‘जनयुद्ध’ लडेका योद्धाः जो सडक हाँक्दैछन् – कथालिका

‘जनयुद्ध’ लडेका योद्धाः जो सडक हाँक्दैछन्

  • व्यवस्था फेरिए पनि सर्वहारा वर्गका लागि लडेको भनिएको युद्ध बेकार भए जस्तो लाग्छ रामकुमारलाई । ‘अहिले म जस्तै विभिन्न स्थानमा नेतृत्व गरेर लडेका योद्धाले कति दुःख पाइरहेका होलान्, महलमा बस्ने र करोडौंको गाडीमा हुँइकिने नेतालाई के थाहा छ र ?’ मिनी ट्रक हाँक्न थालेका रामकुमार प्रश्न गर्छन्, ‘हाम्रो योगदानको कदर खै त ? कहिलेकाही आफ्नो अवस्था देखेर युद्धमा व्यर्थै समय व्यतित गरेछु भन्ने लाग्छ ।’ 

उनी सहर पसेको १० वर्ष पुग्यो । यो अवधिमा उनी आफ्नो जन्मघर र जन्म ठाउँ फर्केर गएका छैनन् । पोखरामा उनी परिवार सँगै बस्छन् । जन्मघर र बालापनमा खेलेर हुर्किएको त्यो हरियाली र वनपाखाको याद उनलाई नआउने होइन । त्यही याद मेटाउन एकान्तमा बस्छन् अनि हराउँछन् अतितका क्षणसँग । यस बाहेक आफैंले चलाउने मिनी ट्रकमा घन्किरहने गीत पनि उनको सहारा बन्छ दुःख, पिर र अप्ठ्याराहरुमा ।

उनी हाल मिनी ट्रक चलाउनुका साथै घर निर्माणको काम गर्छन् । यहीबाट परिवारको जीविका चल्छ । घरबाट हिँडेपछि जन्मिएको गाउँ ठाउँमा फर्किन नखोजेका पनि होइनन् । कहिलेकाहीं अतितका यादले उनलाई भर्खरै आफ्नै गाउँ पुगौं भन्ने लागेकै हो । तर, समय परिस्थिति तथा परिवारको जिम्मेवारीले उनलाई आफ्नो जन्मघर र वनपाखामा फर्किने मौका दिएन । र त उनले १० वर्षदेखि उक्त स्थानमा पाइला टेकेका छैनन् । उनको दिन मिनी ट्रकमा सामान ओसारपोसार गरेर बित्छ । फुर्सदको समय ज्याला मजदुरको काम गरेर बितिरहेछ ।

४० वर्ष अगाडि साविकको रुकुम जिल्ला पूर्तिमकाडाँ गाविस वडा नं १ तथा हालको रुकुम पश्चिम सानोभेरी गाउँपालिका २ मा जन्मिएका रामकुमार पुन परिवारको ६ सन्तान मध्ये पाचौं सन्तान हुन् । उनीभन्दा माथि २ दाइ, २ दिदी र एक बहिनी छिन् । रामकुमारले ७ वर्षको उमेरमा आमा र १३ वर्षमा बाबालाई गुमाए । यहीबाट सुरु हुन्छ उनको संघर्षका कथा अनि जीवनका अनेकौं घुम्तीहरु, जसलाई उनी अझै पार गर्ने कोसिस गर्दैछन् । सानै उमेरमा आमा बाबा गुमाउँदा उनले कक्षा ५ भन्दा धेरै पढ्न पाएनन् । त्यसपछि उनी कामको खोजी गर्दै भारत पसे । भारतमा रोजगारी गर्दा गर्दै पाँच वर्ष बित्यो । त्यसपश्चात नेपाल फर्किए ।

जहाँको ढुंगा, माटोलाई पनि राज्यले माओवादीको रुपमा हेथ्र्यो
२०५२ साल फागुन २ गतेदेखि नेपालमा ‘जनयुद्ध’ सुरु भयो । रुकुम, रोल्पा लगायतका जिल्लालाई अहिले पनि जनयुद्धको उद्गम स्थलका रुपमा लिइन्छ । त्यो समयमा ती जिल्लाका जो कोहीलाई माओवादीका रुपमा हेरिन्थ्यो । राज्य र यसका निकायले उनीहरुलाई धाकधम्की दिएर बेपत्ता बनाउनेदेखि चरम यातना दिन्थ्यो र उनीहरु माथि ज्यादती गथ्र्यो । रामकुमार पनि राज्यको नजरमा त्यस समयमा माओवादीको उद्गम स्थलका रुपमा चर्चित रुकुममै थिए । रामकुमार जस्ता युवा होस् या उमेर पुगेका व्यक्ति राज्यको ज्यादतीबाट आक्रान्त थिए । त्यस स्थान र समयमा स्थानीयसँग दुई विकल्प थियो–या त राज्यको पक्षमा लागेर प्रहरी र सेनामा जानुपर्ने या त माओवादीले सुरु गरेको ‘जनयुद्ध’ मा सामेल हुने ।

राज्य र प्रशासनले आफूहरु माथि गर्ने ज्यादतीले गर्दा उनलाई प्रहरी र सेनामा जान मन लागेन । सर्वहाराको अधिकार दिलाउने र दुःखबाट मुक्ति प्रदान गर्ने पार्टीका रुपमा त्यो बेला माओवादीलाई पाएपछि रामकुमारले माओवादी पार्टीमा लाग्ने निर्णय गरे । ‘त्यो बेलामा हामीलाई या त प्रहरी र सेनामा लाग्नुपर्ने या त जनयुद्धमा लागेर माओवादीका रुपमा हिँड्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘त्यसैले पनि आफ्नो बारेमा सोच्नुभन्दा सामूहिक र सर्वहारा नागरिकको विषयमा सोच्नुपर्छ भन्ने लागेर म जनयुद्धमा होमिएँ ।’ रामकुमार सम्झिन्छन्–‘त्यो समयमा राज्य पक्षले रुकुम, रोल्पा लगायत जिल्लाका नागरिक माथि दमन गथ्र्यो । यस्तो सम्म भएको थियो कि राज्य र प्रशासनले त्यहाँका बासिन्दा मात्र होइन, ढुंगामाटोलाई समेत माओवादीका रुपमा हेथ्र्यो ।’

चरम ती अपमान र ज्यादती सहन नसकेर सर्वहारा वर्गको हितका खातिर माओवादी आन्दोलन र अभियानमा लागे । ‘जनयुद्ध’मा जनमुक्ति सेनाको कमाण्डरका रुपमा खटिएका उनी अहिले भने केही टाढा छन् । ‘म २०५७ सालदेखि जनयुद्धमा होमिनुको कारण त्यो समयमा राज्य पक्षबाट नागरिक माथिको ज्यादती नै मुख्य हो, जुन सहन नसक्ने थियो,’ उनी भन्छन् । यसबेला कैयन आक्रमणको कमाण्ड सम्हालेका छन्, आँखै अघि सहयोद्धाको मृत्यु देखेका छन् । स्वयम् आफ्नै मृत्युलाई पनि नजिकैबाट नियालेका छन् ।

बम सँगै उडेर पनि भाग्यबस् बाँचेको क्षण
‘जनयुद्ध’ मा सहभागी हुँदा उनको उमेर १७/१८ वर्ष थियो । रामकुमारले उमेर सानै भए पनि युद्ध भने सबैभन्दा अगाडि बसेर सुरु गरेका थिए । माओवादीको जनमुक्ति सेनामा भर्ती हुन साथ उनले कयौं स्थानमा भएका ठूला–ठूला युद्धमा अघिल्लो भागमा बसेर युद्ध लडे । मृत्युको नजिकै पुगेर भाग्यबस् बाँचेको उनी बताउँछन् । मुलुकमा परिवर्तन ल्याउने अठोट र सर्वहारा वर्गको मुक्तिको सपनाका अगाडि मृत्यु त्यस समयमा गौण भएको उनको भनाई छ ।

उनले आफैंले नेतृत्व गरेर कयौं युद्ध लडे, साथीहरुलाई हौसला दिए, परिर्वतनका लागि प्रोत्साहन गरे । रामकुमारलाई अझै याद छ, जनयुद्धको समयमा राज्यका बिरुद्ध युद्ध लड्दा जनमुक्ति सेनालाई ३ भागमा बाँडिन्थ्यो । पहिलो लाइनमा बन्दुक तथा गोली बोक्ने हुन्थे, दोस्रो लाइनमा कोही घाइते भए उनीहरुलाई उपचारका लागि सहयोग गर्ने हुन्थे भने तेस्रो लाइनमा घाइते साथीलाई बोकेर उपचारका लागि लैजाने हुन्थे । घाइते साथीलाई उपचारका लागि पहिले नै व्यवस्था गरेर हिँड्थे उनीहरु । सक्नेले आफैं मल्हम पट्टि लगाएर आफ्नो उपचार आफैं गर्थे । रामकुमारका अनुसार लडाईंको क्रममा माओवादीको हरेक जनमुक्ति सेनासंग दुखाई कम गर्ने औषधी हुन्थ्यो । ‘हाम्रो उपचारका लागि हामीसंग छुट्टै मेडिकल डिपार्ट हुन्थ्यो, उनीहरु लडाइँको क्रममा फस्ट, सेकेण्ड र थर्ड एसाल्टमा जान भ्याउँदैनथे,’ उनी भन्छन्, ‘त्यसैले लडाई भइरहेको स्थान भन्दा केही बाहिर अस्थायी पोस्ट बनाएर मेडिकलको सामान बोकेर बसिराखेका हुन्थे ।’

रामकुमारको मनमा युद्धका घाउको डोब अझै छन् । जसले उनलाई झस्काइरहन्छ । युद्धको समयमा केही यस्ता घटना छन्, जसलाई उनले चाहेर पनि भुल्न सक्दैनन् । रामकुमारलाई ठ्याक्कै कुन मिति भन्ने याद छैन । तर, उनलाई लाग्छ त्यो घटना शान्ति सम्झौता हुनुभन्दा केही समय अगाडिको मात्र हो । सर्लाहीको मालढुंगामा उनकै नेतृत्वमा युद्ध भइरहेको थियो । युद्धकै क्रममा उनी नजिकै बम पड्कियो । बम पड्किँदा उनी करिब ६÷७ मिटर पर पुगेर पछारिए । त्यही समयमा हो उनले मृत्युलाई सबै भन्दा नजिकैबाट अनुभुत गरेको । भाग्यबस् रामकुमार मृत्युको मुखबाट बचे । बम पड्किएको समयमा उनले मृत्यु के हो भन्ने बुझे । ‘मैले मेरै नेतृत्वमा लडेको युद्ध त्यही नै अन्तिम युद्ध थियो,’ अलिकति डर र त्रसित मुद्रामा रामकुमारले भने, ‘मृत्यु के हो भन्ने कुरा मैले त्यही समयमा नै बुझें, यो घटना मलाई सधैं याद आउँछ ।’

‘हामीलाई युद्ध लड्ने बेलामा बुर्जुवा शिक्षा चाहिंदैन भनियो । समायोजनको बेलामा त्यही शिक्षा खोजियो र कयौंलाई अयोग्य लडाकु भनियो,’ रामकुमार भन्छन्, ‘युद्ध लड्दा शिक्षा नचाहिने अनि समायोजनमा जाँदा शिक्षा चाहियो रे, त्यसैले मलाई मन परेन, अनि समायोजन प्रक्रियामा गइन ।’

जब राजनीतिक गुरुलाई आँखै अघि गोली लाग्यो
द्वन्द्वकालीन समयमा रामकुमारले धेरै साथी गुमाए । आफ्नै ज्यान जोगाउनुपर्ने अवस्थामा केही साथीको शव सत्गत् पनि गरे । जंगलै–जंगल आफैलाई जोगाउन भाग्नुपर्ने अवस्था आउँथ्यो । उनलाई थाहा थियो, सर्वहारा वर्ग तथा परिर्वतनका लागि लडिएको युद्ध हो, आफ्नै ज्यान जान सक्छ, साथीहरु गुमाउन सकिन्छ । रामकुमारले युद्धको क्रममा आफ्नै गुरुलाई पनि गुमाए । जुन उनको लागि निकै पीडादायी क्षण थियो । उनी जब माओवादीको जनमुक्ति सेनामा भर्खर–भर्खर गएका थिए, त्यो बेला उनलाई युद्धका सबै विषयमा जानकारी दिन्थे वीरबहादुर पुन ‘रक्तिम’ ले ।

वीरबहादुर उनकै गाउँतिरका थिए । त्यसैले उनलाई युद्धका विषयमा जानकारी लिन सहज हुन्थ्यो । युद्धका कला उनैबाट सिक्थे । रामकुमारले जनमुक्ति सेनाबाट ‘जनयुद्ध’ सुरु गर्ने समयमा रक्तिमले नै उनको समूहको नेतृत्व गर्थे ।
उनलाई लडाइँ कुन मितिमा भयो भन्ने आजभोलि त्यति याद हुँदैन, घटना मात्र याद हुन्छन् । एकदिन सिराहाको बन्दीपुरमा रक्तिमकै नेतृत्वमा युद्ध भइरहेको थियो । उनीहरुको टिममा १५ जना मात्रै थिए, जसलाई रक्तिमले नेतृत्व गरेका थिए । उनी भन्छन्, ‘रक्तिम त्यति बेला बटालियन सह–कमाण्डर हुनुहुन्थ्यो, हामी प्लाटुन कमाण्डर थियौं,’ लडाईं भइरहेको थियो । रामकुमारका अनुसार त्यही बीचमा रक्तिमले प्रयोग गरेको हतियार अचानक जाम भयो ।
जाम भएको हतियार सफा गर्दै थिए रक्तिम । त्यही समयमा तत्कालीन शाही नेपाली सेनाको गोली रक्तिमको निधारमा लाग्यो । ‘उपचारका लागि लैजाने कोसिस गर्दै थियौं, तर उहाँले त्यही युद्धमैदानमा अन्तिम श्वास लिनु भो,’ रामकुमार भावुक हुँदै भन्छन् । त्यो समयमा उनले उक्त युद्धमा आफ्नै गाउँ नजिकैको साथीमात्र गुमाएनन्, युद्धका गुरु समेत गुमाए । ‘मलाई थाहा थियो, युद्ध हो, आफ्नो ज्यान जान सक्छ, साथी गुमाउन सक्छौं,’ उनी भन्छन्, ‘उहाँलाई गुमाउँदा निकै गाह्रो भएको थियो । त्यो घटनाले मनमा अझै पीडा दिन्छ ।’ यतिमात्र होइन, रक्तिमलाई गुमाउँदा १५ जनाको टिममा ४ जना मात्रै बाँच्न सफल भएका थियौ त्यो बेला ।

नेताले खोला तरेर लौरो बिर्सिए
युद्धले उनको मनमा धेरै घाउ दिएको छ । उनी सबै भुल्न चाहन्छन् तर सक्दैनन् । आज आएर उनी मिनी ट्रक ड्राइभर भएर जीविकोपार्जन गर्छन् । त्यही समय, त्याग, समर्पणले पीडा दिन्छ कि भन्ने सोच्दा १० वर्षदेखि आफू जन्मिएको गाउँ जान नसकेको उनी बताउछन् । खाटा बसिसकेको घाउ फेरी कोट्याएर पीडा बल्झाउन चाहन्नन् । ज्यानको बाजी लगाएर परिर्वतनका लागि लडेको भए पनि उनलाई यो विषयले धेरै खुसी दिन सकेन । कारण व्यवस्था फेरिए पनि सर्वहारा वर्गका लागि लडेको भनिएको युद्ध बेकार भए जस्तो लाग्छ रामकुमारलाई । ‘अहिले म जस्तै विभिन्न स्थानमा नेतृत्व गरेर लडेका योद्धाले कति दुःख पाइरहेका होलान्, महलमा बस्ने र करोडौंको गाडीमा हुँइकिने नेतालाई के थाहा छ र ?’ मिनी ट्रक हाँक्न थालेका रामकुमार प्रश्न गर्छन्, ‘हाम्रो योगदानको कदर खै त ? कहिलेकाही आफ्नो अवस्था देखेर उनलाई युद्धमा व्यर्थै समय व्यतित गरेछु भन्ने लाग्छ ।’ नेताका लागि परिर्वतन आए पनि आफू जस्ता युद्ध लडेका जनमुक्ति सेनाका लागि भने केही परिर्वतन नभएको उनको अनुभव छ ।

उनलाई माओवादी पार्टीप्रति कयौं गुनासो छन् । केही परिर्वतन नआएको होइन रामकुमारको नजरमा । थोरै परिर्वतन आएका छन् । तर, आफ्नो र आफू जस्तै कयौं योद्धाको जीवन अहिले निकै कष्टकर देख्छन् । ‘म आफैं पनि त्यति धेरै ठाउँमा युद्धका क्रममा नेतृत्व गरेर मृत्युलाई जितेर आएको हुँ । कसैले विश्वास गर्दैनन् होला यो कुरा । अहिले मिनी ट्रक चलाउँछु ।’ आक्रोशित मुद्रामा उनी प्रश्न गर्दै भन्छन्, ‘काम सानो ठूलो भन्ने त हुन्न, तर जीविकोपार्जनका लागि कष्ट छ, खै त हामीलाई ठूला नेताले हेरेको ? हामी ज्यानको बाजी लगाएर युद्ध लडेको योगदानको कुनै कदर हुँदैन ?’ अहिले कुनै बेला आफूहरुले नै सुरक्षा प्रदान गरिएका नेतालाई करोडौं पर्ने गाडीमा हुँइकिएको देख्छन्, करोडौंको महलमा बसेको र उपचारका लागि विदेश गएको देख्छन् रामकुमार । उनलाई गुनासो छ, ‘उनीहरुलाई नै सुरक्षा दिएर युद्ध लडेका माओवादीका जनमुक्ति सेनाले के पाए त ? यो प्रश्नको उत्तर हामीलाई कसले दिने ? हामी र हाम्रो समाजको अवस्था त झन् दयनीय भएको छ ।’

‘युद्ध लड्दा बुर्जुवा शिक्षा नपढ्न भने, समायोजनमा त्यही नपढेर उपेक्षा’
गुनासो र असन्तुष्टी भएपछि उनले अहिले पार्टी चटक्कै छोडेका छन् । युद्धका घाउलाई मनभरी लिएर नेताहरुको विलासी जीवन देख्दा विरक्त लाग्छ रामकुमारलाई । त्यसैले सबै कुरालाई भुलेर व्यक्तिगत जीवन निर्वाह गरिरहेका छन् । अहिले उनको ध्याउन्न परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने मात्र हुन्छ । रामकुमारले सेना समायोजन पछि पार्टीलाई चटक्कै छोडेर पोखरा आए । समायोजनको प्रक्रियाका विषयमा समेत उनको गुनासो छ ।

५ कक्षासम्म मात्रै पढेका उनले सेना समायोजनको लागि क्याम्पमा बस्दा एसएलसी पास गरेका हुन् । समायोजनको विभिन्न प्रक्रियामा रामकुमार छनौट भएका थिए । तर, उनलाई यो प्रक्रिया चित्त बुझेन । त्यसैले बीचमा नै छोडिदिए । ‘हामीलाई युद्ध लड्ने बेलामा बुर्जुवा शिक्षा चाहिंदैन भनियो । समायोजनको बेलामा त्यही शिक्षा खोजियो र कयौंलाई अयोग्य लडाकु भनियो,’ रामकुमार भन्छन्, ‘युद्ध लड्दा शिक्षा नचाहिने अनि समायोजनमा जाँदा शिक्षा चाहियो रे, त्यसैले मलाई मन परेन, अनि समायोजन प्रक्रियामा गइन ।’

आजकाल त योद्धा चिन्दैनन् नेता
महलमा बस्ने, महंगो र बुलेटप्रुफ गाडीमा हिँड्ने तथा उपचारका लागि विदेश जाने उनको पनि सपना र चाहना नभएको होइन । तर, उनलाई परिस्थितिले मिनी ट्रकको चालक बनाइदिएको छ । परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने विषयले हरेक दिन पिरोल्ने अवस्था आइदिएको छ । ‘परिर्वतनका लागि युद्ध लडियो, तर ठूला नेताले हामीलाई नै चिन्दैनन्, हाम्रो विषयमा उनीहरुले सोचेनन् ।’ उनी गुनासो गर्दै भन्छन्, ‘हामीप्रति नेताहरुको व्यवहार देख्दा दुःख लाग्छ, आफूमात्र प्रगति गरे, आम नागरिकको विषयमा सोचेनन् ।’

रामकुमार पोखरामा बसोबास गर्न थालेको दशक पुरा भयो । तर, उनको अवस्था जहाँको त्यहीं छ । न त आफ्नो जन्मघर जान सके, न त प्रगति गर्न सके । यद्यपि, उनी यो सबैबाट खुसी छन् । कहिलेकाहीं समाचार हेर्छन् र दिक्दार मान्छन् नेताहरुको सत्ता, कुर्सी र पदको लडाइँ देखेर । आम सर्वहारा वर्गका लागि भनिए पछि आफन्तवाद तथा कुर्सी मोहमात्र देख्दा उनलाई युद्धको कुनै योगदान नभएको जस्तो लाग्छ । ‘हामी जस्ताको लागि होइन, नेता तथा उनीहरुको परिवारसहित आफन्तका लागि मात्र युद्ध भएको रहेछ भन्ने लाग्छ ।’ उनी भन्छन्, ‘यही विषयमा चित्त नबुझेपछि माओवादी पार्टी त्यागें, मिनी ट्रक चलाएर भए पनि आफ्नो परिवार पालेको छु ।’

र पनि युद्ध लडेका जनमुक्ति सेनालाई बेवास्ता नगरोस्
युद्धका याद र चोटलाई साथ लिएर रामकुमारलाई परिवारको लागि गास, बास र कपासको जोहो गर्नु छ बस् । उनलाई अहिले राजनीति देखेर विरक्त लाग्छ । परिवार र आफन्तवाद तथा आसेपासेले मात्र प्रगति गरेको देख्दा रामकुमारलाई पार्टी र नेताप्रति कुनै आशक्ति र सम्मानभाव छैन । ‘मैले सबै कुरा भुल्ने कोसिस गरिरहेको छु तर सक्दिन, जुन असन्तुष्टि र गुनासो पार्टीप्रति छ, त्यो सधैं रहिरहनेछ ।’ उनी भन्छन्, ‘मेरो चाहना यत्ति हो हामीले नै युद्ध लडेर ल्याएको गणतन्त्र, संघीयता लगायतका परिर्वतन बेकार नहोस् र पार्टीले हामी जस्ता युद्ध लडेका माओवादी जनमुक्ति सेनालाई बेवास्ता नगरोस् ।’

२०७९, ११ जेष्ठ बुधबार ०७:०२
कथालिका नयाँ कथा
कथालिका