गहकिला ‘प्रश्न’का फराकिला उत्तर – कथालिका

गहकिला ‘प्रश्न’का फराकिला उत्तर

युवा कवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविशिरोमणि लेखनाथ पौड्याललगायतसँग अन्तरङ्ग कुराकानी गरी प्रकाशमा ल्याएका छन्, आचार्यबारे पनि लेखेका छन् ।

प्रख्यात निबन्धकार शङ्करनाथ लामिछानेले साहित्यकार, सङ्गीतकार आदिसँगको हिमचिमलाई ‘विम्ब–प्रतिविम्ब’मा उतारेका छन् । ‘रूपरेखा’का सम्पादक उत्तम कुँवरले त साहित्यकारको अन्तर्वार्ता समेटिएको ‘स्रष्टा र साहित्य’ (२०२३) शीर्षकको ग्रन्थका लागि सोही साल मदन पुरस्कार नै प्राप्त गरे । पत्रकार देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’ (२०६२) पनि चर्चित रह्यो । पत्रकार एवं साहित्यकार श्री ॐ श्रेष्ठ रोदनले हालै विभिन्न स्रष्टा, चिन्तक एवं साहित्यकारका विषयमा निबन्ध तयार गरी ‘अभिवन्द्य’ कृति नै ल्याउनुभयो । साहित्यकार–गीतकार–सङ्गीतकार आदि स्रष्टासँगको भेटघाटलाई लिपिबद्ध गरी प्रकाशमा ल्याउने काम अचेलका अनलाइन न्युज पोर्टलले पनि निकै गरेका छन् ।

लेखक, साहित्यकार एवं स्रष्टाका दिनचर्या, जीवनी र अभिव्यक्तिले अन्यलाई पनि प्रेरणा दिन्छ नै, ती स्वयंको व्यक्तित्वको चर्चा भई जनमानसमा छाप छाड्छ । यस्तो कामले स्रष्टाको सम्मान वा मूल्याङ्कन स्वतः हुन्छ र पछिल्लो पुस्ता पनि लाभान्वित हुन्छ ।

साहित्यिक गतिविधि भइरहने हेटौँडामा क्रियाशील उदय अधिकारीले नेपाली साहित्यका विभिन्न विधामा चर्चित ६ साहित्यकारसँग गरेको ‘प्रश्न’९२०७८, शिखा बुक्स० बजारमा आएको छ । चितवनमा जन्मी हेटौँडा सर्नुभएका अधिकारीले नाटककार तथा कवि अभि सुवेदी, कवि, उपन्यासकार तथा नाटककार सरुभक्त, कवि, निबन्धकार तथा पत्रकार श्यामल, कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिलसँगको हिमचिमपछि गरेको अन्तरङ्ग यसमा समेटिएका छन् । हेटौँडा बहुमुखी क्याम्पसका सहप्राध्यापक अधिकारीले करीब एक दशकबीचमा गरेको परिश्रमस्वरूप आएको ‘प्रश्न’मा उल्लिखित नेपाल र विश्वसाहित्यका विविध पक्षले पाठकलाई ज्ञानोदय गराउँछ । आफैँ विभिन्न पत्रपत्रिका एवं अनलाइनमा लेखिरहने कृतिकारले विश्वसाहित्यसँग गरेको एकाकारले हाम्रो क्षितिजलाई पनि फराकिलो गराउँछ । नेपाल र विश्वसाहित्यका गम्भीर अध्येता तथा अनुवाद र अन्तर्वार्ता लिन कहलिनुभएका अधिकारीका ‘प्रश्न’ परिपक्व रहेकाले उत्तरदाताहरू वस्तुगत हुन बाध्य छन् र भाग्न सकेका छैनन् ।

छ नेपाली साहित्यकारका मुखबाट आएका नेपाली अझ खासगरी विश्वसाहित्यको स्थिति र पढ्नै पर्ने खालका मुख्यमुख्य साहित्यिक कृति, अनुवादको अवस्था, नेपाली समालोचनाको धरातलीय हैसियतले पाठकलाई यथेष्ट ज्ञान दिन्छ । उहिले महाकवि देवकोटाले तासकन्दमा दिएको मन्तव्यमा नेपाली साहित्यको विस्तृत चर्चा थियो भने ‘प्रश्न’ र तिनका उत्तरमा नेपाल र विश्व साहित्य समेटिनु प्रश्नकर्ताको अध्ययनको गहनता हो भन्ने स्पष्ट हुन्छ । कुनै पनि साहित्यकार स्थापित हुनका लागि अध्ययन र विषयको गहिराइको महत्त्व कति हुन्छ भन्ने कुरा प्रस्तुत कृतिले छर्लङ्ग्याइदिन्छ ।

त्रिविमा अङ्ग्रेजी विषयका प्राध्यापक तथा नेपाली साहित्यमा कविता, समालोचना, अनुवादक, निबन्ध खासगरी पछिल्लो समय नाटक विधामा संलग्न सुवेदीले ‘जीवनमा गरेको एउटै काम भनेको किताब पढ्ने हो ।’ नेपाल विश्वसाहित्यमा आक्रामक ढङ्गले जान हाम्रो सरल, गाउँले, जनजातीय र भौगोलिक कठिन जीवनमा पनि हाँसेर बाँच्न सक्दाको अवस्था तथा यात्रा र स्थानमा भोगिएको अनुभूति उपन्यास वा आख्यान र तीव्र भावनाका गुणस्तरीय कविता दिन सक्नुपर्ने उत्तर उनी बताउछन् । तेह्रथुम, साबलामा भैंसी चराउँदा ढाडमा बसेर पढ्न रुचाउने सुवेदी राजधानी आएपछि हिप्पीसँगको सङ्गतमा पर्ने नामुद साहित्यकार मानिनुहुन्छ । नेपालका ठूला साहित्यकारसँग भेटघाट गर्ने, युवाहरूसँग रमाउने, चित्रकार–गायक–सङ्गीतकारसँग सङ्गत गर्ने, अखबारी लेखन९नेपाली, अङ्ग्रेजी भाषा० मा संलग्न हुने, घुमिरहने तथा हास्यचेतयुक्त विशेषता पनि राख्ने सुवेदी नेपालमा ‘समर्पित भएर काम गर्ने लेखकहरुको सङ्ख्या थोरै’ भएकोमा गुनासो छ ।

राजनीतिकर्मी, उपन्यासकार, कथाकार, कवि तथा पत्रकार नारायण ढकाल “हाम्रो लेखनको स्तर नउक्सिनुमा सर्जक, पाठक, समीक्षक र साहित्यिक संस्थाहरू, राजनीतिक दलहरू सबैको उत्तिकै मिलिभगत योगदान रहेको” स्पष्ट गर्दै प्रगतिशील लेखक सङ्घमा प्रगतिशील लेखक र स्रष्टाहरू जन्माउने छाँट नभएको देख्छन् । उनी पनि सुवेदीकै हाराहारीमा ‘आफ्नै इतिहास, संस्कृति र मौलिकतासँग जोडिएपछि मात्र लेखक सफल’ हुने ठान्छन् । नेपालमा ‘मार्खेजका प्रवक्ता’ ढकाल ‘मार्खेजले आफ्नो समयको मानिसको इतिहासलाई सौन्दर्य, शिल्प र महान् गद्यको अस्त्रले अभिव्यक्त गरेको’ जनाउँदै कोलम्बियाका ती उपन्यासकारको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ हाम्रो युगको गद्य काव्यमा एउटा महान् गाथा मान्छन् ।

बौद्धिक तथा चिन्तनप्रधान कवि (गीतकार, मुक्तककार पनि), नाटककार तथा उपन्यासकार (लघुकथाकार पनि) सरुभक्त आफैँ धेरै विधामा हात हालेर पनि ‘बहुविधामा साहित्य रचना गरेर असफल हुनुभन्दा एकै विधामा साहित्य रचना गरेर सफल हुनु बुद्धिमानी हो” भन्ने स्वीकार्छन् । दोस्रो जनान्दोलनताका नेपाल प्रज्ञा –प्रतिष्ठानका तत्कालीन प्राज्ञ परिषद् सदस्य सरुभक्तलाई आन्दोलनमा सहभागी नभएको आरोप पनि लागेको छ । ‘अहं शून्यवाद’ का प्रवत्र्तक कुनैबेलाका ‘भक्तराम श्रेष्ठ’ पूर्वीय दर्शन र साहित्यमा ‘महाभारत’, ‘रामायण’देखि माक्र्सको ‘दास क्यापिटल’ (पुँजी) र स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सम्मलाई मन पराउछन् । ‘विश्व साहित्यको अध्ययनबाट हामीले समसामयिकतामा शाश्वतता, शाश्वततामा समसामयिकता, प्रयोगगत विश्वसनीयता, विषयगत गाम्भीर्यजस्ता कुरा सिक्न’ सकिने सुझाव यी विज्ञान कथाकार नेपाली साहित्यकार–पाठकलाई दिन्छन् । आफ्नो रचनामा संसार रहेको तर समाज नरहेको आरोप खेपिरहनुभएका यी लेखकले त्यस्तो भन्ने समालोचकहरूले आफ्नो समालोचनाको पनि समालोचना हुन्छ भन्ने बिर्सेको भनी उल्टै आलोचना गर्दै समसामयिकतामै रुमलिने साहित्य दीर्घजीवी नहुने दाबी छ । ‘कुमार’ लेखकसँग अविवाहितावस्था र साहित्यको सम्बन्धबारे सवाल गर्न सकिन्थ्यो, जसलाई कृतिकारले छुटाएका छन् ।

कवि, निबन्धकार श्यामल थोरै लेखेर चर्चित हुनेमा पर्छन् । नेपालको दुर्गममध्ये एक मानिने दैलेखमा पण्डित परम्पराको खानदानमा जन्मी त्यहाँको काव्यमय लोकजीवनबाट प्रेरित उनीमा जर्मनेली कवि बर्टोल ब्रेख्तलाई नेपालमा भित्र्याउने श्रेय पनि जान्छ । राम्रो अनुवादले मौलिक कृतिको प्रभाव र क्षमतालाई कयौँ गुणा वृद्धि तथा विस्तार गर्ने मान्यता राख्ने अनुवादक श्यामल यस क्षेत्रमा कठोर परिश्रम गर्न नसक्नेहरूले विकृत अर्थ सम्प्रेषण गरेर हास्य र वैराग लगाएको तीखो टिप्पणी पनि गर्छन् । भूपी शेरचनलाई कवितामा हाम्रा आदर्श मान्दै उहाँसँग बहुत सङ्गत गर्ने प्रगतिशील कवि श्यामल कुनै दलविशेषमा आबद्ध हुँदैमा प्रगतिशीलता नआउने बरु लेखेर वा सशरीर आन्दोलनमा होमिने शतप्रतिशत जनपक्षधरतामा जोड दिन्छन् । हाल राष्ट्रिय समाचार समितिका अध्यक्ष पुराना पत्रकार हरिहर अधिकारीलाई पत्रकारितासँग सम्बन्धित केही ‘प्रश्न’ गर्न भने अन्तर्वार्ताकार चुकेका छन् ।

उल्लिखित वरिष्ठ साहित्यकारका तुलनामा तन्नेरी कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिल पनि ‘प्रश्न’का घेरामा परेका छन् । हेपिएका आवाजलाई सुनिन बाध्य पार्ने कवि मुकारुङ भावना, ज्ञान र विवेकको समग्र रूप नै बौद्धिकता भएको ठोकुवा गर्नुहुन्छ नकि अपरिचित मिथक र प्रतीकको प्रयोग तथा जटिलता । अस्तित्वमा सुन्दर कुरा थप्न नै आफूले कविता र गीत लेखिरहेको बताउने मञ्जिल भने कवितालाई अलोकप्रिय बनाउने काम कविबाट हुन नहुनेमा जोड दिन्छन्।

यसरी प्रश्नकर्ताले आफूले अत्यन्तै जितेका, मन–मुटु छामेका र आफूले तिनका रचनासहित पर्गेलेका साहित्यकारसँगको पुरानो सम्बन्धलाई उपयोग गरेर प्रस्तुत गरेको कृतिले गम्भीर लेखकलाई तान्छ नै, नवपाठकलाई पनि साहित्य ख्यालख्यालको क्षेत्र होइन रहेछ भन्ने सन्देश पक्कै दिन्छ । कृतिमा लामा ‘प्रश्न’ले लामै उत्तर पाएका छन् । अन्तर्वार्ता लिइएका लेखकहरूले आफूले पढेका धेरै साहित्यकार र कृतिको नाम लिएकाले पाठकलाई ‘प्रश्न’ ‘सन्दर्भ ग्रन्थ’ नै बन्ने ठोकुवा गर्न सकिन्छ । नारी लेखकहरूसँग त्यस्तै अनौपचारिक हिमचिम नभएकाले होला, कृति लैङ्गिक दृष्टिले एकपक्षीय हुनु स्वाभाविक छ । धेरै गम्भीर पाठक अधिकारीको वर्णविन्यासमा भने यति धेरै गल्ती क्षम्य हुन सक्दैन, किनभने एकै लेखकका नाम पनि विभिन्न पानामा फरक फरक लेखिएको छ भने चलनचल्तीमा आउने थुपै्र शब्द विकृत भएका छन् । कृतिको नाम र आवरणले भने पाठकको ध्यानाकर्षण गर्छ भने विश्वास लिन सकिन्छ ।

२०७८, ९ फाल्गुन सोमबार ०८:३९
कथालिका नयाँ कथा
  •  माटोको सहरः लोमान्थाङ

    माटोको सहरः लोमान्थाङ

    • म्याग्दी
    मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण…
  •  नयाँ पुस्तामा राखीको रेखा

    नयाँ पुस्तामा राखीको रेखा

    • म्याग्दी
    यो पर्वलाई फेसनका रुपमा मात्रै लिइदिनु हुँदैन, यसको महत्वका विषयमा जानकार हुनुपर्छ । पोखराका सडकमा…
कथालिका