बाबुको ‘बेहोसी’ले निम्त्याएको मृत्यु – कथालिका

बाबुको ‘बेहोसी’ले निम्त्याएको मृत्यु

  • दीपकले मानसिकको औषधि खान्थेनन्, बरु रक्सी खान्थे । त्यो दिन उनले सोच्दै नसोचेको दुश्कर्म गरे । जसका कारण यस्तो अप्रिय घटना भयो ।

बर्खामासको बेला, घना जंगल, १५ महिने बच्चालाई बेवारिसे छोडिदिदाँको पीडाको के हिसाब ? अनकन्टार ठाउँमा ती सानी नानीको कसैले नसुनेको क्रन्दनको कथा । अहो ! सोच्दा मात्रै पनि दिमाग रन्थनिन्छ भने यो सत्य घटनाको यथार्थ भोगिरहेकी एउटी आमा, सरस्वती बोहोरा र उनका परिवारजनलाई कति दुखाई र पीडा भएको होला ? उफ्…!

समाजमा यस्ता सोच्दै नसोचेका घटना, परिघटना भइरहेका छन्, जसले सांसारिक दुनियाँ, जीवन भोगाईबारे मान्छेहरुलाई भिन्न हिसाबले सोच्न बाध्य तुल्याउँछ । आफैले जन्माएको नाबालक सन्तानलाई घना जंगल बिचमा एक्लै बेवारिसे छोड्न सक्छ ? जो कसैले भन्छ र भन्न सक्छ, यो कदापि कुनै पनि मानव मनले सक्दैन । तर, बिडम्बना एक बुबाको ‘बेहोसी’ अर्थात समयमै रोग पहिचान, उपचार नहुँदाको अवस्थाले निम्त्याएको मृत्युको कथा निकै दर्दनाक छ ।

आफ्नै बुबाका कारण एक १५ महिने छोरीले अनाहकमा मृत्युवरण गर्न बिबश बनेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपरान्ह जङ्गलमा लगेर छाडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

म्याग्दीको घना जंगलमा २४ घण्टा बेवारिसे

२४ घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।

उद्धारपछि अस्पताल ल्याएको केही समयमै मृत घोषणा गरिएको थियो । अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो । त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । “बाटोमा ल्याइञ्जेल पनि रोइरहेकी थिइन्, स्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो”, उनका काका गौतम बोहोराले भने, “अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।”

उद्धारमा पुग्नुभएका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको बताए । “अर्जमदेखि खबरा जाने सडकनजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसकेको रहेछ”, उनले भने ।

जंगलमा रोइरहेको आवाज घाँस काट्न गएकाहरुले सुनेर हेर्दा बेवारिसे देखे पछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए । त्यसपछि आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षात्ले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए । त्यहीँमाथि उनले पानीसम्म खान पाइनन् । छिट्टै भेटिएर उद्धार हुन सकेको भए अनामिकाको ज्यान जोगिने थियो ।

श्रीमानकै भरोसामा छोडेकी थिइन् छोरी

परिवारजनका अनुसार काममा गएकी आमा सस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यसदिन छोरीलाई श्रीमानको साथ लगाएर सस्वती काममा गएकी थिइन् ।

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको दैनिकी र नियति नै हो । तर, माया र विश्वास गरेको श्रीमानले छोरीलाई त्यसरी अनाकण्टार जङ्गलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘जेठो छोरालाई जिम्मा लाएर जान खोजेकी थिए, नानुले मानेन र बाबाको जिम्मा लगाएर काममा गएको थिए, रक्सी खाएर भौतारिने गरे पनि यस्तो सम्म गर्लान् भन्ने सोच्दै सोचेको थिएन’, सरस्वीतले भनिन् । रक्सी खाएर बेहोसी बन्ने गरे पनि मानसिक स्वास्थ्य औषधि खाने मान्छे चाही नभएको उनको भनाई छ । अरु बेला पनि बच्चालाई गाउँ, जंगल आसपासमा डुलाएर घरमा आउने गरेको सरस्वती बताउँछिन् ।

छोरीसहित घरबाट हिँडेका दीपक सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा र्निवस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए । ”निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा पनि केही बोल्नुभएन, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो, उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौँ”, स्थानीय गौतम बोहोराले भने, “छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भीरपहराको बाटोका जोगाउँदै लगेर जङ्गलमा एक्लै छोडेको देखिन्छ ।”

आमा बिक्षिप्त, बुबा हिरासत, मृत छोरीको शव पोखरा
बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सस्वती बिक्षिप्त बनेकी छिन् । परिवार र आफन्तजन कानूनी प्रकृया पु¥याएर शव परीक्षणको पखाईमा छन् । धौलागिरी अस्पतालमा आफन्तले लापरवाहीले निधन भएको भन्दै बिरोध प्रदर्शन गरे पछि शब पोस्टमार्टमका लागि पोखरा पठाइएको छ । बेहोसी अवस्थामा रहेका दीपक भने प्रहरी नियन्त्रणमा छन् । दीपक बिरुद्ध श्रीमति सरस्वतिले उजुरी दिएका छन् ।

स्थानीय घर पर्वतको जलजला गाउँपालिका–४ मा भएपनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ ।

आफन्त भन्छन्ः अस्पताल पनि लापरवाही, डाक्टर भन्छन्ः उपचारमा होइन,उद्धारमै ढिलाई

मृतक बच्चाका आफन्तले उद्धार गरेर अस्पताल ल्याए पनि उपचारमा डाक्टरले लापरवाही गरेको आरोप लगाएका छन् । उनीहरुले गम्भिर अवस्थामा बच्चालाई अस्पताल लिएको १५,२० मिनेट सम्म बेड र उपचार नपाउँदा ज्यान गएको दाबी गरेका छन् । यही विषयलाई लिएर उनीहरुले अस्पताल परिसरमा नाराबाजी समेत गरेका थिए । तर, अस्पतालमा कार्यरत चिकित्सकले भने बच्चा अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले केही गर्न नसकेको बताएका छन् ।

२०७९, २४ श्रावण मंगलवार ०६:१५
कथालिका नयाँ कथा
कथालिका