संसद भवनमा बहुप्रतीक्षित बालेनः जब ‘सिलाम साक्मा’मा देखिए – कथालिका

संसद भवनमा बहुप्रतीक्षित बालेनः जब ‘सिलाम साक्मा’मा देखिए

  • उनको उपस्थिति केवल राजनीतिक कारणले मात्र चर्चित बनेन । उनले लगाएको विशेष सांस्कृतिक पहिरन किरात समुदायसँग सम्बन्धित ‘सिलाम साक्मा’ले सबैको ध्यान खिच्यो ।

ऐतिहासिक र सुखद विषय यो छ कि आजको दिन सम्म बालेन्द्र शाहले जे गर्छन्, त्यो अधिक मानिसहरुले मन पराउँछन् । चाहे त्यो उनी छोटो भाषण गरुन्, या गाडीमा हात हल्लाउँदै हिँडुन् या आम सञ्चारबाट टाढै रहुन्, उनकै पक्षमा प्रशंसा र रक्षामा उत्रिने उनका हजारौं समर्थक छन् । आजको दिनसम्म उनका कार्यकर्ता कम, स्वतःस्फूर्त प्रंशसक र समर्थक अधिक छन् ।

यसको एक झलक बिहीवार प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण समारोहमा पनि देखिन्थ्यो । सबैको आकर्षण र प्रतीक्षाको केन्द्रमा थिए बालेन्द्र शाह । जो अबको केही घण्टामा मुलुकको कार्यकारी प्रधानमन्त्री बन्ने सम्मुखमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा उपस्थित हुँदा संसद भवन परिसरदेखि नै भिडभाड देखियो । शाह समारोहमा विशेष सांस्कृतिक पहिरनसहित उपस्थित भए । प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह यसपटक केवल औपचारिक कार्यक्रम मात्र रहेन, बरु सांस्कृतिक विविधता र पहिचानको झल्को दिने महत्वपूर्ण अवसरका रूपमा पनि देखा प¥यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह शपथ ग्रहण समारोहमा उपस्थित हुँदा संसद भवन परिसरमै असाधारण भीडभाड देखिएको थियो । उनको उपस्थितिलाई हेर्न र अनुभव गर्न सर्वसाधारणदेखि समर्थकसम्मको उत्साह उल्लेखनीय थियो ।
तर, उनको उपस्थिति केवल राजनीतिक कारणले मात्र चर्चित बनेन । उनले लगाएको विशेष सांस्कृतिक पहिरन किरात समुदायसँग सम्बन्धित ‘सिलाम साक्मा’ले सबैको ध्यान खिच्यो । छातीमा सुशोभित उक्त परम्परागत चिन्हले उनको व्यक्तित्वलाई अझ अर्थपूर्ण र विशिष्ट बनाएको देखिन्थ्यो ।

किन विशेष छ ‘सिलाम साक्मा’?

सामान्य सजावट भन्दा फरक, ‘सिलाम साक्मा’ केवल सौन्दर्यको प्रतीक होइन, गहिरो सांस्कृतिक र आध्यात्मिक अर्थ बोकेको चिन्ह हो । किराती संस्कृतिमा यसलाई शुभ संकेतका रूपमा लिइन्छ। विशेषतः ‘मृत्यु वा अपशकुनको बाटो छेक्ने’ पवित्र प्रतीकका रूपमा यसको मान्यता रहँदै आएको छ ।

लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो, र ‘साक्मा’ को अर्थ छेक्नु हो । यसरी ‘सिलाम साक्मा’ को शाब्दिक अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ । यही कारणले यसलाई धार्मिक, सांस्कृतिक तथा विशेष अवसरहरूमा प्रयोग गरिन्छ ।

परम्परा र आधुनिकताको संगम
शाहले राष्ट्रिय मञ्चमा यस्तो परम्परागत पहिरन प्रयोग गर्नुले नेपाली समाजमा विविधता, समावेशिता र सांस्कृतिक पहिचानप्रतिको सम्मान झल्काएको रूपमा व्याख्या गरिएको छ । आधुनिक राजनीतिक मञ्चमा परम्परागत पहिचान प्रस्तुत गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ, जहाँ आधुनिकता र परम्परा सँगसँगै अघि बढ्न सक्छन् ।

उनको यो शैलीले सांस्कृतिक पहिचानलाई सार्वजनिक जीवनमा स्थान दिनु एकता र विविधताको सशक्त अभिव्यक्ति भएको सन्देश पनि दिएको छ ।

सार्वजनिक जीवनमा बढ्दो प्रयोग

यसअघि पनि हर्क साम्पाङ ले सार्वजनिक रूपमा सिलाम साक्मा प्रयोग गरी यसलाई चर्चामा ल्याएका थिए । त्यसपछि नेपाली फिल्म जारी लगायतका माध्यमहरूले यसको लोकप्रियता अझ विस्तार गरेका छन् । यसले सिलाम साक्मालाई सांस्कृतिक पहिचानको सशक्त प्रतीकका रूपमा स्थापित गर्न सहयोग पुगेको देखिन्छ ।

कसरी बनाइन्छ सिलाम साक्मा ?

सिलाम साक्मा हातले बुनेर तयार गरिने चारकुने वस्तु हो । यसको छेउमा फुर्का राखिएको हुन्छ र दुईवटा बाँसका कप्टेरोको सहायताले विभिन्न रङ्गका धागो प्रयोग गरी आकर्षक ढंगले तयार पारिन्छ। यसलाई बनाउँदा दैविक शक्तिलाई प्रसन्न पार्ने र सुख, शान्ति तथा सद्भावको कामना गरिने परम्परा छ ।

यसलाई जीवनको ‘सुरक्षा कवच’ का रूपमा पनि लिइन्छ । अतिथिलाई स्वागत गर्दा, विवाह वा सार्वजनिक समारोहमा सहभागी हुँदा छातीमा सजाएर लगाउने चलन रहेको छ ।

सांस्कृतिक सन्देशको निरन्तरता

समग्रमा, बालेन्द्र शाहको यो प्रस्तुति केवल व्यक्तिगत शैली मात्र नभई सांस्कृतिक चेतना र पहिचानप्रतिको सम्मानको सन्देश बोकेको देखिन्छ । यस्तो अभ्यासले नेपाली समाजमा आफ्नै परम्पराप्रति गर्व गर्ने र त्यसलाई आधुनिक सन्दर्भमा प्रस्तुत गर्न प्रेरित गर्दछ । यसले युवा पुस्तालाई पुराना संस्कार संस्कृति बुझ्न, बोध गर्न र अनुसरण गर्नलाई पनि सघाउन पु¥याउनेछ ।

२०८२, १२ चैत्र बिहीबार १०:४७
कथालिका नयाँ कथा
कथालिका