निसेलढोर : जहाँ छैन कुनै चुनावी रौनक – कथालिका

निसेलढोर : जहाँ छैन कुनै चुनावी रौनक

  • मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको छैन । विद्युत नपुगेकाले अन्धकारमा बस्न बाध्य छन् । आफूले भोट दिएर जिताएको नेता पटक–पटक सांसद,मन्त्री भए पनि निसेलढोरको विकास नभएकोमा रोष छ ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सन्निकट रहँदा दुरदराजका स्थानीयलाई अझै चुनावको रौनकताले छोएको छैन । उसो त चुनावी प्रचार प्रसार र जनभेटघाटमा व्यस्त रहेका राजनीतिक दल र उम्मेदवारहरु दुर्गम वस्तीहरुमा पुग्न नसकेको स्थानीयको गुनासो छ ।

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर पनि यस्तो वस्ती हो, जो जिल्ला सदरमुकाम मात्र होइन, पालिकाको केन्द्रबाट पनि सिंगो दिन लगाएर पुग्नुपर्छ । यस वस्तीका अधिकांश स्थानीयलाई चुनाव कहिले भन्ने पनि जानकारी छैन । न यस्तो दुर गाउँ बस्तीमा निर्वाचन आयोगका मतदानबारेका सचेतना पुगेका छन्, न त राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार नै । उनीहरु अहिले आफ्नै काम धन्दा, बस्तुभाउको चरिचरणमा व्यस्त छन् । सूचना र सञ्चारको पहुँच पनि निकै कम छ । जहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तब मात्रै उनीहरुलाई ४ मंसिरमा निर्वाचन हुँदैछ भन्ने थाहा हुनेछ । अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरु भोट माग्न नपुगेको स्थानीय गोरख घर्ती मगर बताउँछन् ।

गाडी नगुड्ने सडक, बिद्युतविहिन बस्ती
न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । पहिले–पहिले सिजन अनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायी रुपमा बसोबास गर्दै आएका छन् । यहाँ करिब ६० घर परिवार स्थायी रुपमा बसोबास गर्ने गर्छन् । वर्षातको समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन् । वर्षातको समयमा निसीखोला–५ निसीगाउँबाट सयौँ घर परिवार पशुचौपाया लिएर निसेलढोरमा जाने गर्छन् । चिसो बढेपछि अधिकांश असोज पहिलो सातानै बेसी (निसीगाउँ) मा झरि सके । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् ।

हिउँदमा बेसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्परा जस्तै हो । उनीहरुले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेक बेसी गर्नु परेको हो । अहिले ६० घर परिवारका एक,डेढ सय जनसंख्या निसेलढोरमा छन् । हिउँदमा जाडो हुने हुँदा पहुचौपाया लिएर धेरै स्थानीयहरु निसीमा झरेको हुँदा नेताहरु त्यतै भोट माग्न हिँडेको घर्तीको भनाई छ । उनी थप्छन्–“अहिले जाडो बढ्यो, धेरै जसो मान्छेहरु बेसी झरि सके, यहाँ थोरै मात्रै छन्, पहिले–पहिले चुनाव आउन बित्तिकै नेताहरु उतै बास बस्ने गरि भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले खास्सै गएका छैनन्, अलि अस्ति तिर २,३ जना घुम्न गएकाहरुले भोटका कुरा गर्थे, तर नेताहरु देखिएनन्, अब चुनाव नजिकै आयो भन्छन्, अब जालान् ।”

आफूहरुले भोट दिएर जिताएको मान्छे पटक–पटक सांसद, मन्त्री भएको तर निसेलढोरको विकास भने गर्न नसकेको गुनासो गर्छन् । अहिलेसम्म यस ठाउँमा विद्युत नपुगेकाले सयौँ नागरिक अन्धकारमा बस्न बाध्य छन् । मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको र स्वच्छ पिउने पानीको समेत अभाव झेल्दै आएका छन् । यो ठाउँ विगतदेखिनै ओझेलमा पर्दै आएको र अहिलेसम्म मुहार फेरिन नसकेको घर्ती मगरले बताए ।

भोट दिएका सांसद, मन्त्री भए तर मुहार फेरिएन
“हाम्रो क्षेत्रबाट धेरै नेताहरु सांसद हुनुभयो, केही त मन्त्रीसमेत हुनुभयो, तर निसेलढोरको विकास गर्न तर्फ ध्यान भने दिनुभएन, अहिलेसम्म यहाँका नागरिकहरु अन्धकार बस्न बाध्य छन्, खानेपानीको राम्रो व्यवस्था छैन, सडक भए पनि गाडी चल्दैनन्” घर्ती मगरले भने–“चुनाव त आयो भोट माग्न त यो ठाउँमा जसरी पनि आउँछन्, यसपाली जसले बिजुली ल्याइ दिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो, अब पार्टी भन्ने हुँदैन, काम गर्नेलाई रोज्नु पर्ने भयो ।”

निसेलढोरमा कुँडे, मस, झुल लगायतका गाउँहरु पर्छन् । यी कुनै पनि गाउँमा विद्युतको पहुँच छैन । स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरु अहिले देखिन छोडेको भन्दै स्वास्थ्य उपचारका लागि बुर्तिबाङ आउनु पर्ने बाध्यता रहेको बताए । यहाँबाट बुर्तिबाङ पुग्न झण्डै १२ घण्टा लाग्छ । नेताहरुले अघिल्ला निर्वाचनहरुमा बाटोघाटो, विद्युत, खानेपानी, स्वास्थ्य संस्थाको निर्माण गर्ने बाचा गरे पनि अहिलेसम्म कुनै काम नगरेको विकले गुनासो गरे । उनले थपे–“हामीहरु त चुनाव आउँदा मात्रै चाहिँदा रैछौँ, अघिपछि हाम्रो कुनै वास्ता छैन, पहिला भएका चुनावमा भोट माग्न आउने नेताहरुले मोटरबाटो, बिजुली र घर घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि हाम्लाई फर्किएर हेरेनन्, यो ठाउँमा पाइलो पारेनन्, अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउँछन्, उनीहरुलाई यसपाली भोट नदिने विचार गरेँ, उनी ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे ।”
प्राथमिकताकामा राखेर काम गर्ने योजनाः पालिका
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले आफू निर्वाचित भएर आएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले अहिले यहाँ कक्षा ५ सम्म पढाई हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने गरि बजेट विनियोजन गरेको बताए । अध्यक्ष घर्ती मगरले स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले १५ लाख विनियोजन समेत गरि रहेको बताए ।

ढोरपाटन नगरपालिका–९ बाट विद्युत जडान गरि लैजानका लागि आवश्यक छलफल भइरहेको भइरहेकाले केही समयमा यहाँका नागरिक उज्यालोमा बस्न पाउने घर्तीको भनाई छ । यहाँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने उनले बताए । “यो ठाउँ भौगोलिक हिसाबले विकटमा त छँदैछ, त्यसमाथि ठूला नेताहरुको नजरमा कहिल्यै पर्न सकेन, हामीहरु त भर्खर निर्वाचित भएर आएका छौँ, यहाँका समस्या सबै बुझेका छौँ, गाउँपालिकाको स्रोत साधानले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ,” अध्यक्ष घर्ती मगरले भने–“प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछौँ, यहाँ स्वास्थ्य, शिक्षा, विद्युत लगायत न्यूनतम विकास पनि हुन सकेको छैन, पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो ।”

यहाँका मतदाता भोट हाल्न पनि झण्डै एक दिन लगाएर निसीखोला गाउँपालिका–५ निसीमा आउनु पर्छ । कम जनसंख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन । स्थानीयले यस विषयमा पटक–पटक मागसमेत राखेका थिए ।

२०७९, २२ कार्तिक मंगलवार ०४:४३
कथालिका नयाँ कथा
कथालिका