पनौतीमा बुहारीको ‘सामुदायिक खाजा घर’ – कथालिका

पनौतीमा बुहारीको ‘सामुदायिक खाजा घर’

कामको बाँडफाँड गरेर होइन, जसले जतिखेर जे काम पनि गर्नुपर्छ यहाँ । खाजा घरमा आउने पाहुनाको स्वागत गर्दै उनीहरुको इच्छा अनुसारको खाजा तयार गरेर सेवा दिनु दैनिकी र दायित्व हो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौती बजारका बुहारी समूहले पहिलो पटक सामूहिक रुपमा सञ्चालन गरेको ‘पन्ति सामुदायिक कौला छें’ अर्थात ‘पनौती सामुदायिक खाजा घर’ का सञ्चालक महिलाको दिनचर्या हो यो ।

करिब एक महिनादेखि दैनिक १३÷१४ घण्टा खटेर काम गर्दै आफ्नो सामूहिक लक्ष्य पूरा गर्ने तत्परताका लागि खटिएका छन् । पनौती पुरानो बजारका सरिता अमात्य, रुपा जोशी, दिया श्रेष्ठ र रमा श्रेष्ठले पनौती नगरपालिका–७ सोह्रखुट्टे नजिकै रहेको परम्परागत घर भाडामा लिएर सञ्चालन गरेको पन्ति सामुदायिक कौला छें ९पनौती सामुदायिक खाजा घर० मा आउने पाहुनालाई स्वागतसहित इच्छानुसारको परिकार बनाएर सेवा दिन व्यस्त छन् ।

पुरानो बजारका चारजना बुहारी मिलेर सञ्चालन गरेको सामुदायिक कौला छेंमा अहिले सोचेअनुसार व्यापार भइरहेकाले व्यवसायदेखि खुसी रहेको उनीहरुको भनाइ छ । कोरोना सङ्क्रमण प्रभावको पहिलोचरणदेखि कामविहीन भएका उनीहरुले सँगै बसेर अब के गर्ने भन्ने विषयमा सल्लाह गरेपछि सामुदायिक कौला छें सञ्चालन गर्ने कुरामा सहमति भएपछि माघ महिनाको पहिलो दिनबाट व्यवसाय सुरु गरेको सञ्चालकमध्येका एक सरिता अमात्यले बताए ।

कौला छें सुरु गर्नु अगाडि पनौती सामुदायिक होम स्टेका अध्यक्ष शिला अमात्यसँग सल्लाह लिएपश्चात् केही योजना बनाउन सहयोग पुग्ने गरी कीर्तिपुरमा रहेको लहानामा त्यही प्रकृतिको खाजा घर अवलोकन गरेर फर्किएपछि सामूहिक रुपमा खाजा घर सञ्चालन गरेको उनको भनाइ छ ।

व्यावसायिक रुपमा तालिम नलिएको भए पनि बुहारी भएपछि घरमा पकाउनैपर्ने कामलाई सामूहिक रुपमा मिलेर व्यावसायिक रुपमा अगाडि बढ्ने दृढताका साथ खाजा घर सञ्चालन गरेको उनले बताए । “पकाउनेमा चासो पहिलादेखि नै थियो, त्यही चासोलाई नै राम्रोसँग सदुपयोग गरौँ भन्ने हिसाबले पनि खाजा घर सञ्चालन गरेका हौँ” अमात्यले भने,“त्यही ईच्छा शक्तिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दा अहिले दैनिक २५ देखि ३० हजारसम्मको कारोबार हुँदै आएको छ ।” कोरोना सङ्क्रमण प्रभावका कारण विदेशमा रहेका श्रीमान्को पनि काममा प्रभाव भएर आम्दानी सोचेजस्तो नभएपछि घरमा खर्च चलाउन समेत मुस्किल हुने अवस्थामा सोचेको विकल्पको रुपमा यो अवस्थासम्म आउन सफल भएको उनको भनाइ छ ।

करिब सात लाखको लगानीमा सुरु भएको व्यवसाय राम्रोसँग चलेपछि लगानीका लागि लिएको ऋणबाट सन्तुष्टी नै रहेको उनीरुको भनाइ छ । पनौती क्षेत्रमा यसरी सञ्चालन गरेको खाजा घर पहिलो भएका कारण पनि मानिस खोजीखोजी आउने गरेको सञ्चालक बताउनुहुन्छ । सो खाजा घरमा समयबजी, योमरीलगायत आउने सेवाग्राहीको मागअनुसारको परिकार बनाउने गरिन्छ । सो खाजा घरमा एक पटक आउने पाहुना अर्को पटक आउँदा घरका परिवारलाई समेत लिएर आउने गरेको सञ्चालक बताउछन् ।

“हाम्रो सेवा पारिवारिक प्रकृतिको भएकाले पनि यहाँ आउनेले अर्को पटकमा परिवार लिएर आउने गर्छन्,” अर्का सञ्चालक रुपा जोशीले भनिन्, “हामीले प्रदान गरेको सेवामा यसरी पारिवारिक वातावरण पाएर सेवाग्राही खोजीखोजी आउनु पनि सामुदायिक खाजा घरको अर्को सफलता हो ।” यसअघि नर्सिङ पेशामा आवद्ध उहाँ अब खाजा घर नै चलाएर बस्ने बताउछन् । मकर मेलामा धेरै मानिस आउने र त्यही बेलामा सञ्चालन गर्दा प्रचारप्रसार धेरै हुने भएकाले पनि माघ महिनाको सुरुआतदेखि सुरु गरेकोले राम्रै सञ्चालन भइरहेको छ ।

सो खाजा घरमा अरुबारभन्दा शुक्रबार र शनिबार धेरै सङ्ख्यामा आउने भएकाले सो दिन कारोबार पनि ५० हजारभन्दा बढी नै हुने गरेको सञ्चालक बताउनुहुन्छ । अहिले उनीहरु त्यस घरले अपुग भएपछि अर्को ठाउँको खोजीमा छन् । ‘‘मानिस धेरै भएपछि आउने पाहुना फर्केर जानुपर्ने अवस्था भयो’’ उनीहरु एकै स्वरमा भन्छन्, “खाजा घर खोजेर आउने फर्केर जाने अवस्था भएपछि अब यही नजिकैतिर अर्को ठाउँको खोजीमा छौँ ।” सुरुमा त श्रीमान्हरुले होटल चलाउन हुँदैन भनेर आफूहरुलाई अनुमति नै नदिएको र पछि पारिवारिक ढङ्गले सञ्चालन गरेर सेवा दिने भनी काम गरेरै देखाएपछि उहाँहरुको समेत साथ र सहयोग पाएको सञ्चालकको भनाइ छ ।

२०७८, २५ माघ मंगलवार १०:२०
कथालिका नयाँ कथा
कथालिका