- बुढेशकालमा असम्भव लाग्ने उनका अनौठा सौख र सपना देखेर मानिसहरु चकित छन् । नेपालमै भएका भए अर्को वर्षदेखि बृद्ध भत्ता पाउने उनी अपत्यारिलो पैदल यात्रा गरेर विश्व शान्तिको कामना त गरिरहेका छन् नै, स्वंयम् आफ्नै प्रेसर र सुगर रोग भएको शरीरमा पनि चामकात्कारिक सुधार ल्याइरहेका छन् ।
नेपाली समाजमा ४० कटे पछि रमाउने गीत र उक्ति नै सर्वाधिक हिट छ । उसो त ६० कटे पछि पूर्णतः आराम गर्ने उमेर भनिन्छ । यद्यपि, कति बृद्धबृद्धा शारीरिक अवस्था र अस्वस्थताले आराम नै गर्छन् भने कति कर्ममै सक्रिय भएर दैनिकी बिताउँछन् । जागिरे जीवन पश्चात आराम गर्ने उमेरमा भारत हुँदै पैदल नेपाल आएका ६७ वर्षीय चन्द्र शेखर अलौकिक लाग्छन् । बुढेशकालमा असम्भव लाग्ने उनका अनौठा शौख र सपना देखेर मानिसहरु चकित छन् । उनी नेपालमै भएका भए अर्को वर्षदेखि बृद्ध भत्ता नै पाउने रहेछन् । उनी यो उमेरमा, त्यो पनि दैनिक अपत्यारिलो पैदल यात्रा गरेर विश्व शान्तिको कामना त गरिरहेका छन् नै, स्वयम् आफ्नै प्रेसर र सुगर रोग भएको शरीरमा पनि चामकात्कारिक रुपमा स्वस्थता र सुधार ल्याइरहेका छन् ।
६७ वर्षिय चन्द्र शेखरले यात्राकै क्रममा हिन्दी लवजमा भने–‘किसी को मञ्जिल की भूख है तो किसीको पैसोकी प्यास है, पर सच कहूँ तो मेरे लिए ये सफर ही खास है ।’
पैसाको प्यास होइन, यात्राको भोक र आत्मसन्तुष्टिको प्यासनले जीवनमा हिँड्ने सपना र रहर जाग्यो । र लामो जागिरे जीवनको अवकाश पछि बुढेशकालमै भए पनि देशबाट विदेश सम्म साहसिक पैदल यात्रामा निस्किने एक दुस्साहसपूर्ण निर्णयमा पुगे ।
दैनिक ६०,७० किलोमिटर पैदल यात्रा
भारतको बैङ्गलोरबाट ७ महिना २६ दिन लगातार हिँडेर पोखरा हुँदै धौलागिरी (पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ) आएका उनले आफ्नो यात्राको बेली विस्तार सुनाए ।
तपाइँ दैनिक कति घण्टा, कति किलोमिटर हिँड्नुहुन्छ ? १,२ वा अरु धेरै ? धेरैले यो प्रश्नको उत्तर मुस्किलले दिन सक्लान् । तर, उमेरले ७० नेरोघेरोमा लागेका चन्द्र शेखर दैनिक ६०,७० किलोमिटर हिँड्छन् भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्ने मात्र होइन, विश्वास गर्न पनि मुश्किल हुन्छ ।
करिब ७ दशकको उमेरमा हाम्रो देशमा अधिक बृद्धबृद्धा शौचालय जाँदा समेत अरुको आड भरोसा लिएर जानुपर्छ । भारत कर्नाटक राज्यको बैङ्गलोर निवासी ६७ बर्षिय चन्द्र शेखर यस्ता पात्र हुन्, जो ७ महिना २९ दिन लगातार हिँडेर आफ्नो आत्म शान्ति (मोक्ष) प्राप्तिको यात्रामा छन् । उनको यात्राको लक्ष्य हो-सबै मानिस सुखी र खुसी, विश्व शान्तिको कामना ।
आज भन्दा ७ महिना अघि आफ्नो घरबाट एउटा झोला, झोलामा केही जोर लुगा, एउटा स्मार्ट फोन अनि ८ जोर चप्पल लिएर निस्केका चन्द्रशेखरको यात्राको दरिलो सारथी हो लौरो । आफ्नो साथसाथ बाटो काट्न सघाउने ४ फिट अग्लो लौरोमा पित्तलको काँजा ठोकिएको छ । यसका कारण राम्रो देखियोस् र टिकोस् पनि उनको ध्येय रहेछ ।
उनको खुट्टाले टेके जति त्यो लठ्ठिले पनि जमिनमा टेक्छ । धौलागिरी सम्मको यात्रामा उनको यात्राको सारथी लौरो पनि एक फिट जति खिइएको छ । उसैगरी खिइएको छ उनका पैताला र धेरै जोर चप्पलहरु । हँसिलो अनुहारमा निकै सक्रिय देखिने ६७ वर्षिय शेखरमा थकानको कुनै आभाष देखिएन ।
उमेर र परिवारले रोक्न नसकेको बुढेशकालको यात्रा
‘यात्रा करने के लिए धनकी आवश्यकता नहीं बल्की मन की आवश्यकता होती है,’ उनी भन्छन् ।
भारत र नेपालका मुख्य मुख्य शिवलिंग सहित ४ वटै धामको पैदल यात्रा गरि दर्शन गर्ने इच्छा उनको मनमा जागेपछि उक्त इच्छालाई न त उमेरले रोक्न सक्यो न त परिवारले । जहाँ इच्छा त्यहाँ उपाय भनिए झै उनको जीवनमा पनि इच्छाका अगाडि अरु सबै चिज गौण सावित भए ।
सरकारी जागिरे शेखर २०१६ मा सरकारी जागिरबाट अवकास पाएका रहेछन् । उनको खेलमा समेत रुचि थियो । एथलेटिक्स खेल मार्फत उनले भारतको प्रतिनिधित्व गर्दै विभिन्न देशमा पुगेर आफ्नो खेल कला समेत प्रस्तुत गरेका प्रमाण,मेडल जितेका फोटाहरु मोबाइलमा कैद छन् । उनले विभिन्न देशमा आफू सहभागी भएका प्रतियोगिताका तस्वीर समेत देखाए ।
एसिया,युरोप र अमेरिकाका देशमा पुगेर जितेका मेडलहरु घरमा सुरक्षित रहेको उनी बताउँछन् ।
२०१६ पछि रिटायर्ड लाइफ बिताएका उनले लामो समय आफ्नो यो लामो यात्राबारे योजना बनाएको बताए । दैनिक हिँड्ने,बस्ने ठाउँ, दैनिक यात्राको दुरिबारे गहन अध्ययन गरि यात्रा नक्सा (म्याप) बनाएका थिए । ८ महिनाको त्यो तयारी पछि यात्रामा निस्केको उनको भनाई छ । उनको यात्राको रुट र त्यसको दुरी सुन्दा नै परिवारले समेत नाक खुम्चाउँथे । यस्तो उमेरमा यति कठिन योजना नबनाउन परिवार र साथीहरुले सल्लाह दिएका थिए । ३ दिन लगातार गाडि र जहाजमा हिँड्दा त मान्छे बिरामी पर्छ भने लगातार १८ महिना कसरी हिँड्न सक्छौ ? उनलाई प्रश्नहरु धेरै खनिए । दृढ विश्वास र उद्देश्यमा अडिग उनी आफ्नो सपना र अठोटबाट अरुका प्रश्न, संशयबाट कत्ति विचलित बनेनन् ।
भारतको बैङ्गलोरबाट निस्केका उनले भारतका अघिकांश ठाउँ पैदल हिँडे । भारतमा मूख्य धार्मिक स्थल पुगेपछि नेपालको लुम्बिनी, पशुपतिनाथ हुँदै अहिले मुक्तिनाथ सम्म पुगेका छन् ।
७ महिना २९ दिनमा ८ हजार ९ सय ८० किलोमिटर दुरी हिँडिसकेका छन् । अझै ११ हजार किमी दुरी बाँकी छ र त्यो दुरी पार गर्न उनलाई अझै ११ महिना लाग्नेछ ।
धार्मिक र पर्यटकीय दृष्टिकोणले नेपाल अद्भुत स्थल
नेपाल धार्मिक र प्राकृतिक पर्यटकीय दृष्टिकोणले निकै अद्भुत ठाउँ भएको उनको भनाई छ । ‘नेपालमा के छैन ? साँच्चै स्वर्ग भनेको यही ठाउँ रहेछ,’ उनी भन्छन् । नेपाली नागरिकको सत्कार गर्ने शैली र व्यवहारले समेत आफुलाई निकै आनन्दित तुल्याएको अनुभव सुनाए ।
शिव र हिन्दु धर्ममा विश्वास गर्ने यी यात्रीलाई आफू कहिल्यै एक्लो लाग्दैन । ‘माथि भगवान छन्, अनि दुःख, अप्ठ्यारोमा उहाँ आइहाल्नुहुन्छ,’ उनी भन्छन् । यात्रामा क्रममा उनले केही त्यस्ता कठिन क्षण भोगे र त्यसबाट पार पाए, जुन भगवानको कारण भन्ने उनलाई लागिरहेछ । कतै कठिन अवस्थामा मान्छेले सहयोग गरेको,दोबाटोमा पुग्दा सही बाटो कुन हो भनेर दोधार पर्दा भगवानकै अनुग्रहले सही बाटो छान्न सकिएको जस्ता विश्वास उनका मनमा गहिरो रुपमा गडेका छन् ।
तराइमा उखुम गर्मी, कहिले पानी र झरी, बाढी पहिरो समेतको खतरालाई कुनै वास्ता नगरि अनवरत यात्रामा रहेका उनले यात्राका क्रममा १८ जोड चप्पल पूर्ण रुपमा फटालेको बताउछन् ।
सेतो, कछाड र सेतो पातलो टिसर्टमा दैनिक यात्रा गर्ने उनी प्रविधिमा भने अपडेट छन् । एउटा पावर बंैक छ, जहाँ चिया र खाना,खाजा खान्छन्, त्यही ठाउँमा मोबाइल चार्ज गर्छन् ।
अगाडि बढ्ने यात्राबारे मोबाइलमा रहेको म्याप सर्च गर्छन् । मन परेका ठाउँमा फोटो र भिडियो खिच्छन् । यति लामो पैदल यात्रा गर्दा दुर्घटनाको पनि उत्तिकै सम्भावना हुन्छ । तर, यो यात्रामा उनले कुनै त्यस्तो अनुभव बटुलेका छैनन् । कतैकतै खुट्टामा ठेस लाग्छ । चिप्लिएर लडिन्छ र पनि कुनै ठुलो चोट बेहोर्नु नपरेको उनले बताए ।
यति लामो दुरी र समयको यात्रामा उनले सामान्य दाल भात र साकाहारी भोजन मात्र गर्ने गरेका छन् । हालसम्म ४ लाख भारतिय रुपैँया खर्च गरेका चन्द्र शेखरले यात्रा सम्पन्न गर्दा सम्म अर्थात् पुनः हिँड्दै बैङ्गलोर पुग्दा अझै ८ लाख खर्च हुने अनुमान गर्छन् ।
यात्राले आनन्द मात्रै होइन, रोग पनि ठिक ?
राम्रा,मनमोहक ठाउँमा पुग्दा उनले घरका परिवारलाई भिडियो कल र म्यासेन्जर मार्फत सम्पर्क गरेर देखाउँछन् । आफू खुसी भएको प्रमाण पेश गरिरहन्छन् ।
पहिला ब्लड प्रेसर बढी थियो र सुगर पनि थियो तर यो यात्राका क्रममा उनको शरीर अझै स्वस्थ बनेको उनको दावी छ । अहिले त न सुगर छ, न त प्रेसर ।
यति लामो यात्रामा उनी न ज्वरोले अोछ्यान पर्नु परेको छ, न त योजना मुताविक यात्रा रोकिएको छ ।
उनको यो साहसिक यात्राले अरुलाई पनि यात्रामा प्रेरित मात्र गरेको छैन । नेपालमा पैदल यात्रा र धार्मिक, साँस्कृतिक पर्यटनको सम्भावनालाई अझै उजागर गरेको छ ।
दुई कान्ला उक्लिदा फ्याफ्या पर्ने नौ जवानलाई समेत यी सेतै कपाल फूलेका साहसिक बृद्दको यात्राले झक्झकाउँछ । सकुशल आफ्ना यात्रा पूरा गरेर पुनः परिवारसंग रमाउने चन्द्र शेखरको चाह छ ।
“सफर को जारी रखना जरूरी है मञ्जिल का क्या है वो आज नहीं तो कल मिल ही जाती है…“