आदिवासी समुदाय विशेषतः मगर र गुरुङ समुदायका जुन मौलिक पोशाक छ । अथक मेहेनतका साथ तयार गरिएको यस पोशाकका आफ्नै विषेशता र महत्व छन्, त्यो भुल्नुहुँदैन । अरु बजारमा बिक्री गर्न राखेका कपडा सरह यसको प्रयोग, परिमार्जन, डिजाइन शोभनीय हुन सक्दैन ।
केही समय अगाडि गायिका तथा कार्यक्रम प्रस्तोता मञ्जु पौडेलले मगर,गुरुङको जातीय पहिचान तथा मौलिकता बोकेको पोशाक लगाइन् । झट्ट हेर्दा आकर्षक देखिन्थ्यो पनि । तर, गायिका पौडेलले लगाएको कपडा हेर्दा सामान्य देखिए पनि गहिरिएर हेर्दा त्यो असामान्य लाग्थ्यो । मौलिक पोशाक भए पनि त्यसको डिजाइनले अस्वभाविक र अशोभनीय बनेको थियो । उनको पहिरनमा मौलिकता झल्काउने गुन्योलाई चोलोको रुप दिइएको छ । जबकी उनले पहिरिएको पोशाकलाई आदिवासी जनजाति विशेष गरेर गुरुङ र मगर समुदायका महिलाले लुंगीको रुपमा मात्रै प्रयोग गर्छन् । कसैले पनि डिजाइन गर्ने भन्दैमा पाउको जुत्ता,चप्पललाई शीरमा लगेर सजाइँदैन र लगाइँदैन । त्यसरी नै के गुन्योको रुपमा मात्रै लगाइने उक्त कपडालाई चोलोको रुपमा प्रयोग गरेर डिजाइन बनाउँदा सम्बन्धित समुदाय, जसको लागि यो पहिरन पहिचान हो, उनीहरुको भावनामा ठेस पुग्ला भन्ने सोच्न जरुरी रहेको आदिवासी जनजाति अभियन्ताहरु बताउँछन् ।
केही दिन अगाडि पोखरामा ‘मिस मगर २०२२’ सम्पन्न भयो । त्यहाँ पनि हाम्रो मौलिकता र पहिचानमाथि धावा बोल्दै प्रतियोगीले मौलिकता बोकेको पहिरनलाई परिमार्जन गरेर आधुनिक शैली दिइएको छ । आधुनिक शैलीको गाउनलाई आधा काटिएको र खुट्टाको केही भाग देखिने गरेर डिजाइन गरिएको थियो । मौलिकता र आदिवासी जनजाति, त्यो पनि विशेष गरेर मगर र गुरुङ समुदायका महिलाले पहिरिने कपडालाई अहिलेका युवतीले लगाउने आधुनिक शैलीका पहिरनका रुपमा परिमार्जन गरिएको थियो । सुन्दरी प्रतियोगितामा ग्ल्यामर हुन्छ, यो हामीले सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ । तर, सुन्दरी प्रतियोगिताका नाममा आफ्नै भेषभुषा माथि धावा बोल्ने र मौलिकता बोकेको पहिरनलाई त्यसरी बिगार्नु पर्छ र ?
उल्लेखित घटना उदाहरण मात्रै हुन् । छिटको गुन्यो विषेश गरेर आदिवासी जनजाति समुदाय त्यो पनि मगर र गुरुङ समुदायका महिलाले प्रयोग गर्ने कपडा हुन् । यो पहिरन कुनै विशेष कार्यक्रम, विवाह वा अन्य केही संस्कारमा लगाउने प्रचलन विगतदेखि छ । अहिले यो कपडालाई मौलिकता, यी समुदायको रीतिरिवाज तथा संस्कारलाई धावा बोल्दै बिगारेर विभिन्न डिजाइन बनाएर, शरीरको आधा भाग प्रदर्शन गरेर लगाउने प्रचलन बढेको छ । यो पोशाकमा विकृति, विसंगति भित्राइएको छ । अन्य समुदायले समेत यसको मौलिकता प्रश्न उठ्ने गरी लगाउने क्रम बढ्दो छ । यसले गर्दा यी समुदायको मौलिकता झल्काउने कपडाको अस्तित्व सकिएको पो हो कि भन्ने भान हुन थालेको छ । यहाँ छिटको गुन्योलाई चोलो बनाउने, खुट्टाको आधा भागसम्म काटेर डिजाइनका नाममा यी समुदायको संस्कार माथि हमला भइरहेको छ ।
दोहोरी साँझ कलाको मन्दिर हो । यसलाई हामीले पुज्नुपर्छ । यसले विशेष गरेर लोकदोहोरी क्षेत्रमा जम्न चाहने नवकलाकारका लागि अवसर प्रदान गरेको छ । नेपालमा भएको धेरै दोहोरी साँझले यहाँका धेरै चर्चित कलाकार जन्माएका छन् । तर, यहाँ पनि आदिवासी जनजातिको पहिरनको प्रयोग अधिक छ । यो भेषभुषा सबैले लगाउनुपर्छ र लगाउन पाउनुपर्छ । यद्यपि पाश्चात्य संस्कार संस्कृतिको प्रभाव रहने गरी कुनै समुदायको भेषभुषा बिगारेर लगाउनु फरक कुरा हो । यस्तो भन्दै गर्दा अन्य सामान्य पहिरन र मौलिकता बोकेको पहिरन फरक हुन्, बिगारेर लगाइदिएमा उक्त समुदायलाई ठेस पुग्न सक्छ भन्ने बुझ्नु आवश्यक हुन्छ ।
नेपाल मगर महिला संघ केन्द्रीय समितिकी केन्द्रीय अध्यक्ष हिरु रानामगर अन्य समुदायले मौलिकता बोकेको पहिरन नमिल्दो तरिकाले लगाइदिँदा उक्त पहिरन अपभ्रंस भएर पो जाने हो कि भन्ने चिन्ता व्यक्त गर्छिन् । कुनै दोहोरी साँझ वा अन्य समुदायका व्यक्तिले आदिवासी जनजाति विशेष गरेर मगर र गुरुङको पहिरनको मौलिकता बिगारेर प्रयोग गर्ने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।
पोखरामा आयोजना भएको मिस मगर २०२२ मा प्रतियोगीले प्रयोग गरेको पहिरन प्रति उनको आपत्ति छ । जुन कार्यक्रममा महिलाले प्रयोग गर्ने गुन्युलाई आधा शरीर देखिने गरेर डिजाइन गरिनु राम्रो विषय नभएको उनको टिप्पणी थियो । ‘मिस मगर भनेको मगर समुदायको मौलिकता, संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यका साथ आयोजना भएको हो । एउटा उद्देश्य पुरा गर्दा अर्को उद्देश्य बिर्सनु भएन ।’ उनी भन्छिन्, ‘मगर पोशाक काटिएको थियो, त्यो फेसन सो जस्तो भयो, यस्तो नगरिदिनुहोला, यो शरीर प्रदर्शन गरेर लगाउने पहिरन होइन ।’ सुन्दरी प्रतियोगितामा ग्ल्यामर आउनु स्वभाविक भए पनि एउटा कुनै समुदायको चिनारीका रुपमा चर्चित पोशाकलाई त्यसरी अपभ्रंश बनाउने प्रयास गर्नु गलत भएको उनको बुझाई छ । ‘मिस मगर जस्तो कार्यक्रममा मौलिकता बोकेको पहिरनलाई च्यातेर, शरीरको आधा भाग देखिने गरेर प्रयोग गर्न मिल्छ ?’ उनी प्रश्न गर्छिन् ।
एक पत्रकार दिदी केही समय अगाडि भन्दै थिइन्–‘बहिनी हाम्रो मौलिकता बोकेको पहिरनलाई हल्का बनाइयो ।’ उनी आफैं प्रायः कार्यक्रममा सहभागी हुँदा आफ्नै मौलिक पहिचान बोकेको पोशाकमा उपस्थित हुन्छिन् । रेडियोमा कार्यक्रम सञ्चालन गर्दा समेत उनलाई आफ्नै मौलिक पोशाकमा देख्न सकिन्छ । ती दिदीका अनुसार केही महिना अगाडि उनी काठमाडौं जादाँ आफ्नै भेषभुषामा थिइन् । त्यही बेला काठमाडौं बसपार्कमा एक जनाले उनलाई दोहोरी साँझमा गीत गाउन जाने हो कि नाँच्न जाने तपाईं भन्दै प्रश्न गरेछन् । त्यो प्रश्न सुनेर उनी एकछिन अक्क न बक्क परेको अनुभव सुनाइन् ।
नयाँ, आधुनिक, समयसापेक्ष बन्ने बनाउने कुरा स्वभाविक हो । यद्यपि, त्यसले कुनै समुदायको विशेष मौलिक पहिचान बोकेको कपडा डिजाइन बिगारेर प्रयोग गर्दा उक्त समुदायको मौलिकता माथि आघात अवश्य पुग्छ । यो सत्य हो कि मिस मगर प्रतियोगिताले समुदायका युवतीको प्रतिभा प्रस्फुटन गर्छ । अवसर सिर्जना गर्छ र उनीहरुले आफ्नो संस्कार संस्कृति, रीतिरिवाज लगायतमा जानकारी प्राप्त गर्न सक्छन् । यही संस्कार र संस्कृतिको जगेर्नाका लागि भन्दै प्रतियोगिता आयोजना गर्ने तर, भेषभुषा र मौलिकतामा खलल पुग्ने कुरामा ध्यान दिने कि नदिने ?
हो, हामी सबैले मान्नै पर्छ, सुन्दरी प्रतियोगितामा केही ग्ल्यामर अवश्य हुन्छ । तर, आफ्नै भाषा, संस्कृति, मौलिकता बोकेको पहिरनलाई बिगारेर, गाउन तथा कपडाको आधा काटिएको, आधुनिक शैलीमा ढाल्ने कार्य कदापि राम्रो हुन सक्दैन । ग्ल्यामर भनेको युवती वा महिलाले शरीरका अंग प्रदर्शन गर्दैमा झल्किने होइन । यस्ता पहिरन र पुरानो समय अनुसार प्रयोगमा ल्याउँदा समेत ग्ल्यामर देखिन्छ । ग्ल्यामर देखिने पहिरन बजारमा प्रशस्तै छन् पनि । डिजाइनरले अन्य कपडालाई ग्ल्यामरका रुपमा प्रयोग गर्न सक्छन् ।
समय परिर्वतनशील छ, परिर्वतन हुनैपर्छ । हाम्रा पुर्खा कस्ता थिए र हामी अहिले कति परिर्वतन भएका छौं भन्ने बताइरहनु पर्दैन । परिर्वतनका नाममा पुर्खजका सकारात्मक विषयलाई परिर्वतन गर्नुपर्छ भन्ने होइन । आदिवासी समुदाय विशेषतः मगर र गुरुङ समुदायका जुन पोशाक छ, अथक मेहेनतका साथ तयार गरिएको यस पोशाकका आफ्नै विषेशता र महत्व छन्, त्यसलाई भुल्नुहुँदैन । अरु बजारमा बिक्री गर्न राखेका कपडा सँग दाँज्न र लिन मिल्दैन । जबकि कुनै समुदायका लागि पोशाक नै चिनारी, पहिचान हो भने त्यो उनीहरुका लागि अवश्य खास हुन्छ । त्यो नहुँदा खिन्नता र मनमा ठेस लाग्छ ।
अधिवक्ता सुरेन्द्र थापामगर अहिलेको अवस्थामा मौलिकता बोकेको आदिवासी जनजातिको पहिरनमा विकृति भित्रिएको स्वीर्काछन् । संरक्षण गर्ने नाममा विकृति र विसंगति भित्राउने काम भइरहेको उनी दावी गर्छन् । आफ्नो मौलिक पहिरनको संरक्षण र संवद्र्धन गर्न भने आदिवासी जनजाति समुदाय लाग्नुपर्ने अधिवक्ता थापामगर जोड दिन्छन् । ‘सबैभन्दा बढी यो पोशाकसंग सम्बन्धित समुदाय, वर्ग, जातजाति लगायत सचेत हुनुपर्छ ।’ उनी भन्छन्, ‘जुन चीज हो मौलिक रुपमा देख्न पाउने, त्यही चीजमा मौलिकता देख्न पाइएन र विकृत रुपमा हेरियो भने त्यसले दिमागलाई प्रदुषित बनाउँछ र प्रदुषित दिमागले समाजलाई राम्रो गराउँदैन ।’
कपडा हो, यो समुदायको भनेर नाम लेखिएको हुँदैन र लगाउन जसले पनि पाउँछन् । तर, प्रयोग गर्ने भन्दैमा फरक डिजाइनमा मौलिकता मास्न या प्रश्न उठ्ने गरी प्रयोग गर्न पाइदैन । यसको मौलिकता जोगाएर सही ढंगले प्रयोग गर्नुप¥यो भन्ने मात्रै ध्येय हो । किनकि यो हाम्रो पहिचान हो, यसले आदिवासीको पहिचान प्रदान गरेको छ । हाम्रो संस्कार, संस्कृति, चालचलन, भेषभुषा रीतिरिवाज आफ्नै छ र त हामीले आफूलाई आदिवासी जनजाति भनेर गर्वका साथ भन्न सक्छौं । यी विभिन्न चीज नभए हामी र हाम्रो अस्तित्व कहाँ हुन्छ र ? आफ्नो पहिचान बिना आफूलाई कसरी आदिवासी जनजातिका रुपमा प्रस्तुत गर्ने ?
पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर आदिवासी जनजातिको पहिरन अग्रज पुर्खाले छोडेर गएको चिनारीका रुपमा लिन्छन् । अहिले विदेश जाने आउने बढेको र पश्चिमा पहिरन आयात भएकाले मात्र अहिले रंगीचंगी भएको उनी बताउँछन् । पछिल्लो समय मगर तथा गुरुङ समुदायले लगाउने पोशाक अन्य समुदायका व्यक्तिले प्रयोग गर्ने प्रचलन बढेको उनले समेत नियालिरहेका छन् । आधुनिकीकरण र परिमार्जन गरेर विभिन्न डिजाइनमा लगाउने बहानामा भद्धा बनाएर लगाउने प्रति भने उनको गुनासो छ । मगर र गुरुङको पहिरन भन्ने तर अश्लील र छोटो–छोटो बनाएर लगाइदिँदा उनको चित्त बुझिरहेको छैन । ‘पछिल्लो समय त लेहेंगा डिजाइन आएको छ, डिजाइनरले त्यसमा आफ्नै केही रचनात्मकता राखेको होला,’ उनी भन्छन्, ‘तर त्यसलाई कम्तीमा मौलिकता नहराउने गरी आफ्नो रचना वा डिजाइन प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
आदिवासी समुदायलाई विगतका समयमा समुदायमा जुन तरिकाले हेरिन्थ्यो, त्यो परिर्वतन हुँदै छ र समाजले हाम्रो संस्कार र संस्कृतिलाई स्वीकार गर्दैछन् भन्ने बुझ्न सकिन्छ । यो भन्दै गर्दा यी समुदायको मौलिकता गुम्न सक्ने गरेर यसको डिजाइन बिगारेर, आधुनिक शैलीको बनाउने भन्दैमा पुरै परिमार्जन गर्दै आधा खुट्टा देखिने गरेर लगाइनु न्यायोचित होइन । कतिपय स्थान र परिस्थितिमा आदिवासी जनजातिका समुदायले आफ्नै भाषामा बोल्दा हाम्रै कुरा काटिएको हो कि, किन आफ्नो भाषा प्रयोग गरेको नेपाली भाषामा बोल्नुस् भन्ने धेरै भेटिन्छन् । अब जसरी जातीय भेषभुषालाई स्वीकार गरिएको छ, त्यसरी नै हाम्रो बोल्ने भाषा, शैली र टोनलाई सहर्ष स्वीकार गर्न सक्ने हिम्मत राख्नु जरुरी छ । आदिवासी जनजातिको भेषभुषा लगाउन गैर जनजाति समुदायलाई बर्जित गरिएको छ भन्ने यो लेखको उद्देश्य हुँदै होइन । तर, फरक हिसाबले लगाउँदा उनीहरुको मौलिकता माथि आँच आउने कुरामा ध्यान दिनुपर्दछ भन्ने मात्रै हो ।
नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फुलकुमारी थापामगर जातीय पोशाकमा विकृति र विचलन डरलाग्दो तरिकाले भित्रिएको बताउँछिन् । ‘परिस्थिति अनुसार परिमार्जन र परिर्वतन हुनुपर्छ, यसमा मेरो कुनै दुई मत छैन ।’ उनी भन्छिन्, ‘तर आफ्नो मौलिकता मास्ने गरेर परिर्वतन त हुनु भएन नि, यसले गर्दा हाम्रो पोशाक ओझेलमा पर्छ ।’ उनको बुझाईमा अहिले अन्य समुदायले छिटको गुन्योलाई प्रयोग गरिरहेका छन्, त्यो भने व्यवसायिक हिसाबले मात्र प्रयोग गरेका छन्, न कि संरक्षणका लागि । ‘यो पोशाक लगाएर नाँच्ने र गाउने गर्दा यसले पैसा तान्ने रहेछ भन्ने सोच हावी भइसकेको अवस्था छ ।’ उनी भन्छिन्, ‘व्यावसायिक फाइदाका लागि छिटको गुन्यो र चोलो लगाइने क्रम बढ्दो छ, यो विषयमा बैठक बसेर बहस नै गर्नुपर्ने आवश्यकता देख्छु ।’ अन्य समुदायले यो पोशाक लगाइदिँदा अहिले मगर र गुरुङ समुदायका व्यक्तिबीच फरक छुट्याउन अप्ठ्यारो भएको उनी गुनासो गर्छिन् । ‘हाम्रो समुदायको पोशाकलाई आम्दानीको स्रोत बनाएर स्वार्थ पूर्ति गर्न प्रयोग गरियो,’ उनले भनिन्, ‘लेहेंगा, चोलो धेरै खुलेको लगाउने चलन बढ्दो छ, यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’
हाम्रो संस्कार र पुर्खाले हाम्रा लागि छुट्टै पहिरन वा पोशाक छाडेर गएका छन् । यसको संरक्षण गर्नु आजको पुस्ताको दायित्व हो । परिमार्जन र परिर्वतनका नाममा त्यसलाई बांगोटिंगो बनाएर, आधा शरीर देखाउन फरक डिजाइन बनाएर यसको संरक्षण कदापी हुन सक्दैन । कुनै पनि जाति विशेष प्रतियोगिता गरेर आफ्नै समुदायको पोशाकलाई डिजाइन तथा विविधताको नाम दिएर शरीर प्रदर्शन गर्ने माध्यम बनाउँदैमा यो पोशाकको संरक्षण हुँदैन । यी र यस्ता पहिचानले त हामीलाई आदिवासी जनजातिको फरक पहिचान दिएको छ । यही चिनारी लोप भएको अवस्थामा हामी आफूले आफैंलाई कसरी चिनाउने ? अनि भोलिको पुस्तालाई कस्तो भेषभुषा, मौलिकता हस्तान्तरण गर्ने ? यो विषयमा यथोचित छलफल, बहस र चिन्तन अपरिहार्य छ ।