आसन्न निर्वाचनः असरल्ल बेथिति – कथालिका

आसन्न निर्वाचनः असरल्ल बेथिति

मुलुकमा व्यवस्था बदलियो, अवस्था, पात्र र प्रवृत्तिहरु अझै अपेक्षित रुपमा परिवर्तन हुन सकेका छैनन् । लामो राजनीतिक संघर्ष, आन्दोलन, बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित त भयो । यद्यपि, चामत्कारिक रुपमा हासिल भएको नयाँ व्यवस्था अनुसारको व्यवहार न त राज्यका तर्फबाट भइरहेको छ, न राजनीतिक दल र तिनका नेता, कार्यकर्ताबाट । बरुप्रणाली नै भत्काउने गरी राजनीतिक दल र नेताहरुले मनपरी निर्णय गर्ने खराब कार्यशैलीले दल अदलबदल र अनेक बेथिति निम्त्याइरहेको छ । जुन परिदृश्य परिवर्तित व्यवस्थाकै उपहास गर्ने खालको छ ।

गणतान्त्रिक व्यवस्थामा दीपक मनाङे पहिलो सर्वसम्मत सांसद

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था । जहाँ लामो समय जनयुद्ध, जनआन्दोलन र समाजका अनेक आयाममा समर्पित नेता, अभियन्ताहरु चुनावी मैदानमा छन् । कुनै राजनीतिक दलको एउटा यस्तो नेता छैन, जो सर्वसम्मत भएको होस् । तर, यही उन्नत भनिएको व्यवस्थामा एउटा सनसनीपूर्ण खबर सार्वजनिक छ । गुण्डागर्दी पृष्ठभूमिबाट आएका दीपक मनाङेले मनाङ ९ख० मा सर्वसम्मत निर्वाचित भए । न यहाँ सत्ता गठबन्धनले उम्मेदवार उठायो, न प्रमुख प्रतिपक्षी एमालेले नै । सत्ता र विपक्षी दल आपसी प्रतिस्पर्धामा होइन, केबल मनाङेलाई समर्थन गर्ने होड र प्रतिस्पर्धामा उत्रिए ।

मनाङेसँगै स्थानीय दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी हालेका थिए । तर उनलाई पनि आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङे निर्विरोध मात्र भएनन्, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ को निर्वाचित हुने पहिलो सांसद बनेका छन् ।

मनाङ तिनै हुन्, जसले २०७५ मा प्रदेशसभा सदस्य जितेपनि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाका कारण सपथ लिन पाएनन् । बरु करिव ८ महिना जेल बसे । सत्ताको बागडोर सम्हालिरहेको नेकपा कालमा प्रयास बिफल भए पनि सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङे सत्ता खेलको राजनीतिमा उत्रिएनन् मात्रै, पटक पटक मन्त्री समेत बने ।

दल बदले पछि सिधै उम्मेदवार
कांग्रेस नेता एवं व्यवसायी देवीप्रकाश भट्टचनलाई एमालेले उम्मेदवार बनायो । उनी समानुपातिक सूचीमा आदिवासी जनजाति समूहको पहिलो नम्बरमा सिफारिसमा दर्ज भएका छन् । कांग्रेस संगठन विभागको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टचनलाई पार्टीले समानुपातिक सूचीमा नराखेपछि उनी एमालेमा गएका हुन् । गत स्थानीय चुनावमा मेयर टिकट नपाए पछि पार्टी छोडेका बागलुङ कांग्रेसका पुर्व जिल्ला सचिव नवराज पौडेलले त्यस क्षेत्रको प्रदेशमा टिकट पाए भने कांग्रेस नेतृ मञ्जु शर्माले प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि टिक पाएकी छिन् ।

नेपाली कांग्रेस छोडेर लालबाबुसिंह भुइँहारले लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट लिए । सत्तारुढ गठबन्धनले लोसपासँग चुनावमा तालमेल गर्ने भएपछि कांग्रेसबाट उनले टिकट नपाउने निश्चित भयो । तर, तत्कालै लोसपाको भागमा परेको क्षेत्रमा भुइँहारले दल बदलेर टिकट लिएका हुन् । नेता हेमराज राई जसपा छोडेर एमालेमा फर्किए । उनी समानुपातिकबाट उम्मेदवार बनेका छन् ।

झापा २ मा एमाले छाडेका हरिबहादुर रानालाई सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रले टिकट दियो । उनी एमालेबाट निर्वाचित पूर्वमेयर हुन् । इटहरी उपमहानगरपलिका पूर्वमेयर द्वारिकालाल चौधरी टिकटकै लागि एमाले छोडेर माओवादी केन्द्रमा गए । चौधरी सुनसरी २ कमा सत्तागठबन्धनका उम्मेदवार बनेका छन् ।

जसपाका नेता लक्ष्मी महतो महोत्तरी १ मा उम्मेदवारका आकांक्षी थिए । तर, पार्टीले टिकट नदिने भएपछि एमालेमा प्रवेश गरे । उनलाई एमालेले टिकट दिएको छ । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलसँग थोरै मतले पराजित भएका थिए । उनी यसपटक पोखरेल सँगै प्रतिस्पर्धा गर्नेछन् ।

जसपाका नेता बाटैमा कांग्रेस उम्मेदवार

कपिलवस्तुमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउन हिँडेका सहश्रराम यादव कांग्रेसको उम्मेदवार बनेका छन् । यादव यसअघि जसपाबाटै लुम्बिनी प्रदेशको सांसद तथा भौतिक पूर्वाधार मन्त्री भएका थिए । अघिल्लो दिनको छलफल अनुसार उनलाई एमालेको समर्थनमा जसपाको उम्मेदवार बनाउने भनेर पार्टीले टिकट समेत दिएको थियो । तर, निर्वाचन अधिकृतको कार्यालय बाणगंगा पुगेर उनले कांग्रेसबाट उम्मेदवारी दिए । यादव कपिलवस्तु १ को (ख) बाट प्रदेश सभामा उम्मेदवार बने पछि सबै आश्चर्यचकित बनेका छन् ।

दलको भरोसामा स्वतन्त्र उम्मेदवारी
नेकपा एमालेका घनश्याम भुसाल विचार र सिद्धान्तका प्रखर वत्ता र ब्याख्याता मानिन्छन् । तर, उनी यसपटक पार्टीबाट उम्मेदवारको टिकट पाउन बञ्चित भए । केन्द्रीय स्तरमा पृथक छवि बनाएका भुसाललाई टिकट नदिए पछि पार्टी भित्र र बाहिरबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भयो । पार्टी विभाजनका बेला १० बुँदे सहमति सहित एमालेमै रहेका भुसाल अन्ततः टिकट नपाए पछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्तारुढ गठबन्धनले समर्थन जनाएको छ । भुसालले एमालेबाट रुपन्देही ३ मा २०७४ सालको निर्वाचन जितेका थिए ।

तत्कालीन जनयुद्धको कमाण्डर समेत रहेका नेकपा माओवादी केन्द्रका नेता तथा ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ति स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । उनले लालटिन चिन्ह पाएका छन् । उनलाई एमालेले उम्मेदवार मनोनयन देखि नै खुल्ला रुपमै समर्थन जनाएको छ । घर्ति यसअघिको स्थानीय तह निर्वाचनमा पनि पालिका अध्यक्षमा दोहोरिन चाहे पनि पार्टीले टिकट नदिए पछि स्वतन्त्र लडेका थिए । निर्वाचनमा उनी माओवादी केन्द्रका धनबहादुर विकसँग झिनो मतान्तरले पराजित भएका थिए ।

तर, जसले लिएनन् पार्टीको टिकट
रौतहट–३ मा प्रभु साहले एमालेको टिकट पाएका थिए । अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन। जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिवद्धता अध्यक्ष केपी ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएको घटनालाई एमाले भने गैरजिम्मेवार र गद्दारी भएको टिप्पणी गरेको छ ।

२ हजार जरिवाना नतिर्दा उम्मेदवारी रद्द

रूपन्देही–२ मा एमाले उपाध्यक्ष तथा पूर्व मन्त्री बिष्णु पौडेल उम्मेदवार छन् । र त यो क्षेत्र पनि चासो र चर्चाको विषय बन्ने गरेको छ । जसमा सत्ता गठबन्धनका तर्फबाट राजु गुरूङ उम्मेदवार बनेका थिए । तर, बैंकिङ कसुरमा २ हजार रुपैयाँ जरिवाना नतिर्दा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरूङको उम्मेदवारी रद्द भएको छ ।

गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितको नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरूङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो । त्यो जरिवाना तिरेको प्रमाण पेश गर्न नसक्दा गुरूङको उम्मेदवारी रद्ध भएको हो ।

२०७९, २७ आश्विन बिहीबार ०७:२१
कथालिका नयाँ कथा
कथालिका