गुर्जामा जाँडरक्सी निषेध, जरिवानाको रकम सरसफाईमा – कथालिका

गुर्जामा जाँडरक्सी निषेध, जरिवानाको रकम सरसफाईमा

धौलागिरी क्षेत्रमा एउटा उक्ति चर्चित छ, मान्छेको टुप्पी भन्दा माथि ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन । भौगोलिक रुपमा निकै विकट मानिएको म्याग्दीको धवलागिरी गाउँपालिका(१ गुर्जाले एक फरक निर्णय गरेको छ ।

वडाका जनप्रतिनिधिको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ । यद्यपि, यसको कार्यान्वय कति प्रभावकारी तबरले हुनेछ, त्यो भने हेर्न बाँकी छ ।

चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौ’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ ।’

घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए । जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए ।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।

 

२०७९, १० श्रावण मंगलवार ०५:०३
कथालिका नयाँ कथा
कथालिका