शासकको सनक – कथालिका

शासकको सनक

‘लाइनमा नबस्ने मन्त्रीलाई कारवाही गर्ने कि नियम पालना गर्न सिकाउने सुरक्षा गार्डलाई ? आफुमा यति अनुशासन कायम गर्न नसक्नेले मन्त्रीको कुर्सीमा बसेको पटक्कै सुहाएन,’ उनी भन्छिन्, ‘नैतिकता बाँकी छ भने उक्त गार्डलाई धन्यवाद दिएर काममा फर्काइदिनोस्, नत्र मंसिर ४ मा जनताले तपाईलाई घर फर्काईदेलान् ।’

अरु देशमा मुलुकको प्रणालीमा प्रश्न या संशय उठ्ने कुनै घटना भए तत्काल नैतिकताका आधारमा राजीनामा दिन्छन् । सिस्टम (प्रणाली) सबै भन्दा उच्चतम आदर्श, अनुशासन र नैतिकता सेवा र शासनको मूल मन्त्रको रुपमा लिइन्छ । तर, नेपालमा नैतिकताको खडेरी त छ नै । कुनै कमजोरी हुँदा देखाउने नैतिक आचरणमा मात्र होइन, उल्टै शासकीय आडम्बरमा देखाउने रवाफ अझ उदेक लाग्दो छ।

यसको पछिल्लो उदाहरण पर्यटन मन्त्री जीवनराम श्रेष्ठले सेक्युरिटी गार्ड शेरजंग गुरुङविरुद्ध देखाएको शासकीय सनक हो । जसको सामाजिक सञ्जाल लगायत सर्वत्र तिब्र आलोचना भइरहेको छ । उसो त मन्त्री श्रेष्ठ भने सुरक्षागार्डले नै आफू माथि दुव्र्यवहार गरेको जिकिर मात्र गरेनन्, गृहमन्त्रालय मार्फत उजुरी गरेर सुरक्षागार्डलाई हिरासतमा पु¥याइसकेका छन् । यसले एक मन्त्रीको सनक या आडम्बरले एक डिउटीफुल सुरक्षागार्डले कसरी कति सम्म सजाय पाउन सक्छन् भन्ने प्रष्ट देखिएको छ ।

खास भएको के थियो ?
क्यानडा, जापान, अस्ट्रेलिया, युकेलगायत २५ मुलुकका नेपालस्थित दूतावासले भ्रमणका लागि भिसा आवेदन गर्नेहरूको ‘बायोमेट्रिक परीक्षण’ गर्ने जिम्मा ‘भिएफएस’ कम्पनीलाई दिएको छ, जसको कार्यालय छाया सेन्टरमा छ ।

पर्यटन मन्त्री श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को सभामा सहभागी हुन क्यानडा जाने समय नजिकिँदो रहेकाले भिसा प्रोसेसका लागि ‘बायोमेट्रिक’ परीक्षणका लागि छाया सेन्टर पुगेका थिए । हरेक तीन–तीन वर्षमा हुने सभा यसपटक २७ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म क्यानडास्थित आइकाओको मुख्यालयमा हुँदै छ । शुक्रबार बिहान ९ः०८ बजे ठमेलस्थित छाया सेन्टर पुगेका मन्त्री नेतृत्वको टोली ‘एलिभेटर’ चढेर तेस्रो तलाको ‘भिएफएस ग्लोबल’ कार्यालय पुगे । र, सरासर भित्र छिर्न अघि बढे । दलबलसहितको टोली नै कार्यालयभित्र छिर्न लागेपछि भिएफएसको सुरक्षामा सुपरभाइजरको रुपमा खटिएका गरुड सेक्युरिटिज गार्ड ५१ वर्षीय शेरजंग गुरुङले रोके । कार्यालय प्रवेशका लागि अन्य चार सेवाग्राही लाइनमा थिए । गुरुङले मन्त्रीसहितको टोलीलाई पनि ‘लाइनमा बसिदिन’ आग्रह गरे । मन्त्री श्रेष्ठका अंगरक्षकले गुरुङलाई मन्त्री भएकाले नरोक्न भने । तर, पर्वत घर भइ हाल परिवारसँग स्वयम्भु बस्दै आएका गुरुङले सेवाग्राहीकै लाइनमा बस्न आग्रह गरे । यो सुने पछि अप्ठ्यारो मानेका मन्त्री श्रेष्ठ जबरजस्त लाइनमा बसे ।

‘भिएफएस’ले ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकको ‘होल बडी स्क्यानिङ’ गर्छ । जसका लागि प्रवेशद्वारमै व्यवस्था छ । ‘स्क्यानिङ’ गर्ने जिम्मा भने सुरक्षागार्डकै हो । ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकलाई मेसिनअघि खडा गराएर ‘होलबडी स्क्यानिङ’ गरिन्छ । हातहतियारलगायत शंकास्पद वस्तु देखिए सोही ठाउँमा रोक्छन्, जुन सेक्युरिटी गार्डको जिम्मेवारी हो ।केहीबेरपछि मन्त्री श्रेष्ठ अंगरक्षकसहित ‘बायोमेट्रिक’ परीक्षणका लागि क्यानडाको ‘भिसा एप्लिकेसन सेन्टर’तर्फ अघि बढे । ‘बडी स्क्यानिङ’ नै नगरी टोली कार्यालय छिर्न खोजेपछि सेक्युरिटी गार्ड गुरुङले पुनः रोके । र, सबैलाई ‘स्क्यानिङ’ गर्न आग्रह गरे । यसबाट मन्त्री श्रेष्ठ थप चिढिए । यद्यपि, कुनै प्रतिक्रिया नजनाई ‘स्क्यानिङ मेसिन’अगाडि उभिए । त्यसपछि उनका अंगरक्षकको ‘बडी स्क्यानिङ’ गरियो । उनीसँग हतियार थियो ।

गुरुङले हतियारसहितको व्यक्ति भित्र छिर्न नपाउने भएकाले बाहिरै बस्न अनुरोध गरे । त्यसपछि मन्त्री श्रेष्ठ र उनका अंगरक्षक आक्रोशित मुद्रामा देखिएको प्रत्यक्षदर्शी बताउँछन् ।

अनि हिरासतमा पुगे…
असहज अवस्थाका बाबजुद मन्त्री श्रेष्ठ केहीबेरमा ‘बायोमेट्रिक’ परीक्षण गरेर त्यहाँबाट त फर्किए । तर, उनको सत्ता र शक्ति उन्माद भने फेरि सुरु भयो । आफ्नो मन्त्रालय पुगे पछि सेक्युरिटी गार्ड गुरुङविरुद्ध कारबाही गर्न मन्त्रालयबाटै गृहलाई पत्र लेख्न लगाएर अंगरक्षकलाई जाहेरी दिन पठाए । गृहले गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई तत्कालै निर्देशन दियो । अभद्र व्यवहार अन्तर्गत उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भयो । र, लगत्तै पक्राउ गरियो ।

गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनी अहिले दरबार मार्ग प्रहरीको हिरासतमा छन् ।

‘गुरुङको छोरो आवाज ठूलो भयो होला तर, दुव्र्यवहार गरेको छैन’

‘भिएफएस ग्लोबल’ विदेशी कम्पनी भएकाले यस कार्यालयको सुरक्षा–प्रबन्ध कडा छ । नेपाली सेनाका अवकाशप्राप्त सिपाही गुरुङ केही वर्षदेखि भिएफएसको सुरक्षाको जिम्मा लिएको नेपाली कम्पनी गरुड सेक्युरिटिजमा आवद्ध भएर काम गरिरहेका थिए । ड्युटिमा खटिएका गुरुङले कम्पनीको जे जस्तो आदेश, नियम र शर्त छ, सोही अनुरुप इमान्दार भूमिका निर्वाह गर्ने प्रयत्न गरे । तर, यही जिम्मेवारी निर्वाह उनका लागि अभिसाप भएको छ । आफूले सबैका लागि समान नियम लागु गराउँदा यस्तो कारबाही र यातना दिएको उनले बताए । ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर, मैले कुनै दुव्र्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी गर्नै प¥र्यो,’ उनले थपे । गुरुङको इमान्दार आवाज शक्तिशाली मन्त्रीका अगाडि फिक्का भइरहेको छ । अब उनी यसबिच नागरिक दबाब र आलोचनाबाट मन्त्री पछि हटे बाहेकको अवस्थामा अनुसन्धानका लागि थपिएको पाँच दिन हिरासतमै बस्नुपर्नेछ । त्यस पश्चात पनि सत्ता र शक्तिको आडमा केके हुने हो ? अनिश्चयको भूमरीमा छ ।

“गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी गर्नै पर्यो।“ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।

गरुड सेक्युरिटीका प्रशासकीय अधिकृत अभिषेक कार्की सिसिटिभी फुटेज हेर्दा गार्डले अभद्र व्यवहार नगरेको पाइएको बताउँछन् । ‘बायोमेट्रिक परीक्षण गर्ने क्रममा मन्त्री सहितको टोली जबर्जस्ती कार्यालय छिर्न खोजे पछि गुरुङजीले रोक्न खोज्नुभयो । त्यसपछि मन्त्रीज्यू र अंगरक्षक उहाँमाथि आक्रोशित मुद्रामा जाइलागेको देखिन्छ,’ कार्की थप्छन्, ‘मन्त्रीज्यू भिआइपी हुनुहुन्छ । हाम्रो सम्मान नै छ, यद्यपि उहाँ आउनुअघि हामीलाई पूर्व जानकारी गराएको भए सोही अनुसार सर्कुलर हुन्थ्यो । यस्तो घटना हुने थिएन । यसमा सुरक्षागार्डले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गरेका छन्, यदि मन्त्री र उहाँको सबै टिमलाई खुरुखुरु भित्र छिर्न दिएको भए सुरक्षागार्डको जागिर जान्थ्यो ।’

‘नियम मिच्ने मन्त्रीलाई कारवाही’

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले ट्वीटर गर्दै लेखे–‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधी ? यो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान् ?’

पुराना नेता डा.प्रकाशचन्द्र लोहनी पदको आडमा कसै माथि हमला गर्नु प्रतिगमन र हिंसा भएको बताउँछन् । मन्त्रीको फुर्ति देखाएर एउटा श्रमजीबीलाई आफ्नो कम गर्न खोज्दा प्राहर गर्न खोज्नु अपराध भएको र यसको लागि प्रहरीले मन्त्रीसँग बयान लिनुपर्ने उनको तर्क छ ।

विश्वदीप लामिछाने भन्छन्, ‘१५/१५ दिनमा मन्त्री परिवर्तन हुन्छन, मन्त्रीनै यति धेरै छन कि जनताले मन्त्री नै नचिन्ने भई सके अब एउटा सुरक्षा गार्डले रोके भनेर अभद्र ब्यवहारको मुद्दा चलाउनु कति सम्म न्यायसंगत छ ? कस्तो लोकतन्त्र हो यो ?’

मानवी पौडेल लेख्छिन्, ‘लाइनमा नबस्ने मन्त्रीलाई कारवाही गर्ने कि नियम पालना गर्न सिकाउने सुरक्षा गार्डलाई ? आफुमा यति अनुशासन कायम गर्न नसक्नेले मन्त्रीको कुर्सीमा बसेको पटक्कै सुहाएन,’ उनी भन्छिन्, ‘नैतिकता बाँकी छ भने उक्त गार्डलाई धन्यवाद दिएर काममा फर्काइदिनोस्, नत्र मंसिर ४ मा जनताले तपाईलाई घर फर्काईदेलान् ।’

२०७९, २० भाद्र सोमबार ०७:४३
कथालिका नयाँ कथा
कथालिका