दुर्गमको व्यथाः बाटोमै जन्म, बाटोमै मृत्यु – कथालिका

दुर्गमको व्यथाः बाटोमै जन्म, बाटोमै मृत्यु

डोकोमा बोकेर अस्पताल लैजाँदा सडकमै नर्मताले बच्चा जन्माइन् तर मृत । आफ्नै कोखमा हुर्किरहेको बच्चा गुमाएकी आमालाई यसको शारीरिक र मानसिक पीडा र विस्मात त छ नै, तैपनि आफ्नो ज्यान जोगिएकोमा उनी र उनका आफन्त जबरजस्त खुसी हुनुपर्ने बिबशता छ ।

शहर र राजधानीमा ‘बलात्कार’, त्यसमा सेलिब्रेटी या पीडित भनिएका बालिका को ‘दोषी’ भन्नेमा पक्ष बिपक्षमा बिभाजित भइरहेका बेला दुर्गम निसिलढोरबाट यस्तो खबर आएको छ । एक गर्भवति महिलाले स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा सडकमै बच्चालाई जन्म दिइन् तर, उनले न आफूले जन्माएको बच्चाको पहिलो रुवाइ, चिच्याहट सुन्न पाए, न जीवित अनुहार हेर्न पाइन्, न त नवजात शिशुले संसार हेर्ने सौभाग्य पाए । दुर्भाग्य दुर्गमको यस्तो कहालीलाग्दा विवशताले न सरकारलाई छुन्छ, न त सेलिब्रेटीको पक्ष बिपक्षमा चर्का वकालत गर्नेहरुलाई नै छुन्छ । उनीहरु ठान्छन्, ‘यो त नियमित भइरहने नियति हो ।’

जिल्लाको पश्चिम निसीखोला क्षेत्र पहिले जस्तो दुर्गम छैन । कारण अहिले यस क्षेत्रलाई मध्यपहाडी लोकमार्गले छिचोलेको मात्र छैन, कालोपत्रे सडकले सुगम पनि बनाएको छ । तर, निसीखोलाको निसेलढोर लगायत भौगालिक रुपमा यस्तो गाउँ ठाउँ हो, जहाँ पालिकाको केन्द्र, स्वास्थ्य संस्था आउनै पुरा एक दिन लाग्छ । यही विकटताका कारण अहिले पनि अकालमै अप्रिय घटना बेहोर्नु पर्ने अवस्था छ ।

जब नर्मता ब्यथाले छटपटाइन्
निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले निसीखोलाको स्वास्थ्य संस्था भन्दा केही नजिक पर्ने भएकाले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउना साथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिए पछि अनमी बुढाले विकलाई तत्काल अस्पताल लैजान सुझाए ।

तर, भौगोलिक विकटताका कारण भन्न साथ यातायात सेवाको पहुँच थिएन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन तर्फ फर्किए ।

डोकोमा बोकेर अस्पताल लैजाँदा सडकमै बच्चा जन्माइन् तर मृत
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ अस्पतालमा लैजान आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए । उनले बाटोमै शिशुको जन्म भयो । दुर्भाग्य बच्चा मृत अवस्थामा पाइयो । फेरि गाडी लिएर अनमी बुढामगर सोही स्थानमा पुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन सम्म ल्याइन् ।

अनमी बुढामगर भन्छिन्, ‘विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छटपटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । ढिलो भएकाले मृत बच्चा त जन्माइन्, रगत धेरै बगिसकेको थियो, स्लाइन पानी दिएर बल्लतल्ल ढोरपाटन ल्यायौ । अहिले उपचार भइरहेको छ ।’
विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगर बताउछिन् । ‘दुर्गम गाउँमा शिक्षा, स्वास्थ्यको पहुँचका साथै चेतना पनि नहुँदा यस्ता घटना हुने गरेका छन्,’ उनले भनिन्, ‘बल्लतल्ल अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।’ विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको उनले बताइन् । अहिले ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा राखेर विकको उपचार भइरहेको छ ।

अन्धविश्वासले अझै गर्भ परीक्षण र उपचार गराउँदैनन् महिला
बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य, शिक्षाको सहज पहुँच पुग्न सकेको छैन । जसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुँदै आएको छ । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाले दुर्गमका महिला अहिले पनि रुढिवादी परम्परामा विश्वास गर्दा अप्रिय घटना दोहोरिरहेको बताउछन् ।

ढोरपाटन नगरपालिकाले दुर्गम मानिने ठाउँमा स्वास्थ्य संस्था धेरै स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । थापाले मृत्यु भएको बच्चा जन्माएकी विकले एक पटक पनि गर्भ परीक्षण गराएको रेकर्ड नभएको बताए ।

‘अहिले पनि समाजमा रुढिवादी परम्परा कायम छ, दुर्गम गाउँमा धेरै मानिस अशिक्षित छन्, हामीले दुर्गममा स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ, तर धेरै नागरिक स्वास्थ्य उपचारका लागि आउँदैनन्’, स्वास्थ्य शाखा प्रमुख थापाले भने, ‘बाटोमा मृतक बच्चा जन्माउने अवस्था आउने थिएन, उनले गर्भवती भए पछि एक पटक पनि गर्भ जाँच नगराउँदा जोखिम स्वभाविक रुपमा थियो, बच्चाको मृत्यु भए पनि समयमा हाम्रो स्वास्थ्यकर्मी त्यहाँ पुग्नुभयो र आमाको ज्यान सम्म बच्यो, यसबाट सबै सचेत हुन जरुरी छ ।’

‘गर्भावस्थामा नियमित परीक्षण, खानपान र शरीरको विशेष ख्याल गरौं’
अहिले पनि ग्रामीण क्षेत्रमा अशिक्षाका कारण स्वास्थ्य तथा गर्भ परीक्षण गराउने परिपाटी नभएकोले यसका लागि आफूहरू सक्रिय रहेको स्वास्थ्यकर्मी, जनप्रतिनिधि बताउँछन् । बच्चा जन्मने समय ४० हप्ता भए पनि विकले ३२ हप्तामै बच्चा जन्माएकाले जोखिमपूर्ण अवस्था सिर्जना भएको हो । कम्तीमा तीन पटक भिडियो एक्सेर गर्नुपर्ने भए पनि विकले एक पटक पनि नगराउँदा जोखिमबारे गर्भवती महिला र परिवार बेखबर हुने अवस्था पैदा भएको थापाको भनाई छ ।

‘गर्भवती महिलालाई लक्षित गरेर समय समयमा बुर्तिवाङबाट स्वास्थ्यकर्मी पठाउने गरेका छौँ, निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्थापन पनि गरेका छौ, तर धेरै महिला दिदीबहिनी गर्भ जाँच गराउन आउनु हुन्न, नर्मता पनि भिडियो एक्सेर गराउन पनि आउनुभएन,‘ उनले थपे, ‘बच्चा जन्मने समय भनेको ४० हप्ताको हो तर उहाँले ३२ हप्तामै बच्चालाई जन्म दिनु भएको छ, यस्तो समस्या खास गरी गर्भवती भएपछि आफ्नो ख्याल नगर्दा आउँछ, यस्तो बेला गह्रौँ भारी बोक्न हुन्न, व्यायामको आवश्यक पर्छ, सही खानपान मिलाउनुपर्छ, उहाँहरूले यो नमिलाउँदा पनि समस्या आएको हुनसक्छ ।’

२०७९, २३ भाद्र बिहीबार ०३:५७
कथालिका नयाँ कथा
कथालिका