रारा ताल भ्रमण, अवलोकन गर्दा भुल्नै नहुने मुर्माटप रहेछ । रारा पुगेपछि ‘जो व्यक्ति मुर्माटप पुग्दैन, उसले रारा तालको भ्रमण गरेन’ भन्ने सम्झिँदा हुन्छ ।
कुनै समय घुम्ने भन्दा साथ विदेशीहरु मात्र घुम्छन् भन्ने व्याप्त बुझाई थियो तर, त्यो समयमा ठूलो बदलाव आएको छ । विदेशीहरु जस्तै नेपालीहरु पनि घुम्ने र रमाउने कुरामा अग्रसर देखिन थालेका छन् । पछिल्लो पुस्ताले त अझै घुम्ने विषयलाई आफ्नो जीवनको लक्ष्य बनाउन थालेको छ । घुम्नकै लागि भनेर अध्ययन, अवलोकन, अनुगमन, अनुसन्धान लगायतका शीर्षकमा संघ, संस्था, विद्यालय, क्याम्पस, सरकारी कार्यालय, स्थानीय तह सामूहिक भ्रमणमा जाने जाने चलन ह्वात्तै बढेको छ ।
घुम्न जाने रहर त सबैमा हुन्छ तर त्यसका लागि आवश्यक व्यवस्थापन गर्न नसक्दा धैरै सपना र योजनाहरु योजनामा मात्रै सीमित हुन्छन् । घुम्नका लागि समय एउटा प्राथमिकतामा परेता पनि यसमा धैरै विषय जोडिएका हुन्छन् । जस्तैः साथीहरु, पैसा, घुम्ने मौसम आदि आदि । यी सबै कुरालाई व्यवस्थापन गर्न सकेमा मात्र यात्रा जीवनभर सम्झने खालको हुन्छ । हाम्रो समुह पनि यस्तै जीवनभर सम्झने खालको यात्राको पर्खाइमा थियौ अर्थात् त्यसैको तयारीमा लागिरहेका थियौ । यात्रा अनुसन्धानमूलक पनि होस्, स्मरणीय पनि होस् भन्ने थियो । धवलागिरि बहुमुखी क्याम्पसको बिबिएस चौथो वर्षको शैक्षिक अनुसन्धानात्मक भ्रमण यही योजनामा गर्ने सोँच बनायौ ।
भ्रमणको प्रमुख गन्तव्य बनायौ पछिल्लो समयको निकै चर्चित पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने नेपालको कर्णाली क्षेत्रको मुगु जिल्लामा अवस्थित रारा ताल । धैरै मानिसहरुको सपनाको गन्तव्य मानिन्छ रारालाई । विगत केही वर्षदेखि नै रारा घुम्न जाने योजना बन्दै र थन्किदै गरेको मेरो अनुभव थियो । नेपालकै दुर्गम क्षेत्र कर्णालीको मुगु जिल्लामा रहेको रारा ताल पुग्न सोचे जस्तो सहज पनि थिएन । तैपनि “सपनालाई सार्थकतामा परिणत गर्न दृढ इच्छा शक्ति जरुर आवश्यक पर्दछ” । सपना साकार पार्न केही परिश्रम गर्ने र रारा अर्थात् धर्तिको स्वर्ग देख्ने सपना पूरा गर्ने अठोटका साथ हामीले नौ ९ दिनको कर्णाली क्षेत्र भ्रमणको टुङ्गो लगायौ ।
कर्णाली क्षेत्र भ्रमण जाने विषय जति सजिलो सुनिन्छ, त्यसको व्यवस्थापन त्यति सजिलो भने छैन । त्यसमा हामी ठूलो समूहमा जान खोजिरहेका थियौँ । ३० जना विद्यार्र्थीको समूह भएकाले रारासम्म पुगेर फर्कने सबै खर्च विद्यार्र्थीले नै राख्न सक्ने परिस्थति पनि थिएन । त्यसकारण हामीले विद्यार्र्थीबाट प्रतिव्यक्ति १० हजार उठाउने र बाँकी आर्थिक सहयोग संकलन गर्ने गरी व्यवस्थापन गर्ने योजना बनायौँ । योजना अनुसार बाहिरी संघ संस्थाबाट पनि केही सहयोग जुटायौ । भ्रमणका लागि पहिलो आवश्यक विषय भनेको आर्थिक संकलन थियो त्यो काम पूरा भइ सकेपछि हामीहरु अन्य व्यवस्थापनमा जुट्यौँ र भ्रमणको मिति पनि तय गरी धैरै पहिलेदेखि सुनेको, तस्विर र टिभीमा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्ने नेपालको पूरानो सभ्यता बोकेको कर्णाली क्षेत्र र त्यसमा रहेको नेपालकै ठूलो ताल रारा पुग्ने सपनालाई साकार पार्ने निधो ग¥यौं ।
जीवन जिउने क्रममा धैरै यात्राहरु भएका हुन्छन् । कति यात्राहरु सम्झौ भनेर पनि सम्झन सकिन्न भने कति यात्रालाई बिर्सौं भनेर पनि बिसर्न सकिन्न । बिर्सनै नसकिने एक यात्रा हो रारा यात्रा ।
अध्यारो रात चिर्दै मिर्मिरे विहानी आउने तर्खर गर्दै थियो । विहान ६ बजे नै यात्रा तय थियो । सोही मुताबिक हामी यात्राका लागि ५ बजदेखि नै जम्मा भएर तयारी थाल्यौ । यात्राका लागि २५ जना विद्यार्र्थी, धवलागिरि बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष मनिष थापा मगर, उपप्राध्यापक दिपकप्रसाद कँडेल र ३ जना सवारी चालक गरी ३० जनाको जम्बो टोली र ३ वटा गाडी (२ वोलेरो र एक वटा स्करपियो) तयारी थियो । हाम्रो प्रमुख गन्तव्य भनेको रारा ताल थियो ।
रारा जाने भन्नसाथ सबैजनामा एक किसिमको उत्साह र उमङ्ग थियो । बागलुङ जिल्लाको प्रशिद्ध बागलुङ कालिकालाई गाडी भित्रैबाट दर्शन गरी उत्सुकताका साथ हामी पहिलो दिनको गन्तव्य बाँकेको कोहलपुरका लागि अगाडि बढ्यौं । सबै साथीहरुको यति लामो यात्रा पहिलो भएकोले मनमा यात्राको अनेक उत्सुकता जागृत थियो ।
नयाँ ठाउँ, नयाँ बाटो, मनमा खेलेको अनेक तर्कनाहरु र गाडीमा गुञ्जिरहेको साङ्गीतिक माहोलसँगै हामीहरु अगाडि बढिरह्यौं । पहिलो दिनको यात्रा हामीहरुको करिब ४१३ कि.मी.को दुरी पार गरी बाँकेको कोहलपुर पुग्ने भएकाले हामी निरन्तर रफ्तारमा अगाडि बढिरहेका थियौं । वालिङ हँुदै पाल्पाको तानसेन, सिद्धबाबा मन्दिर गर्दै हामी करिब ५ बजे बुटवल पुगेका थियौं । बुटवल पुग्दा भर्खर सुर्यास्त हुन लागिरहेको रहेछ । क्षितिजमा पुगेको सूर्यास्तलाई त्यति नजिकबाट यो भन्दा पहिले हामीहरुले कहिल्यै पनि देख्न पाएका थिएनौं । गाडीबाट त्यो सुन्दर दृश्यको मज्जा लिने अवसर पनि यो यात्राले जुराएको थियो । यस्तै सुन्दर दृश्यहरु नियाल्दै गाडीमा बजिरहेको संगीतको मज्जा लिदै हाम्रो यात्र बुटवलबाट दाङको लमही हुँदै रातको करिब ११ बजे बाँके जिल्लामा प्रवेश गरेको थियो । करीब ११ः४५ बजेको समयमा हामीहरु कोहलपुरको बसपार्क स्थित सेती कर्णाली गेष्ट हाउस जहाँ आजको हाम्रो बसाई थियो, त्यहाँ पुग्यौं । पहिलो दिनको यात्रालाई त्यही बास बसी टुङ्ग्याइयो ।
भोलिपल्ट विहान ७ बजे पुनः गन्तव्य तर्फको यात्रा सुरु ग¥यौ । बेलुकाको अवेर सुताइ र एकाविहानै यसरी उठेर हिँड्दा हामीलार्ई निद्राले सताइरहेको थियो । तैपनि गाडी भित्र हामीहरु गाउँदै नाच्दै रमाईलो यात्रा गरिरह्यौ । महेन्द्र राजमार्ग पार गरेर उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज, बबइ नदी, छिन्चु, भेरी नदी हुँदै १०८ कि.मी.को यात्रा पार गरी सुर्खेत (वीरेन्द्रनगर) पुग्यौ । सुर्खेत पुग्दा बच्चै उमेरदेखि सुनिराखेको “सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो लौ आज” गीतको याद ताजा भइरहेको थियो । विहानको १० बजे सुर्खेत पुगेका हामीहरु सुर्खेतमै खाजा खाएर अगाडि बढ्ने सल्लाह भयो । दोस्रो दिनको गन्तव्य हाम्रो कालीकोटको सदरमुकाम मान्मा पुग्ने थियो । सुर्खेतदेखि माथि लागे पछि गाडीमा राख्ने डिजेलको अभाव हुन्छ भन्ने सूचना अनुसार हामीले गाडीको लागि तेलको प्रबन्ध मिलाई मान्माका लागि अगाडि बढ्यौ ।
सुर्खेतबाट ढुङ्गेश्वर पुग्न दुई वटा मार्ग रहेछन् । एउटा पश्चिम हुँदै अगाडि बढ्ने बाटो कच्ची र बढी समय लाग्ने, अर्को गुराँसे हुँदै दैलेख जाने बाटो जुन पिच गरिएको हुनाले छोटो समयमा नै ढुङ्गेश्वर पुगिने रहेछ । तर, यो छोटो बाटोको विषयमा हामीलाई जाने समयमा थाहा नभएकाले कच्ची र लामो समय लाग्ने बाटो रोज्यौं । निकै अप्ठेरो र धुलै धुलोले भरिएको दैलेखको कच्ची बाटो पार गर्न हामीलाई निकै नै सकस भयोे । तैपनि यात्रामा यो सबै कुरा नभए यात्रा कसरी अविस्मरणीय हुन्छ भन्ने सोँच लिएर यात्रा अघि बढाइरह्यौ । हामीहरु सियाकोट हुँदै लोहोरे खोलाको रमणीय दृश्य, वरिपरी देखिने ठूला ठूला पहाड हेर्दै तल्लो ढुङ्गेश्वर पुग्यौं । जहाँ कर्णाली नदी र लोहोरे खोला एकआपासमा मिसिदाँ रहेछन् । गाडी भित्रबाटै कर्णाली नदी र वरीपरीको सुन्दर फाँटहरुको दृश्यहरुको फोटो खिच्दै यात्रालाई अगाडि बढाइरह्यौं । हामीहरु त्यहाँ पुग्दा आफू बसिरहेको भन्दा एकदमै पृथक ठाउँमा आएको जस्तो आभास भइरहेको थियो । हामीहरुले दैलेखका धैरै ठाउँहरुलाई पछाडि छोड्दै आइरहेका थियौं । पादुका बजार, रामाघाट बजार, टुनिबगर, राकम बजार, खिड्की जिउलाजस्ता ठाउँहरुलाई पार गर्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो ।
पहिलो दिनको बसाई ढिला र केहीलाई अव्यवस्थित पनि भएकाले हाम्रो आजको योजना मान्मामा छिटो पुग्ने र व्यवस्थित तरिकाले बस्ने थियो । यात्रामा निस्केपछि सोचे जस्तो कहाँ हुन्छ र ? त्यसमा पनि कर्णाली क्षेत्रको यात्रा अन्य ठाउँमा जस्तो सोचेकै हुन्छ भन्ने रहेनछ । कालीकोटको मान्मा पुग्नु भन्दा करिब ३० कि.मी. अगाडि जुम्लादेखि फर्किरहेको बस बिग्रेको हुनाले बस नबनुन्जेलसम्म हामी अगाडि बढ्न सकेनौं । छिटो मान्मा पुग्ने आशा बोकेर हिँडेका हामी बाटोको त्यो परिस्थतिले केही समयका लागि त्यही नै रोकिन बाध्य भयौ । रात परिसकेको थियो अगाडि बढ्नको लागि अरु केही विकल्प थिएन । आधा घण्टाको पर्खाइ पछि बस बन्यो र बाटो खुलेको जानकारी पछि हामी अगाडि बढ्यौं ।
दोश्रो दिन करिब बेलुकाको ८ः३० बजे कालीकोटको मान्मामा पुगेका हामीले बाटोबाटै बस्न र खानाको लागि होटलको प्रबन्ध मिलाइसकेका थियौं । हाम्रो आजको बसाई मान्मा स्थित होटल चन्द्रसूर्यामा तय भयो । त्यहाँ पुगेपछि सबैजना फ्रेस भएर खाना खाइ यात्राको दोस्रो दिनको बसाइँका लागि आ–आफ्नो कोठातर्फ लाग्यौं । हामी पनि चार जनाको समूह एउटै कोठामा बस्ने तय भए अनुसार कोठा तर्फ लागियो । कोठामा गएर आफ्नो बेडमा पल्टिरहदाँ दिनभरको यात्रा मेरो मानसपटलमा प्रति बिम्बित भइरहेको थियो । डरलाग्दो कर्णाली राजमार्ग, साँघुरो बाटो, दोहोरो गाडी पास हुन पनि कठिन सडक, सडकको डिलबाट हेर्न नसकिने कर्णाली नदी, ठाउँ ठाउँमा बिग्रेकोे र भत्केको सडक मात्रै देख्दा यति धैरै सम्भावना बोकेको कर्णाली क्षेत्रलाई राज्यले बेवास्ता गरेको आभाष भयो । त्यहाँको अवस्थाको बारेमा चिन्तित हुँदा हुदै म कतिबेला निदाएछु पत्तै भएन ।
यात्राको तेस्रो दिन विहानै सबैजना उठी तयार भइ झिसेमिसे उज्यालोमै कालीकोटको मान्माबाट ५ बजेनै गाडी चढिसकेका थियौं । आजको यात्रा हाम्रो निकै महत्वपूर्ण थियो । किनभने आज हामी भ्रमणको प्रमुख गन्तव्य रारा तालमा पुग्ने गरी यात्रा तय गरेका थियौं । बेलुका होटलमा बुझ्दा नाग्मा बजारसम्म ५२ कि.मी. बाटो पिच भए पनि बाटो साँघुरो र धैरै ठाउँमा भत्किएको भन्ने हामीले बुझेका थियौं । पुनः कर्णाली नदीको किनारै किनार हाम्रो यात्रा अगाडि बढिरहेको थियो । यो क्षेत्रको यात्रामा हामीले अन्य ठाउँमा यात्रा गरेको भन्दा धैरै पुलिस र आर्मीको चेकिङ भइरहेको अनुभव गरिरहेका थियौं । हामीहरु करिब ९ बजेतिर कालिकोट र जुम्लाको सिमानामा रहेको नाग्मा बजारमा पुगेका थियौं । यो ठाउँबाट जुम्लाको सदरमुकाम खलङ्गा र रारा ताल जाने बाटो छुटिदो रहेछ । नाग्मामा विहानाको नास्ता गरी हामी पुनः गन्तव्यका लागि अगाडि बढ्यौं ।
गाडीमा आज रारा पुगी यो गर्ने त्यो गर्ने भन्ने विषय चलिराखेको थियो । रारा पुग्न सबै जना आतुर देखिन्थे । कच्ची र केही ठाउँमा रहेको हिलाम्य सडकहरु पार गर्दै हामीहरु अगाडि बढिरहेका थियौं । जुम्ला लागे पछि काठैकाठले बनेका मानव निर्मित पुलहरु हेमा नदी माथि धैरैनै देख्न सकिन्थ्यो । काठै काठका पुलमा राज परिवारको आकृति कँुदेर बनाइएको रहेछ त्यसमा फोटो खिच्दै हामीहरु अगाडि बढिरहयौं । ठूला–ठूला नाङ्गा डाँडाकाँडाहरु र अप्ठ्यारा बाटाहरु छिचोल्दै हामीहरु जुम्लाको गोठिजीउलामा पुग्यौं । गोठिजिउलामा नेपालमा केही समय अगाडि निकै नै चर्चामा आएको मार्सी चामालको भात खाए पछि हामीहरुको यात्रा पुनः रारातर्फ बढ्दै गयो । गोठिजीउलाबाट अगाडि बढेपछि आर्य जातिको उद्गमस्थल सिंजा उपत्यकालाई गाडीबाट नियाल्दा लाग्थ्यो, हामी कुनै अर्को देशमा गइरहेका छौं । हामी गएको समयमा धान काट्ने समय भएकाले खेतभरी काम गर्ने मानिस र दाँइ हाल्ने गोरुहरु देख्न सकिन्थ्यो ।
यो क्षेत्रमा अझै पनि समूहमा काम गर्ने प्रचलन रहेछ । लोभलाग्दो खेतबारी, ठाउँठाउँमा गुजुमुज्ज परेका सुन्दर घरहरु, नदीको छेउछाउमा रहेका धान खेतहरु, लटरम्म फलिरहेका स्याउका बोटहरुका दृश्यहरुलाई क्यामेरा र मोवाइलमा कैद गर्दै यात्रालाई निरन्तरता दिंदादिंदै हामीहरु जुम्ला र मुगु जिल्लाको सीमाना भुलभुले आइपुगेको पत्तै भएन । भुलभुलेमा नेपाली सेनाको एक गण रारा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको रहेछ । त्यहाँ गाडी दर्ता गरी हामीहरु मुगु जिल्लामा प्रवेश ग¥यौं । भुलभुलेबाट करिब २ घण्टाको यात्रामा रारा ताल पुग्नका लागि गाडीसम्म जान सकिने सल्लेरी भन्ने ठाउँमा पुगिदो रहेछ । त्यहाँभन्दा माथि जिपहरु लग्न नपाइने भएकाले गाडी पार्किङमा राखी हामी हिँड्ने निधो ग¥यौं । त्यहाँबाट रारा ताल पुग्नको लागि घोडाको पनि सुविधा रहेछ तर भाडा महङ्गो भएको र धैरै जना भएकाले हामीले हिँडेर नै रारा पुग्ने निर्णय ग¥यौं । करिब २० मिनेट हिँडेपछि गाडी र हिँडाइको थकान बिच मालीचौर पुग्यौं ।
मालीचौरको विशाल छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो बन, चारैतिर ठूलो चौरमाथि बेलुकापख देखिरहेको आकाश, चिसो सिरेटोसँगै लुकामारी खेलेको बादलको घुम्टोमुनिको मनोरम दृश्य, चौरमा कुदिरहेका घोडाँहरु देखेपछि एकैछिनमा हामी सबैको थकान हराएको आभास भयो । मालीचौरबाट अगाडि बढिरहँदा उज्यालोलाई जितेर अध्यारो अगाडि आउँदै थियो । हामीहरु अझै पनि गन्तव्यमा पुग्न करिब २ घण्टा जति हिँड्नुपर्ने थियो । २ घण्टा हिँड्नु पर्ने भएता पनि त्यो हिडाँइ रारा तालको छेउ छेउ भएरै हिँड्नु पर्ने हुन्थ्यो । रात बढ्दै गएकाले रारा तालको आभाष मात्र हामीले पाउन सकेका थियौ । मोवाइलको टर्च बाली एक अर्काको सहारा लिई हामीहरु रारा नजिकै पुग्दै थियौं छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? मनमा कौतुहलता चलिरहेको थियो । नेपालको ठूलो ताल रारामा एक रात बिताउने हाम्रो सपना योजना केही समयमै यथार्थमा परिणत हुँदै थियो ।
सल्लाघारीको बिचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्न कठिन हुने बुट्यानहरू साथमा रूखका हाँगा हाँगासम्म फैलिएका सुकेका लेउहरू छन्, झाडीका बिचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली सँगीतले साउती गर्दैछन् । झन्डै २ घण्टा पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही रहेछ रारा ।
करिब बेलुकाको ८ बजे हामी होटलमा पुग्यौं । हामीले बाटोदेखि नै होटल बुक गरेका थियौं तर त्यहाँ पुग्दा होटलले हामीलाई बस्नका लागि ठाउँ नभएको जानकारी गराए पछि केही समय सबैमा निराशा छायो । बेलुकाको त्यो चिसो मौसम र लगातारको हिँडाइले सबै जना थकित भइसकेका थियौं र त्यसमाथि खाना बस्नको लागि भनेको होटलले निराश बनाएपछि एकछिन हामीमा शून्यता छायो । यात्राको जति नै पूर्व तयारी गरेको छौँ भनेर ढुक्क भए पनि केही न केही भने अवश्य नमिल्ने रहेछ, त्यस्तै समस्या भोग्नु प¥यो हामीले रारामा ।
रारा वरिपरी प्रशस्त होटलहरु नभएकाले एक ठाउँमा नपाए पछि अर्को ठाउँमा पाइएला भन्ने सम्भावना निकै कम थियो, त्यसमाथि हाम्रो ३० जनाको समूह । केही समयको उतारचढाव पछि हामीलाई नजिकैको सामुदायिक होटलमा हाम्रो आजको गास बासको व्यवस्था भएको जानकारी प्राप्त भयो र हामी त्यस तर्फ लाग्यौ । सामुदायिक होटलमा कोठाहरु प्याक भइसकेकाले हामीलार्ई टेन्टमा राख्ने भन्ने सूचना आयो । टेन्टमा बस्ने भने पछि साथीहरु सबै खुसी थिए । धैरै जनाको टेन्टको बसाई यो पहिलो भएकाले सबैमा कस्तो हुन्छ होला भन्ने उत्सुकता पनि थियो । धैरै जाडो भएकाले खाना तयारी हुने समयसम्म हामीहरु आगो ताप्दै रमाइलो गर्न तर्फ लाग्यौं ।
रात बढ्दै गइरहेको थियो । हामीहरु रारा पुगिसके पनि अध्यारोमा पुगेकाले राराको पानीको बहाव बाहेक राराको सुन्दरता हामीहरुले देख्न पाएका थिएनौ । रारा हेर्न हामीलाई भोलिको बिहानी नै कुर्नुपर्ने थियो । त्यस बेलुका हामीहरु खाना खायौं, बिहानै ४ः३० बजे उठेर राराको सम्पूर्ण दृश्य देखिने स्थान मुर्माटप जाने सल्लाह भयो र सबै आ–आफ्नो टेन्टमा लाग्यौं ।
चौथो दिन विहानै ५ बजे हामी तयारी भइ मुर्माटपको पैदल यात्रामा लाग्यौं । केही साथीहरुलाई हिँड्न असहज भएकाले होटलमै बस्नु भयो । विहानीको मिर्मिरे उज्यालोमा मोवाइलको टर्च बालेर हामीहरु राराको सुन्दरता हेर्ने सपना बोकेर मुर्माटपतर्फ लाग्यौं । करिब २ घण्टाको लगातार पैदल यात्रापछि हामीहरु मुर्माटप पुग्यौ । रारा ताल भ्रमण, अवलोकन गर्दा भुल्नै नहुने मुर्माटप रहेछ । रारा पुगेपछि ‘जो व्यक्ति मुर्माटप पुग्दैन, उसले रारा तालको भ्रमण गरेन’ भन्ने सम्झिँदा हुन्छ । मुर्मागाउँ भएर वा होटेलबाट करिब एक सय ५० मिटरको दूरीबाट केही माथि रहेको शिव मन्दिरमा दर्शन गरी उत्तर–पश्चिम तीन हजार चार सय ८० मिटर अग्लो मुर्माटपको पैदल यात्रा रमणीय हुन्छ । मुर्माटपको भ्यू टावरबाट उत्तरतर्फ कान्जिरोवा, पञ्चचुली, अपी, शैपाल लगायतका हिमशृंखलाको दृश्यावलोकन अविस्मरणीय हुन्छ । रारातालको पूर्ण तस्बिर, उत्तर–पूर्वतर्फका हिमाल र हरिया डाँडा–पहाडको तालमा परेको प्रतिबिम्ब र हिमाल वा डाँडामाथिको बादलका प्रतिबिम्ब तालमा परेको दृश्य हेर्दा लाग्छ तत्कालीन राजा महेन्द्रले प्रिय रारालाई भेटेपछि यत्तिकै लेखेका रहेनछन् , ‘हे दैव, अहो के खनायौ यसमा ? रारा कि अप्सरा ।’
हिमाली भेगमा ठूल्ठूला पहाडहरूले चारैतिरबाट घेरेका छन् । पहाडहरू हरिया छन् । विशाल उपत्यकाभित्र पानी पानीले डम्म भरिएको ताल छ । यही हो नेपालको सबैभन्दा ठूलो ताल अर्थात् रारा । समुद्र सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा छ रारा । यतिका उचाइमा रहेर पनि झन्डै एक सय ६७ मिटर गहिराइ छ राराको । रारा वास्तवमा विशाल छ । भव्य छ र आकर्षक पनि । रारामा आँखा परेपछि यसको सुन्दरताको मात यसरी चढ्दो रहेछ कि यहाँ समय गएको पत्तै हुँदैन ।
रारा तालको हरेक एकाइ र समग्रताको मनमोहक सौन्दर्यमा मान्छे कुन हदसम्म लठ्ठिन्छ भनेर अनुवाद गर्न कठिन छ । कुरा सुनेर, फोटो हेरेर वा संस्मरण पढेर मात्र राराको अनुभूति गर्न सकिन्न । रारा महसुस गरेकाले मात्र ठोकुवा गर्न सक्छन, कुनै पनि तर्कले ‘रारा’ फगत एक संयोग वा यसको सामान्य कारण हुनै सक्दैन । रारामा आएर कवि नबन्ने, मानवीय नहुने र सुखभोग नगर्ने प्रकृतिको कुनै चराचर प्राणी हुन सक्दैन । हरियो कोणधारी जंगलबीचमा नीलो पानी । त्यसैमा समर्पित हुँदै पौडिरहेका रंगीविरंगी माछा अनि जंगली चराहरू । बजारविहीन तालको तट, छेउछाउमा रंगीविरंगी जंगली फूल, नगन्य बस्ती र नजिकै चियाउन सकिने हिमाली दृश्यको वैभवता । यो मस्तीमा नरमाउने कुन मानव होला ? जंगली फूलको सुवास, जडीबुटी, माछा, नानाथरीका हाँस, घोडा, भेडा सबैथरी मिलेर बनेको छुट्टै संसार रारा । क्यामरामा रारा अटाउन असम्भव छ । न त ५, ६ किलोमिटर फैलिएका यसको सुन्दरताको कहानी भनेर साध्य छ । न पूरै लेख्न नै सकिन्छ ।
हामी सबैलाई राराको अलौकिक दृश्यले मन्त्रमुग्ध नै पा¥यो । मुर्माटपमा हामीहरुले करिब ३ घण्टा जती समय बितायौं । रारालाई पृष्ठभूमिमा राखेर विभिन्न पोजमा फोटाहरु खिचायौं । हामीहरुले रारा भ्रमणको भिडियो डकुमेन्ट्री पनि निर्माण गर्ने भनेकाले त्यहाँ भेटिने केही मानिसहरुसँग अन्तर्वार्ता पनि लियौं । हाम्रो योजना आजै जुम्लाको सदरमुकाम खलंगा पुग्ने रहेकाले मुर्माटपबाट फर्कर्ने रहर नुहँदा नहुदै हामीहरु त्यहाँबाट पुन रारा लेकसाइडका लागि फर्कियौं ।
फर्कने बाटो ओरालो रहेकाले हामीहरु १ः३० घण्टामै बसेको होटलमा आईपुगेका थियौं । होटलमा बिहानको खाना खायौं । केही साथीहरु लेकसाईडबाट राराको सुन्दरतामा रमाईरहेका थिए भने हामी केही रारा राष्ट्रिय निकुञ्जका प्रमुखसँग राराको विषयमा भिडियो अन्तर्वाता लिने तर्खरमा थियौं । निकुञ्जका प्रमुखसँगको अन्तर्वार्ता पश्चात सबैजनाले रारालाई पृष्ठभूमिमा राखेर सामूहिक तस्विर खिची हाम्रो गाडी पार्क गरेको ठाउँ सल्लेरीका लागि हिडियो ।
राराका यादहरुलाई मनमा राखेर पैदल यात्रालाई अगाडि बढाउदै सल्लेरी पुग्दा दिनको ३ बजिसकेको थियो । हाम्रो गाडीहरु हिजो यहि ठाउँमा पार्क गरिएको थियो । गाडीमा सामानहरु प्याक गरी हामीहरु आजको गन्तव्य जुम्लाको खलंगाका लागि त्यहाँबाट हिडियो ।
कुनै पनि यात्रा दोहोरिन सक्छ वा सक्दैन, एकिन हुन्न । त्यसैले रारा यात्रा गर्दा मज्जा लिँदै गाउँबस्ती, डाँडाकाँडा, हिमशृंखला तथा खानपान, अवलोकन गर्न बेवास्ता या हेलचेक्राइँ गर्नु भनेको भ्रमण, अवलोकनलाई अधुरो राख्नु रहेछ । ६० देखि आठ हजार आठ सय ४८ मिटर उचाइसम्मका थरीथरी भौगोलिक विविधता, रहनसहन, वेशभूषा, खानपिन तथा समाजिक विविधताको आनन्द लिन रारा छुटाउनै नहुने प्रमुख गन्तव्य रहेछ भन्ने हामीहरुले फर्कने समयमा महशुस गरेका थियौं । हाम्रो समयको उचीत व्यवस्थापन नहुँदा यी सबै कुराहरुको अनुभव लिन नपाएको हामीलार्ई मनमनै महशुस भएकोे थियो । मिल्यो भने पुनः अर्को सिजनमा रारा भ्रमण गर्ने अठोटका साथ हाम्रो यात्रा खलङ्गा तर्फ लाग्यो ।