रङ नम्बर डायलः आवेगले निम्त्याएको अप्रिय घटना – कथालिका

रङ नम्बर डायलः आवेगले निम्त्याएको अप्रिय घटना

प्रतिकात्मक तस्बिर
  • विवादपछि दाजुभाइ पाटन पुग्ने निर्णय उनीहरूका लागि निकै महँगो प¥यो । त्यही नै जीवनको अन्तिम यात्रा बन्न पुग्यो ।

ललितपुरको ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिएको पाटन कृष्ण मन्दिर परिसर बुधबार साँझ एकाएक करुणा, पीडा र स्तब्धताले भरियो । जहाँ सामान्यतया श्रद्धा, शान्ति र प्रार्थनाको वातावरण रहन्छ, त्यहीँ दुई दाजुभाइको ज्यान जाने दर्दनाक घटना भयो, जसले एक परिवारलाई विभत्स, सदाका लागि विछोडको असीम पीडामा डुबायो । समाजलाई पनि गहिरो प्रश्न छोड्यो ।

कसरी भयो दर्दनाक घटना ?
बुधवार अपरान्ह ३३ वर्षीय सुमीत नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ दुई दाजुभाइ, जो अरु सामान्य दिनझैँ आफ्नो काममा व्यस्त थिए । पारिवारिक स्रोतका अनुसार सुमित र सिर्जन दुबै आमा भएको ठाउँ लन्डन जाने तयारीमा थिए । तर, कामकै शिलशिलामा साथीलाई फोन गर्ने क्रममा गलत नम्बरमा फोन गरे । ललितपुरको मङ्गलबजारमा घुम्ने क्रममा सिर्जनले एक साथीलाई फोन गर्दा झुक्किएर पाटन भोलढोका वडा नम्बर ९ निवासी सञ्जीव नेपालीको नम्बरमा गयो ।

फोन रिसिभ गर्ने नेपालीले केही अपशब्द प्रयोग गर्दै गाली गरेपछि भनाभन र विवाद सुरु भयो । त्यसपछि उनीहरूले मङ्गलबजारमै भेट्ने सहमति गरेको र त्यही क्रममा विभत्स घटना भएको पाइएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए । मङ्गलबजारमा रहेका नेम्वाङ दाजुभाइलाई भेट्न मासु काट्ने छुरा बोकेर आएका नेपालीले कृष्ण मन्दिर अगाडि पुग्नासाथ कुनै कुराकानी नगरी नेम्वाङद्धय माथि अन्धाधुन्ध प्रहार गरेको बोगटीले बताए । भाइलाई बचाउन जाँदा दाइ सुमित माथि पनि प्रहार भयो । त्यसपछि अभियुक्त त्यहाँबाट भाग्ने खोजेको तर, दुई मिनेटमै प्रहरीले पक्राउ गर्न सफल भएको उनको भनाइ छ ।

अन्ततः दुबैजनाले घटनास्थलमै ज्यान गुमाए । प्रहरी घटना भएको ठाँउमा पुग्दा सुमित र सिर्जन ढलेका थिए । सञ्जीव चक्कु बोकेर नजिकैको एक रेष्टुरेण्टमा लुक्ने तयारी गरिरहेका थिए । उनलाई एकजना महिला प्रहरीले समात्न सफल भइन् । सञ्जीवले ती प्रहरीलाई पनि दुव्र्यवहारको प्रयास गरेका थिए ।

आपराधिक योजना भन्दा खतरानक आवेगको त्यो घटना

नेम्वाङ दाजुभाई अचानक यस्तो घटनाको शिकार बने, जसको कल्पना उनीहरूले गरेका थिएनन् । माफी माग्न पुगेका उनीहरू माथि हतियार प्रहार भएपछि ढलेको अवस्थाबाट उद्धार गरेर घाइते अवस्थामा बिएन्डबी अस्पताल लगिएको थियो, तर चिकित्सकहरूको अथक प्रयासका बाबजुद दुवैको ज्यान जोगिन सकेन ।

प्रहरीका अनुसार, यो घटनाको जरो कुनै गहिरो आपराधिक योजना होइन, एक सामान्य फोन संवाद र त्यसपश्चात उत्पन्न आवेग नै मुख्य कारण भएको प्रहरीले बताएको छ । ‘अपरिचित नम्बरबाट भएको फोन कुराकानी, जसमा सुरुमा सामान्य संवाद भयो । कुरा गर्दै जाँदा क्रमशः भनाभन वादविवाद भयो । आवेग र उत्तेजनाले भरिएको त्यही संवादले अन्ततः दुःखद र कहाली लाग्दो मोड लिएको देखिन्छ । विवादपछि दाजुभाइ पाटन पुग्ने निर्णय उनीहरूका लागि निकै महँगो प¥यो । त्यही नै जीवनको अन्तिम यात्रा बन्न पुग्यो ।

घटनामा संलग्न भनिएका सञ्जीव नेपाली, जो स्थानीय रूपमा मासु पसलमा काम गर्थे, आवेगमा आई हातमा रहेको धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । घटनापछि भाग्ने क्रममा उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रारम्भिक बयानमा ‘सामान्य विवादकै कारण आवेगमा आएर हत्या स्वीकार गरेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए ।

हामी संवाद, धैर्य र सहनशीलता बिर्सिन थालेका छौ ?

यो घटना हाम्रो समाजमा बढ्दो आवेग, असहिष्णुता र सानो विवादलाई ठूलो दुर्घटनामा परिणत गर्ने प्रवृत्तिको झल्को पनि हो । केही सेकेन्डको क्रोध, केही कठोर शब्द, र नियन्त्रण गुमेको एक क्षण, यिनै कारणले दुई परिवार सधैंका लागि अधुरो बनेको छ ।
यस घटनाले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ कि के हामी संवाद, धैर्य गर्न बिर्सँदै गइरहेका छौं ? के हामी सहनशीलता गुमाउँदै छौं ?

यी र यस्ता घटनालाई लिएर कतिपयले जात विशेष र दृष्टिकोणबाट पनि व्याख्या गर्ने गर्छन् । तर, यस्ता संवेदनशील क्षणमा सबैभन्दा महत्वपूर्ण कुरा पीडितलाई न्याय र पीडकलाई कारबाही हो । अपराधलाई कुनै जात, धर्म वा पहिचानसँग जोडेर हेर्नु भन्दा पहिले त्यसलाई मानवता र न्यायको दृष्टिले मात्र हेर्नु जरुरी भएको प्रहरी वरिष्ठ उपरीक्षक बोगटी बताउँछन् ।

अपराधीको कुनै जात हुँदैन, उसको पहिचान केवल ‘अपराधी’ नै हो । त्यसैले यस्ता घटनामा हाम्रो आवाज न्यायका पक्षमा, कानूनी कारबाहीका पक्षमा र पीडितका पक्षमा उठ्नुपर्छ, न कि विभाजन र द्वेष फैलाउने दिशामा । पाटनको एक साँझले हामी सबैलाई सम्झाइदिएको छ कि जीवन कति नाजुक छ, र हाम्रो एक आवेगले कति ठूलो क्षति निम्त्याउन सक्छ । अतः जीवनमा संयम, संवाद र मानवता अपरिहार्य देखिएको प्रहरी वरिष्ठ उपरीक्षक बोगटी बताउँछन् ।

२०८२, २६ चैत्र बिहीबार ०६:२७
कथालिका नयाँ कथा
कथालिका