‘दैनिक ३२ किमी यात्रा गरेर खेल्न आउँछन् बालक’ – कथालिका

‘दैनिक ३२ किमी यात्रा गरेर खेल्न आउँछन् बालक’

एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्ड हल पुग्छ भन्दा तपाईलाई पनि पत्यार नलाग्न सक्छ तर, यो सत्य हो ।

कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगर स्थित कभर्ड हलमा पुग्ने गरेका छन् । यो नजिकबाट देखिरहेकाहरु दंग पर्छन् ।

१० वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन् । “दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा तीन सय रुपैयाँ जति खर्च हुन्छ”, उनले भने, “पैसा भन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु ।”

आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोक जस्तै धेरै नयाँ खेलाडीहरु अन्यौल र द्धिविधाग्रस्त अवस्थामा छन् । यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरु नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्न समेत पाएका छैनन् । “बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ”, धामीले भने, “कभर्डहलमा कमसेकम सिनियर दाइहरुसित खेल्ने र सिक्ने अवसर त मिल्छ ।”

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवार सहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् । “संघको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बङ्कमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री)लाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो”, उनले भने, “त्यसपछि सात किलोमिटरयता गरेर बङ्क खेल्न आउन थाले ।” वाणी बङ्क क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ ।

उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ । “टेलिभिजन र इन्टरनेशनलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल हेर्न छुटाएको छैन”, धामीले भने, “घर परिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु ।” बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए । गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन् । “बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ”, उनले भने, “अर्को वर्ष काठमाडौँ जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु ।”

गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन् । ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आफ्नो योजना रहेको धामीको भनाइ छ । जिल्ला ब्याडमिन्टन सङ्घ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रुपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए । “कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन”, उनले भने, “प्रदेशदेखि केन्द्रसम्म पहल ग¥यौँ तर आश्वासन मात्रै पायौँ ।”

संघले समय-समयमा प्रतियोगिताहरु आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरु बढाइरहेको उनले बताए। “यहाँका खेलाडीहरु वल्र्ड ¥याङ्किङ सम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ”, उनले भने, “अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन् ।”

२०७८, २२ माघ शनिबार १६:१४
कथालिका नयाँ कथा
कथालिका