दुई दशकमा ‘पुनर्जन्म’ पाएको एक प्रेमिल गीत – कथालिका

दुई दशकमा ‘पुनर्जन्म’ पाएको एक प्रेमिल गीत

  • डिल्लीबजारमा मन्दिरबाट फर्किदै गरेको अपरिचित युवती, जसको हातमा थाली, निधारमा टीका, टीका माथि सिउँदो खाली थियो । उनी को हुन् ? आजको दिन सम्म थाहा छैन । तर, उनले युवतीलाई देखेको (भेटेको भन्न पनि नमिल्ने) क्षण सम्झिएर यो गीत लेखे । गीत पुरा लेखिसक्दा प्रसूतिका लागि छटपटाइरहेको आमाले कुनै सन्तानलाई जन्म दिदाँ जस्तो आनन्द अनुभूति भएको गीतकार पौडेल सम्झन्छन् ।

बाध्यताको कदम र गन्तव्य हो परदेश । यद्यपि, पछिल्लो परिवेशमा रहर पनि मिश्रित छ परदेशी हुनुमा । परदेशी बन्नु र बनाइनुले धन त भित्रिएकै छ, तर मनहरु क्षतविक्षत भइरहेका छन् । जीविका मात्र आएको छैन, उजाडिएका छन् परिवार, फुंग उडेको छ खुसीका रंगहरु । आवरणमा सकुशल देखिएका समुन्द्रि किनारका तस्वीरहरु भित्रको पिरको कथा अजिबको छ । र त गीत, संगीत, कला, साहित्य, चलचित्रहरुमा परदेशीका कथा धेरै बिक्छ ।

यही अनुक्रममा बनेको हो चलचित्र परदेशी । यसको ऐतिहासिक सफलता पछि बनेको परदेशी–२ को पहिलो गीत  ‘के बर मागी फक्र्यौ भन…’ यसै साता सार्वजनिक गरियो । जुन गीत अहिले युट्युव ‘ट्रेन्डिङ’ मा छ । ‘के बर मागी फक्र्यौ भन’ बोलको दुई दशक अघिको ‘मास्टर पिस’ गीतबारे बोल्दा गीतकार रमेश पौडेल र संगीतकार नारायण रायमाझी दुवै नोस्टाल्जिक सुनिए । ‘यो गीत लेखेको १० वर्षमा संगीतको प्राण सहित रेकर्डको सौभाग्य जुरेको थियो, १९ वर्षमा पुनः रेकर्ड मार्फत चलचित्रमै समावेश हुने अवसर पाएको छ,’ गीतकार तथा रेडियोकर्मी रमेश पौडेलले भने, ‘म सँग आज के बोल्ने शब्द छैन, राम्रो सिर्जना भए धैर्य गरे यसरी गीतले नयाँ रुप, प्राण र चर्चा पाउँदो रहेछ ।’ गीत लेखनको तीन दशक पछि विस्तारित पर्दा र फरक आवाजमा गीत आउनुलाई सर्जक पौडेल गीतको पुनर्जन्मको संज्ञा दिन्छन् । संगीतकार तथा चलचित्रका निर्देशक नारायण रायमाझी पनि यस्तो गीत सधैं नजन्मिने बताउँछन् । यो अजम्बरी, अमर गीत भएको भन्दै अहिलेको बदलिँदो समयमा चलचित्रमा स्वर, कथा र शैली केही भन्न प्रयोग गरिएको बताए । यद्यपि, कतिपय दर्शक, श्रोताले अहिलेको गीत भन्दा पहिलेकै गीत कर्णप्रिय सुनिएको प्रतिक्रिया दिइरहेका छन् । पहिलेको गीतको नेपाली समाजमा अमिट छाप रहेकाले यसखालको प्रतिक्रियालाई स्वभाविक रुपमै लिएको सर्जक पौडेल र संगीतकार रायमाझी स्वीकार गर्छन् ।

नायक सपुत र नायिका केकीसँग पुरानो गीतको संयोग र साइनो
गायक प्रकाश सपुतको परिचय अब गायक मात्र सीमित रहने छैन, उनी नायकका रुपमा, त्यो पनि सुपरहिट ब्राण्ड बनिसकेको चलचित्र परदेशीको दोस्रो सिरिजमा मुख्य अभिनेताको रुपमा आउँदैछन् । जुन फिल्मको पहिलो गीत सार्वजनिक भएको छ। त्यसमा नायक/नायिकाको भूमिका प्रकाश सपुत र केकी अधिकारीले निभाएका छन् । गायन र सिर्जनामा निकै सशक्त र सफल मानिएका सपुत उनै हुन्, जसले आफुले जन्मगाउँ बागलुङको धम्जा स्थित लक्ष्मी माविमा पढ्दा पहिलो पटक यही गीतबाट गीत लेख्न सिक्ने अवसर पाएका थिए । सपुतले गीत सार्वजनिक समारोहमा त्यसबेलाको क्षण सम्झिँदै भने, ‘हामी स्कुल पढ्र्दै गर्दा टिकासंगम बिकले गजल र दिल शिरीषले गीत, मुक्तक लेखनबारे साहित्यिक प्रशिक्षण दिनु भएको थियो, त्यसबेला दिल दाइले यही गीतको पुरा पंक्तिहरु लेखेर हामीलाई आधुनिक गीत लेख्न सिकाउनु भएको थियो, संयोगबश म भाग्यमा खासै विश्वास त गर्दिन, तर आज पहिलो पटक गीत लेख्न सिकेको गीतमै नायकको रुपमा अभिनय गर्ने अवसर मिलेको छ, म असाध्यै खुसी र उत्साहित छु ।’ पहिलो पटक आफूले गृह जिल्ला बागलुङमा प्रत्यक्ष देखे/भेटेको नायिका केकी अधिकारीसँगको अभिनय, लोक संगीतमा आइडल ठानेको दिग्गज नारायण रायमाझीको निर्देशन र पहिलो पटक लेख्न सिकेको गीत समावेश चलचित्रमा काम गर्न पाउनुका मिठा संयोग र कथावस्तुले चलचित्र हेर्न लायक बनेको उनको कथन छ ।

अभिनेत्री केकी अधिकारीले पहिलेदेखि सुनेर मनमगजमा स्थापित भएको गीत चलचित्रमा समावेश हुने खबरले थप उत्साहित तुल्याएको बताउँछिन् । अब्बल सिर्जनाका कारण मन जितेका गायक, सुपरहिट फिल्म परदेशीको सिरिज, निर्देशक लगायतका कारण चलचित्र खास रहेको उनको भनाई थियो । ‘जब चलचित्रमा मैले यो गीत पनि हुन्छ भन्ने सुनें, यो चलचित्र त कुनै हालतमा पनि छुटाउनु हुँदैन भन्ने भएको थियो । यो चलचित्रका साथै छुट्टै गीतको म्युजिक भिडियोमा गरेको अभिनय जिवन्त गीत सँगै रहन पाउनुको खुसी निकै पृथकृ भएको उनले बताए ।

 ♦♦♦

के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित 
यो गीत पुरानो पुस्ताको मनमगजमा त स्थापित छ नै, नयाँ पुस्ताले समेत सानै उमेरमा सुन्दै हुर्किएको एक जीवन्त सिर्जनाको रुपमा यस गीत लोकप्रिय छ । गीतकार तथा रेडियोकर्मी रमेश पौडेलको शब्द, लोकप्रिय गायक तथा संगीतकार नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा सुसज्जित गीतले त्यसबेलै सर्वाधिक चर्चा कमाएको थियो ।

यसरी जन्मिएको थियो जीवन्त गीत
गीतकार रमेश पौडेल काठमाण्डुकै कथालाई विषय बनाएर गीत लेखिएको बताउँछन् । २०४९ सालको कुरा हो, डिल्लीबजार जाने मोडमा उभिइरहेका थिए । सोमबार या चाडपर्व यस्तै के सन्दर्भ थियो । गणेश मन्दिरबाटै निस्किएर आउँदै गरेकी एक युवतीले उनको ध्यान खिच्यो । अनुहार परिचित नभए पनि युवतीको सर्लक्क मिलेको ज्यान, हातमा थाली, निधारमा मन्दिरमा लगाएको रातो टीका, निधार माथिको खाली सिउँदोले निकै आकर्षित भएछु । अनि त के गरौ, कसौ गरौ जस्तो भाव मनमा उद्धेलित भएर आयो । मैले एक टक उनलाई हेरिरहे । न बोल्न सके, न बोलाउन सके । एक कवि, गीतकार हुनुका कारण तत्काल बर दिमागमा गीतको भाव फुर्न थाल्यो र लेखे एक लाइन सडकमै उभिएर-
‘के वर मागी फक्र्यौ भन तिम्ले पुज्ने देउतासित ।’

अनि त्यो परिदृश्य र गीत रचनाको उकुसमुकुशले त्यहाँबाट रन्थनिदै घर पुगे । ‘हुन त मन्दिरबाट फर्किदै गरैको त्यो दृश्य मेरा लागि नयाँ र नौलो थिएन, तर एक अपरिचित युवती र उनको हाउभाउले यतिविघ्न आकर्षित र प्रभावित भए कि मलाई केही न केही लेख्न बाध्य तुल्यायो, उनी को हुन् ? आजको दिन सम्म थाहा छैन ।’ गीतको रचना गर्भबारे पौडेलले भने, ‘घर पुग्न साथ गीतको अर्को लाइन लेख्ने हुटहुटिले सताइरह्यो । र केही समयको साधना पछि अर्को पंक्ति लेखे ।
‘दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित ।’
त्यस पश्चात उनै युवतीलाई देखेको (भेटेको भन्न पनि नमिल्ने) क्षण सम्झिएर अरु लाइन लेखे । गीत पुरा लेखिसक्दा प्रसूतिका लागि छटपटाइरहेको आमाले कुनै सन्तानलाई जन्म दिदाँ जस्तो आनन्दको अनुभूति भएको गीतकार पौडेल सम्झन्छन् ।

लेखिएको ११ वर्ष पछि रेकर्ड
गीत लेखे पछि त्यतिबेलाको लोकप्रिय साहित्यिक पत्रिका मधुपर्कमा उनको गीत छापियो । त्यो गीतले २०५० सालमा रेडियो नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कार पाए । त्यस समय रेडियो नेपालमा सँगै काम गर्थे गायक/संगीतकार नारायण रायमाझी पनि । उसो त उक्त गीत पुरस्कृत भए पछि भूपेन्द्र रायमाझीले ‘यस्तो राम्रो गीत त फिल्ममा समावेश गर्नुपर्छ’ भनेर खल्तीमै राखेर हिँडेका थिए । १० वर्ष पछि नारायण रायमाझीले गीतकार पौडेललाई सोधे,–‘खोई त्यो गीत च्यातिसक्यो कि के छ ? मलाई दिनुस् भनेर मागे र संगीत भरे । अनि रिमा रेकर्डिङ स्टुडियोमा रामभक्त जोजिजूको स्वरमा रेकर्ड गरियो । बजारमा आएको छोटो समयमै निकै हिट भयो ।

१९ वर्षमा पुनः रेकर्ड
भारतीय नाकाबन्दीको चरम अभाव सामना गरिरहेका बेला प्रर्दशित चलचित्र परदेशी निकै राम्रो चल्यो । त्यही सफलताको जग र उत्साहले परदेशी–२ निर्माण भयो । जसको आगामी असोज १४ देखि प्रदर्शन सुरु हुँदैछ । यस चलचित्रमा पनि संगीतकार तथा फिल्मका निर्देशक रायमाझीले यो गीत राखेका छन् । ‘मलाई त लाग्छ यस्तो गीत धेरै समय पछि जन्मिन्छ । यो अजम्बरी, अमर गीत हो । मेरो जीवनमा यति सुन्दर सिर्जना पाउनु र जन्मिनु दुर्लभ उपलब्धि हो,‘ रायमाझीले भने, ‘कथावस्तु जे जस्तो छ, त्यसमा मिल्ने भएकाले फरक स्वरमा गीतको पुनः रेकर्ड ग¥यौ, पहिले रामभक्त जोजिजुले गाउनुभएको थियो भने अहिले निशान भट्टराईको आवाज राखेका छौ ।’

चलचित्रमा ४ वटा गीत छन् । केही श्रृंगारिक, वियोगान्त र नाँच्ने खालका गीत चललित्रमा समावेश गरिएको उनले बताए । चलचित्रमा गायक प्रकाश सपुत नायकका रुपमा पहिलो पटक देखिदैछन् भने नायिका केकी अधिकारीले उनलाई साथ दिएकी छिन् । आगामी असोज १४ देखि देशभरका चलचित्र हलमा प्रदर्शन हुने फिल्मले कति सफलता पाउला ? त्यो भने प्रतिक्षाकै विषय छ । यद्यपि, पहिलो फिल्मै जस्तै यसले पनि दर्शकको मन जित्नेमा आशावादी रहेको निर्देशक रायमाझी बताउँछन् ।

 

२०७९, २० श्रावण शुक्रबार ०८:२६
कथालिका नयाँ कथा
कथालिका