पागलः ‘पागलपन’ बाट जन्मिएको कालजयी कविता – कथालिका

पागलः ‘पागलपन’ बाट जन्मिएको कालजयी कविता

  • खान बोलाउँदा पनि ‘मरेको मान्छेले कसरी खानु ?’ यो सुनेपछि केदारमान व्यथित सरासर देवकोटा रहेको ठाउँमा पुगे । देवकोटा धोती ओढेर लम्पसार परिरहेका थिए । व्यथितले उनलाई चिमोटे । देवकोटाको मुखबाट निस्कियो-“ऐया !” त्यसपछि व्यथितले भनेछन्-“कस्तो पागलपन हो तपाईंको ? तपाईं त मर्नुभएको छैन !”

महाकवि देवकोटाले कसरी लेखे ‘पागल’ कविता ? यो धेरैका लागि सर्वाधिक चासो र अध्ययनको विषय छ । देवकोटालाई ‘पागल’ ठानिएको एउटा प्रसङ्ग र त्यही अनुभूतिबाट कालजयी कविता जन्मिएको प्रसंग साँच्चिकै रोचक छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा केवल असाधारण प्रतिभाका कवि मात्र थिएनन्, उनी आफ्ना भावना, कल्पना र चेतनालाई निर्बाध रूपमा अभिव्यक्त गर्ने स्रष्टा पनि थिए । कुनै घटना, दृश्य वा अनुभूतिले उनको मन छोयो भने त्यो धेरै समयभित्र सीमित रहँदैनथ्यो—कहिलेकाहीँ कविता बनेर, कहिलेकाहीँ कथा वा निबन्ध बनेर बाहिर आउँथ्यो ।

तर देवकोटाको यही विलक्षण स्वभाव र गहिरो भावनात्मक संसारलाई सबैले सधैं सहज रूपमा बुझ्न सकेनन् । उनका असामान्य व्यवहार र अभिव्यक्तिलाई लिएर घरपरिवारदेखि उनका केही समकालीन साथीहरूसम्मले उनलाई ‘पागलपन’ सँग जोडेर चर्चा गर्ने गरेको प्रसङ्गहरू पाइन्छन् ।

एउटा रोचक घटनासँग जोडिएको चर्चित कविता

यस्तै एउटा रोचक घटनासँग जोडिएको छ नेपाली साहित्यको सर्वाधिक चर्चित कवितामध्ये एक-‘पागल’ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार साहित्यकार केदारमान व्यथित र महाकवि देवकोटाबीच घनिष्ठ सम्बन्ध थियो। एक दिन व्यथित देवकोटाको घर पुगे। त्यहाँ पुग्दा देवकोटाकी पत्नी र छोराछोरी केही अन्योलमा देखिन्थे ।

ग्वंगःका अनुसार, परिवारले व्यथितलाई देवकोटाको अवस्था सुनाउँदै भनेछन्-“हेर्नुस् न, कविज्यू आफू मरेँ भन्दै धोती ओढेर लम्पसार परिरहनुभएको छ । खान बोलाउँदा पनि ‘मरेको मान्छेले कसरी खानु ?’ भन्नुहुन्छ ।”
यो सुनेपछि केदारमान व्यथित सरासर देवकोटा रहेको ठाउँमा पुगे । देवकोटा धोती ओढेर लम्पसार परिरहेका थिए ।
व्यथितले उनलाई चिमोटे ।
देवकोटाको मुखबाट निस्कियो-“ऐया !”
त्यसपछि व्यथितले भनेछन्-“कस्तो पागलपन हो तपाईंको ? तपाईं त मर्नुभएको छैन !”
संस्कृतिविद् ग्वंगःका अनुसार, देवकोटाले आफ्नै जीवनको यही अनुभूति र परिवेशलाई कवितामा उतारेका थिए । र त्यसैबाट जन्मिएको कविता थियो-‘पागल’ ।
त्यो प्रसङ्गलाई देवकोटाले कवितामै यसरी अभिव्यक्त गरेका छन्-
“म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, ‘ए पागल, तेरो मासु अझ मरेको छैन ।”

‘पागल’ : पागलपनको कविता कि असाधारण चेतनाको अभिव्यक्ति ?

देवकोटाको ‘पागल’ केवल एउटा मानिसलाई समाजले ‘पागल’ भनेको कथा मात्र होइन । यो स्थापित सोच, सामाजिक दृष्टि र मानिसको सीमित बुझाइप्रति एउटा शक्तिशाली प्रश्न पनि हो ।

जुन कुरा समाजले बुझ्न सक्दैन, त्यसलाई कहिलेकाहीँ असामान्य ठान्छ। र असामान्यलाई सहजै ‘पागलपन’ को नाम दिइन्छ । सायद देवकोटाले पनि आफ्नै अनुभूति र चेतनाको संसारलाई यही दृष्टिबाट देखे–र त्यसलाई कविताको असाधारण भाषामा अभिव्यक्त गरे ।

त्यसैले ‘पागल’ आज पनि केवल देवकोटाको कविता होइन, मानिसको स्वतन्त्र चेतना, कल्पना र समाजको सीमित दृष्टिबीचको संवादको रुपमा लिइन्छ । जसलाई संसारले ‘पागल’ देख्यो, उसले संसारलाई एउटा यस्तो कविता दिए, जुन आज पनि नेपाली साहित्यको चेतनामा जीवित छ ।

महाकवि देवकोटाको चर्चित कविता ‘‘पागल’’ को पुरा कविता माथि श्रव्य कथामा सुन्न र तल पढ्न सक्नुहुनेछ ।

कविता: पागल 

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादुगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागल झैँ,
पूल झैँ एक किसिमका चकोर–पुल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्म छु !
तिमी जम्दछौ जब म पग्दन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नसा ढिलो छ ।
यस्तै छ मेरो हाल !

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भष्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय–वेदनाले उफ्रेँ !
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे !
म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले,
राँची पठाइदिए !
म आपूmलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, ‘ए पागल तेरो मासु अझ मरेको छैन !’
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

मैले नवाबको मदिरालाई खुन भनेको छु,
छिमेकी रण्डीलाई लास भनेको छु !
राजालाई गरिब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौँ आसमानसम्म,
तारिफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट–पलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा–तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौँ, रौँ
गर्गनका सर्पकेश झैँ, मेरा जिस्क्याइएका
रौँ, रौँ !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरा मक्कएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाल–लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी१
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल !
तुफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझैं, बडवानलझैं !
म वन खाने आगो झैँ बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलुँ झैँ विश्वविशाल !
जरुर साथी !
म सुन्दर–चकोर, असुन्दर–फोर !
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तुफान–पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !

२०८३, ६ भाद्र शनिबार १५:१६
कथालिका नयाँ कथा
कथालिका