बास पछि लालपुर्जाको आस – कथालिका

बास पछि लालपुर्जाको आस

चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउछन् । घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ । छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन् । बिजुलीले घर झलमल्ल छ । सिलिङमा जिप्सन लगाइएको छ ।

दमक नगरपालिका वडा नं १ मा निर्मित एकीकृत नमुना बस्तीको सात नम्बर घरमा बस्दै आउनुभएका ७३ वर्षीय भुजेललाई अहिलेको बसाइ सपना जस्तो लाग्छ । जीवनभर दुखजिलो गर्दा डेरामा बस्नुपरेको लामो पीडालाई नमुना बस्तीको आरामदायी बासले बिर्साइदिएको छ । बस्ने घर पाइए पनि जग्गाको धनीपुर्जा हातमा नहुँदा भने उनलाई खल्लो अनुभूति हुन्छ । “सपनामा पनि यति राम्रो घरमा बस्न पाइएला भन्ने सोचेको थिइन नानी”, आँगनमा बसेर माघको न्यानो घाम ताप्दै भुजेलले भने, “खुशीको सीमा नै छैन, बुढेसकालमा डेरामा बस्नु त परेन ।” उनी र पत्नी गरी सो घरमा दुई जनाको बास छ। पाँच छोरी बिहे गरेर आ-आफ्नै घर गइसकेका छन् ।

नमुना बस्तीमा आउनुअघि भुजेल परिवार ४२ वर्षसम्म दमककै दूरसञ्चार कार्यालय छेउमा डेरामा बस्दै आएको थियो । छोराछोरी डेरामै जन्मेर हुर्केका थिए । जीवन पाल्नका लागि भुजेल दम्पतीले दूरसञ्चारको फूलबारी गोड्ने सानो काम पाएको थियो । नगरपालिकाले दुई वर्षमा वडा नं १ मा २३ र वडा नं ७ मा १५ घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको छ । भूमिहीन, विपन्न र अव्यवस्थित बसोबासी परिवारलाई छानेर नमुना बस्तीमा सारिएको नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नमुना बस्तीको उद्घाटन गरेका थिए। नमुना बस्तीका दिदीबहिनीलाई उद्यमशील तालिम दिएर स्वरोजगारी सिर्जना गर्ने नगरपालिकाको योजना भए पनि कोरोना महामारीले योजना अघि बढाउन विलम्ब भइरहेको अधिकारीको स्वीकारोक्ति छ ।

दुवै वडामा बनेको नमुना बस्ती एउटा सडक वारिपारि छ । सडक उत्तर बनेका २३ घर चार कोठे तथा दक्षिणतिर बनेका तीन कोठे छन् । दक्षिणतिर केही घर निर्माणाधीन छन् । निर्माणाधीन घर आगामी फागुन पहिलो साताभित्र सम्पन्न हुने तयारीमा छन् । चारकोठे घर प्राप्त गर्नुभएकी ५७ वर्षीया कमला रणपहेलीले एउटा कोठालाई भान्सा बनाइएको र बाँकी कोठामा परिवारका सात सदस्य बस्ने गरेको बताए । उनका अनुसार बिजुलीको मिटर बक्स हरेक घरको आफ्नै रहेको र पिउने पानीको धारा चाहिँ छ घरको साझा छ । हरेक घरमा ‘अट्याच बाथरुम’ सुविधासमेत छ ।

उनका छोराहरू कमाइ गर्न बजारतिर जान्छन् । दिउँसो कामका लागि जहाँसुकै गए पनि बेलुका बास बस्न सबै घर आइपुग्ने गर्छन् । रोजगारीका खोजीमा भौँतारिनु पर्ने अवस्थाको अन्त्यका लागि उनले सरकारसँग आग्रह गर्छन् । ‘‘जिन्दगीभर पक्की घर बनाएर बस्न पाइएला भन्ने लागेको थिएन ”, नमुना बस्तीमा बस्न पाउँदा हर्ष व्यक्त गर्दै उनले भने, “सरकारले घर त दियो, अब धनीपुर्जा र रोजगारी पनि दिए ढुक्क हुने थियो ।” बिजुली र धाराको पानीको शुल्क भने आफैँले तिर्नुपरेको उनको भनाई छ ।

नमुना बस्तीमा आउनुअघि रणपहेलीको परिवार पशुहाट छेउ रतुवा खोलाको बाँध रहेको सरकारी जग्गामा झुपडी बनाएर २५ वर्षदेखि बस्दै आएको थियो । कुन बेला रतुवाको बाढी उर्लिएर निद्रामै बगाउला भन्ने त्रासै त्रासमा जीवन बित्ने गरेको सम्झिँदा उनलाई अहिले पनि ऐँठन हुन्छ रे ।

भूमिहीन सुकुम्बासी र घरबारविहीन विपन्न परिवारलाई उचित बसोबासको व्यवस्था मिलाउन नगरपालिकाले आवासका सबैखाले सुविधासम्पन्न नमुना बस्तीको अवधारणा लागू गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना बताउछन् । उनका अनुसार खाली सरकारी जग्गामा एकीकृत बस्ती निर्माण गरिएको हुँदा यसको धनीपुर्जा बन्न बाँकी छ । “त्यहाँ बस्ने नगरवासीलाई घरको स्वामित्व प्रदान गरिसकेका छौंँ ”, तिम्सिनाले भने, “नगरपालिकाले अब जग्गाको धनीपुर्जा पनि भविष्यमा दिलाउँछ ।”

एकीकृत बस्ती बसाउँदा खानेपानी, बिजुली, सडकलगायत भौतिक विकासको पूर्वाधार पु¥याउन नगरपालिकालाई सहज भएको उहाँले बताउनुभयो । बस्तीको नियमित रेखदेख र अनुगमन नगरपालिकाले गरिरहेको जनाइएको छ । नगरपालिकाले निर्माण गरेको नमुना बस्तीको एउटा घर बनाउँदा रु १२ लाख ५० हजार र त्यसको रङरोगनमा अलग्गै खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए । सोबाहेक नगरपालिकाका विभिन्न वडामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ३३ घर निर्माण गरेर स्थानीय विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ । घर निर्माणमा प्रदेश र सङ्घीय सरकारले समेत आर्थिक सहयोग पु¥याएको थिए ।
रतुवाको नजिक निर्मित नमुना बस्ती बस्नका लागि सुविधायुक्त, सुरक्षित र व्यवस्थित छ । लहरै एकैखालका घरले बस्तीको सौन्दर्य बढाएको छ । सबैका एउटै खालका समस्या र समान सुविधा भएकाले बस्तीका बासिन्दा आपसमा मिलेर बसेका छन् । बर्दीबासमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको नमुना बस्तीकै झल्को पाइने भएकाले यहाँ हेर्न र बुझ्नका लागि आन्तरिक पर्यटकसमेत आउने गरेका छन् ।

यहाँ बसोबास गर्दै आएका परिवारले जग्गाको धनीपुर्जा, रोजगारीको अवसर, उद्यमशीलता तालिम र सरसफाइको व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेका छन् । कतिपय घरमा दुई र केहीमा तीन परिवारसमेत बसोबास गराइएकामा उनीहरुको आपत्ति छ । एउटा घरमा एउटा मात्र परिवारलाई बसोबास गराइयो भने धनीपुर्जा वितरणमा सहज हुने स्थानीयवासीको सुझाव छ ।
नगरपालिकाले आठ धुर जग्गामा एउटा घर बनाएको छ जसमा सानो आँगनबाहेक खाली ठाउँ छैन । अलिकति सागसब्जी उब्जाउने र एउटा कुखुरा पाल्ने समेत ठाउँ नभएको स्थानीयको गुनासो छ । बस्तीभित्र वरिपरि बनाइएको नालीमा फोहोर जमेर दुर्गन्धित छ । नगरपालिकाले नाली सफा राखिदिने व्यवस्था गरिदिनुपर्ने माग छ ।

घर नं ३ मा बसोबास गर्दै आउनु भएकी ७५ वर्षीया धनमाया बस्नेतले एउटै घरमा धेरै परिवार अटाउनुपर्दा बस्न, खान र सुत्नका लागि असुविधा भएको गुनासो गरिन् । उनका घरमा अलगअलग तीन परिवारको बसोबास छ । सानो एउटा घरमा धेरै परिवार खाँदाखाँद गरेर बस्नुपर्दा आपसमा मनमुटाव र द्वन्द्व बढ्ने गरेको छ ।

नगरपालिकाले नमुना बस्तीमा भिन्न परिवेश र समुदायबाट आएका परिवारको बसोबास भएको हुँदा त्यहाँ बस्दा पालना गर्नु पर्ने केही नियम बनाएको छ । नियम उल्लङ्घन गर्नेलाई बस्तीबाट हटाइने नगरपालिकाले चेतावनी दिएको बताइएको छ । नियमानुसार बस्तीका परिवारले सार्वजनिकस्थल र घरमा समेत फोहोरमैला गर्न पाउँदैनन्, सुँगुर, बाख्रा र कुखुरा पाल्न पाउँदैनन् । तिनले पसल खोल्न पाउँदैनन्, मदिरा पिएर होहल्ला गर्न पाउँदैनन् । बस्तीभित्रको सडक सफा राख्ने जिम्मा बासिन्दालाई नै दिइएको छ ।

बस्तीमा बसोबास गर्दै आएकाहरू अधिकांशले दैनिक ज्यालादारी काम खोजेर जीविका चलाउँदै आएका छन् । कोही पाँच किलोमिटर टाढा गएर फुटपाथमा खुद्रा पसल चलाउँछन् भने धेरैजसो मजदुरी गर्छन् । बजारमा पसल सञ्चालन गर्न विनाधितो कर्जा वा अनुदानमा पुँजी पाउने हो भने बस्तीका परिवारको आर्थिक पक्ष सबल बन्नेछ । त्यहाँका परिवारमा सिलाइबुनाइ, होटल व्यवसाय, ड्राइभिङ लगायत तालिमको खाँचो छ ।

त्यहाँका परिवारमध्ये ज्येष्ठ नागरिक घरैमा बस्ने गरेका छन् । बालबालिका बाहिरको विद्यालय जाने गरेका छन् । वयष्कहरू कामका खोजीमा बस्ती बाहिर जाने गरेका छन् । सुविधा र घरका विषयमा आपसमा झैझगडा हुँदा नगरपालिकाका प्रतिनिधि आएर मिलाइदिने गरेका छन् । पहिलोपटक बनाइएको नमुना बस्तीमा नगरपालिकाले धेरै सुविधा पु¥याउने जमर्को गरे पनि स्थानीयवासीले जग्गाको धनीपुर्जा छिटो प्रदान गर्न माग गरिरहेका छन् । “पहिले बसेको ठाउँ सरकारी जग्गा प¥यो भनेर हटाए”, वडा नं ७ को नमुना बस्तीमा बस्नुभएकी कृष्णा तामाङ यहाँबाट पनि हटाउने हुन् कि भन्ने डर पसिरहेकाले शङ्का व्यक्त गर्दै भन्छन्, “फेरि चुनाव आउँदैछ, नयाँ मेयर र वडाध्यक्ष आउँदा अर्कै मान्छे ल्याएर बसाउने पो हुन् कि ?”

नयाँ सरकार र जनप्रतिनिधि आए पनि बस्तीका परिवारलाई हटाउन नसक्ने गरी नगरपालिकाको बोर्डबाट निर्णय गराइएको वडा नं ७ का वडाध्यक्ष भीम पौडेलले बताए । “उनलाई ढुक्क हुन आग्रह गर्दछु, जुनसुकै सरकार फेरिए पनि बस्तीमा बसिसकेका परिवारलाई हटाउन मिल्दैन”, उनले भने। बस्तीका परिवारको कुनै पनि समस्या समाधानका लागि वडा कार्यालय तत्पर रहेको आश्वासन उनले दिए । नमुना बस्तीमा हरेक परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बिमा गरिदिने गरिएको र वडा कार्यालयले रोजगारीमा समेत सहजीकरण गर्दै आएको पौडेलले जानकारी दिए। विभिन्न राजनीतिक दलले त्यहाँका परिवारलाई पार्टीको सदस्यता थमाउँदै आश्वासन बाँड्ने गरेको पनि उनले बताए।

२०७८, २८ माघ शुक्रबार ०६:०७
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका