हर्कराज साम्पाङः जसले यसअघि जम्मा चार सय मत पाएका थिए – कथालिका

हर्कराज साम्पाङः जसले यसअघि जम्मा चार सय मत पाएका थिए

यसपटकको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पुरानो परम्परागत मानक भत्काएका छन् । दल र चुनाव चिन्ह अंकित टिकट पाए जस्तोसुकै उम्मेदवार भए पनि चुनाव जितिन्छ र जित्छन् भन्ने अहम्को पहाड ढलेको छ । र उदाएको छ धरानबाट एक आशाको किरण उर्फ हर्कराज साम्पाङ । भ्रष्टाचार र खानेपानीको नागरिकको मुद्धा बोकेर दशक यता सडकबाटै अनवरत संघर्षरत साम्पाङ धरान उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवारी मार्फत मेयर बने पछि उनको चर्चा चुलिएको छ । हर्कराज तीनै पात्र हुन्, जो तीन वर्ष अघि भएको धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा जम्मा ४ सय मतमा सीमित भएका थिए । तीन वर्षकै अन्तरालमा त्यस्तो के करामत गरे र २० हजार बढी मतले बिजयी भए ।

केही वर्ष अघि सम्म उपेक्षित हाँसोको पात्र थिए हर्कराज
हर्कराज अटो रिक्सामा माइक राखेर अनियमितताका बिरुद्ध आवाज बुलन्दित गर्थे । सडक, चोक, गल्लीहरुमा नागरिकलाई जागृत गर्न एक्लै पुग्थे । अधिक मान्छेहरुले उनलाई गिज्याउँथे, उपहास गर्थे । व्यक्तिगत कुण्ठा, महत्वकांक्षा बोकेर सरकार, जनप्रतिनिधिलाई बदनाम करार गर्न उद्धत रहेको आरोप खेपिरहन्थे ।

स्थानीय नागरिकको आधारभूत आवश्यकता र सुशासनका लागि सडकमा उत्रिएका उनका साथमा मानिसहरुको कुनै भिड देखिन्नथ्यो । तर पनि हर्कराजले हार खाएनन् । उनी भन्थे–‘सत्यको पछाडि भिड हुन्न ।’ धरानमा खानेपानी, वीपी स्वास्थ्य प्रतिष्ठानमा भएको अनियमितता लगायतका बेथितिमा एक्लै लडिरहे । यही लडाइँकै अनुक्रममा सरकार र सरोकारवालालाई प्रश्न गर्दा गर्दै आफै निर्णायक कदम चाल्ने र जवाफ दिने ठाउँमा पुगेका छन् ।

तीन वर्ष अघि ४ सय मत पाएका हर्कराजलाई अहिले २० हजार  मत
धरान उपमहानगरपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचन भयो । जसमा नेकपा एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गरेर बिजयी भए । उनका प्रत्यासी कांग्रेसका तिलक राइले १६ हजार १ सय २, माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए ।

मेयर सुब्बाको असामयिक निधन भए पछि २०७६ सालमा उपनिर्वाचन भयो । उपनिर्वाचनमा भने नेपाली कांग्रेसका तिलक राई धरान नगर प्रमुखमा निर्वाचित भए । उनले एमाले र माओवादी एकता पछि बनेको नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत ल्याउँदा प्रकाशले २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित थियो । यस उपनिर्वाचनमा अहिले मेयरमा निर्वाचित हर्कराज राइले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले जम्मा ४ सय २२ मत ल्याएका थिए ।

तीन वर्षकै अन्तरालमा हर्कराजले धरानवासीको मन यसरी जितेकी यसपटकको स्थानीय तह निर्वाचनमा गठबन्धन, नेकपा एमालेका उम्मेदवारलाई शानदार ढंगले पराजित गर्दै २० हजार ८२१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कोशोर राईले १६ हजार ५९ मत ल्याए ।

हर्कराज प्रति यसकारण देखियो आकर्षण र भरोसा
हर्कराजले २०७६ को उपनिर्वाचन लड्दा खास तयारी थिएन । आफ्नो एजेण्डा स्थापित गर्ने ध्येय उनको थियो । यद्यपि, जम्मा ४२२ मत पाए । उनी यो परिणामलाई बिर्सेर धरानवासीका लागि अझ तेज गति र समर्पणका साथ लागि परे । धरानबासीले भोगिरहेको खानेपानी समस्याको विषयमा चर्को आवाज उठाइरहे । जनसंख्या थोरै हुँदा धरानको वल्लो र पल्लो छेउमा बग्ने सर्दु र सेउती खोलाको जलाधार क्षेत्रबाट आउने पानीले पुगे पनि तीव्र सहरीकरणपछि धरान काकाकुल बनिरह्यो । खानेपानी समस्या समाधान गर्ने उद्घोष सहित चुनाव जितेका एमाले, कांग्रेसले समाधान गर्न सकेन । साम्पाङले १९ किमी दुर कोसीदेखि पानी ल्याएर खुवाउने बचन दिएका छन् । निकै महत्वकांक्षी लाग्ने यो योजना कसरी अघि बढाउछन् ? उनको मुख्य अग्नी परीक्षा यही हुनेछ ।

हर्कराज प्रति भरोसा जाग्नुको अर्को कारण राजनीतिक दलहरु प्रति जनतामा बढ्दै गएको असन्तुष्टि र वितृष्णा हो । जति पटक सरकार सत्तामा पुगे पनि अपेक्षाकृत रुपमा काम गर्ने भ्रष्टाचार, अनियमितता लगायतका बेथिति बढ्नुले जनता विकल्पको खोजी थिए । त्यही विकल्पको रुपमा यसपटक छनोट गरे हर्कराज राइलाई ।

उनी भ्रष्टाचार प्रति शुन्य सहनशीलता र सेवा प्रवाहमा चुस्तताको अभियान हो । जनताको पक्षबाट यी र यस्ता विषयमा हुने लापरवाही, ढिलासुस्तीमा सारथी बनेर निस्किरहे । धरानका २० वटै वडामा जनताका लागि लड्ने अभियन्ताको छवि जुन बनाए, त्यही अहिले मतमा प्रकट भयो ।

‘एक रुपैयाँ तलमाथि गरे बरको फेदमा बाँधेर जुत्ता हान्नु’
दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारीबाट बिजयी भएका हर्कराजलाई काम गर्न कठिन हुने धेरैको आँकलन छ । तर, उनी दृढ इच्छा शक्ति, अठोट र असल मनशायले काम गर्दा सबैको साथ मिल्नेमा विश्वस्त छन् । ‘मैले गलत नियतले काम गर्दिन, स्थानीय तहमा भएका बेथिति रोक्नु मेरो जिम्मेवारी हुनेछ,’ उनले भने, ‘असल नियतले राम्रो काम गर्दा त कसले रोक्ला र ? फेरि म एक्लै छैन । धरानवासी जनता मेरा साथमा छन्, नियोजित रुपमा कसैले बाधा सिर्जना गरे जनताको साथ माग्न आउनेछु ।’

उनले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति आत्मसाथ गर्ने प्रष्ट बताएका छन् । ‘नेपालभरको पत्रकारहरु आउनुस् सबै । धरानका आधा जनता आउनुहोस् । भानु चोकमा कागज गर्छु । तलब भत्ता लिन्न भन्दिन, लिन्छु । त्यो बाहेक एक रुपैयाँ तल माथि गरेछु भने बरको फेदमा बाँधेर जुत्तै जुत्ताले हान्नु,’ हर्कराज थप्छन्, ‘त्यसको भोलिपल्ट राजीनामा दिन्छु । एक हप्तामा धरान छोड्छु । त्यसपछि धरान फर्केर जिन्दगीमा कहिल्यै आउँदिन ।’

२०७९, ९ जेष्ठ सोमबार ०६:५५
कथालिका नयाँ कथा
कथालिका