- आत्मदाहसम्म पु¥याउने परिस्थिति, मनोवैज्ञानिक पीडा, सामाजिक दबाब, बेरोजगारी, अन्याय, राज्यप्रतिको निराशा र मौन चिच्याहटको विषयमा समाज, राज्य समयमै सचेत र संवेदनशील बन्न जरुरी छ ।
नेपाली शब्दकोषको एक अप्रिय र निर्मम शब्द हो ‘आत्मदाह’ । ‘आत्मदाह’ अर्थात् आफैले आफैलाई मार्नु÷हत्या गर्नु । यो आफैमा अकल्पनीय विषय, तर ‘आत्मदाह’को त्यो कठोर निर्णयसम्म कोही किन पुग्छ होला ? यसका पछाडिका कारणहरु त भिन्न–भिन्न हुन सक्लान् तर, गहिरिएर त्यस्ता पात्रको अवस्था र मनोविज्ञान बुझ्ने हो भने ती व्यक्तिहरु धेरैपटक भित्रभित्रै जलिसकेको हुन्छन्, गलिसकेको हुन्छन्–आफ्नै असफलताहरुले, अपमानहरुले, अन्यायहरुले, निराशाहरुले वा आफ्ना आवाज कसैले नसुनेको,नबुझको पीडाबोधहरुले । जब जीवनभन्दा दुःख र पीडा ठूलो लाग्न थाल्छ, तब केही मानिसले घर, सडकलाई नै घाट बनाउँछन् र जलाउँछन् आफ्नै शरीरलाई दागबत्ती दिएर । जसले उनीहरुको जीवन त अन्त्य हुन्छ, तर समाजमा गम्भीर प्रश्न उठाउँछ समाज, राज्य र हामी सबैका सामु । तिनै प्रश्न पछिल्ला ‘आत्मदाह’ घटनाहरुले उठाइरहेका छन् ।
एकपछि अर्को ‘आत्मदाह’
१० माघ, २०७९ मा बानेश्वरस्थित संसद भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाए । मध्य दिनमै भएको यो घटना सबैको नजरमा आज पनि ताजै छ, । उपचारकै क्रममा आचार्यको ११ माघमा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन हुन पुग्यो ।
यसको ४१ महिनापछि फेरि उस्तै प्रकृतिको घटना दोहोरिन पुगेको छ । मुगुका २५ वर्षीय युवा गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । नेपालीको तत्काल उद्धार गरी वीर अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा उनको शुक्रबार निधन भयो । २५ वर्षे युवाको आत्मदाहसँगै देश तनावपूर्णस्थितिमा छ ।
‘आत्मदाह’ यतिमै रोकिएको छैन, यस घटनाकै भोलिपल्ट काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको मृत्यु भएको छ । ४५ वर्षीय राउतले शनिवार बिहान आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पु¥याइएको थियो ।
संवेदनाहीन राज्य
काठमाडौं गणेश नेपालीका लागि रहरको शहर थिएन, जिम्मेवारीको शहर थियो । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश पाँच वर्षअघि ठूलो सपना बोकेर काठमाडौं आएका थिए । कृषि जेटिए पढेका उनी सरकारी जागिर खाने आशामा लोक सेवा आयोगको तयारी गर्न राजधानी पसेका थिए । तर, पटक–पटकको प्रयासपछि पनि सफलता हात परेन । अन्ततः उनले सपना थाती राखे र परिवार बचाउने पठाओ गर्ने संघर्ष रोजे । तर, ऋण गरेर नयाँ मोटरसाइकल किनेका गणेशले यसमा पनि अनेक सास्ती र सकस आउन थालेपछि जीविका सहज र आर्थिक अवस्था सुधार्ने आशामा दुबई जाने योजना बनाएर तयारी गरिरहेका थिए । तर, उक्त सपना पनि उनको इहलिला समाप्तीसँगै अधुरै रह्यो ।
निश्चित हो कि गणेशले नियम कानुन मान्नुपर्छ, पथ्र्यो । उक्त कानुन मान्दै गर्दा या कार्यान्वयन गर्दा गरिब, भूँई मान्छेहरुको अवस्था, बाध्यतालाई राज्यले अलि संवेदनशील नजरले हेर्न नसक्दा अहिलेको बदलिँदो अवस्थामा पनि आत्मदाहको घटना नरोकिएको बिनु थापा बताउँछिन् ।
अहिले सडकदेखि सदनसम्म बालेन शाह नेतृत्व सरकारको तीव्र विरोध भइरहेको छ । राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’का चालक रहेको खुलेका नेपालीको मृत्युको कारणमा सरकार नै रहेको तर्क गर्दै सरकारविरुद्ध चालकहरू आन्दोलित छन् । कर्णाली प्रदेशका युवाहरूले संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी सुर्खेतमा आन्दोलन गरिरहेका छन् । संघीय संसदमा पनि प्रतिपक्षी सांसदहरूले सरकारको तीव्र आलोचना गरिरहेका छन् । सुकुम्बासीको बस्ती उठाएर मानव संवेदनशीलतामाथि प्रहार गरेको आरोप लगाइरहेका प्रतिपक्षीले यो घटनापछि सरकारमाथि थप आक्रोश व्यक्त गरिरहेका छन् ।
अमूल्य जीवन, किन फगतमा फाल्दैछन् युवा ?
कुनै मानिस पनि फगत जीवन समाप्त गर्न चाहदैन । मानिस जन्मेसँगै विस्तारै उसको केही आशा हुन्छ, सपना हुन्छ, उद्देश्य लक्ष्यहरु हुन्छ । ‘एउटा विन्दुमा पुग्दा यी सबै कुराहरुमा असफलताको आभाष या कठिन हुन थाल्छ, र मानिसहरु आत्मदाह जस्तो कठोर कदम चाल्न अभिसप्त हुन्छ,’ वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी भन्छन्, ‘आत्मदाह वा ज्युँदै जल्नु भनेको चरम निराशा, आर्थिक संकट, समाज तथा राज्यका निकायबाट भएको अन्याय वा अपमानप्रतिको चरम आक्रोशको परिणाम हो ।’ भविष्यप्रतिको भरोसा टुट्दा, ऋणको भारीले थिच्दा र एक्लो महसुस गर्दा केही व्यक्तिहरू आफ्नो पीडा देखाउन वा न्याय खोज्ने अन्तिम उपायका रूपमा यस्तो दुःखद कदम रोज्न पुग्ने डा.अधिकारीको भनाई छ ।
नेपाली समाजमा यस्ता घटनाहरू घट्नुको मुख्य कारण र अवस्थालाई बिभिन्न कोणबाट बिश्लेषण गर्ने गरिएको छ । पहिलो, आर्थिक असुरक्षा र ऋणको भारीः व्यवसायमा असफलता, चर्को ब्याजको ऋण र बेरोजगारीले धेरै युवालाई गहिरो मानसिक तनावमा पुर्याउँछ । दोस्रो,राज्य र प्रणालीप्रतिको आक्रोशः न्याय नपाउनु, सरकारी निकायको ढिलासुस्ती, र नीतिहरू नागरिकमैत्री नहुँदा व्यवस्थाप्रति वितृष्णा जाग्छ । तेस्रो, तत्काल देखिएको चरम अपमानः कतिपय अवस्थामा सडकमा हुने सामान्य विवाद, जरिवाना वा राज्यका संयन्त्रहरू (जस्तै नगर प्रहरी, प्रहरी या कर्मचारी) बाट गरिएको दुव्र्यवहारले मानिसलाई आवेगको चरम बिन्दुमा पु¥याउँछ । चौंथो, मानसिक स्वास्थ्य समस्याः चरम डिप्रेसन, बाइपोलर डिसअर्डर जस्ता मानसिक स्वास्थ्य समस्याहरू पनि यसको एउटा मुख्य जैविक तथा मनोवैज्ञानिक कारण मानिन्छन् । पीडा र आक्रोश प्रदर्शनको माध्यमः कतिपय व्यक्ति आफू बाँच्न नसक्ने अवस्थामा पुगेपछि आफ्नो आवाज राज्य वा समाजले सुनोस् भन्ने उद्देश्यले सार्वजनिक स्थानमा यस्तो अप्रिय निर्णय गर्छन् ।
मृत्यु एक, प्रश्न अनेक
गणेश नेपालीको मृत्युले एउटा परिवारको कमाउने सदस्य मात्रै गुमेको छैन । यसले रोजगारीको अभाव, युवाको निराशा, सार्वजनिक निकायको व्यवहार, सेवाग्राहीसँगको संवेदनशीलता र संकटको क्षणमा राज्यका संयन्त्रको भूमिकाबारे गम्भीर प्रश्न पनि उठाएको छ ।
लोक सेवाको सपना बोकेर काठमाडौं आएको एउटा युवा अन्ततः ऋण तिरेर परिवार बचाउने प्रयासमा राइड सेयरिङ चालक बने । त्यसपछि परिवारका लागि देशमा सम्भावना कमजोर बन्दै जान थालेपछि विदेश जाने योजनामा लागे । तर, ती सबै सपना अधुरै छाडेर उनी केवल सम्झनामा मात्र सीमित हुन पुगेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । केही तथ्य आउँला पनि तर, अब बिरामी आमाको उपचार कसले गर्ने ? तीन वर्षीया छोरीको भविष्य कसले बनाउने ? श्रीमती, वृद्ध बुबाको सहारा को बन्ने ? यी र यस्ता संवेदनशील प्रश्न खडा भएका छन् । एउटा सामान्य नेपाली युवाको संघर्षपूर्ण जीवन किन यति असुरक्षित बन्यो ? यस प्रश्नको उत्तर भने समाज र राज्य दुवैले खोज्न जरुरी देखिएको छ ।
जिम्मेवार राज्य, संवेदनशील समाज
कोही किन ज्युँदै जल्छ ? हाम्रो समाज किन यस्तो बन्यो ? हामीले कसरी त्यस्तो समाज बनायौँ, जहाँ कसैलाई आफ्नै शरीर आगोमा सुम्पिनुपर्ने अवस्था आयो ? राज्यले यसमा गम्भीरतापूर्वक खोज, अध्ययन र आवश्यक ठोस पहलकदमी लिनुपर्ने वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी बताउँछन् ।
‘आत्मदाहसम्म पु¥याउने परिस्थिति, मनोवैज्ञानिक पीडा, सामाजिक दबाब, बेरोजगारी, अन्याय, राज्यप्रतिको निराशा र मौन चिच्याहटको विषयमा समाज र राज्य संवेदनशील बन्न समयमै जरुरी छ’, उनले भने, ‘यसलाई कुनै एक व्यक्ति या परिवारको समस्याको रुपमा देखाएर पन्छिन मिल्दैन, यो आगो हाम्रै घर, छरछिमेकमै पनि भोलि सल्किन सक्छ । देशभर भुसको आगो जस्तो फैलिन पनि सक्छ, सरकार हामी सबै जिम्मेवार बनौ, संवेदनशील बनौ ।’
यसका लागि मानसिक स्वास्थ्य परामर्श र आत्मदाह, आत्महत्या रोकथामका लागि उपलब्ध नेपाल प्रहरी वा अन्य मनोसामाजिक परामर्शदाताको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।