लिपुलेकमा पनि गणना, नेपालको जनसंख्या दुई करोड एकानब्बे लाख – कथालिका

लिपुलेकमा पनि गणना, नेपालको जनसंख्या दुई करोड एकानब्बे लाख

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरण अनुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । वि.सं. २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगत रुपमा मधेश प्रदेशको जनसङ्ख्या सबै भन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृत रुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने उनको भनाई छ । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

कति परिवार थपिए ?

प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ । यसबमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ । हालको परिवार सङ्ख्या दश वर्षअघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो ।

सहरी क्षेत्रका परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ । प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ ।

तराईमा जनसङ्ख्या बढ्यो

भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कूल जनसङ्ख्याको ५०.२७% हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६% पुगेको छ । हिमाली क्षेत्रमा कूल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९% रहेको देखिन्छ ।

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% अंश रहेकामा हाल ४०.२५%मा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १% विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३% र ४% विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ ।

प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९% र ५.८१% छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।

प्रदेशगत रुपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५% प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३०% प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२०% प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.०% भन्दा कम नै रहेको देखिन्छ ।

सबैभन्दा धेरै काठमाडौँ र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ््िगक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा (३.३२%) र सबैभन्दा कम रामेछाममा (–१.६५%) रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८०%) वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८% पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२% पुगेको छ । सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९% र ग्रामीण जनसङ्ख्या ३६.८१% रहेको थियो ।

२०७८, १२ माघ बुधबार ०६:४०
कथालिका नयाँ कथा
कथालिका