- डेस्कटप कम्युटरमा ‘किचन गार्डेन’ हेर्दै अर्गानिक कौंशी खेतीबाट थालेको उद्यम आज बुढानिलकण्ठ हुँदै चितवनको मादी सम्म १२ बिघामा विस्तार गर्न सफल भएका छन् ।
बिमला आचार्य दाहाल भर्खर बिहे गरेकी थिइन् । २०६८ सालमा जन्म दिने आमाको मृत्यु भयो । मृत्युको कारण क्यान्सर थियो । त्यो क्यान्सर कतै वंशाणुगत त होइन ? कतै म पनि त क्यान्सरबाट ग्रसित भइसकेको छैन ? भन्ने भयले बिमलाले आमाको ज्यान लिने क्यान्सर र यो रोग लाग्नुको कारण खोजे । खोज्दा खानपानी र जीवनशैली देखियो । यसबाट भयभित बनेकी उनले आफ्नो खानपान र जीवनशैली बदल्ने सोच र अभ्यास थालिन् ।
गोकर्णकै घरको कौंशीमा भर्खर आएको अनलाइनमा ‘किचन गार्डेन’ हेर्दै खेती गर्न थालिन् । कौंशी खेतीबाट हौसिएका उनी बिस्तारै फराकिलो खेतबारीमै व्यावसायिक रुपमै अर्गानिक कृषि उद्यम गर्ने योजना बुनेर बुढानिलकण्ठमा जग्गा लिजमा लिएर व्यावसायिक खेती थालिन् ।
सुरुमा आफूसँग लगानी गर्ने पैसा नभएकाले लाएको दुई तोला गहना बेचेर कृषि उद्यम सुरु गरेको बिमला बताउँछिन् । ‘आमाको मृत्यु पछि म आफू पनि स्वस्थ खान्छु र अरुलाई स्वस्थ खुवाउँछु, स्वस्थ खान प्रेरित गर्छु भन्ने उद्देश्य र सपना बोकेर अर्गानिक खेतीमा होमिएको हुँ,’ आचार्यले भनिन्, ‘डेस्कटप कम्युटरमा किचन गार्डेन हेर्दै अर्गानिक कौंशी खेतीबाट थालेको उद्यम आज बुढानिलकण्ठ हुँदै चितवनको मादी सम्म १२ बिघामा विस्तार गर्न सफल भएका छौ, यसबाट म र मेरो परिवार खुशी र सन्तृष्ट छौ’
उनै बिमलासँग कथालिकाको देश कि विदेश ? संवाद सम्भावनाको पडकास्ट श्रृंखलामा हामीले प्रेरणादायी संवाद गरेका छौ । प्रस्तुत छ, हिमालय अर्गानिम फार्मका सञ्चालक बिमला आचार्य दाहालसँगको पडकास्टः