सिंगो विद्यालयमा एक विद्यार्थी, एक शिक्षक – कथालिका

सिंगो विद्यालयमा एक विद्यार्थी, एक शिक्षक

एक जना विद्यार्थीलाई मात्र पढाउनु पर्दा अप्ठ्यारो महुशुस ठाकुकुमारी स्वयंम्लाई भइरहेको छ । यस्तै अप्ठ्यारो महुशुस स्थानीय सरकार, सरोकारवाला निकायले गरेको होला ? त्यसको त खासै गुञ्जायस छैन ।

नेपालका सरकारी सामुदायिक स्कुल कुन अवस्थामा पुग्दैछन् ? र तीन तहको सरकार, शैक्षिक निकाय कुन भुलभुलैयामा छन् ? पर्वतको एक विद्यालयको कहाली लाग्दो परिदृश्यले यही यथार्थ काफी बोल्छ ।

पर्वतको मोदी गाउँपालिकाको चित्रेमा दुर्गा भवानी प्राथमिक विद्यालय छ । जहाँ कक्षा ५ सम्म पढाइ हुन्थ्यो । पढाइ हुन्छ भन्ने कुरा पनि इतिहास जस्तो बनिसकेको छ । चित्रे गाउँ यस्तो गाउँ हो, जहाँका अधिकांश बासिन्दा पोखरा बसाइ सरिसकेका छन् । २०४० सालमा स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी आउनै छोडेका छन् ।

विद्यालय त दैनिक खुल्ला हुन्छ । डेस्क बेञ्च, भौतिक संरचना पनि छन् । तर, पढ्ने विद्यार्थी जम्मा एक जना मात्रै आउने गरेका छन् । जसलाई एक महिला शिक्षकले पढाउने गरेका छन् ।
पहिले विद्यार्थीको संख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेको विद्यालयकी शिक्षक ठाकुकुमारी केसी बताउँछिन् । एक्लो विद्यार्थी भए पनि आफु जागिरे भएकाले नियमित रुपमा आउनु बाध्यता भएको उनको कथन छ ।

एक जना विद्यार्थीलाई मात्र पढाउनु पर्दा अप्ठ्यारो महुशुस ठाकुकुमारी स्वयंम्लाई भइरहेको छ । यस्तै अप्ठ्यारो महुशुस स्थानीय सरकार, सरोकारवाला निकायले गरेको होला ? त्यसको त खासै गुञ्जायस छैन । यद्यपि, विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि अर्का एक शिक्षक र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएर अर्कै विद्यालयमा गएका छन् ।
गत वर्षसम्म यस विद्यालयमा १०/१५ विद्यार्थी नियमित पढ्न आउने गरेका थिए । ती विद्यार्थीहरु पनि अभिभावक गाउँबाट बसाइसराइ गर्ने र विद्यालय आउन बर्खाका बेला पुल नभएको खोला तर्नुपर्ने जोखिम भए पछि भौगोलिक दुरीको हिसाबले टाढा भए पनि अन्य विद्यालयमा पुगेका छन् ।

विद्यार्थी विनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेकाले आफु बन्द गरेर अरु नै कुनै विद्यालयमा पढाउन इच्छुक रहेको शिक्षक केसी बताउँछिन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले बताइन् । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घण्टा टाढाको विद्यालयमा पुग्छन् ।

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीय शेरबहादुर केसीले भने, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’

मोदी गाउँपालिकाले विद्यालयमा देखिएको समस्याबारे छलफल भइरहेको बताएको छ । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट वञ्चित नगराउने अभिप्रायले पठन पाठन जारी राखिएको बताइन् । ‘अहिले धेरैजसो गाउँमा बसाइसराइको समस्या छ, चित्रे गाउँमा अझ बढी बसाइ सराइको समस्या देखिएकाले विद्यार्थी पाउनै मुश्किल देखिएको छ,’ अध्यक्ष शर्माले भनिन्, ‘हामी अब विद्यालय मर्ज गर्ने या अरु सम्भावना र विकल्प सोच्नेमा छलफलमै छौ, केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ । समस्याको पहिचान गरेर समाधान खोज्न छिट्टै कोसिस गर्नेछौ ।’

२०७९, १९ मंसिर सोमबार ११:२१
कथालिका नयाँ कथा
कथालिका