मधेसमा नाम थरमै छ बिभेद – कथालिका

मधेसमा नाम थरमै छ बिभेद

जिल्लाको मलङ्गवा नगरपालिका-१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भयो । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थाले ।

सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन । जब उनको नामको साट्टा ‘मलङ्गवावाली’ भन्न थालिए पछि आफूलाई अनौठो लागेको उनी बताउछन् । “सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गर्थे । शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ”, उनले भने, “विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ ।”

मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मालादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ तर अहिलेसम्म उनको वास्तविक नामबाट कसैले चिन्दैन । ‘बरहथवावाली’ को नामबाट नै उनलाई सबैले चिन्ने गरेका छन् । “निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन”, नी थप्छन्, “बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिन्दछन् ।”

वर्षौंदेखि बरहथवावाली भनेर नै बोलाउँदा आफ्नो नाम बिर्से जस्तो लाग्ने गरेको उनको भनाई छ । सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मालादेवी गुप्ता लेखिन्छ । अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै हो । यसबाटै मेरो पहिचान भएको छ । “श्रीमानले समेत बरहथवावाली भनेर नै बोलाउने गरिन्छ”, उनले भने, “विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गरिन्छ । अहिलेसम्म मेरो श्रीमान्ले पनि मलाई नाम लिएर बोलाएको छैन ।”

सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन् । मधेसीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै माइतीको गाउँ ठाउँको नामबाटे बोलाउने परम्परागत प्रचलन छ । फलस्वरुप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन । विवाहित महिलालाई समाज र परिवारले वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन पुरानै हो ।

मुलुकी देवानी संहिता–२०७४ ले थर सम्बन्धी व्यवस्था गरेको छ । कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । त्यस्तै विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

मधेसमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान् र छोराको नामले बोलाउने गरिने एक किसिमको परम्परागत भेद भएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महरा बताउछिन् । मेरो कार्यालयको काम विशेषले मलाई बाहिरका व्यक्तिले मेरो वास्तविक नामले चिन्छन् तर, आफ्नै ससुराली घरको व्यक्ति र त्यहाँका समाजले मलाई ‘सीतापुरवाली’ भनेर नै चिनिने र बोलाउने गरेको उनको भनाइ छ । “आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौँ तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमानको नामले चिनिन्छ”, उनले भने, “समाजले महिलाको नामलाई मान्यता दिएको छैन ।” बाहिर आफ्नो कामले नाम थरको पहिचान भए पनि घरमै पहिचान नपाएको उनको गुनासो छ ।

आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उनको भनाई छ । नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्की बताउछिन्। “महिलाको पहिचानमै यहाँ विभेद भएको छ । आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरुले व्यक्त गर्न सकिराखेकोे छैन”, उनी भन्छिन् “पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन् ।”

पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाम मात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताइन् । विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमानको थरसँगै जोडिने गरेको छ । यो सबै महिला हिंसा र विभेदकै स्वरुप रहेको उनको भनाइ छ । महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको उनले बताइन्। गर्भमा छोरी छ भने कतिपयले भ्रुण हत्या नै गर्छ । कतिपयले त्यही अवस्थादेखि विभेद सुरु गर्ने गरेको अधिकारकर्मी कार्कीको भनाइ छ । गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने गरिन्छ । छोरी भए थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरु हुने गरेको छ ।

विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थाल्यो तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउन थालिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेत्री लक्ष्मीसिंह दनुवारले बताइन्। अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरिएको उनको भनाइ छ । समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको नेत्री सिंहले बताइन् ।

सेवा निवृत्त शिक्षक रजनीकान्त झाले परम्परागत रुपमा नै विवाहित महिलालाई उहाँको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा अपमानित गरेको भनाइ गलत भएको जिकिर गर्छिन् । “विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ”, उनले भने, “समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ ।” तर पनि पुरुष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिँदैन । जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौँ महिलालाई अस्तित्वविहीन बनाइन्छ ।”

२०७८, १३ फाल्गुन शुक्रबार ०९:२३
कथालिका नयाँ कथा
कथालिका