सन्दीपलाई सकस: छ प्रमाण, आज के होला ? – कथालिका

सन्दीपलाई सकस: छ प्रमाण, आज के होला ?

चर्चित क्रिकेटर सन्दीप लामिछाने कम उमेरमै सर्वाधिक चर्चा र सफलता हासिल गर्ने दुर्लभ खेलाडीमा दरिन्छन् । तर, पछिल्लो एक घटनाले उनको क्रिकेट करियर मात्रै होइन, सिंगो जीवन नै धराशयी बन्ने जोखिम र सन्त्रास बिद्यमान छ ।

लामिछानेलाई गत भाद्र ५ गते एक नाबालिग माथि बलात्कारको आरोप लाग्यो । जुन खबर क्षणभरमै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सनसनीपूर्ण बन्यो । होस्टेलेमा बस्दै आएका युवतीले बलात्कारको आरोप लगाए पछि सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार अभियोगमा काठमाडौं अदालतमा मुद्धा दर्ता गरेको थियो । जसमा आज थुनछेक बहस भइरहेको छ ।

युवतीले आफुलाई राती दुई पटक बलात्कार गरेको जिकिर गरेकी छिन् । अभियोगपत्रमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई रातको समयमा मन्जुरी बिना नै होटल फेरी फेरी आफू अनुकूल परिस्थिति बनाएको उल्लेख छ । सरकारी वकिल कार्यालयले लामिछानेलाई १७ वर्षीया नाबालिगमाथि बलात्कार १२ वर्षसम्म कैद सजायको माग गरेको छ ।
तर, आरोपित लामिछानेले उक्त होटलको ३०५ कोठा नम्बरमा सँगै बसेको स्वीकारे पनि बलात्कारबारे बोलेका छैनन् । बरू उनले आफू रातभरि कुरा गरिरहेको र कुर्सीमै निदाएको बताएका छन् ।

लामिछानेविरूद्ध भदौ २१ गते प्रहरी वृद्ध गौशालामा जाहेरी परेको थियो । त्यतिबेला उनी केन्यामा थिए । टी–२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । एक महिनापछि नेपाल फर्किएका उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनी लामो समयसम्म नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।

सरकारी वकिलले जुटाएको यस्तो छ ६ प्रमाण
पहिलोः सिसिटिभी फुटेज ल्याएको छ । जसबाट काठमाडौंमा गत भाद्र ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ ।
दोस्रोः बलात्कार भएको भनिएको होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड
तेस्रोः पीडित युवती र सन्दीप लामिछाने दुबै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेश
चौथोः स्न्याप च्याट रिकभरेजको म्यासेज
पाचौः एउटा तस्बिर, जुन सन्दीपले ती युवतीलाई पठाएका थिए । जसमा लेखिएको छ ‘मायाको पहिलो सौगात सुरू ।’
छैठौः काठमाडौंको होटलमा आउनु अघि नगरकोटको एक रिसोर्टमा पुगेर खाजा खाएर तिरेको सन्दीपको नामको बिल भरपाइ

यस्तो छ पीडित युवतीको बयान
क्रिकेटर लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ । ‘लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गर्दा प्रतिरोध गरेको र ढाडमा जोडले हानेको उनले भनेकी छन् । ‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेर बिहान पख प्रतिवादीले मलाई पीसीआर परीक्षण गर्न जानुपर्ने भनेका थिए’, उनले भनेकी छन्, ‘मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखेर होस्टल नजिकै लगेर छाडेर गाडी लिइ फरार भएका थिए ।’

यसरी आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ । उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको उल्लेख गरेका छन् । ‘लामिछानेसमेतको युजर राखेर मलाई स्न्याप पठाएका रहेछन्, त्यसपछि मैले फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ’, उनले भनेकी छन्, ‘त्यसपछि मैले फ्रेण्ड रिक्वेस्ट पठाउँदा आधा घन्टाभित्र फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् ।’ त्यसपछि अरु साथीहरुलाई जसरी नै अपाmूले उनलाई पनि छोटो भिडियो पठाएको उनले भनेकी छन् ।  त्यसक्रममा स्न्याप च्याटमार्फत नै पारिवारिक पृष्ठभूमिबारे सामान्य कुराकानी भएको उनले भनेकी छन् ।

होटल नजिक पुग्दा सन्दीपले मास्क छ कि छैन भनेर सोधेको उनको भनाइ छ । ‘मैले आफूसँग मास्क छैन भनेपछि सन्दीपले जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर दिएका थिए’, उनले भनेकी छन्, ‘मास्क दिएपछि होटलका सहयोगी अनिशल भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनेर मलाई गाडीबाट ओरालेर आफू पार्क गर्न गएका थिए ।’ त्यसपछि सहयोगीले चाबी दिएर ४०७ नम्बर कोठामा जानु भनेकामा आफू जाँदा एसी नचलेपछि सन्दीपले अर्को कोठामा सारेको उनको बयान छ ।

यस्तो छ आरोपित सन्दीपको बयान
बलात्कार आरोपी लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् ।

‘मैले के भयो, म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको थिएँ’, उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘होइन, म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले ठीक छ, अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ ।’

लामिछानेले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरेको बताएका छन् । ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’, लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’

साँझ आफ्नो बैठक सकिएपछि ‘होस्टलको बाटो हुँदै आउँदैछु’ भनेर जानकारी गराएको उनले भनेका छन् । ‘उनले तपाईं होस्टलतिर नआउनुस् नजिकै लिटल काठमाडौं रेष्टुरेन्ट छ, त्यहाँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकी थिइन्’, लामिछानेले भनेका छन्, ‘त्यसपछि उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् ।’ किशोरीले त्यसपछि नगरकोट जान भनेको सन्दीपको भनाइ छ ।

‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, भनेकोमा मैले सम्भव छैन भनेको थिएँ’, उनले भनेका छन्, ‘मैले होस्टलबाट साथीहरुलाई नगरकोट जाँदैछु भनेर बताएर आएको, एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ भनेर आएको छु, एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने शर्तमा निजको चित्त नदुखोस् भनी नगरकोट जान सहमत भएको थिएँ ।’

लामिछानेले जाँदा गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन् । ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’, सन्दीपले दाबी गरेका छन्, ‘त्यतिबेलासम्म हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं ।’

त्यसक्रममा नगरकोटको बोजिनी रिसोर्टमा गएको उनले भनेका छन् । त्यहाँ गीत गाउँदै रमाइलो गरेको लामिछानेले वयानमा बताएका छन् । खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले आफ्नो काँधमा आफ्नो टाउको अड्याएर उभिएको भन्दै सन्दीपले भनेका छन्, ‘त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्‍यो । तिम्रो होस्टल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन भनेकी थिइन् ।’ त्यतिबेला पीडित किशोरीले नै ‘ढिला भए पनि केही छैन, यतै बसौंला’ भन्ने कुरा गरेको सन्दीपको दाबी छ ।

फर्किएर आउने क्रममा राति ११ः१५ बजेतिर होस्टलबारे सोध्दा ‘होस्टल बन्द भइसकेको’ बताएको उनले प्रहरीसमक्ष बयानमा बताएका छन् । त्यो कुरा सुनेर आफू छक्क परेको उनले भनेका छन् ।

पीडित भनिएकी किशोरीले नै त्यसदिन ‘धेरै कुरा गर्नुछ, व्यक्तिगत कुरा गर्न पनि बाँकी छ’ भनेको भन्दै सन्दीपले भनेका छन्, ‘मैले हायात होटलमा बस्दै आएको छु, त्यहीँ गएर तिम्रो कुरा सुन्छु भन्दा उनले आत्तिँदै त्यहाँ सबै खेलाडी पनि हुन्छन्, त्यसमाथि देव पनि हुन्छ भन्दै आनाकारी गर्न थालेकी थिइन् ।’

त्यसपछि ‘होटल काठमाडौं इनमा फोन गरेर एउटा कोठा बुक गरिदिन्छु, म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टलसम्म पुर्‍याइदिनका लागि बिहानै उठेर आउँला’ भनेको सन्दीपको बयान छ ।

कोठा नम्बर ३०५ मा कुराकानी गर्न आफू कुर्सीमा बस्दा किशोरीले ढोका भित्रबाट लक गरेको सन्दीपले प्रहरीसँगको वयानमा बताएका छन् । ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भन्दै जवाफ फर्काइन्’, उनले भनेका छन्, ‘मैले यो कुरालाई सामान्य लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा फ्रेस हुनका लागि बाथरुम गएर फेरि कुर्सीमा आएर बसेँ ।’

त्यसपछि खेल जीवनबारे कुराकानी भएको सन्दीपले बताएका छन् । ‘सोही क्रममा व्यक्तिगत जीवनका बारेमा पनि कुरा गर्दा मैले मेरो गर्ल फ्रेण्ड रहेको र छिट्टै एक दुई वर्षमा विवाह गर्ने योजना बनाएको समेत भनेको थिएँ’, उनले भनेका छन्, ‘उनले आफ्नो व्यक्तिगत कुराकानी सुनाउँदा उदास देखिएकाले मैले डन्ट वरी सबै ठीक हुन्छ, दुखी नहोऊ भन्ने कुरा गरेँ ।’

कुराकानीका क्रममा उदास देखेपछि आफूले केही गीत पनि सुनाएको र उनको अनुहारमा खुशी देखेर आफूलाई पनि खुशी लागेको सन्दीपले बयानमा बताएका छन् । कुराकानी गर्दागर्दै ३ः४५–४ः०० बजेको उनले भनेका छन् ।

राति कुराकानीका क्रममा पीडितले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको भनेपछि आफूलाई शंका लागेको सन्दीपको दाबी छ । ‘त्यसपछि मैले उनलाई म अहिले होटल जान्छु, तिमीलाई भोलि बिहान होस्टल पुर्‍याइदिन आउछु भन्दा निजले अहिले जाँदा आउँदा एक घन्टा जति लाग्छ, त्यतिबेलासम्म म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाईं यहीँ बस्नुस्, हामी यहीँ कुराकानी गरौंला भनी आग्रह गरिन्’, उनले भनेका छन्, ‘त्यसपछि मलाई पनि उनले भनेको कुरा ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई होस्टल पुर्‍याइदिन्छु भन्दा समेत उनले मलाई कोठा लिन दिइनन् ।’

सन्दीपले पीडित भनिएकी किशोरीले एक्लै बस्न डर लाग्ने बताउँदै त्यहीँ बस्न भनेको पनि दाबी गरेका छन् । ‘म धेरै बेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसेँ र निज बेडमै थिइन्’ उनले भनेका छन्, ‘मैले मेरो मोबाइलमा बिहानको ६ बजे आलर्म लगाएर कुराकानी गर्दा म कुर्सीमै निदाएँ ।’

निद्राबाट बिउँझिदा पीडित भनिएकी किशोरी सुतिरहेको र उनलाई आफैंले उठाएको सन्दीपले बताएका छन् । बिहान ६ः४५ तिर होटलबाट निस्किएको उनले भनेका छन् । ‘निस्किएपछि मैले उनलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुछ भनेको थिएँ’, उनले भनेका छन््, ‘निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आएर बसिन् र दुवै जना निजको होस्टलतिर गएर मैले उनलाई होस्टल नजिक छाडिदिएको थिएँ ।’ तर, २२ भदौमा एक्कासी आफूविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी परेको सामाजिक सञ्जालमार्फत थाहा पाएको दाबी छ।

२०७९, १५ कार्तिक मंगलवार ०९:०८
कथालिका नयाँ कथा
कथालिका