‘आश्रम चलाउन सुरुमा माग्न जाँदा कुकुर लाइदिन्थे,फोहोर पानी छ्याप्थे,अहिले सहयोग लिएर आउँछन्’ – कथालिका

‘आश्रम चलाउन सुरुमा माग्न जाँदा कुकुर लाइदिन्थे,फोहोर पानी छ्याप्थे,अहिले सहयोग लिएर आउँछन्’

जीवनको सर्वोत्तम कार्य मानव सेवा । मानव सेवाको संसार स्वार्थ, कुण्ठा, लाभ, इश्या, द्धेष भन्दा धेरै फराकिलो । यस कार्यका लागि कोमल मन मात्र भएर पुग्दैन । त्यो अठोट पुरा गर्ने मनै देखिको हुटहुटी चाहिन्छ । भिड र भाइरलको दुनियाँमा क्षणिक मानव सेवा गर्ने वा आवरणमा देखिने /खाउने त अनगिन्ती छन् । तर, सडकमा वर्षौदेखि बेवारिसे जीवन बिताइरहेकाहरुलाई नयाँ जीवन दिएर सडक आश्रित मानव मुक्त बनाउने संकल्प सहितको सोच लिएर अनवरत पूर्णतः स्वयम्सेवी सेवा भावले समर्पित हुने पात्र दुर्लभ छन् । त्यही दुर्लभ पात्र हुन् रामजी अधिकारी । राज्यले निर्वाह गर्नुपर्ने दायित्वमा सरकार लाचार भए पछि अधिकारीले आफु र आफु जस्तै स्वंयम्सेवी तयार गरे । र, मानव सेवा आश्रम स्थापना गरेर देशव्यापी अभियान बनाए । मानव सेवा आश्रमका संस्थापक/अध्यक्ष उनै अधिकारीसँग कथालिकाका लागि सम्पादक दिल शिरीषले गरेको कुराकानीः

मानवसेवा आश्रमको २०८२ सम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने अभियान कहाँ पुग्यो ?
मानवसेवा आश्रमले संस्थाको स्थापनाको समयमा नै वि.स २०८२ सालभित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेका थियौँ । हामी यसको धेरै नजिकमा छौँ ।
हामीले २०६९ सालदेखि सुरुवात गरेको १० बर्षको अन्तरालमा करिब ६५०० जनाको उद्धार गरेको तथ्याङ्क छ । हामीले सुरुवातको ७ बर्षमा जतिको सेवा ग¥यौँ, पछिल्ला ३ बर्षको अवधीमा त्यो संख्या बराबर नै सेवा प्रवाह गर्न सफल भएका छौँ । अघिल्लो बर्ष मात्र हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ४५ दिने यात्रा ग¥यौँ । त्यो बीचमा ७५८ जनाको उद्धार ग¥यौँ ।
सुरुवाती समयमा हामीले जसरी सहयोगका लागि अनुरोध गर्दा सहयोग प्राप्त गर्न कठिनाई हुन्थ्यो, त्यो अवस्था अहिले कम रहेको छ । मनका धनी नेपालीहरुलाई एउटा खुसीयाली मनाउने र आफ्ना पितृहरुको स्मरण गर्ने थलोका रुपमा मानवसेवा आश्रम विकास हुँदै गइरहेकोले पनि हामी यसको नजिक छौँ ।

अहिले अझै कति मानिसहरु सडकमा होलान् ? यसको केही त्यस्तो रिसर्च, आधिकारिक तथ्यांक कुनै निकायले राखेको छ ? र यो सबै अवस्था हेर्दा ८२ साल सम्ममा यहाँहरुको लक्ष्य प्राप्ती होला ?
छन् । पक्कै पनि सडकमा अहिले पनि कैयौँ मानिसहरु देख्छाँैँ । यसको एकिन तथ्याङ्क कोही निकायसँग पनि छैन ।
हामीले संस्थाको सुरुवात गर्दा यस किसिमका मानिसहरु पनि छन् । यिनिहरुको पनि मानवअधिकार हुन्छ भन्ने कुरा समेत कसैले महसुस नगरेको अवस्थामा कम्तीमा सबैजनालाई सडकआश्रित मानवहरुको जीवनरक्षा हाम्रो पनि दायित्व हो है भन्ने कुराको बोध गराउन सकेका छौँ । यसकारण पनि सडकमा भएका मानिसहरुको उद्धार भइ नै राखेको छ ।
हामी लक्ष्य प्राप्त गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ । हामीले त २०८२ साल होइन, २०७८ सालभित्र नै गर्न सक्छौँ भनेर तयारी गरेका थियौँ । सोही तयारी अनुरुप मेची महाकाली यात्रा पनि ग¥यौँ । तर, यही बीचमा कोविड १९ को कहरले सोचे अनुरुपको सेवा प्रवाह गर्न कठिनाई भयो । र यो लक्ष्य राख्दा हामीसँग आर्थिक रुपमा केही पनि थिएन । थियो त केबल भावना मात्र । त्यही भावनामा विश्वास गर्दै र राम्रो कामको लागि सबैको साथ र सहयोग अवश्य रहने छ भन्ने कुरामा आशावादी हुँदै आयौँ । आजको दिनमा करिब देशलाई घोषणा गर्ने तयारीमा छौँ ।

घोषणा गर्नु ठुलो कुरा होइन तर, त्यसपछिको कार्यन्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसको कार्यन्वयनका लागि आश्रमको आफ्नै सहयोगापेक्षीमैत्री भवन निर्माणको कार्यलाई तिब्रता दिएका छौँ । २०८० को अन्त्य सम्म आश्रमको शाखा सञ्चालनमा रहेका स्थानमा सहयोगापेक्षीमैत्री भवन निर्माण गरि सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनमा जोड दिइरहेका छौँ । अहिले देशको १३ स्थामा आश्रमको भवन एकसाथ निर्माण भइरहेको छ भने मुख्य कार्यालय मकवानपुर, हेटौंडामा भवन निर्माण सम्पन्न भइसकेको छ ।
साथै हाल मानवसेवा आश्रमले सरकारी निकायको र सहयोगी दाताहरुको साथ र सहयोगमा कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरि कार्यान्वयनको चरणमा छ ।

  • अहिले सडकमा चार प्रकारका मानिस छन् । जसमध्ये तीन प्रकारका मानिसहरुका लागि मानव सेवा आश्रम उपर्युक्त ठाउँ र विकल्प होइन । खाने र जाने ठाउँ नभएकाका लागि मात्र हामीले सेवा गरेका हौ । 

खासमा मानव सेवा आश्रमको सोच अवधारणा यहाँहरुको मनमा के कसरी आयो ?
खासमा वि.स २०६६ सालदेखि नै म लागायत केही साथीहरु समाज रुपान्तरण र सकारात्मक सोचका विभिन्न कार्यक्रमहरु गर्दै हिँड्थ्यौँ । त्यही क्रममा वि.स २०६७ सालमा मानवसेवा आश्रमको मातृ संस्था सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनको माध्यमबाट कार्यक्रमहरु सञ्चालन गरेको १ बर्ष पुगेको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गर्ने योजना बन्यो । त्यसमा एकदिन सडकका आमाबुवाहरुसँग सहभोज गर्ने योजना बनेपछि त्यसको तयारीमा जुट्यौँ ।
कार्यक्रमको लागि हेटौंडा नगरपालिका (हाल उपमहानगरपालिका) को सहयोगमा सडकमा रहनुभएका १८ जना बेवारिसे, अशक्त आमाबुवाहरुलाई कार्यक्रम स्थलमा ल्याएर सरसफाई र नुवाइधुवाई पछि कार्यक्रम राम्रैसँग सम्पन्न हुँदै थियो । त्यो बेला एक्कासी ठुलो पानी प¥यो ।
पानी परेपछि उहाँहरु पहिले बसेको सडकमा ल्याएर छोड्ने अवस्था पनि बनेन । आफूसँगै राख्न पनि सकिँदैन । अनि उहाँहरुले पनि अघिसम्म फोहोर हँुदा मागेर खान सकिन्थ्यो तर नुवाइधुवाई र सरसफाई पछि अब हामीलाई मागेर कसले दिन्छ भन्ने प्रतिप्रश्न गर्नुभयो ।
हामी निशब्द भयौँ । पानी केही कम भएपछि सडकमा नै पहिलेको स्थानमा लगेर छोड्यौँ तर रातभरि उहाँको प्रश्नले मनमा पीडाबोध भयो । हामी कसका लागि बाँचेका छौँ भन्ने कुरा मनमा खेलिरह्यो । अनि सडकमा भएका व्यक्तिहरुको लागि हामी परिवार बन्नुपर्छ भन्ने सोचले मानवसेवा आश्रमको अवधारणा आएको हो ।

रामजी अधिकारी संस्थापक/अध्यक्ष मानव सेवा आश्रम,नेपाल

आश्रमबाट देशव्यापी रुपमा आज जे काम भएको छ, त्यो हुन्छ भन्ने थियो कि थिएन ?
हामीलाई त विश्वास थियो । होइन भने हामीले देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश निर्माण गर्ने १३ बर्षको समयावधि किन राख्थ्यौँ र । यदि हामी अरु कसैको जीवन बचाउनका लागि बाँचिरहेका छौँ भने एक दिन सबैजनाले यो कुरालाई महसुस गर्नुहुनेछ अनि हामी लिएको लक्ष्य प्राप्त गर्ने छौँ भन्ने कुरामा सधै विश्वस्त रह्यौँ ।

स्थापनादेखि हालसम्म कति उद्धार, कति पुर्नमिलन गराउनु भयो ?
१) हाल मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेका जिल्ला : १८ जिल्ला
(यो बाहेक झापा जिल्लामा भवन निर्माण गरि सेवा सुरुवात गर्नका लागि तयारी)
२) सञ्चालनमा रहेका आश्रमहरु (केन्द्र) : २२
३) सडकबाट उद्धार गरी सेवा प्रदान गरिएका सहयोगापेक्षी व्यक्ति: ७१७८ जना
४) सुधारपश्चात् पारिवारिक पुनर्मिलन भएका व्यक्ति: २७५० जना
५) आश्रमको विभिन्न शाखाहरूमा हाल सेवा लिइरहेका व्यक्ति: १४७० जना
६) आश्रममा आई अन्तिम संस्कार गरिएका व्यक्ति: ७८० जना
७) सामुदायिक पुर्नस्थापना: ६१६ जना
८) उपचार पश्चात स्वेच्छाले आश्रमबाट बिदा हुनुभएका: २१०१ जना

देशभरका आश्रम मुठ्ठी दान, स्वयंसेवी सहयोग कि के कसरी चलाइरहनुभएको छ ?
मानवसेवा आश्रमको मुख्य सेवा आम्दानीको श्रोत भनेको नै मुठ्ठीदान नै हो । हामीले आश्रमको स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आइरहेका छौँ । आश्रमको सेवालाई सहज बनाउन मानवताप्रेमी मनहरुले आश्रमलाई खुसीयाली मनाउने र पितृ स्मरण गर्ने थलो बनाउनुभएको छ ।
सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न आउनुहुने परोपकारी दाताहरुको सहयोगमा संस्था सञ्चालनमा छ । पछिल्लो २ बर्षमा तिनै तहको सरकारले पनि सेवामा केही योगदान गरेको छ ।
आश्रमको सेवामा रहने अभियन्ता, साधकसाधिका भने स्वयंसेकको रुपमा २४ घण्टा नै समर्पित छन् । केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा रहनुभएको छ ।

अहिले पनि सडकमा मानिसहरु सबैजसो शहरहरुमा देखिन्छन् । अझै कति मानिसहरु आजको समयमा सडकमा बेवारिसे अवस्थामा होलान् ?
सडकमा मानिसहरु देखिन्छन् । यो नौलो कुरा होइन । पहिले पनि देखिन्थे । पहिले देखिँदा कसैलाई मतलब हुन्थेन । अहिले चासो लिन थाल्नुभएको छ । यो हाम्रो सेवाको सबैभन्दा ठुलो सफलता हो ।
तर, यसो भन्दैमा सडकमा भएको सबै मानिसको उद्धार हुनुपर्छ भन्ने पनि होइन । सडकमा देखिएका मानिसहरु सबै सहयोगापेक्षी सडकआश्रित मानवहरु नै हुन् भन्ने जनमानसमा रहेको बुझाईलाई यहाँ प्रष्ट पार्नु उपर्युक्त हो जस्तो लागेको छ ।

हाम्रो बुझाई र अनुभवमा सडकमा खासगरि ४ प्रकारका मानिसहरु रहने गर्दछन् । पहिलो, वास्तविक सहयोगापेक्षी जसको कोही छैन, केही छैन जसलाई मानवसेवा आश्रमले सेवा गरि नै रहेको छ । दोश्रो, कवाडी सामान उठाएर दैनिक जीवनयापन गर्ने श्रमजीवी वर्ग । तेश्रो, माग्ने पेशा बनाएर जीवन चलाइरहेका व्यक्तिहरु । यसमा कतिपय मानिसहरुले काठमाडौं जस्तो देशको राजधानीमा मागेर नै ४ वटा घर ठड्याएको अनुभव हामीसँग छ । चौथो, सधै फिरन्ते जीवनयापन गर्ने कहिले कहाँ जाने, कहिले कहाँ, टुङ्गो नभएका तर घुम्ने बानी लागेका आश्रममा बस्न नरुचाउने ।
हामीले यसरी वर्गीकरण गर्दा अन्य ३ प्रकारका मानिसहरुको लागि मानवसेवा आश्रम उपर्युक्त ठाउँ होइन । तर, सडकपेटीमा कष्टपूर्ण जीवनयापन गरेको छ । जाने ठाउँ छैन, मानसिक वा शारीरिक रुपमा कमजोर छ । केही गर्न सक्दैन त्यस किसिमका मानिसहरुको एकिन संख्या नभएपनि हाल आश्रममा १६०० जना जस्तो आश्रित हुनुहुन्छ । सडकमा त्यो भन्दा धेरै संख्या छ जस्तो लाग्दैन ।

तपाईहरुको लामो अनुभवका आधारमा मानिसहरु खास के कस्ता कारणले सडकमा आउँदा रहेछन् ? बुँदागत रुपमा अलि बिस्तृतमा बताइदिनुस् न ।
-घरपरिवारबाट अपहेलित भएकाले ।
-मानसिक रुपमा कमजोर भएपछि परिवारले नै सडकमा ल्याउने ।
-मानसिक अस्वस्थाताका कारण फिरन्ते जीवनयापन ।
-पारिवारिक कलह ।
-परिवारले माग्नका लागि बालबच्चाको प्रयोग गर्ने ।
-स्वेच्छाको नाममा स्वच्छन्दताको जीवनयापन गर्ने ।
-पेशाको रुपमा माग्नेलाई नै पेशा बनाउने ।
-विविध दुर्घटनाका कारण घरपरिवार र आफन्त नभएपछि एक्लो जीवनयापन गर्दा ।
हाम्रो बुझाईमा विशेष गरि माथि भनिए जस्तो वास्तविक सहयोगापेक्षी मानिसहरु त आर्थिक उपार्जनका लागि नै सडकमा आउँछन् । तर, वास्तविक सहयोगापेक्षीको हकमा भने सकडमा भएको मानिसहरुमा कुनै न कुनै प्रकारको मानसिक समस्या पाउने गरेका छौँ । यसमा पनि केही मानिसहरु घर परिवारबाट अपहेलित भएर सडक संघर्षको कारणले सडकमा आउने गर्छन् । कोही मनोरोगी भएपछि घर परिवारले सडकमा ल्याएर छोडिदिन्छन् । कोही मानसिक अस्वस्थताको कारण एकै स्थानमा बस्न नसकी हिँड्दा-हिँड्दै सडक जीवन बिताउँछन् । त्यस्तै कोही घरपरिवारसँगको झगडाले सडकमा आएर त्यही रमाउन थाल्छन् । यसरी फरक फरक प्रकृतिका मानिसहरु सडकमा आउँछन् ।

यस्तै, कोही कोही भने फरक प्रकृतिका मानिसहरु पनि देखेका थियौँ । आफ्नै परिवारका सदस्यले वा अन्य कुनै गिरोहले बालबच्चाहरुलाई माग्न लगाउने र त्यसको आम्दानी आफ्नो लागि व्यक्तिगत रुपमा प्रयोग गर्ने । यस्तै उदाहरण हामीले पशुपति मन्दिर क्षेत्रमा भेटेका थियौँ । आमाले टाढा बसेर हेर्ने, छोराछोरीलाई जबर्जस्ती माग्न लगाउने पनि छन् ।

  • आत्मसन्तुष्टिका लागि मानिसहरु पैसा खर्चिरहेका छन्, हामीले सेवाबाट स्वतःस्फुर्त पाइरहेका छौ ।

सडक मानवको उद्धार, व्यवस्थापनमा तीन तहको सरकारको भूमिका के कस्तो छ ?
सुरुवाती ७ बर्षमा हामीले कुनै कुनै स्थानमा घरभाडामा स्थानीय सरकारको अभिभावकत्व पाएका थियौँ । संस्था पनि यति विकसित रुपमा विस्तार भइसकेको थिएन । एक हिसाबले हेर्ने हो भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि कोही नभएका व्यक्तिहरुको अभिभावक सरकार हुने लेखिएको छ । त्यसको कार्यन्वयन जुन हिसाबले हुनुपर्ने हो त्यो भएको त छैन । तर, पछिल्लो ३ बर्षमा सरकारी सहयोगहरु पनि प्राप्त भएका छन् । आर्थिक बर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदनलाई आधार मान्दा ६० प्रतिशत सहयोग दाताहरुबाट प्राप्त भएको छ भने ४० प्रतिशत सहयोग सरकारका तिनै तहबाट प्राप्त भएको छ । यो अनुपात उद्धार र व्यवस्थापनका लागि मात्र नभएर भवन निर्माणका लागि समेत हो ।

मानव सेवा आश्रम सञ्चालन आफैमा सहज कर्म होइन, यो अभुतपूर्व काम गर्न कति कठिन छ ?
यो कार्य अत्यन्तै कठिन छ । तर, सँगसँगै आनन्ददायी पनि । आफ्ना परिवारका सदस्यहरुबाट अपहेलित भई सडकमा पुगेका आमाबुवाहरुको छोराछोरी बन्ने शौभाग्य प्राप्त गर्नु आफैमा उत्कृष्ट कार्य भएको महसुस हुन्छ । साना साना बाबुनानीहरुले बाबा, आमा भनेर बोलाउँदा आत्मियताको अनुभव हुन्छ ।
सायद मानवसेवा आश्रमको अवधारणा नआएको भए हामी अहिले पनि मेरो छोरा, छोरी, बुवा, आमा भनेर बसिरहेका हुन्थ्यौँ होला, ४ जनाको परिवारमा रमाएका हुन्थ्यौँ होला । तर आज १६०० जनाको परिवारमा रमाउन पाउनु भन्दा ठुलो कार्य के होला ?
साथै, आफ्नै आमाबुवाको दिशा पिसाब गनाउने हामीलाई कोही न कोही नाता नै नभएका व्यक्तिहरुको दिशा पिसाब सोहोर्न सुरुवाती दिनहरु पक्कै पनि सजिलो रहेन । साथै आश्रममा पकाउनका लागि केही नहुने, सहयोगका लागि बोरा लिएर माग्न जाँदा कसैले कुकुर फुकाएर लगाइदिने, कसैले फोहोर पानीले छ्याप्ने अवस्था थियो । अहिले विस्तारै त्यो अवस्था परिवर्तन भएर सहयोग गर्नका लागि ठाउँ खोजेर आउने संख्यामा वृद्धि भइरहेको छ ।

आश्रममा स्वतस्फुर्त समर्पित हुँदाको आनन्द सुखद विषय चाही के ?
जीवनमा सबैभन्दा ठुलो कुरा भनेको आत्मसन्तुष्टी रहेछ । आत्मसन्तुष्टी प्राप्त गर्नका लागि धेरैजनाले समय र पैसा खर्चेको देख्छु । आफ्नो आर्थिक र शैक्षिक सफलतालाई आत्मसन्तुष्टीको रुपमा लिइने बुझाई छ । तर, आफ्नो सम्पूर्ण जीवन नै सडकआश्रित आमाबुवा दाजुभाई दिदीबहिनीको सेवाको लागि नै समर्पित गरेपछि आफ्नो व्यक्तिगत जीवन भन्दा पनि उहाँहरुको खुसी नै हाम्रो खुसीसँग जोडिने रहेछ ।

यो खुसी र आत्मसन्तुष्टी परमानन्दको हुन्छ । अन्य कुनै पनि खुसी र सफलतासँग तुलना हुँदैन ।

यो पुजिवादी दुनियाँमा आफ्नो व्यक्तिगत र पारिवारिक जीवन भविष्यले यहाँ स्वयम् र यहाँ मातहतका सयौं स्वयंसेवीहरुलाई कतिको पिरोल्छ ?
कहिले काहीँ पिरोल्छ । हामी आफ्नो लागि भन्दा पनि हामीसँग जोडिनुभएका परिवारका सदस्यहरुको बारेमा सोच्दा कहिलेकाहीँ कसरी गर्ने होला भन्ने विचार मनमा आउँछ । पैसा सबैकुरा होइन, तर पैसा बिना धेरै कार्यहरु असम्भव हुन्छन् भन्ने कुरालाई पनि महसुस गरेका छौँ । हामी अभियन्ताहरुको लागि सोचि दिने धेरै अभिभावकहरु पनि पाएका छौँ । अभिभावकहरुले अभियन्ताहरु बिरामी पर्दा र कठिन अवस्था आउँदा सहजीकरण होस् भन्ने उद्देश्य राखेर अभियन्ता कल्याणकारी कोषको स्थापना गरिदिनुभएको छ ।
हामीले धन सम्पति कमाउन नसकौँला, तर समस्यामा साथ दिने अभिभावक पाएका छौँ । यही सकारात्मक सोचका साथ सेवामा समर्पित छौँ ।

  • आमाबाबा भनेका जीवित देवीदेवता हुन् भन्ने सन्देश फैलाउँदै आएका छौँ । उनीहरुलाई खुसी बनाउन सकिएन भने मठमन्दिरमा गएर पूजापाठ गर्नुको कुनै अर्थ छैन ।

मानिसहरु पैसा र प्रविधिका कारण सबै यान्त्रिक जस्ता हुन थाले । हामी भन्ने बिर्सेर म मात्र भन्ने अवस्थामा मानिस देखिन्छन् । नेपाली समाजमा मानवता प्रवद्र्धन गर्ने अभियानले सार्थकता पाउला त ?
हामीले मानवता प्रवद्र्धनका कार्यहरु सञ्चालन गर्दागर्दै नै मानवसेवा आश्रम को अवधारणा आएको हो । त्यसैले हामीले मानवसेवा आश्रमसँगै मानवता प्रवद्र्धनको अभियानलाई समेत सँगसँगै सञ्चालन गरिरहेका छौँ ।
समाज यस्तो भइसकेको छ कि मानिस पैसाको लागि आफ्नै परिवारका सदस्यहरुको हत्या गर्न समेत पछि पर्दैन, आफ्नै आमा बुवालाई समेत सडकमा ल्याएर छोड्न पछि पर्दैन । तर, यही बीचमा हामीले अहिलेसम्म धेरै स्कुल र कलेजमा मानवता प्रवद्र्धन अभियान अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । सरकारी निकायहरुमा समेत यस किसिमका कार्यक्रमहरु सञ्चालन भएका छन् ।
स्कुल र कलेजमा पढ्ने विद्यार्थीमा मानवीय भावनको विकास गर्न सकियो भने र सरकारको सँगसँगै साथ रह्यो भने यसमा हामी पक्कै सफल हुनेछौँ । तर, एउटा कुरा के पनि हो भने शिक्षाको नाममा जसरी हामीले बालबालिकालाई टाढा बनाइराखेका छौँ । त्यसले उनीहरुमा आमाबाबा र परिवार प्रतिको आत्मियता कम गरिराखेको छ । यसमा पनि अभिभावकले ध्यान पु¥याउनु जरुरी छ ।

जो सँग घर, सम्पति छ, लाखौको बैंक ब्यालेन्स छ, तर मानवता देखिन्न । जन्मदिने आमा, बुवाहरु आश्रममा छोड्छन्, छोराछोरीहरु बेवारिसे अवस्थामा छोड्छन्, या यस्ता मानवीय परोपकारी कार्य बेवास्ता गर्छन्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
हामीले त भनि नै रहेका छौँ । मानवसेवा आश्रमको माध्यमबाट सडकपेटीमा आउनुभएका व्यक्तिहरुको उद्धार गरेर सेवा गरि नै रहेका छौँ भने मानवता प्रवद्र्धन महाअभियानको माध्यमबाट आमाबाबा भनेका जीवित देवीदेवता हुन् भन्ने सन्देश फैलाउँदै आएका छौँ । उनीहरुलाई खुसी बनाउन सकिएन भने मठमन्दिरमा गएर पूजापाठ गर्नुको कुनै अर्थ छैन ।
पैसा र बैंक ब्यालेन्स मात्र भएर हुने भए संसारका धनाढ्य व्यक्तिहरु जति खुसी यो संसारमा अरु कोहि हुने थिएनन् तर, विभिन्न आधुनिक संयन्त्रहरुको प्रयोग गरेर मापन गरेको खुसी मापन सुचकाङ्कले समेत सबै धन दौलत छोडेर हिमालमा गएर बसेको मानिसलाई सबैभन्दा खुसीयाली मानिस बताइरहेको छ ।
हामीले हाम्रा अभियानका माध्यमबाट भन्ने पनि गछौँ ।
“कोही जान्छन् कावा, कासी – कोही चारै धाम
अलोक निरन्जन घर भित्रै छन् – बाहिर के को काम ?”

२०७९, ९ श्रावण सोमबार ०६:२८
कथालिका नयाँ कथा
कथालिका