एक नेपाली गायक: विश्वकपमा विश्वका राष्ट्रगान सुनाउन चाहन्छन् – कथालिका

एक नेपाली गायक: विश्वकपमा विश्वका राष्ट्रगान सुनाउन चाहन्छन्

  • अहिले उनी नेपाल सहित १५० देशका राष्ट्रिय गान कण्ठस्थ सुनाउन सक्ने बताउँछन् । राष्ट्रिय गान सहित विश्व यात्रा समेत थालेका नेपालीको यात्रा कोरोना कहरका कारण रोकिएको थियो ।

अहिले अधिक युवा लाल या चारतारे या अरु यस्तै पार्टीका झण्डा बोकेर कुँदिरहेछन् । खुलेरै झण्डा नबोक्नेहरु पनि पार्टीकै भावभंगीमा सामाजिक सञ्जाल, चिया चौतारा र अन्यत्र छरपष्ट पोखिन्छन् । तर, तीनै भीडमा दैनिक काँधमा राष्ट्रिय झण्डा बोकेर बेकसुर हिँडिरहेछन् एक यात्रु अर्थात् गायक रामजी नेपाली ।

बागलुङको लहरेपिपलमा जन्मिएका नेपाली सानै देखी गाना बजानामा रुची राख्थे । स्कुल पढ्दा पनि गीत गाएर प्रतिस्पर्धामा भाग लिएर दर्जनौ पुरस्कार जित्थे । अहिले उनै नेपाली नेपाल सहित १५० देशका राष्ट्रिय गान कण्ठस्थ बनाएर प्रस्तुत गर्न सक्ने भएको बताउँछन् । उनी कोरोना भयावह सुरु हुनु अघि बिभिन्न देशको राष्ट्रिय गान सहित विश्वयात्रामै निक्लिएका थिए । चीनको वुहानमा कोरोना भाइरसको भयावहको समाचार पछि दुई वर्ष अघि डिसेम्बरमा बंगलादेश जाने तयारीमा सिलगुडी पुगिसकेका बेला नेपाल फर्किन विवश बने ।

नेपाल फर्किएर नेपाल भित्रको नेपाल भनेर चिनिने गृह जिल्ला बागलुङ र पर्यटकीय राजधानीको उपमा पाएको पोखरा आसपास बसेर एकान्त प्रकृतिमा रमाउँदै बिभिन्न देशका राष्ट्रिय गानको अभ्यास साधनारत रहिरहे । उनले नेपाल सहित भारत, चीन, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायत १५० देशका राष्ट्रिय गीत कण्ठस्थ सुनाउँछन् । विश्व पर्यटन दिवसका अवसरमा बागलुङमा ५० देशको राष्ट्रिय गान गाएर कोरोनाले टुटेको विश्वलाई जोड्ने भर्चुअल सन्देश बाँडे ।

राष्ट्रिय गान सहित विश्वयात्रा
उनी नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर पाँच देशका बिभिन्न राज्यमा पुगेर राष्ट्रिय गान गाइसकेका छन् । फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्याण्ड र भारतमा पुगेर गाए । बिभिन्न देशमा पुगेर राष्ट्रिय गान गाउँदा उच्च सम्मान मिलेको गायक नेपाली बताउँछन् । शुरुमा बोल्नलाई अप्ठ्यारो मान्नेहरु पनि ती देशको राष्ट्र गान गाए पछि ‘वाओ’ भनेर सम्मान गर्ने गरेको उनी अनुभव सुनाउँछन् ।

सन् २०१५ सालदेखी देशका पहिचानका लागि पृथक भुमिका र योगदान दिने सोँच र चिन्तनले यस्तो अभियानमा लागेको उनको भनाई छ । विश्वका २ सय ३२ देशमा पुग्ने उनको महत्वकांक्षी लक्ष्य छ । १ सय ९४ देशको राष्ट्रिय गान गाएर विश्वका ७ अरब ७६ करोड मानिसलाई नेपालबारे जानकारी दिने योजना रहेको उनी बताउँछन् । ‘राष्ट्र गान त्यस्तो बिषय हो, मैले भारतको गाउँदा एकैसाथ १ अरब ३६ करोड जनतालाई सम्मान गर्न सक्छु, चीनको गाउँदा १ अरब ४३ करोड मानिसलाई सम्मान गर्न सक्छु’ उनले थपे ।

राष्ट्रिय गान सहितको विश्वयात्राका क्रममा बुद्धको देश र सगरमाथाको देश नेपालमा घुम्न आउन आव्हान समेत गर्ने गरेका छन् । विश्व बन्धुत्व, साँस्कृति पर्यटन र सद्भावना भन्ने नारा बोकेर हिँडेका उनी विश्व सामु नेपाल चिनाउने, पर्यटन प्रर्वद्धन गर्ने र त्यस मार्फत मुलुकको समृद्धिमा टेवा पु¥याउन सकिने बताउँछन् ।

भारतमा थर्काइ पछिको आनन्द
विश्वको सुरुवाती यात्रामै तिता मिठा सम्झना पनि उनले सँगालिसकेका छन् । गत वर्ष नेपाल भारत बीच सीमा विवाद बढेको थियो । त्यही बेलामा नेपालको झण्डा बोकेर रामजी पश्चिम कागडा पुगेका थिए । त्यहाँ उनलाई भारतीय प्रहरीले थर्काउदै सोध्यो–तुमे मालुम हं या नही, नेपालमे क्या चल रहा हें, कालपानी मे क्या चल रहा हें । वापस जाओ । आक्रोशित मुद्रामा रहेका उनीहरुलाई नेपालीले नरम स्वर शैलीमा केही भन्दै भारतको राष्ट्र गान जनमन गाए पछि एकाएक उनीहरु नतमस्तक भए । अनि त मलाई के सहयोग चाहिन्छ रु भन्नुस् भन्न थाले । उनी भन्छन्, ‘त्यसपछि मलाई फेरी लाग्यो राष्ट्रिय गानमा कति ठुलो शक्ति हुँदो रहेछ । टुटेको भावनालाई पनि राष्ट्र गानले जोड्ने काम गर्छ ।’

विदेशीका अघि राष्ट्र गान गाउँदा ‘खुसीको आँशु’
अहिलेसम्म यात्रा गरेर एकै मञ्चमा सबै भन्दा धेरै देशका नागरिकका बिचमा राष्ट्र गान घुम्टे पहाडको फेदमा आयोजित अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशालामा गाएको नेपाली बताउँछन् । जहाँ ११ देशका अन्तर्राष्टिय मुर्तिकारहरु आएका थिए । उनीहरुकै बीच नेपालीले ११ देशको राष्ट्रिय गान सुनाए । ती देशका कलाकारहरुले ‘वाह ! आउट ब्रेभ म्यान’ भन्दै खुसीले रोएको उनको भनाई छ । पहाडको कुनामा पनि आफ्नो देशको राष्ट्रिय गान गुञ्जियो भनेर उनीहरु असाध्यै खुसी देखिएका थिए । त्यो कुराले मलाई आफ्नो सोच, सपना र यात्रा प्रति निकै आनन्द र सन्तोष मिल्यो । अब कोरोना, डेंगु लगायतको कहर सहजता पछि अरु देश जाने योजना रहेको उनले सुनाए ।

विश्वकप र विश्वयात्रा ‘खर्चको पिर’
गायक नेपाली यतिबेला विश्वकप रौनकताले छोपिएको कतारबारे पुरै अपडेट छन् । र त उनी विश्वभरका मानिसहरु जमघट भइरहेको कतार पुगेर बिभिन्न देशका नागरिकलाई एक नेपालीको मुखारविन्दुबाट उनीहरुको राष्ट्रगान सुनाउन चाहन्छन् । त्यहाँ पुग्दा र विश्वका १५० देशको राष्ट्रगान सुनाउँदा एक त उनीहरुलाई आफ्नो देश प्रति गौरवबोध हुनेछ भने अर्को नेपालको पहिचान र परिचयलाई पनि व्यापकता दिन टेवा पुग्ने उनको विश्वास छ ।

तर, विश्वकप र विश्वयात्रा खर्च कसरी जुटाउने ? गायक नेपालीलाई यही पिरलोले सताइरहेको छ । नेपाली भन्छन्–‘म सँग देश प्रतिको दायित्व छ, देश चिनाउने पवित्र सोच र अठोट छ, प्यासन छ । यसमा नेपाल र नेपालीको साथ अवश्य रहनेछ ।’ असम्भव भन्ने कुरा केही छैन भन्ने कुराबाट आफु प्रेरित रहेको उनी बताउँछन् । विश्वकप स्थल कतार पुग्ने दृढ अठोट सहित उनले विश्वकपको अफिसियल गीत आफ्नै आवाजमा समेत रेकर्ड गराएका छन् । जुन युट्युव मार्फत बिहीवार सार्वजनिक गरेका छन् ।

‘कतारमा रहेका नेपालीले आउनुस् खान बस्न व्यवस्थापन गर्छौ भन्नुभएको छ, खेलकुद, पर्यटन र पराष्ट्र मन्त्रालयको राष्ट्रगान यात्रीको आधिकारिक कागजात बनाउने काम सकेको छु, विश्वकपको आधा खेल सकिए पनि मुख्य खेल राउण्ड-१६ बल्ल सुरु हुँदैछ । मुख्य मञ्चमा त सम्भव नहोला तर, फ्यान जोन र उपर्युक्त पल्याटफर्महरुबाट जहाँ जुन देशका खेलाडी र नागरिक छन्, त्यही देशका राष्ट्रगान सुनाउने छु ।’ उनले भने, ‘अहिले आउन जान विश्वकपका कारण टिकट महँगिएकाले समस्या भइरहेको छ, यसका लागि सहयोग समन्वयका लागि प्रयासरत छु, आर्थिककै कारणले अब कतार यात्रा रोकिन्न कि भन्ने विश्वास छ ।’

विश्व यात्राका क्रममा ७ दिन सम्म भोकै पनि बसेको अनुभव उनीसँग छ । ‘आफ्नो सोच अनुसारको सपना पुरा गर्न ठुलो खर्च लाग्छ । झट्ट सोच्दा कठिन छ तर असम्भव छैन’, उनले भने,‘साहस भन्दा पनि दुस्साहस गर्नेहरुले नयाँ इतिहास लेखेको विगत छ । मेरो यो दुस्साहस नै हो ।’

गायनमा सहज नेपाली, अमेरिकाको राष्ट्रगान गम्भीर
अहिले गाउने ६४ देशका राष्ट्रिय गान मध्ये सबै भन्दा गाउन सजिलो कुन रु प्रश्न सोध्न नपाउँदै उनी भन्छन्, ‘सजिलो त नेपालकै भयो । मातृभूमीको टोन । सबै भन्दा गाह्रो चाही स्वीजरल्याण्डको राष्ट्रिय गान लाग्यो । त्यसको म्युजिक फर्माटमा केही फरक छ, अफविटमा छ । धेरै बेर सम्म फ्लो गरेर गाउन सिकेको हुँ ।’ शव्द, संगीत र भावका हिसावले सबै भन्दा राम्रो राष्ट्रिय गान कुन देशका लाग्छ रु गायक नेपाली थप्छन्, ‘अमेरिकाकाले बढी शक्ति र उर्जा दिन्छ । त्यसपछि भारतको गानले पनि छुट्टै अनुभव हुन्छ । विरताको गाथा, उर्जा र प्रेरणा पैदा गर्छ ।’ जुनसुकै देशको राष्ट्रिय गान गाउँदा पनि एक प्रकारले भावुक र अर्को हिसावले साहस उर्जा प्राप्त हुने उनको भनाई छ ।

अभियानमा लाग्दा ‘पागलको संज्ञा’
कसैले त रामजी बौलायो र ? राष्ट्रिय झण्डा बोक्या छ, हिँड्या छ, पागल भयो भन्दा रहेछन् । तर, म अलि कठोर बनेर यो निर्णय लिएको उनी बताउँछन् । ‘पहिले म आफ्नै देशको राष्ट्रिय गान पनि अकमकी अकमकी गाउँथे । अहिले १५० देशको सहजै गाउन सक्ने भएको छु,’ गायक नेपाली थप्छन्,‘राष्ट्रिय गान मार्फत ३ करोड नेपालीलाई विश्वका ७ अरब मानिसहरुसँग जोड्ने प्रयास हो ।’ कोरोना कहरले रोकिएको आफ्नो विश्व यात्रामा निरन्तर लाग्ने नेपालीले बताए ।

नेपालीको गर्विलो गायनको विगत
यसरी राष्ट्रिय गान र विश्वयात्रामा सक्रिय नेपालीको पृष्ठभुमी र मुख्य पेशा गायन हो । ०५२ सालमा ‘घुम्न जाउँला कान्छी बागलुङ बजार’ बोलको गीत गाएका नेपाली यही गीतबाटै गायकको परिचय बनाउन सफल रहे । स्थानीय स्काई ब्याण्डमा आवद्ध रहेर मायाको आधार नामक एल्बम निकालेका उनले हाल सम्म १ सय बढी गीतमा आवाज र संगीत भरेका छन् । ०५९ सालमा युवाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘जवानीमा तानेको गाँजा, अहिले मलाई लाइराछ नमजा’ गीत सर्वाधिक चलेको थियो ।

२०७९, १६ मंसिर शुक्रबार ०५:५८
कथालिका नयाँ कथा
कथालिका