नाचको कथाः यसरी शुरु भयो बागलुङमा हनुमान नाच – कथालिका

नाचको कथाः यसरी शुरु भयो बागलुङमा हनुमान नाच

  • २०० वर्ष अगाडि बागलुङमा हनुमान नाचको मञ्चन भएको भनिन्छ । त्यस कुराको कुनै लिखित प्रमाण भने छैन । यद्यपि, हनुमानको प्रतिमा पौवा भएको जग्गा र आज सम्म पुजारीको रुपमा काम गर्ने शिवशंकर श्रेष्ठका सन्तान भएको कुरामा कुनै विवाद छैन । नेवारी भाषामा लेखिएको रामायण गीत (केशव उदासले लेखेको भादगाउँका) भजन बागलुङमा हस्तलिखित रुपमा पाइनुबाट पनि यो नाच उतिबेलैदेखि नाच्ने गरेको देखिन्छ ।

भक्तपुर इकु छेका शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आए । उनी टक्सारको काम र नुनको कारोबार गर्थे । हाल रहेको छहरा पढेरा (गौडी) खोल्छाको पूर्व भिर पहरा मुनि उनले हनुमानको मूर्ति ढुंगामा बनाउन लगाएका थिए । त्यस ठाउँमा एउटा पाटी पनि बनाएका थिए । हनुमान नाच बागलुङ बजारमा उनले प्रचलनमा ल्याएका हुन् । १०० वर्ष भन्दा पहिले हनुमान नाचमा शिवशंकरका सन्तान पूर्ण बहादुर श्रेष्ठ (नारायणचोकका देवी बहादुर श्रेष्ठका पिता) पुजारी थिए । उनी पछि शिवशंकरकै वंशजका कर्णबहादुर श्रेष्ठ भीमचोकका (नौलेको बा) पुजारी बने । त्यसपछि लखने, पुजारी, मूल कजीहरू फेरिँदै आए ।

अहिले बागलुङ बजार छेउमा भएको हनुमान पौवाको जग्गा शिवशंकरका वंशज पदमबहादुर श्रेष्ठको अंशमा परी उनको पत्नी पदमकुमारी श्रेष्ठबाट २०३७ सालतिर हनुमान पौवालाई प्रदान भएको हो । शिवशंकर श्रेष्ठको सन्तानको पाखो जग्गा हालको मिरमिरे कृषि सहकारी गौडाकोटदेखि उत्तरपूर्व सुल्डाँडा जाने बाटोदेखि मुनि गौडाकोट जाने बाटोदेखि माथि हालको हनुमान पौवा भएको जग्गादेखि देउराली चोक हुँदै माजकोट टोलदेखि उत्तर र रातमाटादेखि दक्षिण, उत्तर पूर्व डाक्टर कृष्णबहादुर श्रेष्ठको पुरानो घरको पिछवाड सम्म थियो । शिवशंकरले ओगटेको उक्त जग्गा उनका बंशज पदम बहादुर श्रेष्ठको पिता बैदार भएको बेला दर्ता गरी भाइ अंश लगाएका थिए । भोला जं १९९७ मा बितेको उनको नामबाट भोलाटोल नाम रहेका व्यक्ति, उनको वंशज बागजं, २००० सालमा बितेका हिरा भन्ने बम भारी शिवशंकरकै वंशजका मरेपिपलको ओमलाल श्रेष्ठ, दोर्नजं रा.भ.–बबुरजंग, काशी प्रसाद श्रेष्ठ आफ्ना जमानाका हनुमान कलाकार हुन् ।

वि.सं.२०६१ सालमा हनुमान पौवा भवन निर्माण परियोजना बनाउँदा, ने.स.७२४ वि.स.१६६१ कार्तिक औँसीको दिन भक्तपुर (भादगाउँ) का केशव उदासले ३३ श्लोकको रामायण गीत लेखेको कुरा उल्लेख छ । त्यही गीत हनुमान नाचमा भजनको रुपमा गाइन्छ । भादगाउँका राजा भूपतिन्द्र मल्लको ५५ झ्याले दरबारको मूल ढोका अगाडि एकातिर हनुमान र अर्कोतिर नृसिंहको मूर्ति स्थापित गरेको छ । ने.स. ८१७ मा ५५ झ्याले दरबारको मालती चोकमा भएको शिलालेखमा हनुमान र नृसिंहको पर्व पर्वमा हुने पूजाको लागि जग्गा राखी गुठीबाट पूजा सञ्चालन हुने व्यवस्था राजा भूपतिन्द्र मल्लबाट मिलाइएको उल्लेख छ ।

वि.स.१८२६ मार्ग १ गते भादगाउँ पृथ्वीनारायण शाहले कब्जा गरेपछि भादगाउँका राजा रणजित मल्ल उनका भित्रिनी पट्टिका छोरा अबधूतसिंहको साथमा काशीबास (बनारस) गएका थिए । वि.सं.१८४० मा राजकुमार अबधूतसिंहलाई पर्वतका राजा कीर्तिबम मल्लले बाग्लुङमा शरण दिएका थिए । त्यस समयमा अवधूतसिंह सँग भादगाउँका उनका विश्वास पात्र व्यक्तिहरू पनि पर्वत बागलुङ आएका थिए । अबधूतसिंहको दरबार बागलुङ उपलाचौरमा थियो । वि.स.१८४३ आश्विन महिनामा गोर्खाली सेनाले पर्वत राज्य कब्जा गरेपछि कीर्तिबम सँगै अवधूत सिंह पनि भागेर गएका थिए । विक्रम सम्वत १८४५ सालमा सरदार अम्मर सिंह थापा जितिएको पर्वत राज्यको व्यवस्था मिलाउन आएका थिए । पर्वत राज्यको राजधानी बेनीमा भएकोमा सुरक्षाको दृष्टिकोणले बेनीबाट बागलुङ (तत्कालीन बागलुङचौर)मा प्रशासकीय व्यवस्था सारिएको थियो ।

वि.स.१८९७ भन्दा अगाडि आठ हजार पर्वतको सदरमुकाम बागलुङ थियो । त्यस बखत बागलुङका टक्सारी जैनरसिंह प्रधान थिए । भोट मदेश गर्ने बाटोमा बागलुङ भएको र बागलुङमा अड्डा, टक्सार, कपु (सैनिक) स्थापित भएपछि खानीमा जागिरे एवम् ठेकेदार भएर, टक्सारमा कामदार भएर, व्यापार व्यवसाय सञ्चालन गर्न उपत्यका खासगरी भादगाउँका नेवारहरू बागलुङमा आएका थिए । त्यो समय बागलुङ आर्थिक रुपले सम्पन्न थियो । त्यही समयमा भादगाउँबाट आएका शिवशंकर श्रेष्ठ (चौधरी)को प्रयत्नमा छहरा पँधेरामा हनुमानको प्रतिमा बनाई भादगाउँमा जस्तै हनुमानको पूजा गर्ने र नाँच प्रदर्शन गर्ने प्रचलन बागलुङमा चलाएका हुन् ।

२०० वर्ष अगाडि बागलुङमा हनुमान नाचको मञ्चन भएको देखिन्छ । त्यस कुराको कुनै लिखित प्रमाण भने छैन । यद्यपि, हनुमानको प्रतिमा पौवा भएको जग्गा र आज सम्म पुजारीको रुपमा काम गर्ने शिवशंकर श्रेष्ठका सन्तान भएको कुरामा कुनै विवाद छैन । नेवारी भाषामा लेखिएको रामायण गीत (भादगाउँका केशव उदासले लेखेको) भजन बागलुङमा हस्तलिखित रुपमा पाइनुबाट पनि यो नाचको साइनो रहेको देखिन्छ ।

मृदंगा र झ्यालीको तालमा, लठ्ठी (डण्डा) चलाउने नृत्यले शारीरिक सुगठनमा योगदान पुग्ने कुरामा विवाद छैन । १३ जोलीको सामूहिक नृत्यले कलाकारहरूबिच आपसी सम्बन्धको विकास भएर जान्छ । सात्विक आहार, निर्मल निश्चल मन र ब्रह्मचर्यले सकारात्मक सोच विकासमा सहयोग पुर्याउँछ। व्यक्तिमा कम्पन उत्पन्न गर्न सक्ने ताल (Rhythmic Cycle) सांगीतिक नाच, ताल, सुर, पोशाक, हाउभाउ, एकाग्रताका दृष्टिहरूबाट उत्पन्न हुने मनोभाव अनुपम मनोरञ्जनको तरङ्गले भरिएको हुन्छ । दर्शकहरूलाई सम्मोहन समेत गर्न सक्ने यो मनोरम, उत्कृष्ट र उच्च संस्कृति कुनै एकल जातको मात्र नभएर हाम्रो जिल्लाकै ऐतिहासिक कलात्मक धरोहर हो । यसलाई प्रस्तुत गरेर हामी सबै गौरवान्विक हुन सक्छौं । स्वंयम्सेवक कजीहरु र नाचको लागि पूजा प्रदान गर्ने सबै बागलुङबासीहरु यो सम्पदालाई टेवा पु¥याउने समुदाय हुन् ।
– वरिष्ठ अधिवत्ता समेत रहेका गाउँलेले देउराली चोकका ८४ वर्षीय राजकुमार श्रेष्ठ, भोलाटोलका ९१ वर्षिय राम कुमार राजभण्डारी र कम्पुटोलका ९७ बर्षिय तेजलक्ष्मी श्रेष्ठसँग गरेको कुराकानीमा आधारित लेखको सम्पादित अंशः

 

२०८२, १० चैत्र मंगलवार १४:१८
कथालिका नयाँ कथा
कथालिका