मौलिकता झल्काउने ‘लाफा भिलेज’ – कथालिका

मौलिकता झल्काउने ‘लाफा भिलेज’

  • धेरै जना युवा सहर केन्द्रित भएर गाउँघरलाई चटक्कै बिर्सिरहेको अहिलेको अवस्थामा प्रताप भने गाउँमा रमाउँछन् । तनहुँको भिमाद बजारमा घर भएका उनलाई अब गाउँमा नै बस्नु छ । 

प्रवेश गर्नु पूर्व खरले छाएको स्वागतद्धार । त्यही खरले छाएको स्वागतद्धारमा नेपालको नक्सा पनि अंकित छ । यहाँबाट भित्र प्रवेश गरिसके पछि निकै आकर्षक लाग्ने गोलो घर छ । पुरानो संस्कृति र संस्कारलाई कायम राख्ने मगर समुदायको पहिचानको हँसिया र खुर्पेटो बनाइएको छ । जहाँ यस्तै अरु अनेकन ऐतिहासिक सम्पदा र सभ्यताको झल्को दिने गरी घर र आसपासमा साजसज्जा छ ।

हेर्दा सामान्य देखिए पनि यहाँ नेपालको मायासहित आफ्नो भाषा, संस्कृति र रितिरिवाजलाई महत्व दिइएको सहजै आँकलन गर्न सकिन्छ । रिर्सोटभित्र प्रवेश गरिसकेपछि वरपर नजर डुलाउँदा हरियाली वनजंगलसहित अन्य सुन्दर र मनोरम दृष्य देखिन्छ । भिमाद बजार, दुलेगौडा बजार देख्न सकिन्छ भने हिमालका सुन्दर दृष्य हेर्न सकिन्छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं ५ मिर्छुलुङ पुग्दा मगर लाफा भिलेज रिसोर्टको दृश्य हो यो । र यसका सञ्चालक हुन् प्रताप रानामगर । निर्माण गरेको धेरै समय भएको छैन । अझै केही संरचना निर्माण क्रममा छन् । तर, अहिले ‘मगर लाफा भिलेज’ मा पुग्नेको संख्यामा एकाएक उल्लेख्य बृद्धि भएको छ । भिमाद बजारबाट २ पांग्रे सवारी साधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ यो रिसोर्टमा । मिर्छुलुङ गाउँ विशेष गरी मगर संस्कार, संस्कृति तथा रितिरिवाजले समेत परिचित छ । गाउँलाई चिनाउने अर्को माध्यम भनेको अब यही रिसोर्ट बन्न थालेको छ ।

पेशाले पत्रकार हुन् राना । पत्रकारितामा रमाउँछन् । आफू जन्मि हुर्किएको थातथलोमा केही फरक गर्नुपर्छ भन्ने सोचका साथ उनले अहिले यो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । अहिले यो रिसोर्ट आकर्षणको केन्द्र बनेको छ । आफ्नो संस्कृति, संस्कार, रीतिरिवाजको संरक्षण, सम्वद्र्धनसँग जोडेर व्यावसायिक रुपमा समेत आत्मनिर्भर रोजगार प्रदान गर्ने अभिप्रायले रिसोर्ट सञ्चालनमा ल्याएको राना बताउछन् । यहाँ विशेष रुपमा मगर संस्कार, संस्कृति, पहिचानलाई मध्यनजर गर्दै उनले संरचना निर्माण गरेका छन् । मगर भाषा, संस्कार र संस्कृतिलाई महत्व दिइएकाले नाम पनि मगर भाषाबाटै राखेको उनको कथन छ । आफ्नो गाउँ, भाषा, संस्कार र संस्कृतिप्रतिको असिम मोहले केही नयाँ गर्ने प्रयास गरिरहेको उनी बताउछन् ।

उसो त रानाले आफ्नो पत्रकारिताको सुरुआतमा तनहुँको दमौली एफएममा मगर भाषा कार्यक्रम सञ्चालन गर्थे । त्यसपछि उनले मगर भाषाको समाचार पढे, अनि लेखे । लामो समय व्यावसायिक पत्रकारितामा सक्रिय भएका रानाले पेशाका अतिरिक्त व्यवसायको आवश्यकताबोध गरेर मौलिकता झल्किने गरी रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

नेपालका अधिकाशं गाउँ अहिले रित्तो छ भन्दा फरक पर्दैन । आर्थिक अवस्था सवल भएका व्यक्ति धमाधम सहर पस्छन् । गाउँका घर भत्किएका छन्, आँगन र भित्ता झारले भरिएको देख्न सकिन्छ । गाउँघरमा जाँदा आजभोलि बुढापाका या बालबालिकामात्र देख्न सकिन्छ, त्यो पनि निकै न्युन मात्रामा । कुनै बेला कृषिले भरिभराउ हुने खेतबारी आजभोलि बाँझा भएका छन् । उनीहरु या त विदेशिएका छन्, या सहरमा बालबच्चाको भविष्यका लागि भन्दै नजिकका सहर झर्छन् । धेरै जना सहर केन्द्रित हुन थालेपछि यो गाउँ पनि बसाइँ सराईंको समस्याबाट टाढा हुन सकेन । नेपालका उचित शिक्षा, भविष्य निर्माण, सुख–सुविधाको खोज लगायतका चाहना बोक्दै धेरै मिछुर्लुङवासी या त सहर केन्द्रित भएका छन्, या विदेशिएका छन् ।

  • ‘पत्रकारिताबाट असन्तुष्ट भएर मैले रिसोर्ट सञ्चालन गरेको होइन, मैले पत्रकारिताबाटै समाजलाई बुझें, यही पेसाबाटै मैले अध्ययन गर्ने मौका पाएँ ।’

मिछुर्लुङमा धेरै मगर र केही दलित बस्ती छ । प्रताप त्यही गाउँमा जन्मिए, त्यही हुर्किए । पत्रकारिताको क्रममा उनी ७ वर्ष दमौलीमा बसे । पत्रकारिता गर्दा उनी विभिन्न होम–स्टे तथा फरक–फरक गाउँमा पुग्थे । उनी जति पनि होम–स्टे तथा गाउँमा कार्यक्रमको शिलशिलामा पुगे, त्यहाँको संस्कृति तथा आतिथ्यताले उनलाई लोभ्याउँथ्यो । उनलाई लाग्थ्यो, ‘मैले पनि किन आफ्नो संस्कृति, संस्कार र रीतिरिवाजलाई ध्यानमा राख्दै फरक काम नगर्ने ?’ सुरु–सुरुमा पत्रकारिताकै क्रममा उनलाई यस्ता विचार नआएका होइनन् । तर, बिभिन्न बाध्यता र परिस्थितिले उनका यी योजना पुरा हुन पाएनन् । तर, प्रतापको मनमा भने आफ्नै गाउँमा केही गर्ने हुटहुटी बाँकी थियो । उनले सोचेका थिए, ‘कुनै दिन मेरो योजना अवश्य पुरा गर्ने छु ।’

प्रतापको सपना अन्ततः पुरा भएको छ । उनले रिसोर्ट निर्माण गरेका छन् । पत्रकारिता पेसाको दौरानमा ७ वर्ष दमौलीको बसाइँले उनलाई धेरै कुरा सिकायो । पत्रकारिताबाट उनले समाज अध्ययन गरे, समाजलाई नजिकबाट बुझ्ने मौका पाए । उनका लागि यही महत्वपूर्ण कुरा हो । ‘पत्रकारिताबाट असन्तुष्ट भएर मैले रिसोर्ट सञ्चालन गरेको होइन, मैले पत्रकारिताबाटै समाजलाई बुझें, यही पेसाबाटै मैले अध्ययन गर्ने मौका पाएँ ।’ उनी भन्छन्, ‘रिसोर्ट त मैले आफ्नो समुदायको पहिचान, रीतिरिवाज र मगर संस्कृति जोगाउन सञ्चालनमा गरेको हुँ ।’ रिसोर्टमा मगर समुदायको चालचलन, संस्कृति लगायतका विषयमा बुझ्न सकिने छ ।

धेरै जना युवा सहर केन्द्रित भएर गाउँघरलाई चटक्कै बिर्सिरहेको अहिलेको अवस्थामा प्रताप भने गाउँमा रमाउँछन् । हुन त उनको भिमाद बजारमा घर छ । उनका आमाबाबा भिमादमा बस्छन् । उनी भने प्रायः गाउँमा हुन्छन्, त्यहीको वातावरणमा रमाउँछन् । कहिलेकाहीं मात्र उनी भिमाद घरमा पुग्छन् । उनलाई अब गाउँमा नै बस्नु छ । हराउँदै गएको मगर समुदायको संस्कृति, संस्कार र रीतिरिवाजलाई जोगाउने र व्यक्तिगत तथा पारिवारिक रुपमा पनि व्यावसायिक र आत्मनिर्भर बन्ने बनाउने उनको उद्धेश्य छ । ‘हुन त हामी मगरको संस्कार जोगाउन मैले मात्रै कोसिस गरेर हुँदैन, सबैले प्रयास गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले प्रयास गरेको छु, अन्य स्थानबाट पनि प्रयास हुन्छ कि अब ?’

गोलो घर, खाने परिकारको मेन्यु लगायत अन्य चीज समेत मगर समुदायको चालचलन अनुसारका बनेका छन् । रिसोर्टमा गाउँघरमा पाइने खानाका परिकार उपलब्ध छन् । त्यसका लागि उनले अहिले गाउँघरमा लगभग हराइसकेको कालो बंगुरलाई बढी महत्व दिएका छन् । मगर समुदायको संस्कार अनुसार कालो प्रजातिको बंगुर पुजापाठ तथा अन्य धार्मिक कार्यका लागि समेत चल्छ । तर, अहिले कालो बंगुर हराइसकेको अवस्थामा छ । यही विषयलाई ध्यानमा राख्दै उनले कालो प्रजातिको बंगुरको फर्म सञ्चालन गरेका छन् । ‘कालो प्रजातिको बंगुर मगर समुदायको धार्मिक कार्यमा समेत चल्छ, अहिले यो हराइसक्यो भन्दा हुन्छ, त्यसैले मैले आफ्नै रिसोर्टलाई हुने र यो प्रजातिलाई जोगाउन फर्म सञ्चालन गरेको छु ।’ उनी भन्छन्, ‘यसले गर्दा बुझ्न चाहने हाम्रो चालचलनको विषयमा जान्ने मौका पाउँछन्, र हराइसकेको प्रजाति जोगिन्छ भन्ने मेरो आशा हो ।’ यतिमात्र होइन, उनले कुखुरा पालन गरेका छन् । बाँझो रहेका अन्य खेतबारीमा तरकारीसहित फलफूल खेती गर्ने उनको योजना छ ।

मगर समुदायको पहिचान हो कौरा नाच । यसलाई जोगाउन उनले ‘मगर लाफा भिलेज रिसोर्ट’ मा कौरा नाँच देखाउने योजना बनाएका छन् । हरेक दिन नसकिए पनि हप्तामा या कुनै विशेष दिन पारेर कौरा नाच देखाइने उनले बताए । ‘कौरा नाच हाम्रो पहिचान हो, हाम्रो संस्कार हो, अहिले यो नाँच हराउँदै गएको हो कि भन्ने भएको छ ।’ उनी भन्छन्, ‘हाम्रो आफ्नो पहिचान भएन भने हामी रहेको के अर्थ ? त्यसैले कौरा नाच जोगाउनु मेरो अर्को उद्देश्य हो, जुन रिर्सोट पूर्ण सञ्चालनमा आएपछि देखाउने मेरो योजना छ ।’ योसंगै उनले रिर्सोटमा निर्माण भएको गोला घरको माथिल्लो तल्लामा मगर संस्कृतिसंग सम्बन्धित सामाग्री राखेर संग्रहालय बनाउने योजना बनाएका छन् । ‘यसका लागि सामाग्री संकलन कार्य जारी छ,’ उनी भन्छन् ।

रिसोर्ट पूर्ण सञ्चालनमा आउन अब केही समय लाग्नेछ । केही संरचना निर्माण गर्न बाँकी रहेको प्रताप बताउँछन् । प्रतापका अनुसार रिसोर्टमा रोधी घर, कार्यक्रमका लागि सेमिनार हल लगायत संरचना निर्माण हुन बाँकी छन् । त्यसैले रिसोर्टको औपचारिक शुभारम्भ हुन केही महिना लाग्नेछ । ‘संरचना निर्माण हुन बाँकी छन्, त्यसपछि औपचारिक उद्घाटन गर्ने योजना हो ।’ उनले भने, ‘वर्षौंको सपना पुरा हुँदै छ ।’ परिवारलाई बजारमा आफू गाउँमा व्यवसाय सम्हालेर बस्नु र पत्रकारितालाई निरन्तरता दिनु उनको लागि सहज छैन । तर सहज आफैंले बनाउने हो जीवनका हरेक चुनौतिलाई । प्रताप यही चुनौतिलाई अवसरमा बदलेर सहज बनाउने कोसिसमा छन् ।

उनी गाउँ फर्किदा प्रश्न गर्ने धेरै थिए । झन् गाउँमा बाँझो रहेका बारीलाई सदुपयोग गर्दै व्यवसाय गर्ने भनेपछि सफल हुँदैन कि भन्ने धेरैको शंका थियो । धेरैले किन गाउँमा आएको, परिवार सबै बजारमा भएपछि भन्ने प्रश्न गरेकै हुन् प्रतापसंग । तर, उनी आफ्नो कर्ममा दत्तचित्त छन् । ‘व्यवसाय गाउँ या सहर भन्ने हुँदैन, आफूले आतिथ्यता राम्रो प्रदान गर्नुप¥यो ।’ उनी भन्छन्, ‘व्यवसायलाई निरन्तरता दिन सक्यो भने सफल हुन सकिन्छ ।’ यही विश्वासले उनलाई आज पत्रकारसहित उद्यमी व्यवसायीको परिचय दिन थालेको छ । उनी बजार केन्द्रित कहिले भएनन् । दमौलीमा बसेर पत्रकारिता गर्दा एकदिन आफ्नै गाउँमा फर्किने छु भन्ने उनले सोचिसकेका थिए । त्यही सोच अनुसार गाउँ फर्किएका छन् व्यवसायी बनेर ।

  • ‘कालो प्रजातिको बंगुर मगर समुदायको धार्मिक कार्यमा समेत चल्छ, अहिले यो हराइसक्यो भन्दा हुन्छ, त्यसैले मैले आफ्नै रिसोर्टलाई हुने र यो प्रजातिलाई जोगाउन फर्म सञ्चालन गरेको छु,’ उनी भन्छन् ।

आफ्नै जन्मथलोमा व्यवसाय गर्छु भन्दा उनलाई परिवारले उनलाई विश्वास गरे । ‘उहाँहरुलाई म प्रति विश्वास थियो होला, त्यसैले आफ्नै ठाउँमा व्यवसाय गर्छु भनिरहँदा अवरोध गर्नु भएन ।’ उनी भन्छन्, ‘बाँझो हुन लागेको जग्गा जमिन सदुपयोग गर्छु भन्ने योजना सुनाउँदा उहाँहरु बढी खुसी हुनुभयो ।’ आमाबाबाको यही खुसीलाई कायम राख्नु छ, मगर समुदायको संस्कृति र संस्कारलाई जोगाउन भुमिका खेल्नु छ प्रतापलाई । व्यवसायी हुँदैमा पत्रकारिता त्याग्ने भन्ने कुरा आउँदैन उनलाई । पत्रकारिताले गर्दा आफू यहाँसम्म आएकाले यो पेसालाई निरन्तरता दिन चाहन्छन् प्रताप । ‘रुखको टुप्पामा पुगियो भन्दैमा जरालाई बिर्सनु हुँदैन ।’ उनी भन्छन्, ‘आखिर जराले गर्दा नै रुख थामिने हो, म त भन्छु सफल भएँ भन्दैमा आफ्नो धरातल बिर्सनु हुँदैन ।’

हालसम्मको संरचना निर्माण गर्दा उनले त्यस्तै ५० लाख खर्च गरिसकेका छन् । संरचना निर्माण गर्न बाँकी रहेकाले खर्च अझै बढ्ने उनले सुनाए । १० वर्ष भयो उनले पत्रकारिता गरेको । उनको पुस्तामा कसैले पत्रकारिता पेसा अपनाएनन्, उनले अपनाए । व्यवसाय उनको परिवारसहित सन्तानले गरेका छैनन्, प्रतापले त्यसमा आफ्नो पाइला अगाडि बढाएका छन् । ‘म यस्तो व्यक्ति हुँ, जसले आफ्नो ७ पुस्ताले कहिले नगरेको पेसा तथा व्यवसायमा पाइला चालेको छु’ उनी भन्छन् । प्रतापले आफ्नो खेतबारीलाई बाँझो रहन दिएनन् । घरलाई खण्डहर बन्न दिएनन् । सायद उनी सहर केन्द्रित भएको भए उनको गाउँको घरमा झार पलाएको हन्थ्यो वा भत्किएर खण्डहर बनिसकेको हुन्थ्यो । ‘म गाउँ नबसेको भए यो घर अहिले खण्डहर बनिसकेको हुन्थ्यो, खेतबारी बाँझै हुन्थ्यो ।’ उनले भने, ‘पहिले त्यही जमिनको उब्जनी खाएर हुर्कियौं, अहिले त्यसैलाई बाँझो किन राख्ने ?’

उनलाई देखेर अहिले सबै खुसी छन् । प्रतापले गाउँमा व्यवसाय सञ्चालन गरेपछि केही आफन्त गाउँ फर्किएका छन् । उनीहरुले समेत आफ्नो संस्कार त जोगाउनुपर्ने रहेछ भन्ने बुझेका छन् । प्रतापको अभियानलाई साथ दिएका छन् । पत्रकारितामार्फत् उनले समाज बुझेका छन् र त मगर समुदायको संस्कार जोगाउन लागिपरेका छन् । ‘मगर संस्कृति, संस्कार र रीतिरिवाज जोगाउन रिसोर्ट सञ्चालनमा ल्याएको भन्ने बित्तिकै मगरका लागि मात्रै हो यो रिर्सोट भन्ने बुझ्नुहोला नि ।’ उनी हाँस्दै भन्छन्, ‘अरुलाई पनि योे रिर्सोटमा स्वागत छ है, तर यहाँ आएपछि भने मगरको संस्कार राम्रोसंग बुझ्न सक्नुहुने छ ।’ प्रतापको रिसोर्टमा मगरको पहिचान मगर पोशाक उपलब्ध छन् । कोहीको चाहना छ भने रिर्सोटमा आइसकेपछि पोशाक लगाएर फोटो खिचाउन सक्छन् ।

रोजगारीको खोजीमा विदेशिनु नेपालीका लागि नौलो विषय होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं नेपाली रोजगारीकै लागि विदेशिन्छन् । प्रतापले भने आफ्नै गाउँठाउँका केही युवालाई रोजगारी दिएका छन् । हाल उनको रिर्सोटमा ४ जनाले रोजगारी पाएका छन् । प्रताप आफैंलाई विदेश जानुपर्छ भन्ने कहिल्यै लागेन । जे जति कर्म गरे नेपालमै गरे । कर्म गर्न सके नेपालमै केही गर्न सकिने विश्वास गर्ने उनी अहिलेसम्म त्यही सोंचमा अडिग छन् । यही अडिगपनको उपज हो ‘मगर लाफा भिलेज रिर्साट ।’ रिर्सोटमा प्रवेश गर्न उनले टिकटको व्यवस्था गरेका छन् । रिसोर्ट प्रवेश गर्न उनले एक जनाको ५० रुपैयाँ कायम गरेका छन् । त्यस्तै रिसोर्टमा रहेको डुंगा खेल्न एक जनाले १ सय तिर्नुपर्ने हुन्छ ।

पत्रकारिता र व्यवसाय । यी दुवै पेसाले उनलाई आनन्दित बनाउँछ । यही आनन्दपनमा प्रताप आफ्नो खुसी र सुख भेट्छन् । गाउँमै बस्छन्, त्यहीको माटोसंग रमाउँछन् । घरमा पालेका बाख्रालाई घाँस काट्छन्, कालो बंगुरलाई खाना दिन जान्छन् र रिर्सोटको कामलाई सघाउँछन् । पत्रकारिता पेसालाई गाउँबाटै निरन्तरता दिएका छन् । यतिमात्र होइन, उनको रिर्सोट नजिकै बनिरहेको भ्युटावरलाई उनले समय दिनुपर्छ । केही समय त्यसको लागि छुट्याएका छन् । भ्युवटावर र रिर्सोट पूर्ण रुपमा सञ्चालनमा आएपछि गाउँलेको आयस्रोत बढ्ने उनको विश्वास छ । ‘रिर्सोट र भ्युटावर पूर्ण रुपमा सम्पन्न भएपछि आन्तरिक पर्यटक बढ्छन् भन्ने विश्वास छ ।’ उनले भने, ‘यसले गाउँमा रोजगारी त सिर्जना हुने नै छ, स्थानीयको आर्थिक अवस्था सुधार आउने छ ।’

हामी नेपाली प्रायः एउटाको व्यवसाय सफल भएको खण्डमा त्यसैलाई सिको गर्छौं । एक जना फरक किसिमको व्यवसाय सञ्चालन गरेर सफल भएको छ भने त्यसलाई सिको गर्दै त्यस्तै किसिमको फेरी अर्को सञ्चालन गर्ने हाम्रो बानी छ । यही सिको गर्नेप्रति भने प्रतापको गुनासो छ । सबै सफल बन्नु छ भने केही फरक गर्नुपर्ने उनी सोच्छन् । उनी चाहन्छन्, सबैले केही फरक गरौं र अस्वस्थ प्रतिस्पर्धा नगरौं । ‘सिको गर्ने प्रवृति नेपालमा हावी छ, यसले अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।’ उनी भन्छन्, ‘फरक–फरक व्यवसाय गरौं, अस्वस्थ प्रतिस्पर्धाबाट बचौं ।’

२०७९, ३० जेष्ठ सोमबार ०५:११
कथालिका नयाँ कथा
कथालिका