अभियन्ता स्वयंम् हिंसाको सिकार ! – कथालिका

अभियन्ता स्वयंम् हिंसाको सिकार !

  • दैनिक अरुको दुःख, अन्यायमा आवाज उठाउने, भाषण गर्ने, वकालत गर्ने महिलाहरु स्वयम् कति पीडित छन् ? उनीहरु आफै पीडित भएको, आवरणमा लुकाएको यथार्थ कति दर्दनाक होला ? के यस्तो बिबशताबारे यो समाज र हामी बेखबर छौ ?

बेलुकीको करिब ७ बजेको हुँदो हो । बेलुकीको खाना खाइसकेपछि म भाँडा माझ्दै थिए । पल्लो घरबाट छिमेकी रोएको आवाज सुनियो । भाँडा माझ्दा माझ्दै गरेका मेरा हातहरु रोकिए । त्यति नै बेला छोरो दौडिदै आयो र अत्तालिदै भन्यो–“ममी, अन्टीलाई त अंकलले कुट्नुभएको छ ।”
छोराको वाक्य पुरा नहुँदै म हातमा लागेको साबुन राम्रोसंग पखालिन नपाउदै कपडामा पुछ्दै दगुरे ।

मैले ढोका खोल्न नभ्याउदै ममी नजानु भन्दै छोराले मलाइ रोक्यो । हैन बाबु जानुपर्छ, छिमेकमा केही भयो भने हामी चुपचाप बस्नु हुँदैन भनेर छोराको हात पन्छाउदै म निस्किने प्रयास गर्दै थिए ।
ममी, अन्टी त आफै महिला अधिकारकर्मी होइन र ? सबैको झगडा मिलाउने मान्छे आफ्नो झगडा पनि आफै मिलाउनुहुन्छ नि । तपाइँ किन जानु प¥यो ? छोराको शव्द सुनेर म अवाक्क भए ।

यो कस्तो बिडम्बना ! हाम्रो देशमा यस्ता धेरै महिला दिदिबहीनिहरु छन् । जसले अरुको विवाद मिलाउन महत्वपूर्ण पद लिएर बस्नुभएको छ तर आफ्नो आफन्तबाटै स्वंयम् आफै पीडित हुनुहुन्छ । दैनिक अरुको दुःख, अन्यायमा आवाज उठाउने, भाषण गर्ने, वकालत गर्ने दिदीबहिनीहरु स्वयम् कति पीडित छन् ? उनीहरु आफै पीडित भएको, आवरणमा लुकाएको यथार्थ कति दर्दनाक होला ?  ? अरुको पीडा सुनिदिने यस्ता दिदी बहिनीहरुको आफ्नै पीडा, व्यथा, बेदना र समस्या कसले सुनिदिओस् ? यस्तो अवस्थामा उनीहरु आफुलाई झन् कति दुखान्त अवस्थामा पाउछन् होला ? के उनीहरुको यस्तो बिबशताबारे यो समाज र हामी बेखबर छौ ?

मेरो मानसपटललाई यही प्रश्नले बारम्बार झस्काइरहन्छ । यसबाटै हामीले अनुमान लगाउन सक्छौ कि कसैलाई न्याय दिने या न्यायको लागि आवाज बुलन्दित गर्ने अधिकारकर्मी, अगुवा, अभियन्ता नै घरेलु र अरु बिभिन्न हिंसाबाट कति प्रताडित छन् । अनि आम सर्वसाधरण महिला दिदिबहीनिहरुको अवस्था झन् कति जर्जर होला ?

दैनिकजसो सुन्नमा आउने बलात्कार, हत्या, यौन दुव्र्यवहार, कुटपिट जस्ता महिला हिंसाका घटनाहरुले समाजको स्वरुप कहाली लाग्दो बनाइदिएको छ । पछिल्लो समय आफनो घरबाटै हिंसा पीडित महिलाहरुको अवस्थाले आफ्नो आफन्त, नातागोता र छिमेकीलाइ विश्वास गर्ने जग भत्काइदिएको छ ।

महिला हिंसा रोकथाम र न्युनिकरणको लागि विभिन्न सरकारी तथा गैरसकारी संघ सस्थाहरु खुलेका छन्, धेरै अभियान्ताहरु लागिपरेका छन्, हिंसा बिरुद्ध कानुन समेत निर्माण भएको छ तर, हिंसाका घटना जारी छ ।

महिला हिंसाबारेको विषय र बुझाई
महिला हिंसा भनेको कुनै पनि महिलाको श्रीमान् या नजिकको नातेदार अथवा अन्य कुनै व्यक्तिबाट गरिने हिंसात्मक व्यवहार वा उत्पीडन हो । जसले महिलालाई शारीरिक र मानसिक रुपले आघात पु¥याउँछ । महिला हिंसाका अनेक स्वरुपहरु छन् । जस्तैः शारीरिक हिंसा, (महिलालाई शारीरिक पीडा हुने खालका हिंसाहरु कुटपिट गर्ने, गर्भपतन गर्न दबाब दिने, थुन्ने, जलाउने, कार्यबोझ थोपार्ने), यौनजन्य हिंसा (महिलाको इच्छा विपरित यौन सम्बन्ध राख्ने, यौनजन्य दुव्र्यवहारहरु कोट्याउने, अँगालो हाल्ने, चिमोट्ने, म्वाइ खाने) आर्थिक हिंसा, (महिलालाई आर्थिक स्रोत साधनबाट बञ्चित गर्ने, महिलाको स्विकृति बेगर सम्पतिको दुरुपयोग, महिलालाई रोजगारी नदिनु र अन्य आयआर्जनका कामबाट बञ्चित गर्नु) सामाजिक हिंसा (बहुविवाह, छली विवाह, जबरजस्ती विवाह, दाइजोजनित हिंसा, घरेलु हिंसा) प्रथा र परम्पराजनिक हिंसा (बोक्सीको आरोप, गाउँ निकाला, सामाजिक बहिष्कार, गाली बेइज्जत महिनावारी हुँदा अछुतको व्यवहार गर्ने, देउकी, झुमा वादी, जारी आदी प्रथा) राजनितिक हिंसा ( महिलालाइ राजनिति प्रवेशमा रोक लगाउने, न्युन सहभागिता गराउने, असहयोग गर्ने) जस्ता कार्य हिंसा हो ।

उन्नत व्यवस्थामा डरलाग्दो महिला हिंसाको तथ्य
अहिले देशमा उन्नत भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, यही व्यवस्थामा पनि महिला हिसां अनेक रुपमा देखिरहेको छ । कतै त्यो क्रुर दर्दनाक हत्या, अपराधमै प्रकट भएको छ भने कतै कुटपिट र दुव्र्यवहारमा अभिव्यक्त छ ।

पछिल्लो पाँच वर्षमा महिला विरुद्धका हिंसासम्बन्धी घटना झण्डै दोब्बर बढेको केन्द्रीय प्रहरीको तथ्याङ्क छ । चार वर्ष अघि प्रहरीको वार्षिक तथ्याङ्कमा महिलाविरुद्ध हिंसाका एक हजार ४६८ घटना रेकर्ड भएकोमा चार वर्षपछि सात महिनाकै अवधिमा त्यस्तो घटनाको संख्या एक हजार ३०३ पुगेको छ ।

यद्यपि यस्ता हिंसाका पीडित धेरैजसोले विभिन्न कारणले उजुरी नै गर्न नचाहने भएकाले वास्तविक घटना संख्याको थोरै हिस्सामात्र प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको प्रहरी नै बताउँछ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्ष माघसम्म ७ अवधिमा महिला हिंसाका घटना एक हजार ३०३ पुगेको हो । जसमा ८५६ जना बालिका र ४४६ जना महिला पीडित छन् । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसाका २ हजार ५५४ घटनामध्ये एक हजार ६६५ जना बालिका र ८८८ जना महिला पीडित भएका थिए ।

आर्थिक वर्ष २०७६/०७७ मा २ हजार १६७ त्यस्ता घटनामा एक हजार ३९३ जना बालिका र ७७१ महिला पीडित भए । आर्थिक वर्ष २०७५/०७६ मा महिला हिंसाका २ हजार २५४ घटनामा बालिका एक हजार ४२० जना र महिला ८२४ जना पीडित भए । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार ४६८ हिंसाका घटनामा ८५१ जना बालिका र ५९८ महिला पीडित भएको पाइएको छ ।

इज्जत जाने मनोविज्ञानको सन्त्रासः जसले अझ बढ्दै हिंसा
विशेषगरी महिलाहरु घरपरिवार भित्र आफ्नो आफन्तबाटै बढी पीडित हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । देशको सर्वोच्च पद ‘राष्ट्रपति’ महिला भएको र राज्यका विभिन्न संरचनामा महिलाको सुदृढ प्रतिनिधित्व भए पनि महिला विरुद्धका हिंसामा कमी नआउनुका पछाडिका कारणबारे गम्भीर बहस, खोज र चिन्तनको आवश्यकता देखिएको छ ।

सामाजिक प्रतिष्ठामा आँच आउने, महिला हिंसा विरुद्धको कानुनको अज्ञानता, लाज र असुरक्षा जस्ता कारणले पनि यस्ता अपराधबारे उजुरी नआउने गरेको नेपाल प्रहरीको भनाइ छ । प्रहरीमा थोरैमात्र घटनाको उजुरी आउने गरेका कारण वास्तविक पीडितको संख्या अझ बढी हुन सक्ने देखिन्छ भने महिला हिंसाका धेरै घटना स्थानीय तहमै मेलमिलाप हुने गरेको छ ।

अदालतमा गएका हिंसासम्बन्धी मुद्दाको छिनोफानो हुन करिब ५ देखि १०/१२ वर्ष लाग्ने भएका कारण धेरै पीडितले उजुरी नगर्ने गरेको पाइएको छ भने झन्झटिलो न्यायिक व्यवस्था र समयको बर्बादीले पनि धेरै पीडितहरू चुप लागेर हिंसा सहने विकल्प रोज्न बिबश छन् । यसमा अझ अगुवा या अभियन्ता भनेर चिनिएका महिलाहरु आफ्नो भित्री अवस्था बाहिर ल्याउँदा परिवारका साथै आफ्नो स्वयम् इज्जत प्रतिष्ठा धरापमा पर्ने सन्त्रासको मनोविज्ञानमा बाँचिरहेका छन् ।

एकातिर यसरी पीडितहरुले आफु माथि भएको हिंसा उजगार नगर्नाले हिंसा गर्ने व्यक्तिको मनोबल झनै बढ्ने गरेको पाइन्छ भने अर्कोतिर यस्ता खालका घटना दोहोरिरहनुले अपराधीहरु कानुनसँग नै नडराउने स्थिति उत्पन्न भएको प्रस्ट हुन्छ । जसले गर्दा पनि दिन प्रतिदिन महिला हिंसाका घटनाहरु बढिरहेको छ ।

यसरी न्युनिकरण हुन सक्छ महिला हिंसाका घटना
महिला माथि हुने हिंसाका विरुद्ध कानुन बनाएर मात्र प्रयाप्त नहुने पछिल्लो घटनाको स्वरुपले प्रष्ट पारेको छ । महिला विरुद्ध हुने हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक समानताको अवधारणालाई व्यवहारमा सबै पक्षले लागू गर्नुपर्ने देखिन्छ भने महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरण गर्न जरुरी छ ।

महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नभए सम्म उनीहरू माथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्था अन्त्य हुन सक्दैन । साथै महिला अधिकार संरक्षण र सुरक्षित गर्न समयको कालखण्डमा विभिन्न आन्दोलन भयो र त्यस मार्फत कानुन ल्याउन सफल पनि भएको छ । अब त्यही कानुनलाई व्यवहारमा उतार्दै पीडितहरुले न्याय पाउन सक्छु भन्ने आशा राखेर उजुरी गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ ।

विद्यमान कानुन कार्यान्वयन गर्न सके पनि हालको अवस्थामा केही परिवर्तन गर्नुपर्नेे देखिन्छ । सन् २०२१ को जनवरीमा राष्ट्र संघीय मानव अधिकार परिषदमा नेपालमा मानव अधिकार अवस्थाको समिक्षा गर्दै धेरै देशले महिलाविरुद्ध हुने हिंसा तथा विभेद नियन्त्रणका लागि थप कदम चाल्न नेपाललाई सुझाव दिएका छन् । उनीहरु यस्ता किसिमका घटना नियन्त्रणमा घर, परिवार, समाजदेखि राज्यका सबै निकायको उत्तिकै दायित्व हुने बताउँछन् ।

राज्यको संरचनामा पितृसतात्मक सोचको जरा गाडिएको छ त्यसैले अन्याय विरुद्ध आवाज उठाउँदा महिलालाई समाज बिगार्ने, घर बिगार्ने, बैवाहिक संरचना भत्काउने आरोप लाग्ने गरेको छ । महिला हिंसा विरुद्धको लडाई पुरुष विरुद्ध हैन । पितृ सतात्मक सोचमा आधारित विभेदपूर्ण व्यवहार विरुद्ध होे । त्यसैले यसमा पुरुषहरुले पनि सुझबुझका साथ महिला हिंसा बिरुद्धको अभियानमा हातेमालो गर्नुपर्छ । अनि मात्र समाजमा जटिल बनेर बसेको हिंसाको पर्खाल भत्काउन सहज र सम्भव हुनेछ ।
-लेखक राना मगर गण्डकी प्रदेशको नवलपुरमा पत्रकारितामा क्रियाशील छन् ।

२०७९, १७ बैशाख शनिबार ०९:३८
कथालिका नयाँ कथा
कथालिका