उत्कृष्ट उद्यमीः जसलाई पहिले ऋण पत्याइएको थिएन – कथालिका

उत्कृष्ट उद्यमीः जसलाई पहिले ऋण पत्याइएको थिएन

  • पहिले यस्तो किरासिरा पालेर पनि जीवन चल्छ ? केही खेतीपाती गरे पो खान लाउन हुन्छ, तिमीहरु यही चालले फेरि जोगी बन्छौ भन्थे, अहिले त्यसो भन्ने उनै मान्छेहरु मौरीबाट पनि यस्तो राम्रो हुँदोरहेछ, हामी पनि गर्न चाहन्छौ, सिकाइ दिनुस् न भनेर भन्छन्, खुसी लाग्छ ।

नेपाली समाजको सुखद भनौ या दुखद र बिडम्बनापूर्ण पक्ष भनौ । आफ्नो देश, घर गाउँमै कसैले केही गर्न ऋण सापटी माग्यो भने सायदै पत्याइन्छ । अझ गरिब, विपन्न असहाय अवस्थाका परिवारका लागि त यो ‘आकाशको फल’ बन्छ । तर, तीनै परिवारका कुनै सदस्य विदेश जान लागे भने धेरथोर ऋण सहजै दिइन्छ । यस्तो लाग्छ कि समाज पनि परदेशको भरोसा र मनोविज्ञानमा बाँचिरहेको छ । र घुमाउरो हिसाबले गाउँबाट युवा जनशक्ति विदेश पठाउन उद्दत छ ।

यसको एक ज्वलन्त उदाहरणीय पात्र हुन् बागलुङ गलकोटकी २७ वर्षीया प्रेमकुमारी पुन । मौरी पालन व्यवसाय उनको उद्यम । जो यसै साता गलकोट नगरपालिकाले पालिका स्तरमा उद्यमीहरु बिचको प्रतिस्पर्धामा ८४ जनालाई उछिन्दै सर्वोत्कृष्ट बनेकी छिन् । चरणबद्ध छनोटबाट छानिएका अन्तिम १० उद्यमीबाट पहिलो नम्बरमा रहँदै प्रेमकुमारीले पालिकाबाट नगद १ लाख पुरस्कार हात पारेकी छिन् ।

आर्थिक अवस्था निकै कमजोर भएका प्रेमकुमारीलाई ६ वर्ष अघि गाउँमै केही गर्छु भन्दा कसैले ऋण पत्याएनन् । विदेश जाने सोच र निर्णय पश्चात भने तीनै छिमेकीहरुले ऋण दिए । र तीन वर्ष विदेशको अनेकन नमिठा अनुभव सँगालेर प्रेमकुमारी स्वदेश फिरिन् ।

मौरी पालन व्यवसायको सुरुवात
गलकोट नगरपालिका–११ रिघाकी प्रेमकुमारीको २०७२ सालमा बाढी पहिरोले घर बगाइदियो । घरबास बगाए पछि सिंगो परिवार नै विस्थापित भए । अनि सुरक्षित आवास खोज्ने क्रममा गलकोट नगरपालिका १० को पाण्डवखानी पुगे । जहाँ आफ्नो जग्गा त थिएन, लिजमै लिएर कैयन वर्ष बिताए । प्रेमकुमारीका बुबा यामबहादुर पुनले त्यहीँ बसिबियालो गर्दै गर्दा दुई घारबाट मौरीपालन थालेका थिए । त्यही बस्दा बस्दै यामबहादुरले १५ घार पु¥याएँ । प्रेमकुमारी भने परिवारको ऋण र जीविकाका लागि मात्रै पनि धन कमाउनु पर्ने बाध्यताले घर बगाउनकै साल विदेश पुगिन् । तीन वर्षको बैदेशिक रोजगार पश्चात उनी २०७५ सालमा घर फर्किइन् । लगत्तै बुबाले परम्परागत रुपमा अघि बढाएको मौरी पालनलाई विदेशबाट कमाएको २५ हजार रुपैयाँ लगानी सहित व्यावसायिक रुपमा अघि बढाइन् । यामबहादुरले १५ घार बनाएको मौरी पालनलाई प्रेमकुमारीले वर्षेनी थप विस्तार गर्दै लगिन् । २०७५ सालमा १५ घार, ०७६ सालमा ३० घार बनाए । यसरी बढाउँदै जाँदा अहिले १ सय ४५ घार पुगेको उनको भनाइ छ ।

जीविका सकसले निम्त्याएको व्यावसायिक सोच
पाण्डवखानीमा बस्ने क्रममा ६० घार बनाए पछि फेरि त्यसलाई लिएर गलकोट नगरपालिका–९ को छिस बसाइँ सरे । जहाँ जग्गा किनेरै व्यवसाय अघि बढाएको प्रेमकुमारी बताउँछन् । बाढीले उठिबास लगाए पछि बल्लतल्ल वैकल्पिक बास त भयो तर, गास ? संघर्षको कठिन समय सम्झदै पुन भन्छिन्,–‘यही चिन्ता र समस्याले विकल्पको रुपमा मौरीपालन व्यवसायका रुपमा अघि बढाउने निर्णयमा पुगे ।’
जीविका र नियमित आयआर्जनको आशा र सपना बोकेर टीका व्यावसायिक माहुरी पालन फर्म दर्ता गरेरै मौरी पालनलाई थप व्यवस्थित र विस्तार गरेको प्रेमकुमारी बताउँछिन् । कक्षा ९ सम्म मात्र पढेकी उनले अहिले १ सय ४५ घर पु¥याइसकेकी छिन् । ‘आर्थिक समस्याले गर्दा केही न केही गर्नै पर्ने बाध्यतामा थियौ, मौरीपालन कम थियो, यद्यपि गाउँमा महको माग अधिक थियो,’ उनी भन्छिन्, ‘पहिले काठे घार थियो, पछि आधुनिक घार थप्दै लग्यौ, आर्थिक अवस्था धेरै कमजोर भएकाले कसरी जीविका चलाउने भन्ने सोँच्दा र काम गर्दै जाँदा अहिलेको अवस्थामा आइपुग्यौ ।’

प्रेमकुमारी एक लाख ऋण खोजेर साउदी पुगिन्
प्रेमकुमारी परिवारको जीविका र भविष्यको सुन्दर सपना बोकेर परदेश पनि पुगिन् । जसरी जान्छन् दैनिक हजारौ युवायुवतीहरु आफ्नो र परिवारको जीविका र खुसीका लागि परदेश, त्यसरी नै । २०७२ सालमा प्रेमकुमारी विदेश मोहले साउदी हानिइन् ।

साउदीको गर्मीमा असिनपसिन कठिन काम गर्दै तीन वर्ष व्यतित गरे । दुर्भाग्य भन्नुपर्छ, जतिबेला उनी परदेश पसे, त्यही साल उनको घर बाढीले बगायो । बाआमा विस्थापित जीवन बिताउन विवश बने । तर, उनी भर्खर विदेश पुगेकाले मन भतभती पोलिरहे पनि ऋणधन गरेर विदेशिएकाले यतिकै फर्कन सकेनन् । बेवारिसे बनेका बाआमालाई फोनबाट सम्झाउँदै आफू पनि सम्हालिँदै तीन वर्ष बल्लतल्ल काटिन् ।

‘घरमा केही गर्छु भन्दा दिन्थेनन् । तर, विदेश जान्छु भन्दा जति पनि ऋण दिने चलन छ । २०, ३० हजार दिन नमान्ने मान्छेले विदेश जान्छु भने पछि १२, १५ लाख पनि दिन्छन्,’ प्रेमकुमारी विगत सम्झिँदै भन्छिन्, ‘मेरो परिवारको आर्थिक अवस्था नाजुक भएर पनि होला, यही केही गर्न खोज्दा कसैले ऋण दिने अवस्था रहेन, अनि विदेश जाने निर्णय गरे पछि भने एक लाख रुपैयाँ ऋण खोजेरै गए ।’ देशमै केही गर्नेलाई ऋण दिने सोचको विकास कहिले होला भन्ने कुराले आफूलाई निकै चिन्ता लाग्ने गरेको उनले बताइन् । विदेशमा काम कडा र कमाई कम भए पनि जबरजस्त गर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । तीन वर्षको साउदी अरबको बसाइँ दुःख, पीडा, अपमान, सकस लगायतका कारण बिर्सन लायक समय भएको उनी बताउँछिन् ।

महबाट मनग्गे आम्दानी
विदेशबाट पुगे पछि कति कमाई गर्नुभयो त ? प्रेमकुमारी केही गम्भीर देखिइन् । र भनिन्, ‘पैसा त दिन रात काम गरेर केही कमाए, ऋण तिर्दा, रोगी बाआमाको उपचार गर्दा ठिक्क भयो । सबै ऋण तिरे पछि नेपाल आउँदा ८०,९० हजार थियो । २५ हजार मौरीलाई खर्च गरे । अरु घर व्यवहार चलाउनु पर्ने थियो ।’

अनि अहिलेको आम्दानी के कस्तो छ त ? उनको पछिल्लो मौरी पालन व्यवसायको बेली विस्तारकै क्रममा प्रेमकुमारीले थपिन्, ‘मौसमले साथ दिदाँ आम्दानी राम्रो छ, गाउँमै माग अधिक छ, माग अनुसार पु¥याउनै सकेको छैन ।’ अहिले उत्पादित मह प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री गरिरहेको उनी बताउछिन् । उनका अनुसार कात्तिक, मंसिर र पुस महिनामा मह उत्पादन राम्रो हुन्छ । यो समय, मौसम, स्थान विशेष फरक हुन्छ । ‘मौसम राम्रो हुँदा वर्षमा २ पटक, नत्र १ पटक मात्र मह झिकिन्छ, प्रति घार ८ देखि १० केजी मह आउँछ, गत वर्ष डेढ दुई क्वीन्टल मह उत्पादन गरेर बिक्री ग¥यौ । यसबाट राम्रै आम्दानी गर्न सफल भएका थियौ ।’

ठाउँ ठाउँ बसाइँ सर्नु पर्दा र बेमौसम झरीले मह उत्पादनमा केही असर गरेको उनको कथन छ । मौरी पालन व्यवसाय फस्टाउँदै जान थाले पछि प्रेमकुमारीले उनका दिदी विन्दु र भिनाजु रेशम पुनलाई समेत सोही व्यवसायमा जोडेका छन् । ‘उहाँहरु होटल व्यवसाय गर्नुहुन्थ्यो, कोरोनाका कारण होटल व्यवसायमा ठूलो असर परे पछि समस्या भइरहेको थियो,’ उनले भनिन्, ‘मौरी पालनमा त कोरोना जस्ता कारणले असर पनि नगर्ने, यसलाई नै दुई ठाउँमा छुट्याए अझ विस्तार र व्यवस्थित रुपमा गरौं भन्ने सोचले काम गरिरहेका छौ ।’

किरो पालेर पनि हुन्छ भन्ने समाजले आहा भन्न थाल्यो
भनिन्छ नि संघर्षमा मानिस एक्लै हुन्छ, सफलतामा मात्र दुनियाँ हुन्छ । यो प्रेमकुमारीले गहिरो सँग अनुभव गरेकी छिन् । पहिले हेयको नजरले हेर्ने समाजमा अहिले सफलता हासिल गर्न थाले पछि उनलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा उल्लेख्य बदलाव आएको प्रेमकुमारी बताउँछिन् ।

‘म त दैनिक जीविका निर्वाह सहज होस् भन्ने मात्र थियो, आजको अवस्था सम्म आइपुग्छु भन्ने सोचेकै थिएन । दायित्व भन्ने संस्थामा आवद्ध भए पछि त्यहाँ काम गर्नेहरुबाट थप प्रोत्साहित भए, नगरपालिकाले पालिकामै उत्कृष्ट भनेर सम्मान गरिदियो,’ उनले भनिन्, ‘पहिले यस्तो किरासिरा पालेर पनि जीवन चल्छ ? केही खेतीपाती गरे पो खान लाउन हुन्छ, तिमीहरु यही चालले फेरि जोगी बन्छौ भन्थे, अहिले त्यसो भन्ने उनै मान्छेहरु मौरीबाट पनि यस्तो राम्रो हुँदोरहेछ, हामी पनि गर्न चाहन्छौ, सिकाइ दिनुस् न भनेर भन्छन्, खुसी लाग्छ ।’

२ सय घार बनाउने लक्ष्य
मौरी पालन तुलनात्मक रुपमा सजिलो व्यवसाय हो । यद्यपि, यसमा पनि नियमित हेरचाह जरुरी रहेको प्रेमकुमारी बताउँछिन् । मौसम अनुसार पनि हुन्छ । मौसम राम्रो हुँदा मौरी पालन सजिलै हुन्छ । मौसम खराब हुँदा चाही समस्या हुन सक्छ । ‘अरु बेला त चर्न जान्छ । रस, कुतहरु आफै ल्याउँछ । मौसम खराब हुँदा चिनी तताएर चास्नी दिनुपर्छ, घारमा मह मात्र होइन, मौरी संख्या बढाउन पनि चास्नी दिनुपर्ने हुन्छ,’ उनले थपे, ‘मौरीले नै सिंगो परिवारको जीविका चलाइ दिएको हुनाले अहिले त पुरै ध्यान मौरीकै रेखदेमा मात्र जान्छ, बाह्य कुरा र काम भन्दा पनि हामी यसमै व्यस्त हुने गरेका छौ ।’

आगामी दिनमा मौरी पालन अझ विस्तार गर्दै २ सय घार पु¥याउने लक्ष्य उनको छ । यसका साथै गाउँका अरु दिदी बहिनीलाई पनि यस्तै उत्पादनशील कर्ममा लाग्न प्रेरित गर्न सघाउने सोच रहेको प्रेम कुमारी बताउँछिन् ।

विदेश जाने मोह अझै छ कि ? ‘अब जाँदिन, अरुलाई पनि नजान भूमिका खेल्छु । गलकोट नगरपालिका र दायित्व संस्थाको अहिलेको यो कार्यक्रम र सम्मानले कति हो कति उत्साह मिलेको छ, म आफू पनि थप केही गर्छु र अरुलाई पनि गर्न प्रेरित गर्नेछु,’ प्रेमकुमारी भन्छिन् । विदेशको पसिनाको मूल्य केबल पैसा सँग मात्र सरोकार राख्ने उनी बताउँछिन् । तर, स्वदेशमा आफ्नै घर गाउँमा मेहेनत गर्दाको मूल्य, आत्मसम्मान, पारिवारिक, समाजको अपनत्व भाव विदेशमा पाउनै नसकिने उनको भनाइ छ । अब उत्पादनशील कर्मबाटै आफ्नो गाउँ, ठाउँ र देशलाई चिनाउन सक्दो कोशिस गर्ने उनको प्रतिवद्धता छ । अहिलेको यो कार्यक्रम र सम्मानले कति हो कति उत्साह मिलेको छ, म आफू पनि थप केही गर्छु र अरुलाई पनि गर्न प्रेरित गर्नेछु ।

र यसरी बनिन् उत्कृष्ट महिला उद्यमी
गलकोट नगरपालिकाले दायित्व संस्थासँगको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम ग¥यो । यसमा अनुदानका लागि आवेदन माग गरियो । जस अनुसार, नगर क्षेत्र भित्रका ८५ जना सहभागी भए ।

यसबाट निर्धारित मापदण्डका आधारमा पहिलो चरणमा ८५ जना सहभागि मध्ये दोस्रो चरणमा ४० जना, तेस्रो चरणमा २० जना, चौथो तथा फाइनल चरणमा उत्कृष्ट १० जना छानियो । जसमा टीका व्यावसायिक माहुरी पालन पालन फर्मकी प्रेमकुमारी पुन सहित मेलमिलाप एकीकृत कृषक समुह गलकोट–१ की सुमित्रा कार्की, तोरीखोला होमस्टे डाँडागाउँ तोरीखोलाकी सीता पुन मगर, कृषि तथा पशुपंक्षी फर्म गलकोट–२ की कुमारी कार्की, न्यू लुक्स व्युटि पार्लर एण्ड प्रिन्टिङ सप गलकोट–३ की विनिता गलामी खत्री, काउचा एकीकृत कृषि तथा पशुपंक्षी फार्म, सविना फेन्सी तथा कस्मेटिक्स स्टोर्स स्टोर्स गलकोट–५ की सबिना घर्तीमगर, गलकोट कृषि तथा पशुपालन फार्म गलकोट–६ की धनमाया श्रीसमगर, टीका व्यवसायिक माहुरी पालन फार्म गलकोट–९ की प्रेमकुमारी पुन, सिजल लघुउद्यम गलकोट १० पाण्डवखानीकी करिना घर्ती पुन, सुनौलो बिहानी कृषि तथा पशुपंक्षी फार्म गलकोट–१० की तेजकुमारी पुन, र सिद्ध फार्म अग्र्यानिक कृषि फार्म गलकोट–१० की थममाया पुन काउचा उत्कृष्ट १० मा थिइन् ।

यसबाट उद्यमीको योजना, अठोट, सोंच, संघर्ष, उद्यममा नयाँपन, स्रोत विनियोजन, बजार सम्भाव्यता, उद्यम वृद्धिका लागि अर्थतन्त्रमा जोडिने आधार, सामाजिक प्रभाव लगायतका आधारमा प्रेमकुमारी सर्वोत्कृष्ट बन्न सफल भइन् । उनले पहिलो हुँदै एक लाख पुरस्कार प्राप्त गरिन् भने उत्कृष्ट १० भित्र परेका सबैलाई गलकोट नगरपालिकाले प्रोत्साहन स्वरुप नगद ५० हजारका दरले प्रदान गरेको छ । उत्कृष्ट २० मा परेर बाहिरिएका १० जनालाई पनि नगद २० हजारका दरले प्रोत्साहन रकम प्रदान गरियो ।

नगर उपप्रमुखः जसको पहलमा उद्यममा उभारको आशा
महिलालाई उद्यम र प्रतिस्पर्धी सोचको विकास गर्न यस्तो कार्यक्रम ल्याइएको गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचाले बताइन् । महिलाहरुले गरिरहेको उद्यम क्षेत्रको सत्कर्म, सप्रत्यासलाई आम रुपमा बाहिर ल्याउन र नयाँ उद्यमीहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने अभिप्रायले कार्यक्रम गर्दा सुरुवातमा बुझाउनै समस्या भए पनि अहिले सफल भएको उनी बताउँछिन् ।

‘सुरुवातमा त मेयर सापदेखि कर्मचारीलाई पनि यो सोच, अवधारणा बुझाउन कठिन भयो, लामो समय सम्म पनि बुझाई कायम नभए पछि महिलाको क्षेत्रमा बजेट कार्यक्रम नै गर्न किन यस्तो कन्जुस्याई ? भनेर अलि कडाईका साथ प्रस्तुत भए पछि उहाँहरु पनि यो कार्यक्रमका लागि तयार हुनुभयो,’ नगर उपप्रमुख काउचा भन्छिन्, ‘काठमाडौंको एक कार्यक्रममा सहभागि भए पछि आफ्नो ठाउँमा अलि फरक, उत्पानदशील, उपलब्धिमूलक, दीर्घकालीन कार्यक्रम के हुनसक्छ भन्ने छलफलबाट यस्तो सोच आएको हो, अहिले यसले पालिकाभरमै उद्यममा एक किसिमको आकर्षण र उभार देखिएको छ, यसमा हामी खुसी छौ ।’ गाउँका महिला दिदी बहिनीहरुलाई उद्यमसंग जोड्न सकेमा विदेश पलायन रोकिने मात्र होइन, आफ्नो पालिकालाई राम्रो पालिका बनाउन पनि उल्लेख्य टेवा पुग्ने उनले बताइन् ।

उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रमका लागि गलकोट नगरपालिकाले २० लाख रुपैयाँ विनीयोजन गरेको थियो । २० लाखसहित महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न थप ८ लाख रुपैयाँ खर्च गरी २८ लाख रुपैयाँ कार्यक्रममा खर्च भएको काउचाले बताइन् ।

२०७८, २५ चैत्र शुक्रबार ०८:२४
कथालिका नयाँ कथा
कथालिका