अब इन्जिनियरको हातमा देश, अग्निपरीक्षामा बालेन – कथालिका

अब इन्जिनियरको हातमा देश, अग्निपरीक्षामा बालेन

  • भारी जनअपेक्षाअनुसार काम गर्ने दबाब, बहुमतको जिम्मेवारी, प्रणालीगत सुधारको चुनौती र जनविश्वास जोगाउने परीक्षा छ । अब देशको स्टीयरिङ एक इञ्जिनियरको हातमा आएको छ । अब देशको विकास र समृद्धिको ‘नक्सा’ कस्तो कोर्नेछन् ? त्यो बहुप्रतीक्षित छ ।

२०७९ साल, केही दलहरूको एकछत्र प्रभुत्वबीच स्थानीय तह निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारको उदय भयो, त्यो पनि अपेक्षाभन्दा बाहिरका एक युवा । र पनि परिणाम चामत्कारिक रह्यो । उनी थिए बालेन्द्र शाह, जो काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र चुनाव लडेर शानदार रुपमा निर्वाचित भए ।

आज, त्यही ‘अप्रत्याशित’ पात्र फेरि एकपटक इतिहास रच्दै नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । देशकै कान्छा प्रधानमन्त्रीको रूपमा उनले इतिहास दर्ज गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय जनसमर्थनसहित झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्दै उनले शुक्रबारदेखि सरकारको बागडोर सम्हालेका छन् ।

कान्छो प्रधानमन्त्रीः नयाँ पुस्ताको प्रतिनिधित्व

संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले झापा–५ बाट उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए ।

उनी प्रधानमन्त्री हुन केवल व्यक्तिगत वा रास्वपाको जित हारको सवाल मात्र होइन, यसपटकको निर्वाचनमा बालेन र उनको नयाँ उर्जाशील युवाहरुको टिमले चुनाव जित्नुले अब नेतृत्वमा पुस्तान्तरणको अपरिहार्यतालाई उजागर गरिदिएको छ ।

जेन-जी पुस्तामाझ अत्यधिक लोकप्रिय शाहले अब नेपालको राजनीतिक इतिहासमै दुर्लभ मानिने बहुमतको सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । यो केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपको प्रतीक पनि भएको बिश्लेषण छ ।

इन्जिनियरदेखि प्रधानमन्त्रीसम्मको यात्रा

नेपाली राजनीतिमा पछिल्लो समय सबैभन्दा चर्चित हो बालेन । परम्परागत राजनीतिक पृष्ठभूमिबिना उदाएका उनी अहिले देशको नेतृत्व सम्हाल्ने स्थानसम्म पुगेका छन् ।

प्रधानमन्त्री शाहको जन्म काठमाडौंको गौरीगाउँमा भएको हो । उनी आयुर्वेदिक चिकित्सक डा.रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । उनले काठमाडौंकै ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि भारतको विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

पेशाले इन्जिनियर रहेका शाहले नेपालका विभिन्न स्थानमा काम गरेका छन् । विशेषगरी २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरे । यसले उनलाई एक जिम्मेवार नागरिक र समाजप्रति उत्तरदायी युवाका रूपमा चिनाएको थियो । केही वर्षअघि सम्म ¥याप संगीतमार्फत युवामाझ परिचित उनी काठमाडौं महानगरको मेयर निर्वाचित भएसँगै राष्ट्रिय चर्चामा आएका थिए ।
नाराभन्दा कार्यमुखी दृष्टिकोण

शाहले चुनावी अभियानमै ‘डिजिटल सरकार’, ‘आइडिया बैंक’ जस्ता नवीन अवधारणाहरू अघि सारेका थिए । उनी डिग्रीभन्दा सीपलाई प्राथमिकता दिने रोजगारी प्रणालीको पक्षमा उभिँदै आएका छन् ।

रास्वपाको चुनावी सभाका क्रममा पनि शाहले यस विषयलाई जोडका साथ उठाउँदै आएका छन्-“म काम गर्ने मान्छे हुँ, हामीलाई काम दिनुहोस्, हामी काम गरेर देखाउँछौ ।” अनि सभाभै सहभागी मतदातालाई प्रश्न सोध्थे-”अवसर दिनुहुन्छ ?”

काठमाडौं महानगरमा २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गरेको उदाहरणलाई देशव्यापी बनाउने उनको योजना छ । साथै, मिथिलालाई ‘वेडिङ डेस्टिनेसन’ बनाउने जस्ता क्षेत्रीय विकासका अवधारणासमेत उनले अघि सारेका छन् ।

संघीय र संरचनात्मक सुधारको एजेन्डा

राजनीतिक मुद्दालाई नागरिकको दैनिक जीवनसँग जोड्न सक्ने क्षमताले शाहलाई फरक बनाउँछ । संघीयताको प्रभावकारी कार्यान्वयनबारे उनले स्पष्ट धारणा राखेका थिए ।

प्रदेश राजधानीमै हुने निर्णयका लागि किन काठमाडौं धाउनु नपर्ने अवस्था आवश्यक रहेको उनको भनाइ छ । अधिकार विकेन्द्रीकरणमार्फत प्रशासनिक प्रक्रिया सरल बनाउने उनको प्राथमिकता छ । अब यसलाई उनले कार्यशैली र व्यवहारमा कसरी उतार्छन् ? त्यो भने हेर्न प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

अबको अवसर र चुनौती

जेन-जी आन्दोलनपछिको राजनीतिक तरंगका बीच पनि शाहले तत्काल प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका थिए । उनले स्पष्ट सन्देश सहित भनेका थिए कि उनको लक्ष्य केवल पद प्राप्ति होइन, परिणाममुखी परिवर्तन हो ।

अन्ततः उनले परम्परागत शक्तिसँग सीधा प्रतिस्पर्धा रोजे र जसमा शानदार जित हासिल गरेका छन् । पुराना राजनीतिक शक्तिप्रति असन्तुष्ट युवा मतदाताको भरोसा उनको पक्षमा उभियो । यही ‘लहर’ उनको सबैभन्दा ठूलो शक्ति बनेको छ । अब प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको वास्तविक ‘अग्निपरीक्षा’ शुरु भएको छ ।

भारी जनअपेक्षाअनुसार काम गर्ने दबाब, बहुमतको जिम्मेवारी, प्रणालीगत सुधारको चुनौती र जनविश्वास जोगाउने परीक्षा छ । अब प्रश्न एउटै छ कि के शाहले आफूले वाचा गरेको परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्न सक्लान् ? समयक्रमसँगै यसको उत्तर जरुर आउनेछ, तर अहिलेका लागि देशको स्टीयरिङ एक इञ्जिनियरको हातमा आएको छ । अब देशको विकास र समृद्धिको ‘नक्सा’ कस्तो कोर्नेछन् ? त्यो बहुप्रतीक्षित छ ।

२०८२, १३ चैत्र शुक्रबार ०८:२०
कथालिका नयाँ कथा
कथालिका