स्थानीय चुनावः सुरुवाती पन्ध्र विकृत दृश्य – कथालिका

स्थानीय चुनावः सुरुवाती पन्ध्र विकृत दृश्य

नेपालमा ६० को दशक पछि पुरानो व्यवस्था बदलियो । र उन्नत भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भयो । यससँगै समाज र देश बदलिने आम आशा, अपेक्षा बढ्यो । तर, देशमा व्यवस्था बदलिए पछि अवस्था, पात्र र प्रवृत्तिमा उल्लेख्य परिवर्तन आउन सकिरहेको छैन ।
यसको पछिल्लो उदाहरण आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको ४८ घण्टा मात्रै हेरे पुग्छ ।

दृश्य–१
सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच सोमवार झडप भयो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख बन्न मेयरबाट राजीनामा दिएका अमानसिंह तामाङले पनि टिकट पाएनन् । मेयरमा उठ्न तयार उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । चौतारा साँगाचोकगढीको मेयरको टिकट माओवादीले कृष्णप्रसाद सापकोटालाई दिएको छ । विवाद बढेपछि उम्मेदवारी दर्ता गर्न जाने र अर्को पक्षका माओवादी कार्यकर्ताबीच झडप भयो ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि परिस्थिति जटिलता उन्मुख भए पछि केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरियो ।

दृश्य–२
एक नेता एकै दिन विहान कुनै पार्टी प्रवेश गर्छ, दिउँसो टिकट लिएर अध्यक्षमा उम्मेदवारी दिन्छ । नेपाली कांग्रेसबाट निर्वाचित नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्रसिंह तामाङले एमालेबाट दिउँसो अध्यक्षको टिकट ल्याएर पुनः अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले अध्यक्षमा तामाङलाई पुनः टिकट नदिने भएपछि सोमवार विहान काठमाडौं पुगेर उनी हतार हतार एमाले प्रवेश गरेका थिए । काठमाडौं गएर एमाले प्रवेश गरेका तामाङले हेलिकोप्टरमा गाउँ फर्किएर मनोनयन दर्ता गराएका हुन् ।

तामाङसँगै दुप्चेश्वर– १ का निवर्तमान अध्यक्ष सुनबहादुर तामाङ पनि सोमबार नै एमाले प्रवेश गरेर वडाध्यक्षको उम्मेदवार भएका छन् । एमालेले आइतबार दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा सुरज शेर्पा र उपाध्यक्षमा सरस्वती थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो तर, कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष नै पार्टीमा आउने भएपछि शेर्पालाई पछि हटाएर एमालेले तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको हो । उपाध्यक्षमा भने थापालाई उम्मेदवार बनाएको छ ।

दृश्य–३
मनोनयनकै दिन नेकपा एमाले त्यागेका ललितपुरमा महानगरपालिका– १८ का निवर्तमान वडाध्यक्ष पुरुषोत्तम खड्काले नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारको टिकट पाए । पार्टीले पुनः वडामा उठ्न टिकट नदिने भए पछि उनले पार्टी परित्याग मात्र गरेनन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट खादा र टीका लगाएर पार्टी प्रवेशसँगै वडा अध्यक्षको टिकट पनि पाएका छन् । खड्कालाई वडामा पुनः उम्मेदवार बनाउने सर्तमा पार्टीमा प्रवेश गराएको थियो ।

जसको टिकट खोसियो
दृश्य–४
नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरमा टिकट पाएका दीपक पौडेल अन्ततः चुनावको रेशबाट बाहिरिएका छन् । उनले टिकट पाए लगत्तै सुनचोरी प्रकरणमा मुछिएका विवादास्पद पात्रलाई टिकट दिएको भन्दै चौतर्फी आलोचना भए पछि एमालेको उच्च नेतृत्वले अर्का नेता कृष्ण थापालाई टिकट दिएको छ । पौडेलले पोखराको एक सुन पसलबाट सुनको सिक्री चोरेको भिडियो सार्वजनिक भएको थियो । यद्यपि उनले आफ्नै पार्टीका केही षड्यन्त्रकारीले दूराग्रह राखेर चरित्र हत्या गर्न खोजेको दावी गरेका छन् ।

दृश्य–५
नेपाली काँग्रेसको तर्फबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटिए । कुटिएनन् मात्रै उनले पाएको पालिका अध्यक्षको टिकट पनि खोसियो ।
काँग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गरेको पत्रसहित खोटाङ पुगेका पोखरेललाई काँग्रेस कार्यकर्ताले कुटपिट गरेपछि प्रहरीले बल्लतल्ल जोगाएको थियो । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
पार्टीमा नवप्रवेशी रहेका पोखरेलले पैसा र शक्तिका भरमा टिकट लिएर स्थानीय स्तरमा निष्ठापूर्वक लागेका नेता, कार्यकर्ताको अपमान गरेको भन्दै आक्रोशित कार्यकर्ता आक्रमणमा उत्रिएका हुन् ।

दृश्य–६
गोरखा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट विश्वदेव श्रेष्ठले पाए । आइतबार साँझ गण्डकी प्रदेश समितिले श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, उक्त निर्णय प्रति असन्तुष्टी जनाउँदै जिल्लाका केही कार्यकर्ताहरुले पार्टी कार्यालयको मूल गेटमा ताला लगाए । नगर समिति कार्यालयमा धर्ना समेत दिए । आक्रोशित कार्यकर्ता मेयर टिकट लिएका श्रेष्ठ विरुद्ध आक्रमणमा समेत उत्रिए ।
बिरोध, आक्रोश र असन्तुष्टि बढ्दै गए पछि श्रेष्ठको टिकट खोसेर कांग्रेस केन्द्रीय समितिले हालका मेयर राजनराज पन्तलाई नै टिकट दिएको थियो ।

दृश्य–७
कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवारलाई मनोनयन गर्न रोक लगाए । बिहानैदेखि निरन्तर नाराबाजी गर्दै बाटो रोकेका कारण गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गर्न पुगेका आनन्द सुवेदीलाई रोकेका हुन् ।

स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरियो र सुवेदीलाई हटाएर अध्यक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय आयो । रुपामा नेकपा एमालेबाट भने हालकै जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।

दृश्य–८
इलाम नगरपालिकामा पनि एमालले सुरुमा नरेन्द्रनाथ भट्टराईलाई मेयरको टिकट दिएको थियो । तर, असुन्तष्ट समूहले पार्टी कार्यालयमै तालाबन्दी गरेर विरोध जनाएका थिए । त्यसपछि भट्टराईको टिकट खोसेर धीरेन चेमजोङलाई उम्मेदवार बनाइएको छ ।

दृश्य–९
कांग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा केशवराज पाण्डेलाई प्रदेश समितिले एकल सिफारिस गरे पनि अन्तिममा उनको टिकट खोसिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको चासोमा पाण्डेको टिकट खोसेर केन्द्रीय संसदीय बोर्डबाट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।

दृश्य–१०
पोखरामै कांग्रेसले तल्लो कमिटीबाट सर्वसम्मत उम्मेदवार अगाडि सारिएका सुरेन्द्रमान बिजुक्छे टिकट पाउनेमा ढुक्क थिए । तर, अन्तिम समयमा उनको सट्टा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा उपमेयरमा कोपिला रानाभाटले टिकट पाइन् ।

जसले राजीनामा दिए पनि टिकट पाएनन्

दृश्य–११

मेयरमा लड्ने उद्घोषका साथ प्रदेशका एक मन्त्रीले राजीनामा दिएका थिए । तर, अन्तिम समयमा टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

तर, नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा निवेदन दिएपनि दर्ता नभएकोले आइतबार विहान राजीनामा फिर्ता लिन सहज भएको उनले बताए ।

दृश्य–१३
नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन ।
सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो । उनले दिएको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए । देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।

दृश्य–१४
नेपाली कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने भन्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजीनामा दिएका गोविन्द साहले टिकट पाएनन् ।

धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका साहले टिकट नपाएपछि निराश बनेका छन् । मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । तर अन्तिममा यादवले टिकट पाउने निर्णय पार्टीले गरेको थियो ।

चुनाव लड्ने भन्दै एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन् ।

स्वार्थ अनुकुल इतर गठबन्धन
सत्तारुढ दलहरु बिच देशभरका सबै पालिकामा सत्तारुढ गठबन्धन अनुसार नै चुनावी मैदानमा उत्रिने निर्णय थियो । यद्यपि, यस गठबन्धन बिच आपसी सहमति जुट्न नसके मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति थियो । तर, पालिका स्तरमा हेर्दा अहिले जहाँ जसको शक्ति र स्वार्थ मिल्छ, त्यहाँ सोही पार्टीसँग तालमेल भइरहेको छ । जहाँ राजनीतिक सिद्धान्त, विचार, दर्शन कोमामा छ ।

दृश्य–१५
भोजपुरको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट बाहिरिएर नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गरेको छ । एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
गठबन्धनको नीति विपरित काँग्रेसले एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रले बताएको छ । भोजपुरका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहमा मात्रै काँग्रेस र माओवादी,एकीकृत समाजवादीसँग तालमेल भएको थियो। त्यसबाट माओवादीलाई एक प्रमुख मात्रै पाएको थियो। तर, अरु तालमेल भएका ५ स्थानीय तहमा पनि काँग्रेसले सेट नै बनाएर उम्मेदवारी दिएको छ ।
झापामा कांग्रेस र एमालेले कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध तालमेल गरेका छन् । पूर्वी रुकुमको सिस्नेमा पनि माओवादीविरुद्ध कांग्रेस र एमालेबीच तालमेल भएको छ ।

राप्रपा सत्तारुढ गठबन्धन
राप्रपा आफ्नो अनुकूलता हेरी जिल्लाअनुसार सत्तापक्ष र विपक्षी गठबन्धनमा सहभागी भएको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध सत्तारूढ गठबन्धन र राप्रपाबीच तालमेल भएको छ ।

राप्रपा एमाले तालमेल
चितवनमा राप्रपाले एमालेसँग तालमेल गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुरमा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गरेका छन् ।

कांग्रेस–एमाले र नेकपा गठबन्धन
रोल्पाको सुनछहरी र माडी गाउँपालिकामा कांग्रेस र एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तालमेल गरेका छन् ।

राप्रपा–लोसपा गठबन्धन
सप्तरीको राजविराज नगरपालिकामा राप्रपा र लोसपाले तालमेल गरेका छन् ।

२०७९, १३ बैशाख मंगलवार १०:३८
कथालिका नयाँ कथा
कथालिका