- हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । र, सकुशल उद्धार गरेर प्राण बचाउन सकियोस् मनिषाको जस्तै….। हामी पनि कामना गरौं, सम्पर्कविहीन अरु थुप्रैले ‘मनिषा’ले जस्तै नयाँ चामत्कारिक जीवन पाउन् ।
गुल्जार गाउँ र बजार देखिरहेका आँखाहरु खण्डहर हेर्न बिबश छन् । बाढीको वितण्डाको क्षति सुन्दा र यी दृश्य हेर्नु पर्दाको पीडा असह्य छ । त्यो भन्दा अचाक्ली दुःख र पीडा त आज पनि १५ सय बढी मानिसहरु बेपत्ता छन् । माटोमुनि र विद्युतीय सुरुङभित्र फसेका मानिसहरुको जीवनमा के बितिरहेका होला ? बाहिर सकुशल जीवन पर्खिरहेका परिवार र आफन्तको समयमै उद्धार गर्न र हुन नसक्दाको कठिनाई र सकस उस्तै अत्यासलाग्दो छ । यहीँबीच एउटा यस्तो खबर आयो, जसले हजारौं दुःख र पीडाका खबर र दृश्यहरुबीच केही सुखद अनुभूति गरायो । ६० घण्टादेखि बाढीले माटोमा पुरिएकी ६ वर्षिया बालिका मनिषा मगरको सकुशल उद्धार भयो । ६० घण्टा माटोमुनि, यो मनिषाको दोस्रो पुर्नजन्म भन्दा फरक पर्दैन ।
माटोले पुरेको शरीर, जीवनले जोगाएको सास
शुक्रबार साँझ टिमुरेमा उज्यालो लगभग हराइसकेको थियो । बाढी र पहिरोले तहसनहस बनाएको बस्तीमा दिनभर उद्धार टोलीको दौडधुप भने जारी थियो ।
कतै भग्नावशेष, कतै माटोको थुप्रो, कतै बगेका घरका अवशेष । मानिसहरू हराएका आफन्त खोजिरहेका थिए । सुरक्षाकर्मीहरू पनि जहाँ जीवनको सानो संकेत भेटिन सक्छ, त्यहीँ हातले माटो पन्छाउँदै थिए ।
त्यही खोजीको क्रममा अचानक एउटा आवाज सुनियो । माटोमुनिबाट आएको आवाज । जुन आवाज धेरै ठूलो पनि थिएन । तर, त्यो आवाज अरू सबै आवाजभन्दा महत्वपूर्ण थियो-‘रुवाइको आवाज’
उद्धारमा खटिएका सशस्त्र प्रहरीका जवानहरू एकाएक रोकिए । उनीहरूले फेरि सुन्न खोजे । हो, माटोमुनिबाटै आवाज आइरहेको थियो । कसैको सास बाँकी थियो ।
‘आमा’ भन्न नसके पनि रोइरहेकी मनिषा
कसैको जीवन अझै बाढीले माटोमुनि जबर्जस्त त्यहाँ थुनिएको थियो । यो थाहा पाएपछि सशस्त्र प्रहरीका जवानहरूले तत्काल माटो पन्छाउन थाले । केहीबेरको प्रयासपछि उनीहरूले जुन दृश्य देखे, त्यो उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि पनि अविस्मरणीय जीवनको एक उत्साहप्रद क्षण बन्न पुग्यो ।
माटोले शरीरको अधिकांश भाग पुरिएकी एक बालिका । टाउकोको सानो भाग मात्र बाहिर थियो । उनी थिइन्, ६ वर्षीया मनिषा उचाईमगर ।
बाढी आएको झण्डै ६० घण्टापछि माटोमुनिबाट निकालिइन् । मनिषा कसरी त्यहाँ पुगिन् ? त्यो भयानक विपद्को दृश्य कल्पना गर्न पनि कठिन छ ।
एउटा काठको टाँडले जोगएको मनिसाको प्राण
आखिर मनिषाको उद्धार के कसरी सम्भव भयो त ? सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्की कथालिकासँग भन्छन्,‘मनिषाको टाउको बाहेक शरीरका अन्य भाग माटोले पुरिएका थिए । तर, संयोगले काठको टाँड परेकाले उनको टाउकोको केही भाग पुरिनबाट जोगिएको थियो ।’
सायद त्यही सानो ठाउँबाट उनको सास चलिरह्यो । त्यही ठाउँबाट उनको रुवाइ बाहिर आयो । र त्यही आवाजले उनको जीवनको ढोका खोलिदियो । अर्थात् उनले पुर्नजन्म लिने सौभाग्य प्राप्त गरेको डिआईजी कार्की बताउँछन् ।
उद्धारमा खटिएको टोलीले माटो पन्छाउँदै गयो । माटो हट्दै जाँदा एउटा बालिकाको शरीर देखिन थाल्यो ।
गम्भीर र कमजोर अवस्थामा रहेकी मनिषालाई अन्ततः सशस्त्र प्रहरीले बाहिर निकाल्यो । उनी अचेतजस्तै अवस्थामा थिइन् । तर, उनी जीवित थिइन् ।
बाढीले हुत्याँएर बाँचेका उपचाररत बाबुआमा
बाढीको छालले टिमुरेमा घर र संरचना बगाउँदै गर्दा मनिषा त्यसै विनाशको बीचमा परिन् । उनका बाबुआमा भने बाढीबाट जोगिए ।
बाढीको तीव्र छालले उनीहरूलाई भित्तामा फालिदियो । त्यहीँबाट उनीहरू बाँच्न सफल भए । तर, ६ वर्षिया छोरी कहाँ छिन् ? त्यो प्रश्नको उत्तर उनीहरूसँग थिएन । अहिले सोध्दा र सम्झदाँ पनि सपना जस्तो लागिरहेको उनीहरु बताउँछन् ।
बाढीको भेलमा घर, संरचना र सामान मात्र बगेका थिएनन् । मानिसहरू एकअर्काबाट छुट्टिएका थिए । कसैलाई कसैले देख्न सकेका थिएनन् । सम्पर्क टुटेको थियो ।
मनिषाका माटोमुनि थिइन् । कति गहिराइमा ? कति चोट लागेको थियो ? सास कसरी चलिरहेको थियो होला ? उनले माटोमुनिका ती ६० घण्टा कसरी काटिन् ? कति सकसपूर्ण बिते होलान् ? उफ् सम्झदाँ मात्र पनि कहाली लाग्छ, कठिन महसुस हुन्छ । भोग्नेको पीडा, सास्ती र क्रन्दन कति र कस्तो थियो होला…?
यी प्रश्नको सम्पूर्ण उत्तर सायद अब कहिल्यै नआउला । तर, एउटा कुरा स्पष्ट भयो-‘माटोले उनको शरीर थुने पनि उनको सास रोक्न सकेन ।’ सायद मानिसहरुले भन्ने गरेको भाग्य यहीँ पो हो कि…?
बाढीबाट बालबाल ज्यान जोगाएका बाबुआमालाई लागिरहेको थिएन कि छोरी अझै जीवित छिन् ? किनकि मनिषाका बाबुआमा स्वयंम् पनि बाढीबाट जोगिएर उपचाररत छन् ।
बाढीले उनीहरूलाई आफ्नै छोरीबाट अलग गरिदिएको थियो । तर, शुक्रबार उद्धार टोलीले माटोमुनिबाट मनिषालाई निकाल्दा एउटा असम्भवजस्तो लाग्ने खबर सम्भव भयो ।
सशस्त्र प्रहरीले उनका बाबुआमासँग सम्पर्क ग¥यो । बाढीले तीन जनालाई अलग–अलग ठाउँमा पु¥याएको थियो । तर, जीवनले उनीहरूलाई फेरि एकै ठाउँ हुने दुर्लभ अवसर जुराएको छ । बाबुआमा एउटा अस्पतालमा उपचाररत । छोरी पनि त्यही अस्पतालमा उपचाररत । बाहिरबाट हेर्दा यो एउटा संयोगजस्तो लाग्न सक्छ । तर, एउटा परिवारका लागि यो पुनर्जन्मभन्दा कम थिएन ।
उद्धार पश्चातको त्यो एक ‘लामो रात’
माटोबाट निकाल्दा मनिषाको अवस्था कमजोर थियो । उद्धारपछि उनलाई टिमुरेस्थित सीमा सुरक्षा चौकीमा ल्याइयो । चिसो शरीरलाई न्यानो पारियो । प्राथमिक उपचार गरियो ।
उद्धार टोलीका लागि अब अर्को चुनौतीपूर्ण काम थियो कि उनलाई सुरक्षित राख्नु र थप उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउनु । किनभने रात परिसकेको थियो । हेलिकप्टर उडान सहज थिएन । त्यसैले मनिषाले उद्धारपछि पनि त्यहीँ रात बिताउनुप¥यो । ६० घण्टा माटोमुनि बिताएकी ती बालिकाका लागि त्यो रात पनि एउटा लामो रात थियो ।
अन्ततः बिहान हेलिकप्टर आयो । रातभर प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरमार्फत मनिषालाई धुन्चे लगियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याइयो ।
मनिषाले ठुली भएर सोध्नेछिन्ः ‘बाढीमा मलाई कसरी भेट्नु भो ?’ उत्तर हुनेछ–‘तिमी रोएकी थियौ’
बाढीले उनलाई शरीरभरि चोट दिएको थियो । माटोले पुरिएको शरीर कमजोर थियो । तर, उनले ६० घण्टाको कष्टप्रद अँध्यारो पार गरिसकेकी थिइन् ।
अब उनको अगाडि अस्पतालको साथ र उज्यालो थियो । डाक्टरहरू थिए, औषधि थियो, बाबुआमा थिए । र एउटा अभूतपूर्व क्षणको कथा थियो, जुन उनले भन्न सक्दिनन् । सायद उनी ठूली भएपछि मात्र सोध्नेछिन्,‘आँफू भाग्यले बाँचेको कथा ।’
‘म माटोमुनि कति समय थिएँ ?’
उनलाई भनिनेछ-‘६० घण्टा, देखाइनेछ अहिलेका छिटफुट फोटो, भिडियो र समाचारहरु ।’
सायद उनले फेरि सोध्नेछिन्-‘मलाई कसरी भेट्नुभयो ?’
त्यसको उत्तर अझ सरल हुनेछ-‘तिमी रोएकी थियौ ।’
माटोमुनि हुन सक्छन् अझै मृत्यु अस्वीकार गरेका ‘मनिषा’हरु
रसुवा, नुवाकोट, धादिङका कैयन ठाउँमा अहिले पनि बाढीको घाउ गहिरो छ । घरहरू छैनन्, संरचना छैनन्, हजारौं मानिस छैनन्, कतिपय अझै हराइरहेका छन् ।
सीमा सुरक्षा चौकी टिमुरेमा कार्यरत नौ जना सशस्त्र प्रहरीसमेत अझै बेपत्ता छन् । उद्धार टोलीका लागि प्रत्येक भग्नावशेष अब एउटा सम्भावना हो ।
कुनै थुप्रोमुनि कोही हुन सक्छ । कुनै भत्किएको घरभित्र कसैको सास बाँकी हुन सक्छ । कुनै कुनामा जीवनले मृत्युको प्रतीक्षा अस्वीकार गरिरहेको हुन सक्छन् । त्यसैले सरकारले खोजिरहेका छ, माटो पन्छाइरहेको छ, भग्नावशेष खोतलिरहेको छ । तर, अझै प्रयाप्त देखिएको छैन । अझै त्रिशुली ए–थ्रि सुरुङमा ड्रिल गर्ने काम भइरहेको छ भने अपर त्रिशूली १-२१६ सुरुङमा २ सय बढी मजदुर रहेको सूचना आएकोमा अहिले सम्म कुनै पहल र काम हुन नसकेको घटनास्थलमा रहेका पत्रकार जसिन्द्र सिर्पालीले कथालिकालाई बताए ।
र, सम्भवतः बाढी प्रभावित क्षेत्रमा रहेका उद्धारकर्मीहरुलाई पनि एउटै कुराको आशा लागिरहेको होला । हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । बरु सानो होस्, कमजोर होस्, तर सास भएको प्रमाण होस् । र, सकुशल उद्धार गरेर प्राण बचाउन सकियोस् मनिषाको जस्तै….। हामी पनि कामना गरौं, सम्पर्कविहीन अरु थुप्रैले ‘मनिषा’ले जस्तै नयाँ चामत्कारिक जीवन पाउन् ।