कुष्ठ रोगीलाई रोग भन्दा समाजको डर – कथालिका

कुष्ठ रोगीलाई रोग भन्दा समाजको डर

भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य छन् । उनका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उनी सहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् ।

कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेका हुन् । उनी भन्छन्, “घर यहाँ भए पनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा जाने गरेका छौँ ।” नियमित औषधि पनि भरतपुरमा नगई गीतानगर जाने गरेको उनले बताए ।

समाजको डर देखाउँदै उनले भने, “छोराछोरीको विवाह गर्नुछ, कसैले थाहा पाए भने भन्ने सधैँ मलाई पिरलो हुन्छ ।” गाउँमा लाटो फुस्रो दाग देखिएकालाई कुष्ठरोग परीक्षण गर्न जान सुझाउने भए पनि आफू र परिवारलाई भएको समस्याका बारेमा स्वास्थ्यकर्मी बाहेक अरुलाई नभनेको उनले बताए । नाम गोप्य राख्न अनुरोध गर्दै उनले भने, “अहिले औषधि खाँदा पनि समस्या आइरहन्छ, सुनेको छु, अब विस्तारै सधैँका लागि निको हुन्छ रे ।”

नौ वर्षीया नातिनीलाई समस्या देखिएपछि आफूलाई चिन्ता थपिएको उनको भनार्इ छ । चिकित्सक स्वास्थ्यकर्मीले निको हुन्छ भनेकाले आफू ढुक्क रहेको उनको भनाइ छ । सङ्क्रमण देखिएकालाई बेलाबेलामा शरीरका ठाउँठाउँमा गाँठागुँठीसहितको घाउ आउने गरेको छ । औषधि खाएपछि निको हुने गरेको उनी बताउँछन्।

रोगबाट क्षति व्यहोर्नु नपरोस् भनेर सधैँ आफू स्थानीयलाई जनचेतना जगाउने काममा सक्रियरुपमा लागेको उनी बताउँछन् । भरतपुर महानगरपालिका–१० का ५५ वर्षीय एक पुरुष पेसाले श्रमिक हुन् । उनको हातको तीन वटा औँला कुष्ठरोगले गर्दा झरेको छ । ज्याला मजदुरी गर्ने उहाँलाई काम गर्ने ठाउँमा हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव छ । उनले भने, “जहाँ काम गर्न गयो, मानिस नजिक पर्न खोज्दैनन् ।”

श्रीमती र दुई छोरालाई ज्याला, मजदुरी गरेर पाल्दै आएको बताउने उनको परिवारका अन्य सदस्यलाई भने रोग सरेको छैन। समयमा उपचार नगराउँदा आफूले तीन वटा औँला गुमाउनु परेको बताउँदै उनी भन्छन्, “लाटो फुस्रो दाग देखिनेबित्तिकै परीक्षण गर्नुपर्ने रहेछ, मैले ढिलो गरेँ ।” तीन वटा औँला गुमाएको भए पनि नियमित काम भने गरिरहेको उनले बताए । उनले भने, “औषधि खान थालेपछि काम भने गरिरहेको छु ।” सबैलाई रोगका बारेमा नभनेको भन्दै उनले रोग थाहा पाउनेले हेर्ने दृष्टिकोण राम्रो नहुने गरेको बताए।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताए। नियमित उपचारबाट कुष्ठरोग पूर्ण रुपमा निको हुने र एकमात्रा बहुऔषधि सेवन गरेपछि ९९.९ प्रतिशत किटाणु निष्क्रिय भई अरुलाई नसर्ने उनले बताए।

कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । तिवारीले औषधि खाएकाबाट रोग नसर्ने भएकाले समाजले उनीहरु प्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताए। आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शङ्का लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उनले सबैमा आग्रह गरे । उनी भन्छन्, “हामीले पनि विभिन्न शिविरमार्फत खोजी जारी राखेका छौँ, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।”

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाको परिवार एवं नजिक रहेर काम गरेकालाई औषधि खुवाउने काम भइरहेको बताउछन् । विसं २०५१ देखि हालसम्म एक हजार ७९१ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाको खोजी गरी औषधि खुवाउने काम भइरहेको उनले जानकारी दिए।

स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाइरहेको जानकारी दिए। जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए ।

२०७८, १६ माघ आईतवार ०९:४५
कथालिका नयाँ कथा
कथालिका