम्रा नीति निर्माण गर्नमा सक्दो पहल र भूमिका खेल्छु, बुबा जस्तै अबको पुस्ता बाध्यताले विदेशिनु नपर्ने व्यवस्थाका लागि लाग्छु, मेरो बुबा र बुवा जस्ता धेरै विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै फर्काउन चाहन्छु ।’

संसदमा मधेस र जेनजीको आवाज

श्रम संस्कृति पार्टी छोटो समयमै राष्ट्रिय पार्टीको रुपमा उदय भयो । पार्टीसँगै उदाइन् जेनजी रुबीकुमारी । २५ वर्षमै संसदको अवसर र जिम्मेवारी पाउनु गर्वको कुरा हो । उसो त यसलाई सफल रुपमा निर्वाह गर्नु उत्तिकै चुनौतीपूर्ण कुरा हो ।

यसमा उनी कति प्रभावी र सफल देखिन्छन् ? अब उनको एक खालको अग्नी परीक्षा पनि सुरु भएको छ । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै कथालिकासँग भनिन्, ‘अब मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउन भूमिका खेल्छु ।’ संसदमा सामान्य परिवार र युवाहरूको आवाज सशक्त रूपमा उठाउने उनेको वाचा छ ।

स्वदेशमै युवाहरुका लागि रोजगार सिर्जना गर्ने नीति निर्माण अर्को प्राथमिकताको एजेन्डाको रुपमा अघि बढाउने उनको योजना छ ।

 

२०८२, ६ चैत्र शुक्रबार १२:३०
कथालिका नयाँ कथा
कथालिका