देशदेशावरः गाउँघरको उदारताले बचाएको सासको कथा – कथालिका

देशदेशावरः गाउँघरको उदारताले बचाएको सासको कथा

  • देशका ७५३ पालिका पुग्ने लक्ष्यका साथ पैदलयात्रा थालेका विपिन १८८ स्थानीय तहमा पुगिसकेका छन् ।

झरीको मौसम छ, झरनाको समय । धेरैले मलाई ‘रोचक’ कुरा सुनाउ भन्नु हुन्छ । देशदेशावरको जीवन्त दस्तावेज रहने पुस्तक लेख्नुपर्छ भन्नुहुन्छ ।
‘भैगो !’ म भन्न सक्दिनँ, न खुलेरै ‘हस्’ भन्न सक्छु ।

चर्को बोल्दा कर्कश हुन सक्छ, सुस्त बोल्दा सुन्न सकस । यो भलबाढी, खोला, खहरे, छाँगा–छहरा बोल्ने बेला हाम्रो मौनता नै मिठो हुन्थ्यो कि ! थाहा छैन झरीको संगीतमा शब्दको प्रीत लगाउन सक्छु कि सक्दिनँ ।

झोला बोकेर देशाटन गर्न लागेको वर्षदिन नाघिसक्यो, यात्रा अविरल छ । यो अवधिमा पूर्वी र मध्य नेपालका करिब १८८ स्थानीय तह (सरकार)को केन्द्रमा पाइला राखिसकेँ । यात्रानुभूति छैनन् भन्दा छन् । रोचक पो छन् कि छैनन् ?
सुनाउनु भन्दा सम्झन खोज्छु–
(१) दिल बहलाउने; मनोरञ्जक,
(२) रुचि लाग्ने; चाखलाग्दो; आकर्षक,
(३) रुचि वा भोक जगाउने; रुच्ने’ कुरा के होलान् त ? समयसँगै कयौँ स्मृतिमा विस्मृतिको पर्दा लाग्छ । हर दोस्रो पाइलाले पहिलो पाइलालाई पछाडि छोड्छ । केही बेर माटोको होइन, मस्तिष्कको यात्रा गर्छु है !

एउटा यात्रीसँग के नै हुन्छ होला र ? गासबासको आसको कथा, अलिअलि त्रासको कथा, गाउँघरको उदारताले बचाएको सासको कथा–यस्तै त होला । म केही सुनाउँछु, ती रोचक छन्, छैनन्, पर्गेल्ने काम तपाईंको है !

म नेपालको, नेपालमा पनि गण्डकीको, गण्डकीमा पनि बागलुङे, बागलुङमा पनि गलकोटे, गलकोटमा पनि सिमलबोटे । तर, यात्रारम्भ भने दोलखाको शैलुङबाट गरेँ । त्यस्तो कुन ठाउँ छ, जो आफ्नो नहोस् ।

०००

म बिर्सन सक्दिनँ २०८२ वैशाख १ गतेको त्यो अपरान्ह । शैलुङको धुरी चढेर झर्दा झरी प¥यो । बाटो छेउको घरमा ओत लागेँ । साँझ पर्न लाग्यो । छरछिमेकमा बास मागेँ । पाइनँ । माग्नेलाई दिनैपर्छ भन्ने के छ र ?

फेरि, घर छोडेर हिँडेको मानिसलाई पनि घरै चाहिने !

चिसो मौसम, तर, बासको चिन्ताले गर्मिएको मन, बास खोज्न भौतारिँदा भ¥याङमुनिको झोला हराउँछ कि भन्ने शंकालु झन् । ममि (आमा)ले पोको पारिदिएको सातु खाएर पतिङ्गर राखिएको टहरामै सुत्ने मानसिक तयारी । यस्तै थिए १ गतेका एकाध घण्टा ।
मेला भरेर फर्कने म एक्लो थिइनँ, फर्किनेहरूमा म एक्लो थिएँ । फर्कनेहरू त धेरै थिए, त्यसमध्ये पाँच–सात जना केटाहरूले ममाथि ध्यान दिए । आकाशे पानी कम हुँदै थियो, मनमा शंकाको ठाउँ विश्वासले लियो । मनमा मडारिएको अनिश्चितताको बादलबाट हर्षको वर्षा भयो । उनीहरूले मलाई बास मिलाइदिए, मानवताको आभास दिलाइदिए । त्यहाँ केवल मानवता थियो किनभने मोलमोलाइ थिएन ।
०००
हामी अहिले समाज भन्दा सामाजिक सञ्जालमा बढी संलग्न छौँ । यो नौलो कुरा भएन । तर, आफ्नै अगाडि आफूलाई मोबाइलको स्क्रिनमा खोजेको देख्दा म जस्तो साधारण व्यक्तिलाई अचम्म लाग्दो रहेछ ।

कुरा के भने रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रमा मेरो लागि एक होटलमा बासको व्यवस्था मिलाइएको थियो । त्यहाँ उपस्थित पालिकाका कर्मचारी र स्थानीयसँग कुराकानी गर्दै थिएँ । त्यत्तिकैमा होटेल सञ्चालक बहिनीले म पैदल यात्री भएको थाहा पाएपछि आफूले पहिले नै फेसबुकमा देखेको सुनाइन् । उनको कुरा पुष्टि गर्न मैले सम्बन्धित पोस्ट खोजेर देखाएँ । मलाई चिनिन् । अचम्म मान्नुपर्ने त केही छैन, तैपनि दोलखा सकेर आएको सशरीर व्यक्तिसँग कुरा गर्नु भन्दा दोलखा सुरु गर्दाको भिडिओ हेर्नु सहज ठानिन् ।

यस्तै घटना उदयपुरको बेल्टारमा पनि भएको छ । एक प्रहरीसँग चिनजान भएपछि लामै समय चियागफ ग¥यौँ । फेसबुकमा साथी बन्यौँ । त्यसपछि उनले भर्खरै बनेको ‘फेसबुकको साथी’ (म)ले पत्रकारसँग गरेको कुराकानी हेर्न थाले । हामी एक्चुअल (वास्तविक) संसारमा भन्दा भर्चुअल संसारमा रमाउन थालेछौँ ।

०००

कहिलेकाहीँ तपाईंलाई आँखै अघिको एउटा कुरा देख्ने सँगैको अर्को कुरा यादै नहुने भएको छ कि छैन ? अंग्रेजीमा यसलाई ‘सेलेक्टिभ ब्लाइन्डनेस’ भनिँदो रहेछ । ०८२ जेठ दोस्रो साताको सुरुतिर म सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाबाट खुम्बु पासाङह्लामु गाउँपालिकातर्फ जाँदै थिएँ । रिङ्मो गाउँबाट दुधकुण्ड र लुक्ला जाने बाटो छुट्टिदा रहेछन् । त्यहाँ स्पष्टसँग दुधकुण्ड र लुक्ला जाने ‘डिरेक्सन बोर्ड’ रहेछन् । मेरो दिमागले ‘वे टु दुधकुण्ड’ मात्रै पढ्यो । त्यसमाथि अर्को दिशातर्फ फर्किएको ‘वे टु लुक्ला’ पढ्न छुटाएछ । मैले स्थानीय महिलालाई लुक्ला जाने बाटो ‘यही हो’ भनेर सोधेँ पनि । तर, दुधकुण्ड जाने बाटोतर्फ लाग्दा पनि सहमतिसूचक जवाफ पाएपछि अगाडि बढेँ ।

  • बाटो माटोमा मात्रै होइन, मस्तिष्कमा पनि हुन्छ । बाटाहरू धेरै भएपछि बिरिने सम्भावना पनि धेरै, चाहे त्यो माटोको होस् या मस्तिष्कको ।

जंगलको बाटो, हुस्सले ढाकेको । ‘हरर मुभि’को सेटिङ जस्तो । केही पर कुहिरोबीच कालो जीवको चलमलाइ । दिमागमा एक्कासी एक पूर्वमन्त्रीले घुसाइदिएको भालुको भुत सवार भयो । शरीरमा ‘डिफेन्सिभ मुड’ अन भयो । उकालो हिँड्दा तातिएको तन एकाएक ओसियो । मुटुको चाल बढ्यो, पाउको घट्यो ।

गाउँ छोडेको एक–डेढ घण्टा भइसकेछ । गुगल म्याप हेर्छु । बाटो भेटिन्छ जस्तो लाग्छ, भेटिँदैन । समानान्तार रूपमा अगाडि बढ्छ । एकैछिन अडिएर नियालेँ । मस्तिष्कको एक पत्रबाट अभर पर्दा आश्रय दिएका आश्रयदाताको वाणी पल्टियो–‘बाटोमा बाघ, भालु लाग्ला, भीर पहरा पर्लान् भनेर डर देखाउलान्, तिमी आफ्नो लक्ष्यमा हिँडिरहनू ।’

यत्तिकैमा त्यो जीवको चाल फेरियो । मैले देखेको भाग पुच्छर रहेछ चौरी गाईको । मैले पहिलो पटक चौरी गाई देखेँ । केही क्षणअघिको डर चौरी हेर्ने रहरमा बदलियो । आहतबाट राहतको सास फेरेँ । उकालो लाग्नुअघि मोबाइल नम्बर मागेको रिङ्मो गाउँका दाइलाई फोन गरेर बाटो बिराएको थाहा पाएपछि फर्केँ । उहाँले कफी बनाइदिनुभयो । मैले रामेछापकी एक दिदीले दिनुभएको मकै भटमाससँग खाँदै गर्दा आफ्नै कविता याद आयो:
बिराएको बाटो पनि
हो कि हो कि जस्तो लाग्छ
बाटो बिराएपछि
बेलैमा फर्किएको जाती’
बाटो माटोमा मात्रै होइन, मस्तिष्कमा पनि हुन्छ । बाटाहरू धेरै भएपछि बिरिने सम्भावना पनि धेरै, चाहे त्यो माटोको होस् या मस्तिष्कको ।
गन्तव्य निश्चित भएपछि त बाटो बिराएको थाहा हुने रहेछ, नभए बाटोले जहाँ पु¥यायो त्यही गन्तव्य हुन पुग्छ । गन्तव्य थाहा भएपछि बाटो बनाउन सकिने रहेछ, भएका बाटो पहिल्याउन सकिने रहेछ, बिराएको बाटोबाट फर्किएर सही बाटो समाउन सकिने रहेछ ।

०००

बटुवासँग बाटोकै कथा त हुने हो । एक दिन ओखलढुङ्गाको मोलुङ गाउँपालिकाबाट खिजीदेम्वा गाउँपालिका जाँदै थिएँ । बाटोमा एक दम्पतीसँग भेट भयो । केही पाइला अघिपछि गर्दै चाल्यौँ । यात्रा लम्बिने भएपछि मैले नै सोधेँ कि उहाँले जिज्ञासा राख्नुभयो यकिन छैन । तर, केही वर्ष पहिले नै खुलेको मोटरबाटोमा पैदल हिँडिरहेका हामीले बोल्ने बाटो खोल्यौँ । कहिलेकाहीँ थाहा भएकै बाटो सोध्नु बोल्ने बाटो खोल्नु हो मेरो लागि । आश्रयस्थलमा झरीको झमझम त रोकिएको थियो, आश्रयदाताको शरीरमा मदिराको रमरम सकिएको थिएन । केही समयसँगै पाइला चालेपछि मातले हो या आदतले अंग्रेजी बोल्न रुचाउनु हुने उहाँले भन्नुभयो, ‘खिजीदेम्वा टाढा छ, आज पुग्नु हुन्न । वेलकम टु माइ होम ।’

उहाँसँगै हुनुभएकी महिला जेठी श्रीमती हुनुहुँदो रहेछ । घर पुगेपछि कान्छीले भात पकाउनुभयो, जेठीले मासु या कान्छीले मासु कि जेठीले भात । ठ्याक्कै याद भएन, जसले जे पकाएपछि हामी सबै मिलेर मिष्ठान्न भोजन ग¥यौँ ।

‘कस्को बढी माया लाग्छ, जेठी कि कान्छीको ?’, मैले दुई पत्नीका पतिलाई सोधेँ । ‘ईक्वल्’, फेरि अंग्रेजीमै आयो, चुल्हामा आलु ‘बोइल’ हुँदै थियो ।

०००

पोहोर सालकै असारको एक दिन जसरी पनि भोजपुर प्रवेश गर्ने लक्ष्य सहित खोटाङको जन्तेढुङ्गा गाउँपालिकाबाट प्रस्थान गरेँ । हिँड्न सुरु गर्दा अपरान्हको ४ बजिसकेको थियो । भञ्ज्याङखर्क पुग्दा झमक्क साँझ प¥यो । त्यहीँको एक जना काकालाई भोजुपर बस्ने योजना सुनाएँ । उहाँ बास दिन तयार हुनुहुथ्यो तर, खोटाङे । उहाँले घर आँगन जोडिएको छिमेकीकोमा लिएर जानुभयो । मैले पिँढीको खाटमा झोला बिसाएँ । भित्रबाट ठूलो आवाज आयो, यद्यपि प्रष्ट सुनिनँ ।

‘कस्लाई लिएर आएको ? आफ्नैमा नराखेर ?’, छिमेकीसँग आश्रयदाता दिदी कड्कनुभएको रहेछ ।
कहिलेकाकीँ प्रष्ट नहुनु पनि कष्ट नहुनु । त्यो सुनेको भए… ।

जे होस्, मेरो बारेमा थाहा पाएपछि चाउचाउ खाएर बस्ने योजनालाई भातभान्छाले प्रतिस्थापित ग¥यो । भोलि बिहान छरछिमेकी आएर सोधखोज गर्नुभयो । बास दिन आनाकानी गर्नुभएकी दिदीले म हिँड्ने बेला मेरै लागि गहुँ र भटमास भुटिदिनुभयो । यति भएपछि स्वाद त तपाईं पनि कल्पना गर्न सक्नुहुन्छ नि !

०००

हुन त म स्थानीय सरकारको केन्द्रमा पुग्न हिँडेको हुँ । कहिलेकाहीँ सीमान्तमा पनि पुग्ने गरेको छु । एउटा सीमा नसकिई अर्को सीमा सुरु नहुने । गजब छैन त ।

प्रसंग हो संखुवासभाको सीमान्त बस्ती किमाथांका जाँदाको । साउने झरी, भीरको बाटो । भोटखोला गाउँपालिकाका अध्यक्षको सुझाव–मौसमको ख्याल गर्नु । मैले भने ती मनहरू ख्याल गरेँ, जसको तन तारन्तार ओहोरदोहोर गर्नुपर्छ त्यो माटोमा । अनि बाटो लागेँ । अलि माथि पुगेपछि भेडीगोठमा खाजा खान बसेँ । म बसेको केहीबेरपछि एक हुल युवतीहरू त्यहीँ पसे । मलाई सुनाइएको किमाथांका फर्कने स्वास्थ्यकर्मीहरूको टोली त्यही रहेछ ।

दोबाटो हुनु मन दोधार हुनु । साँझ पर्न धेरै समय थिएन । उपल्लो बाटोबाट नजिकैको गाउँमा गएर बसूँ कि ! सोच्दै थिएँ, भित्रबाट आवाज आयो–‘हामीसँगै तल्लो बाटो हिँड्नुस्, छोटो हुन्छ, छिटो हुन्छ ।’ (भनिराख्नु पर्छ र ? एक जवान युवालाई युवतीको आग्रह कति मिठो हुन्छ) । यात्राको तीन महिनामा सँगै हिँडौँ भन्ने त्यो पहिलो स्त्री–आग्रह थियो ।

‘तपाईंहरूसँग हिँड्न सक्दिनँ’, हटियाबाट मभन्दा धेरै ढिलो प्रस्थान गरेर पनि उनीहरू त्यस ठाउँसम्म आइपुग्न लगाएको समय अड्कल गर्दै आनाकानी गरेँ ।

‘तपाईंलाई लतारेर, घिसारेर भए पनि लैजान्छौँ,’ भोटेनी हौँ, धोका दिन्नौँ भन्दै मेरो संशयमा विश्वास भरे । यति भएपछि के चाहियो र ? उनीहरू खाजा खाँदै थिए, उनीहरूले नै देखाएको बाटो हिँड्न मै अघि सरेँ ।

कहिले अघि त कहिले पछि तीन–तीन चार–चार जना भोटेनीको बीचमा म । चरा उडे जस्तै हिमालीहरूको चाल, के भयो होला मेरो हाल ! जे होस् तीन महिने हिँडाइले ताल मिलाउन सक्ने भएको रहेछु । साढे ८–९ बजेतिर बास बस्ने ठाउँमा पुग्यौँ । साँझ परेपछि टेलिफोनको नेटवर्कले धेरै ठाउँमा काम नगर्ने रहेछ । बीच बाटोमा एक युवतीले आक्रोश पोखेकी थिइन्, बीचमै नेटवर्क काट्नुपर्ने गरी । मैले त सुनेँ, तपाईंलाई सुनाउँदिन ल !

भोलिपल्ट बाटोमा एक वयस्क पुरुषले सोधे, ‘बिहे गरेको छ ?’
‘छैन’, मैले यथार्थ बताएँ ।
‘त्यही भएर पो तीन–तीन महिनासम्म एक्लै हिँड्न सकेको रहेछ,’ उनले अनेकार्थी आशय जनाए ।

बाटोमा भेटिएकी दुई युवतीसँग किमाथांकामा फेरि भेट भयो । एकले अर्कीको सम्बन्ध सुनाइन् । सम्बन्धितसँग मैले सोधिनँ । साँच्चै भन्दा सोध्ने साहस गरिनँ । छुट्ने बेला एकअर्काका आँखा मिले । आँखाको भाव, ओठको भाकाभन्दा भारी हुँदो रहेछ ।

अँ, रोमाञ्चकतालाई स्त्रीको स्पर्शमा सीमित नगर्ने हो भने धनकुटाको महालक्ष्मी नगरपालिकामा एक बाजेले हात समाएर डो¥याउँदै घर लैजाँदाको आनन्द अव्याख्येय लाग्छ मलाई ।
बालापन महसुस गराइदिने सामथ्र्य हुने रहेछ वृद्ध हातमा ।

०००

लामो यात्रामा यस्ता अनेकन् सम्झनाहरू छन्, जो मानव हृदयसँग जोडिएका छन् । केही सुनाउँदा धेरै स्मृतिले आफैँसँग गुनासो गर्छन् । एकै बसाइँमा सबै सुनाउन पनि सम्भव छैन ।

अब म वस्तुसँगको सम्झना सुनाएर बिट मार्छु ल !

पुस महिनाको एक दिन इलामको माई नगरपालिकाबाट चुलाचुली गाउँपालिका जानुपर्ने थियो । सहरको बाटो लामो पर्ने भएकाले चुरेको बाटो रोजेँ । पातला बस्तीहरू सकिएर चुरेको घना जंगल सुरु भयो । एकसरो बाटो खनिएको रहेछ, गुगल म्यापमा त्यही देखिन्थ्यो । गुगललाई विश्वास नगरुँ अर्को उपाय छैन (बस्ती भए पो मानिसलाई सोध्नु), विश्वास गर्दा सुरुमै झाडीभित्र पुगेँ । बल्लतल्ल धुलै फुस्रै हुँदै हल्काफुल्का कोटरिँदै सही बाटोमा निस्केँ । अनि सुरु भयो तीव्र गतिको यात्रा ।

  • उज्यालोमाथि अँध्यारो हाबी हुँदै छ । म हिँडिरहेकै छु । गन्तव्य अझै टाढै छ । अकस्मात् एक हुल वस्तुभाउ भेटिए । मैले ‘ह ह((हो हो’ गर्दै रोक्न खोजेँ, रोकिएनन्, झनै दौडिएर अघि लागे । पाँच–सात वटा गाईगोरु अघिअघि, म पछिपछि । अन्ततः म गाउँको घर भएको ठाउँमा पुग्न सफल भए ।

फुसफुसे माटो, वर्षाले बिगारेको बाटो । साँझ पर्न लागेको समय । तेज बदलिएर अस्ताउँदै गरेको सूर्यको फोटो खिच्छु । प..र… भालेको डाँको सुन्दा पनि मन मस्त हुन्छ, बाटोमा लगाइएको तगारो देख्दा पनि तन तन्दुरुस्त ।

उज्यालोमाथि अँध्यारो हाबी हुँदै छ । म हिँडिरहेकै छु । गन्तव्य अझै टाढै छ ।

अकस्मात् एक हुल वस्तुभाउ भेटिए । म चुलाचुली जाँदै गरेको, उनीहरू विपरीत । मलाई देखेपछि फरक्कै फर्किए । मैले ‘ह ह हो हो’ गर्दै रोक्न खोजेँ, रोकिएनन्, झनै दौडिएर अघि लागे । पाँच–सात वटा गाईगोरु अघिअघि, म पछिपछि । उनीहरू पथक, म पथिक ।
अँध्यारोले उज्यालोलाई आफूमै समेट्यो, आकाशमा ताराको अस्तित्व देखियो । भुइँमा बाटो देखिँदैन । मेरा पथकहरू पनि अँध्यारोमा अडिए । मैले झोला अडाएर लाइट निकालेँ । अँध्यारो भन्नु उज्यालोको अनुपस्थिति न हो । मैले लाइट बालेँ, मेरा पथकहरूले पनि पाइला चालेँ ।

यसरी हामी नजिकैको बस्तीसम्म सँगै यात्रा ग¥यौँ । मेरो भगवान् गाईगोरुमा प्रकट हुनु’भो । म धन्य भएँ । बटुवालाई सही बाटो देखाइदिनु भन्दा ठूलो धर्म के हुन्छ ?

एउटा घर आएपछि उनीहरू लाखापाखा लागेँ । घरमा मधुरो बत्ती बलेको थियो । एक युवक खुकुरीमा धार लगाउँदै थिए । मैले वस्तुभाउले छोडेपछिको बाटो सोध्न तीन–चार पटक बोलाएँ । मेरो बोलाई पुगेन कि कुकुरको कानै खाने भुकाईले गर्दा सुनेनन् उनै जानुन्, कुकुर किन भुकेछ भनेर मतिर फर्केर हेर्ने चेष्टा पनि गरेनन् ।

रातीको धार लगाई, सायद उनकोमा केही मिठो पाक्दै थियो कि, यता मेरो मनमा भने मनमनै म आफैँलाई ताक्दै थियो । त्यसपछि चुपचाप बाटो लागेँ । गाडी नचल्ने भए पनि खनिएको बाटो खेर नजाँदो रहेछ । म वर्षाले बनाएको भल्खोइडो बाटो हुँदै मूख्य बस्ती प्रवेश गरेँ ।

०००

यस्तै अनेकानेक सम्झनाहरू सङ्गालेर हिँडेरै संघीय राजधानी आएँ । यहाँ आए पछि गहिरो गरी बोध भयो–पहाड पार गर्नुभन्दा पर्खाल पार गर्न गाह्रो हुने रहेछ । चुनौतीपूर्ण चुली चुम्नु भन्दा कसैको चाहत बनी चुमिनु चुनौतीपूर्ण हुने रहेछ ।

मेरा कुराले झर्को पो लाग्यो कि ! फेरि झरीको संगीत सुनौँ । त्यसपछि शरदको गीत सुनौला । बाँकी स्थानीय सरकारका आँगनमा पाइला पु¥याउन बाँकी छ, त्यसको कथाहरु सँगाल्न र भन्न पनि बाँकी नै छ । अहिललाई यति नै ।

 

२०८३, १७ श्रावण आईतवार ११:२०
कथालिका नयाँ कथा
कथालिका