आखिर कसले जित्यो चुनाव ? – कथालिका

आखिर कसले जित्यो चुनाव ?

  • यसरी आएको नतिजाबाट मुलतः मुख्य परम्परागत राजनीतिक पार्टी पराजित भएका छन् । यद्यपि, उनीहरु आफ्नो पराजय बिर्सेर अर्को दल र नेताको मात्र हार भइरहेको आत्मरतिमा भुलिरहेका छन् । मानौ कि उनीहरुको खास हार होइन, यही दिग्भ्रममा जबरजस्त समर्थन जनाइ दिनुपर्नेमा नेता, कार्यकर्ताबिच दन्तबझान छ ।

यसपटकको चुनावमा जित हारको हिसाव किताव चलिरहेको छ । चुनाव घोषणा सेरोफेरोको राजनीतिक दल, तिनका नेता, कार्यकर्ताको हिसाब बिग्रिएको छ अर्थात् हिसाब र दाबी विपरित चुनावी नतिजा आएको छ ।

यसरी आएको नतिजाबाट मुलतः मुख्य परम्परागत राजनीतिक पार्टी पराजित भएका छन् । यद्यपि, उनीहरु आफ्नो पराजय बिर्सेर अर्को दल र नेताको मात्र हार भइरहेको आत्मरतिमा भुलिरहेका छन् । मानौ कि उनीहरुको खास हार होइन, यही दिग्भ्रम र कुतर्कमा जबरजस्त समर्थन जनाइ दिनुपर्नेमा नेता, कार्यकर्ता बिच दन्तबझान छ ।

यो सत्य हो कि सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनले मुलभुत हिसावले जित हासिल गरेको छ । तर, जुन उद्धेश्य, अपेक्षा र मिसनका साथ गठबन्धन चुनावी मैदानमा उत्रिएको थियो । त्यो बिफलतामा अनुवाद भयो । सरकार बनाउन अपेक्षित बहुमत समेत नपुग्ने अवस्था आयो । प्रत्यक्ष तर्फ कांग्रेस ५७, एमाले ४४, माओवादी १८, एकीकृत समाजवादी १०, रास्वपा ७, राप्रपा ७, जसपा ७, लोसपा ४, जनमत पार्टीले १ सिट जितेको छ ।

यसपटकको चुनावमा ठुला भनिएका राजनीतिक दलहरु एजेण्डामा मात्र होइन, राजनीति र अभिमतमा समेत हारिरहेको समानुपातिक तर्फको मतले पुष्टि गरेको छ । कांग्रेस समानुपातिकमा दोस्रो भए पनि प्रत्यक्ष तर्फ पहिलो भएकोमा खुसी देखिन्छ भने एमाले प्रत्यक्षमा आधा बढी सिट हारेर पनि समानुपातिकमा पहिलो भएको जितको जिकिर गरिरहेछ ।

अहिलेको निर्वाचनबाट समग्रमा नेपाली कांग्रेस पहिलो ठुलो दल त बनेको छ । तर, कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा समानुपातिक तर्फ ठुलो हिस्सामा मत गुमाएको छ । यस हिसाबले हेर्दा समानुपातिकतर्फ सबैभन्दा धेरै मत नेपाली कांग्रेसले गुमाएको छ । कांग्रेसले गणना अन्तिम चरणमा पुग्दा जम्मा २६ लाख ६० हजार मत मात्र ल्याएको छ । पाँच वर्षअघि २०७४ मा कांग्रेसले जम्मा सदर मतको ३२.७७ प्रतिशत पाएको थियो । यसपालि पनि कांग्रेसले कम्तीमा यो प्रतिशत कायम राख्न सकेको भए ३४ लाख १४ हजार मत ल्याउँथ्यो । यसरी हेर्दा कांग्रेसले ७ लाख ५४ हजार मत गुमाएको छ ।

अहिलेको निर्वाचनमा सबै भन्दा ठुलो धक्का नेकपा एमालेलाई लागेको छ । अघिल्लो निर्वाचनबाट पहिलो दल बनेको एमाले अहिले पाँच दलीय गठबन्धनसँग एक्लै लड्ने अवस्थामा पुग्यो । त्यो पनि विगतको करिब दुई तिहाइ बहुमतको सरकारबाट बहिर्गमन हुँदै संसद विघटनको प्रतिगामी कदमको संगीन आरोप सहित । फलतः एमाले दोस्रो दलमा त खुम्चियो नै, आधा बढी सिट घट्दा समेत गठबन्धनले अपेक्षित जित हासिल नगरेकोमा उसले खुसी मनाइरहेको छ ।

एमालेले समानुपातिक तर्फ २७ लाख ८८ हजार मत ल्याएको छ । पाँच वर्ष अघिको चुनावमा सदर मतको ३३ प्रतिशत ल्याएको थियो । अहिले त्यति नै प्रतिशत कायम गरेको भए ३४ लाख ३८ हजार मत ल्याउन सक्थ्यो । यस अनुपातमा हेर्दा पाँच वर्ष अघिको तुलनामा अहिलेको चुनावमा ६ लाख ४४ हजार मत गुमाएको देखिएको छ ।

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, जो पुरा कार्यकाल सत्ताको मियो बन्यो । यसपटकको निर्वाचनमा एमाले पछि धक्का खाने पार्टीका रुपमा माओवादी दर्ज भयो । गठबन्धन हुँदा समेत मुख्य शहर र अरु निर्वाचन क्षेत्रमा पनि प्रत्यक्षमा उल्लेख्य सिट हासिल गर्न नसकेको माओवादीले समानुपातिकमा पनि मत गुमाएको छ । माओवादीले अहिले ११ लाख ६२ हजार मात्र पाएको छ ।

पाँच वर्षअघि माओवादी केन्द्रले सदर मतको १३.६५ प्रतिशत पाएको थियो । अहिले सोही अनुपातमा मत ल्याएको भए १४ लाख २२ हजार मत पाउने थियो । यस हिसाबले हेर्दा माओवादी केन्द्रले २ लाख ६० हजार मत गुमाएको छ ।

मुख्य दलले गुमाएको १६ लाख बढी मतको सबैभन्दा ठूलो हिस्सा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले लिएर नयाँ शक्तिको रुपमा उदाएको छ । रास्वपाले समानुपातिक तर्फ ११ लाख २४ हजार मत ल्याएको छ । पाँच वर्षअघि खुम्चिँदै गएको शक्तिका रुपमा देखिएको राप्रपाले ५ लाख ८६ हजार मत पाएको छ । २०७४ सालको निर्वाचनमा २ लाख ८४ हजार लाख मत मात्र ल्याएको राप्रपाले अहिले ३ लाख मत बढाएको छ । मधेशबाट उदाएको जनमत पार्टीले ३ लाख ९४ हजार मत ल्याएर राष्ट्रिय पार्टी बनेको छ ।

यो तथ्यांक हेर्दा मुख्य ठुला भनिएका राजनीतिक दलले समानुपातिकतर्फ अघिल्लो पटकको निर्वाचनको तुलनामा साढे १६ लाख भन्दा बढी मत गुमाएका छन् । अनि यीनीहरुले कसरी जिते ? आजको राजनीतिमा यो गम्भिर प्रश्न बनेर आएको छ । तर, यो पाटोबाट सोच्ने, समिक्षा, कमजोरी स्वीकार, आलोचना, आत्मआलोचना र भोलिको सुदृढ राजनीतिको प्रतिवद्धता जनाउने फुर्सद कसलाई छ र ?

स्थिरताको चाबीः सिके राउत र रेशम चौधरीको हातमा ?

यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मतपरिणामले भावी दिन पनि नेपाल र नेपालीका लागि चुनौतीपूर्ण देखिएको छ । २०७४ सालको निर्वाचनमा बामगठबन्धनले दुई तिहाई बहुमत प्राप्त सरकार बनाउने अवसर पाएको थियो । तर, अहिलेको निर्वाचनबाट कुनै एक दल या पाँच दलीय गठबन्धनलाई बहुमत प्राप्त भएन । बरु यसपटकको निर्वाचनमा केही दल नयाँ शक्तिको रुपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक सफलता हासिल गरेको छ भने मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टी, केन्द्रीय कारागारमा रहेका रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुत्ति पार्टीले राम्रै जनमत हासिल गरेका छन् ।

चुनावी नतिजा अन्तिम विन्दुमा आइपुग्दा कुनै एक दुई दलको गठजोडमा मात्र सरकार बन्न असम्भव छ । यस अवस्थामा पहिलो दल कांग्रेस र दोस्रो दल मिलेमा मात्र दुई दलको सरकार बन्नेछ । यो सम्भावना नभए पछि अरु तेस्रो, चौथो, पाँचौ, छैठौं दलहरुलाई समेत एकीकृत गरेर सरकारको अंक गणित पुरा गर्नुपर्नेछ । यस्तो अवस्थामा विगतमा देश बिखण्डनको नारा लाएर राष्ट्रिय एकतामा धावा बोलेका जनमत पार्टीका अध्यक्ष सिके राउत, अपराध अभियोगमा जेल भुक्तान गरिरहेका रेशम चौधरीको पार्टी निर्णायक बन्न सक्छन् । सरकार गठनमा मात्रै होइन, भोलि सरकार सञ्चालन र यसको कार्यकाल पनि पूर्णतः आफुहरुको हातमा निर्भर रहने राउत बताउछन् । ‘जनताले सरकारको चाबी हाम्रो हातमा सुम्पेका छन्,’ उनले भने, ‘अब हामी नै निर्णायक बन्छौ, गठबन्धनमा लाग्दा होस् या अरु । हामीले संघीय र प्रदेश सरकारमा सम्मानजनक उपस्थिति जनाएर जनताको पक्षमा काम गर्छौ ।’

‘जसले जिते पनि अब देशले जितोस्’
यसपटकको चुनावमा चामत्कारिक जित हात पारेको स्वतन्त्र पार्टी भने केही ढंगले आएकाले अहिले नै सत्ता बनाउने र गिराउने खेलमा सायदै सामेल होला । अरु ठुला साना राजनीतिक दलहरु बिच सत्ताको पुरानै खेल र दाउपेच हुने निश्चित प्रायः छ । राजनीतिक प्रतिस्पर्धामा सत्तामा जाने कुरा अन्यथा कदापि होइन । तर, जे होस् अघिल्लो चुनावमा करिब दुई तिहाइ बहुमत हुँदा पनि एमाले (नेकपा) नेतृत्वको पार्टीको आन्तरिक किचलोले पटक पटक संसद विघटन, पार्टी बिभाजन हुँदै चरम अस्थिरतामा आफु मात्र फसेन, समग्र देश अस्थिरतामा पुग्यो । अहिले पनि नेपाल र नेपालीले त्यही खालको नियति भोग्न नपरोस् भन्ने आम नागरिकको अपेक्षा छ । ‘नेताहरुले यो गर्ला, होला भनेर कति दिन आशा गरेर बस्ने ? देश बस्न लायक छैन, अस्ती सम्म दैनिक २८ सय विदेशिरहेका थिए, यो अझ बढ्दैछ, पहिले देश बस्न लायक बनाउनुप¥यो,’ लेखक बिश्लेषक सौरभ भन्छन्, ‘चुनाव कसले जित्यो ? त्यो अकंगणित मात्र होइन, त्यसको असली परीक्षा भोलि देशले जित्यो कि जितेन भन्ने आधारमा अर्को चुनावमा जनताले यथोचित मुल्यांकन गर्नेछन् ।’

 

२०७९, १९ मंसिर सोमबार ०६:२७
कथालिका नयाँ कथा
कथालिका