मानव सेवा आश्रममा २० वर्षीया युवतीको निःशुल्क स्वास्थ्य सेवा – कथालिका

मानव सेवा आश्रममा २० वर्षीया युवतीको निःशुल्क स्वास्थ्य सेवा

खेमराज गौतम

बागलुङ नगरपालिका–६ का स्वास्थ्यकर्मी पुजन आचार्यले आंशिक रुपमा मानव सेवा आश्रममा डेढ वर्ष अघिदेखि जागिर थाल्नुभयो । आश्रममा रहेका मनोरोगी तथा दीर्घरोगीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखामा आचार्यले जागिर गर्नुभयो । शुरुको दुई महिना १० हजारका दरले तलब समेत बुझ्नुभयो ।

दुई महिना काम गर्दा आश्रमको विषयमा बुझ्ने मौका पाएपछि आफूमा मानवीय सेवा भाव पैदा भएकाले तलब बुझ्न छोडेको नर्स पुजन आचार्य बताउनुहुन्छ । “आश्रममा जोडिए, यहाँको मानव सेवा प्रतिको नागरिकको भावनाका विषयमा जानकारी पाए, त्यसैले निःशुल्क स्वास्थ्य सेवा दिन थालेकी हुँ” आचार्यले भन्नुभयो “डेढ वर्ष जति भयो यहाँ स्वास्थ्य सेवा दिन थालेको, अब बागलुङ बसुञ्जेल आश्रममा यसरी नै स्वास्थ्य सेवा दिन्छु ।” उहाँले ६ महिनादेखि करारमा धौलागिरी अस्पताल बागलुङमा जागिर गर्नुभएको छ । ड्युटी बाहेकको समयमा विहान र बेलुका आश्रममा आएर सेवा दिएको आचार्यको भनाई छ ।

आचार्यले दिउँसो अथवा राती अस्पतालमा जागिर खाए पनि विहान बेलुका मनोरोगी तथा दीर्घ रोगीलाई औषधी खुवाउन आश्रममा आइरहनुभएको छ । “यहाँका मनोरोगी तथा दीर्घरोगीलाई प्रत्यक्ष निगरानीमा औषधी खुवाउनु पर्ने हुन्छ, अधिकांश मनोरोगी यहाँ छन्, उनीहरुले सजिलै औषधी खादैनन्” उहाँले भन्नुभयो “यहाँ सबैले सेवा गरेको देख्दा आफूलाई समेत सेवाको भावना पैदा भयो, अहिले नियमित औषधी सेवनले धेरै मानसिक बिरामीहरु सञ्चो समेत भएका छन्, यो देख्दा खुसी लाग्छ ।”

आचार्यका अनुसार आश्रममा आश्रित ४९ जना सडक मानव, अभिभावक विहिन तथा सहयोगापेक्षी मध्ये ३२ जनालाई मानसिक औषधी खुवाउनुपर्ने अवस्था छ । विहानको समयमा २२ जनालाई र बेलुकाको समय ३२ जनालाई मानसिक रोग सम्बन्धी औषधी खुवाउने गरेको आश्रमले जनाएको छ । आश्रममा २ जनालाई सुगर र २ जनालाई प्रेसरको औषधी प्रयोग गर्नुपर्ने अवस्था छ ।

आचार्यले धौलागिरी अस्पतालका विशेषज्ञ डाक्टरहरु संगको सल्लाहमा मनोरोगीको उपचार गर्दै आउनुभएको छ । आश्रममा १० महिनादेखि बस्दै आउनुभएका मिना माया कार्कीले आश्रममै स्वास्थ्य उपचार र निःशुल्क औषधी पाउदा धेरै सहज भएको बताउनुभयो । परिवारमा कोही नभए पछि मानसिक रोगी हुनुभएका कार्की अहिले पूर्ण स्वास्थ्य लाभको अवस्थामा फर्किन थालेको बताउनुहुन्छ । अहिले दिनको एक पटक मात्र मानसिक रोगकको औषधी खादै आउनुभएको छ ।

आश्रममा रहेका अधिकांश आश्रीतहरुमा मानसिक असन्तुलनको समस्या रहेको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो । लामाका अनुसार मानसिक रोगी भएपछि सडकमा बस्ने, परिवारको हेला होचोका कारण सडक मानवको रुपमा बस्दै आएकालाई उद्दार गरी आश्रममा ल्याएर उपचार, खानपिन, हेरचाह तथा पुर्नर्मिलन गराउँदै आएको छ । आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा ७ करोड लागतमा समेत आश्रमको आफ्नै शाखा निर्माण समेत भइरहेको छ । आश्रम निर्माणका लागि सहयोग समेत जुटिरहेको छ । आश्रम २०७४ सालदेखि जिल्लामा सक्रिय छ । मुठ्ठीदानबाट आश्रम सञ्चालित छ ।

२०७८, १३ मंसिर सोमबार १७:०२
कथालिका नयाँ कथा
कथालिका