एक दृश्यले ओझेलमा परेको कला – कथालिका

एक दृश्यले ओझेलमा परेको कला

  • एक दृश्यकै कारण नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने जबरजस्त स्थापित गर्न खोजियो । र गीतले उठाएको अन्य यथार्थ विषयको विषयान्तर भइरहने जस्तो भयो । कला पक्ष छायामा प¥यो ।

‘संगीतले ब्रह्माण्डलाई आत्मा दिन्छ, दिमागलाई पखेटा दिन्छ, कल्पनालाई उडान दिन्छ र सारमा जीवनमा अनेकन अनुभूति दिन्छ’ प्लेटो भन्छन्,–‘गीत, संगीतले समग्रमा जीवन बोल्छ, देश बोल्छ ।’ हेनरी वाड्सवर्थ लङ्गफेलो त संगीतलाई मानवजातिको विश्वव्यापी भाषा भन्ठान्छन् ।

यसले नै बोध हुन्छ कि संगीतमा कति शक्ति र सामथ्र्य हुन्छ । अहिले सिंगो नेपाल एउटा गीतले तरंगित बनिरहेको छ । गायक तथा सर्जक प्रकाश सपुतको ‘पिर’ नामक गीतले वर्षौदेखि बेवास्ता गरिएका योद्धाहरुका कथा माथि फेरि एक पटक गम्भीर ढंगले बहस पैदा गरेको छ । यसले नेपालमा पनि समाज र देशसँग संगीतलाई जोड्न सके त्यसको प्रभाव र आयाम कति सम्म हुँदोरहेछ भन्ने बुझ्न सघाएको छ । र त गीत माथि राजनीतिक दलका शीर्षस्थ नेतादेखि नेपालको मेन स्ट्रिम मिडियाको समेत विशेष प्राथमिकताको विषय बनिरहेको छ ।

एक साताको त्यो माओवादी ‘थ्रेट’
माया पिरती, दुखान्त, बियोग, कुण्ठा, अधिक सतही र सस्ता (भाइरल)गीतहरुले संगीत बजार तातिने गरिरहेका बेला गम्भीर सामाजिक सवालहरुमा गीत तयार गर्नु सामान्य विषय होइन र हुन सक्दैन । त्यसमाथि सत्ताको बागडोर सम्हालिरहेको पार्टी र प्रवृत्ति लक्षित गर्दै १० वर्षे युद्धका सशक्त सारथी तर वर्तमानका बेवास्ता गरिएका निराश पात्रका बारेमा कथा भनिनु अझ चूनौतिको कुरा थियो ।

तर, गायक सपुतले कुनै मोलाहिजा नगरी बदलिँदो व्यवस्थामा योद्धा र आम नागरिकको अवस्था नबदलिएकोमा संगीत मार्फत गम्भीर प्रश्न तेस्र्याएँ । गीत सार्वजनिक भएको दिनमै माओवादी नेता, कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत सपुतलाई सिधा र घुमाउरो भाषामा ‘थ्रेट’ दिएकै थिए । तेस्रो दिनमा माओवादी सम्बद्ध पाँच जनसंगठनले त सामूहिक रुपमा ‘पिर’ गीत बिरुद्ध विज्ञप्ती नै जारी गरे । र गीत चुनावको सम्मुखमा माओवादीलाई कमजोर बनाउने सुनियोजित योजना अनुरुप आएको जिकिर सहित वाइसिएल, अखिल क्रान्तिकारीदेखि अनेम संघ क्रान्तिकारी लगायतले युट्युवबाट तत्काल हटाउन चेतावनी सहितको फर्मान जारी गरे ।

यस्तो चूनौति मोले बापत सर्जक सपुतले कति सकस बेहोरे होलान् ? सपुत भन्छन्, ‘सिर्जनाको विषय सही या गलत हो भन्ने द्धिविधा सिर्जना भइरह्यो । भावनात्मक विषयलाई हेर्दा आत्मसम्मानमा ठेस पुग्यो कि भन्ने भयो तर, आफूले जे सोच, जुन प्रतिकात्मक रुपले प्रयोग गरिएको हो, त्यो सोँच्दा सम्झिदा चाही मैले त त्यसरी प्रयोग गरिएको होइन नि त भन्ने भयो । त्यस बाहेक प्राप्त प्रतिक्रिया, यही विषयलाई राजनीतिकरण गरिदिँदा बिचको समय एकदमै डिस्टर्ब महुशुस भयो ।’ भलै माओवादी अध्यक्ष प्रचण्ड स्वंयम्ले धनगढी विमानस्थलमा गीतको बारेमा प्रतिक्रिया दिँदै धेरै उत्तेजित हुन आवश्यक नरहेको प्रतिक्रिया दिए पछि बिरोधका स्वर क्रमशः मत्थर हुँदै गयो । त्यसअघि तत्कालीन सशस्त्र युद्धका नेतृत्वकर्ता मध्येका एक डा.बाबुराम भट्टराइले ट्वीटर मार्फत गीतले यथार्थ कथा बोलेको र बिरोध गर्नु आवश्यक नरहेको उल्लेख गरे । जसले गीतको विषयलाई बल दियो ।

कलाको कोणबाट हेरिने सपुतको त्यो अपेक्षा 
सपुतले एक दृश्यकै कारण आफ्नो सिर्जनाको कला पक्ष ओझेलमा परेको बताइरहेका छन् । यसमा ‘पिर’ टिमको के अपेक्षा र विश्वास थियो ? जुनबारे खासै चर्चा भएन । सपुत भन्छन्, ‘जहिले हेर्दा पनि त्यही एउटा दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने जबरजस्त स्थापित गर्न खोजियो र गीतले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब,प्रभावले नभई स्वंयम् भिडियोको दृश्य सम्पादन गरेको हुँ । र नयाँ सम्पादित भिडियो रिअपलोड गरेको छु’ उनले भने ।

‘पिर’मा प्रतिकात्मक रुपमा अन्तिममा देह व्यापार गर्न बाध्य पात्रको दृश्य चित्रणले एकातर्फ अधिक पूर्व लडाकुको आत्मसम्मानमा चोट पुग्यो भने अर्को तर्फ गीत र भिडियोका कला सौन्दर्य पक्षलाई समेत छायामा पारिदियो । कला र संगीतमा लामो समयदेखि समर्पित गायक सर्जकहरुले समेत कलाको दायरालाई आफ्नो आस्था, विचार र स्वार्थसँग दाजेर निरुत्साहित गरेकोमा उनको दुखेसो छ ।
‘यो गीत र भिडियोबाट पूर्व लडाकुको कथा भने पछि उनीहरु र उनीहरु जस्तै पात्रहरुबाट धन्यवाद दिन्छन् होला भन्ठानेको थिए, जुन पात्र र कथा प्रति बेवास्ता थियो, त्यो कथा बेला बेला भनिदै आइएको पनि थियो, यति हो मैले केही भिन्न शैलीमा भने ।’ यसले अपेक्षित बहस र ध्यानाकर्षण गरायो पनि तर, केही पक्षले भिडियो कला प्रस्तुतिलाई विषयान्तर गर्ने चेष्टा गरेको उनको बुझाई छ । कलालाई अरु कुनै आस्था, रंगबाट नहेरी सर्जकको इमान्दार प्रयासलाई कलाकै कोणबाट हेरिनुपर्नेमा सपुतको जोड छ ।

अभिनयमा ‘अब्बल’ म्युजिक भिडियो
गायक तथा सर्जक प्रकाश सपुत बहुआयामिक क्षमता भएका कलाकार हुन् । उनले गायकका रुपमा भन्दा आफूलाई अब्बल निर्देशक र कलाकारका रुपमा स्थापित गर्दै आएका छन् । बोल मायाको हृदयविदारक कहानीको गीतको भिडियोमा होस् या गलबन्दी जस्तो रोमान्टिक गीतमा चञ्चले युवाको भूमिकामा होस्, उनले आफ्नो अभिनय क्षमतालाई पृथक रुपमा दर्शक माझ प्रस्तुत गरिसकेका छन् । त्यसको अर्को एक रुप वर्तमानको ‘पिर’ गीतको भिडियोमा पनि देख्न सकिन्छ ।

गीतमा गायक सर्जक सपुत सहित कलाकार सुरक्षा पन्त, लोकेन्द्र लेखक, पुष्प अवस्थी, केशु पुन, प्रवृष्टि विक, विशाल घिमिरेको अब्बल अभिनय छ । पोखरेली सर्जक प्रकट पंगेनी शिव ‘पिर’मा गीत र भिडियोको समिश्रण बेजोड रहेको बताउँछन् । ‘मलाइँ यो गीत हेर्दा नेपथ्यको रेशम बोलको गीतको भिडियो याद भयो, त्यस गीत र भिडियोमा फरक कथा छ । तर, दुवैको समिश्रणमा निकै गजबको लागेको थियो,’ चलचित्रमा समेत काम गरेको अनुभव सँगालेका पंगेनी भन्छन्, ‘पिर गीत र भिडियो कथा पनि फरक छ, समिश्रणमा हेर्दा कला पक्ष कतै फितलो लागेन, बिम्बहरुको यथेष्ट प्रयोग, अभिनय बेजोड लाग्यो ।’

सबै भन्दा सानी छोरीको पात्रको रुपमा निर्वाह गरेको भूमिकाले मन छोएको उनले बताए । ‘समग्र कथावस्तु, दृश्य, संवादले सोचमग्न बनायो,’ पंगेनीले भने, ‘भिडियोको अन्त्यमा छोरीले बाबा देश भनेको के हो भन्ने संवाद र नानीको अभिनयले मन छोयो, समग्र कला पक्ष अब्बल छ । मैले त बाबा देश भनेको के हो भन्ने विषयमा धारावाहिक कविता लेख्ने सोचिरहेको छु ।’

ऐतिहासिक पात्र निर्माण गरेर शारीरिक रुपमा देखिनु र मानसिक रुपमा तयार गर्नु चूनौतिपूर्ण भए पनि टिमको अथक मेहेनतले भिडियो समग्रमा उत्कृष्ट बनेको सपुत बताउछन् । पिर गीतको अडियोमा खास आपत्ति थिएन पनि । भिडियोको एक दृश्यमै विवाद केन्द्रित भयो । ‘६ वर्षीय प्रवृष्टिलाई मेकअपमा मात्र होइन, मानसिक रुपमा पनि तयार गर्न कठिन थियो, स्वयम् म र सुरक्षा जी पनि त्यसबेलाको समयमा फर्किएर अभिनय पस्कनु पर्ने थिए,’ उनले भने, ‘३,४ दिन लगाएर छांयाकन ग¥यौ, लोकेशनहरु पनि उसैगरी खोज्यौ, भिडियोमा दर्जनौ बिम्बहरुको प्रयोग पनि गरेका छौ ।’ आदर्श, निष्ठा, बिचलन, प्रेम हुँदा हुँदै फस्टे«शन, व्यवस्था बदलिए पनि अवस्था नबदलेका अनेकन विषय, शिक्षामा देखिएका असमानता, मित्रता, अभाव, बेरोजगार लगायतका अनेकन विषय उठान गरिएको छ ।

युद्धमा घाइते पुरुष लडाकुको अभिनय गरेका गायक स्वंयम् प्रकाश सपुतको अभिनय जिवन्त छ । उनी स्वयम् आफू र आफ्नो टिमको अभिनयमा निकै सन्तोष मिलेको जिकिर गर्छन् । ‘कथा अनुसार जो जसले जेजे भूमिका निर्वाह गरेका छन्, कला र अभिनयका हिसाबले पनि भिडियो उत्कृष्ट बनेको महुशुस गरेको थियौ,’ भिडियोका क्रियटिभ निर्देशक गायक देबेन्द्र बब्लु भन्छन्, ‘यो पाटो पूर्णतः ओझेलमा परेकोमा हामीलाई केही नमज्जा लागेको हो ।’

सिर्जना प्रस्तुति कि बुझाइको दायरा फराकिलो बनाउने ?
कुनै सामाजिक मुद्धामा संगीत मार्फत गम्भीर प्रश्न गर्दा गीत हटाउने निरन्तरतामा नेपालमा दोस्रो सिकार भएको छ ‘पिर’ । सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड बढी पटक हेरिएको भिडियो हटाउदाको पीडा अधिक भएको सपुत बताउछन् । यसले भोलिको संगीत सिर्जनामा कस्तो समस्या ल्याउला ? सपुत भन्छन्, ‘यसले सिर्जनाको स्वतन्त्र दायरामा गलत नजिर बसाएको छ । जसले गर्दा अब हरेक सर्जक आफै भित्रको आफ से आफ डरले पहिले जस्तो स्वतन्त्र रुपमा सिर्जना गर्न नसक्ने अवस्थामा पुग्न सक्छन्, अब सिर्जना गर्दा प्रश्न गरु कि नगरु ? भनेर सेल्फसेन्सरसीप को अवस्था आउन सक्छ । यो स्वतन्त्र सिर्जनाका लागि दुःखद विषय हो ।’

लेखक विश्लेषक आहुती पनि स्वतन्त्र सिर्जना माथिका लगाम गम्भीर आपत्तिको विषय भएको बताउछन् । ‘आजको अभिव्यक्ति स्वतन्त्रता आफूले लडेर ल्याएको बताउने पार्टीका नेता–कार्यकर्ताले एउटा गीत कुन नैतिक मूल्यमान्यतामा टेकेर बन्द गर्नुपर्छ, कला सृजना गरेबापत माफी माग्नुपर्छ, कारबाही गर्नुपर्छ भनेका हुन् ? यो त लाजमर्दो कुरा हो,’ उनले भने ।

तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह,समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको सपुत स्वीकार्छन् । सिर्जना गर्दा अझै धेरै अध्ययन र गीत सार्वजनिक पछिको बिश्लेषण समेत गर्न प्रेरित गरेको उनको कथन छ । यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने ? नेपालमा यो बहस हुन जरुरी भएको उनी बताउछन् । आफ्नो गीतको भिडियोमा भएका पात्र र दृश्यलाई प्रतिकात्मक र कलाका हिसाबले नहेरिनु दुखद भएको सपुतको भनाई छ ।

कलालाई कलाको कोणबाट हेर्ने प्रयास नगरी लाञ्छना आउन थाले पछि १ करोड बढी हेरिएको भिडियो अर्काइभको रुपमा राख्न सपुत बाध्य भएका छन् । दर्शक स्रोताको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई मनन गर्दै दृश्य सम्पादन गरिए पनि सिर्जनाको स्वतन्त्रता र दायराका बारेमा नेपाली समाजमा स्वच्छ मन्थन हुनुपर्ने उनी बताउछन् ।

सपुतको दुई स्वीकारोक्ति
गायक सपुतले गीतको म्युजिक भिडियोमा दुई कुराको कमजोरी स्वीकार गर्छन् । पहिलो त गीतको अडियोलाई भन्दा भिडियोको एक दृश्य जहाँ तत्कालीन समयको सशस्त्र युद्धमा होमिएका पूर्व लडाकु जीविकाको अनेक विकल्पबाट पनि सफल नभए पछि बाध्यात्मक रुपमा देह व्यापारमा होमिएको छ । त्यो दृश्यले एक पक्षको भावना र आत्मसम्मानमा चोट पुग्यो । जुन कुराको उनले तत्काल महुशुस गरेर फेसबुक मार्फत आत्मआलोचना पनि गरे । त्यतिमा मात्र सीमित रहेनन् उनी र माओवादी सम्बद्ध जनसंगठनको माग अनुसार १ करोड बढी पटक हेरिएको म्युजिक भिडियो टे«ण्डिङ १ मा कायम रहँदा रहँदै हटाए । गीतको म्युजिक भिडियोको विवादित दृश्य सम्पादन गरेर नयाँ भिडियो राखे । यद्यपि, सम्पादित भिडियो पनि अहिले फेरि युट्युवको टे«ण्डिङ २ मा आइपुगेको छ ।

दोस्रो गीतमा परिवर्तनको आन्दोलन र अभियानमा पूँजीवाद हावी भए जस्तै गीतमा पनि बिज्ञापन बजार हावी देखिएको छ । खासगरी शिवम् सिमेन्टको विज्ञापन ट्याक्सीदेखि सटर, बोतल, गिलास लगायतमा क्षण क्षणमा देखिन्छ । पत्रकार युनिस गुरुङ लेख्छन्,–‘सुन्दर सृजना तर कथामा कम्युनिष्ट आन्दोलन माथि जसरी पुँजीवादले कब्जा गरेको देखाएको छ, त्यसरी नै सिर्जनामा पनि पुँजीवाद हावी भएको देखियो । चरित्र निर्माण गर्न ठेलीका ठेली कम्युनिष्ट पुस्तक सजेसनमा राखेपनि पटक पटक आउने शिवम् सिमेन्ट र प्रभु बैँकको विज्ञापनले ध्यान भङ्ग गर्यो । पात्रमा घुस्नै सकिनँ । यही कारण सृजनाको ज्याबलमा खिया नलागोस् ।’ कलाकार सपुत पनि भिडियो सार्वजनिक पछि आफैले हेर्दा बिज्ञापन केही बढी भयो कि भन्ने लागिरहेको बताउछन् । श्रोता दर्शकबाट आएका सबै प्रतिक्रिया हेरिरहेको र यसले भोलिका दिनमा अघि बढ्न थप सहज हुने उनले बताए ।

नेपाली संगीतमै सपुतका नाममा अनेक रेकर्ड
गायक सपुत नेपाली संगीतमा पृथक आयाम दिने कलाकारको रुपमा स्थापित भइसकेका छन् । यसअघिका सिर्जनाहरुले पनि अधिक दर्शक स्रोताको मन जितिसकेका सपुतका गीतहरुले अनेकन रेकर्ड कायम गर्न सफल छन् ।

सर्वाधिक लाइक र कमेन्ट सहित १७ दिनमा गलबन्दी, १५ दिनमा कुरा बुझ्नपर्छ र ७ दिनमा ३ पिर करोड़ क्लबमा प्रवेश गरेको छ । एउटा सर्जक र उसको टिम, समग्र व्यावसायिक संगित बजारका लागि यो एक अपार सफलता भएको सपुत बताउछन् । तर, आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस् भनेर आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको उनको जिकिर छ । आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको बताउने सपुतले पछिल्लो पिर गीतले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताए ।

२०७८, ६ चैत्र आईतवार ०९:००
कथालिका नयाँ कथा
कथालिका